८ वैशाख २०८१ शनिबार
अर्थ

तीन युवाले खोले पोल्ट्री फर्म

महेन्द्रनगर- कञ्चनपुरको रैकवार–बिचवा गाविसमा सुदूरपश्चिममै सर्वाधिक लगानीमा पोल्ट्री फर्म सञ्चालनमा आएको छ। रैकवार–बिचवाका तीन युवाले संयुक्त लगानीमा आरबी एग्रो फर्म प्रालि सञ्चालनमा ल्याएका हुन्। रैकवार–बिचवा– ९ पिपरियामा स्थापना गरिएको पोल्ट्री फर्ममा उनीहरुले दुई करोड रुपैयाँ लगानी गरेका छन्।

दुई बिघा क्षेत्रफलमा स्थापना गरिएको पोल्ट्री फर्ममा १३ हजार कुखुराका चल्ला एक साथ हुर्काउने आरबी एग्रो फर्म प्रालिले जनाएको छ। सुदूरपश्चिममा देखिँदै आएको अन्डा अभाव पूर्ति गर्न पोल्ट्री फर्ममा लगानी गरेको प्रालि अध्यक्ष रविन्द्र खड्काले बताए।

पोल्ट्री फर्ममा अध्यक्ष खड्कासँगै शंकर सावद र नरेन्द्र शाहीको लगानी रहेको छ।

प्रालिले १२ जनालाई रोजगारी समेत दिएको छ। सुदूरपश्चिममा दैनिक एक लाख गोटा अन्डा खपत भइरहेको अध्यक्ष खड्काले जनाए।

'सुदूरपश्चिममा जम्माजम्मी ३० हजार गोटा मात्रै अन्डा उत्पादन भइरहेको छ। त्यही अवस्थालाई मध्यनजर गरी पोल्ट्री फर्म स्थापना गरेका हौँ,' उनले भने।

प्रालिले सुदूरपश्चिमका नौवटै जिल्लालाई लक्षित गरी अन्डा उत्पादन गर्ने र तीन वर्षभित्रै बाहिरी जिल्लाबाट हुने अन्डा आयातलाई शून्यमा झार्ने लक्ष्य रहेको अध्यक्ष खड्काको भनाइ छ।

कञ्चनपुर क्षेत्र नम्बर ३ का सांसद बहादुरसिँह थापाले एक समारोहकाबीच शुक्रबार दिउँसो पोल्ट्री फर्मको उद्घाटन गरे। उद्घाटन समारोहमा उपस्थित नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा, डडेल्धुराका सभापति कर्ण मल्ल, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष चित्राङ थापा लगायतले युवाको सामूहिक प्रयास सफल हुने र यसले अरु युवालाई पनि स्वदेशमै लगानी गर्न प्रेरित गर्ने धारण व्यक्त गरे।

प्रकाशित: ८ माघ २०७३ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App