७ वैशाख २०८१ शुक्रबार
अन्य

कंगारुको देशमा

सुमन घिमिरे

डार्लिङ हार्वरमा बसेर कफी पिउँदै गरेको स्टाटस फेसबुकमा महिना दिनअगाडि राख्दा होस् या सिड्नीमा हुन लागिरहेको एउटा एक्स्पोको लागि स्वयंसेवक चाहियो भनेर स्टाटस राख्दा, मेरो मन त्यतिखेरै  सिड्नी पुगिसकेको थियो। अझ मभन्दा मेरा अनन्य मित्र सन्तोष र प्रिय (दाजु) निष्प्रभलाई मेरो आगमनको व्यग्रता अझ धेरै थियो। हामी कुनै समय कुनै स्थानमा यसरी भेटिने मीठो कल्पना गरिरहेका थियौँ र त्यसको प्रतीक्षामा थियौँ। अब त्यो प्रतीक्षाको घडी समाप्त हुँदै थियो।  

सिंगापुर विमानास्थल ओर्लेको केही समयपछि मात्र थाहा भयो मैले मेरो ज्याकेट जहाजमै छाडेछु। विमानबाट उत्रनुअघि मेरो सिटनजिक रहेका नेपाली भाइहरूलाई 'सामान छुट्ला नि' है भनेर मैले नै भनेको थिएँ। उनीहरू पहिलोपल्ट विदेशको यात्रा गर्दै थिए। तर, म आफैले ज्याकेट छाडेछु! ज्याकेटभन्दा पनि महŒवपूर्ण चिज मोबाइलको चार्जर थियो, त्यो पनि त्यही ज्याकेटमै थियो। जहिले पनि जे कुराको अभाव हुने सम्भावित लक्षण देखिन्छ, त्यसको एकएक थोपा बाँकी राखिँदो रहेनछ। मैले त्यस्तै गरे। सिड्नी ओर्लनेबित्तिकै मलाई भाइबरमा फोन गर भन्ने सन्तोषको कुरा, मलाई लिन आउने निष्प्रभ दाइसँग गर्नुपर्ने सम्भावित फोन, त्यसैले म आफ्नो मोबाइल अफ गरेर एयरपोर्टमा रहेको निःशुल्क इन्टरनेटतिर लागेको थिएँ। मलाई मोबाइलको ब्याट्री जोगाउनु थियो।

सीमाबाहिर पुग्दा देशका लागि–देशमै रहेर केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी झनै गहिरो गरेर जाग्ने रहेछ। नेपालबाहिर रहेका सबैमा यस्तै हुँदो हो! देशप्रेमको त्यो सोचलाई साहित्य, कलामा जसरी उतार्नु आवश्यक हुन्छ त्यसरी नै लगानीको सुरक्षा र वातावरण पनि बन्नुपर्ने हुन्छ।

सिड्नीको किङ्सफर्ड स्मिथ विमानस्थल पुग्दा मलाई लिन निष्प्रभ र भाउजु आउनु भएको थियो। फोटो खिचियो अनि फेसबुकमा हाल्ने काम पनि भयो 'सुमन घिमिरे इज इन टाउन' भन्दै। जीपीएसमा ६५ इलाई स्ट्रिट, रिभ्सबी ठेगाना हाल्दै हामी एअरपोर्टबाट अगाडि बढ्यौँ। गाडीभित्र गीत गुञ्जिरहेको थियो– 'धाराबाट आउने चिसो, पानी हो कि रक्सी।' म गीतको तालमा सहर हेर्न व्यस्त रहेँ। सहर सफा थियो। मौसम खुलेको थियो। मनले कल्पेको सिड्नी मेरोअगाडि थियो। हजारौँ गाडी गुड्दा पनि हर्न पटक्कै बजेको थिएन, धुलोधुवाँ केही थिएन। मैले एउटै कुरा कल्पेँ, काठमाडौँ यस्तै हुँदो हो त कत्ति सुन्दर हुन्थ्यो होला! एउटा मुलुकको राजधानी पो हो त काठमाडौँ। काठमाडौँले सिड्नीजत्तिकै सफासुग्घर हुन किन नसक्ने! तर, अहिलेको अवस्थामा मेरा कल्पना सपनाजस्तो मात्रै थियो। 'विचरा काठमाडौँ' मैले एक पटक मेरो काठमाडौँ स्मरण गरेँ।

मैले पहिलो पटक अस्टे्रलियाको भूमिमा टेकेको थिएँ। तथापि, आयरल्यान्डको बसाइले धेरै कुराको नयाँपन घटाएको थियो। बाटाका नाम, सहरको संरचना, घरहरूको बनावट अनि अरु थुप्रै कुरा डब्लिन र सिड्नीमा समान थिए। अन्य देशको तुलनामा यहाँका नेपालीलाई अथवा भनौं सबै आप्रवासीलाई अलि सजिलो भएको पाएँ। काम गरेर कलेजको शुल्ब तिर्न सबैले सक्ने रहेछन्। स्थायी बसोबासको व्यवस्था मिलेकाहरू अनि यहाँको राहदानी लिएका थुप्रै छन्, तिनको जीवनशैली पनि उत्कृष्ट रहेको पाएँ। नेपालीले परदेशमा यसरी स्तरीय ढंगमा स्थायित्व जमाएको देख्दा मन निकै प्रफुल्लित हुन पुग्यो। तर, यहाँ रहेका नेपालीले आफ्नो जन्मथलो बिर्सेका छैनन्, नेपालको माया औधी गर्छन्। मिलेसम्म सबैलाई नेपाल नै फर्कने मन छ। यहीँ बसेर अधिकांशले नेपालमा रहेका परिवार, आफन्तको खर्च भरेका छन्। अस्टे्रलियामा नेपालीको बसोबास बाक्लै छ। देश छाडेर हिँडेपछि धेरै मानिस परदेशतिरै भाँसिएका छन्। कमै रहरले, धेरै करले।

राष्ट्रियताको कुरा बेलाबेलामा उठ्छ। देश छाडेर गएपछि विदेशमा रहेका नेपालीलाई मातृभूमिको माया बढ्नु स्वाभाविक नै हो। विदेशमा रहँदा नेपाली भन्ने कुराले बढी महŒव राख्छ। थर र वतनको मतलब हुँदैन, देशकै बढी चासो हुन्छ। वास्तवमै देश छाड्नु विवशता हो, रहर पक्कै होइन। देश छाड्दैमा राष्ट्रियता हरायो भन्न मिल्दैन। नेपालमै बसेर सिन्को नभाँच्नुभन्दा विदेश गएर परिश्रमको मूल्य नेपाल भित्राउनु ठूलो हो। मलाई गर्वका साथ भन्न मन लाग्छ– विदेशमा बस्ने नेपालीले देशका लागि थुप्रै काम गरेका छन्। गीत, संगीत, साहित्य, भाषा, पत्रकारिता, लगानी र अन्य क्षेत्रमा विदेशमै बसेर भए पनि उत्सुकता बढाएका छन्। सिड्नीबाट नेपाली भाषाका पत्रिका निस्कन्छन्, यहाँ थुप्रै नेपाली रेस्टुराँ छन्, डाक्टर छन्, नर्स छन्, अरु थुप्रै पेसामा नेपाली रमाएका छन्– कमाएका छन् र स्थापित भएका छन्।

सिड्नीमा भएको एउटा ट्राभल एक्स्पोमा सहभागी हुन म त्यहाँ पुगेको थिएँ। एक्स्पोमा मलगायत सन्तोष र निष्प्रभ पनि थियौँ। हामीले धेरैभन्दा धेरै पर्यटकलाई हाम्रो स्टलतिर आकृष्ट गर्ने प्रयास गर्‍यौँ। नेपाललाई चिन्ने धेरै पर्यटक थिए। अझ एक पटक र पटकपटक नेपाल पुगेका पर्यटकको राम्रै उपस्थिति थियो। आफ्नो देशको वाह्वाह् र प्रशंसा सुन्दा हामी निकै प्रफुल्लित थियौँ। त्यो एक्स्पोमा नेपालबाट हामीमात्र थियौँ, त्यसैले कतिले त हामी नेपाल पर्यटन बोर्डको आधिकारिक मान्छे हौँ कि भनेर पनि सोधेका थिए।

नेपाललाई धेरैले हिमालको देश मात्र भनेर चिन्छन्। संसारकै अग्लो सगरमाथा नेपालमा हुनाले पनि यस्तो भएको हुनुपर्छ। हामी यसपटक सफारी पर्यटनलाई प्रवर्द्धन गर्न त्यहाँ उभिएका थियौँ। धेरै पर्यटक नेपालमा निकुञ्ज छ र सफारी हुन्छ भन्दा आश्चर्यमा परेका थिए। जेहोस् दुई दिने मेलामा हामीले नेपालको प्रचार त गर्‍यौँ अझ त्योभन्दा बढ्ता सफारी पर्यटनको।

हाम्रो एक्स्पो जर्ज स्ट्रिटको टाउन हलमा भएको थियो। जर्ज स्ट्रिट डब्लिनको ग्राफ्टन् स्ट्रिट र लन्डनको अक्सफोर्ड स्ट्रिटजस्तै देखिन्थ्यो। टाउन हलबाट देब्रे लागेमा सिटीको सुन्दर डार्लिङ हार्वर पुगिने रहेछ। हामी एक दिन डार्लिङ हार्वर पुग्यौँ। दिउँसो भएर हो कि चहलपहल अलि कम हो कि जस्तो अवस्था थियो। साँझमा त रेस्टुराँहरू पूरै भरिन्छन् भन्ने सुनियो। जेहोस् दिउँसै भए पनि त्यहाँ चहलपहल त थियो नै। र, म अनुमान लगाउन सक्थँे साँझको परिदृश्य। सिड्नी जानुअगावै मैले फेसबुकमा यहीँ कतै बसेर कफी पिएको स्टाटस राखेको सम्झँे अनि साथीहरूलाई आग्रह गर्दै एउटा कफी सपमा पस्यौँ। कफी दुई पटक पिउँदासमेत त्यहाँको मनमोहक दृश्यले हामीलाई यहीँ बस्न मोहनी लगाउँदै थियो। साँच्चै नै सुन्दर छ डार्लिङ हार्वर।

एयरपोर्टमा मैले सिड्नीमा कहाँकहाँ घुम्ने भन्ने पुस्तक लिएको थिएँ। पुस्तक पल्टाउँदै जाँदा थुप्रै ठाँउ उत्कृष्ट र घुम्न लायक रहेको पाएको थिएँ। जानैपर्ने ठाँउहरूको सूची त एक दर्जन नै पुग्यो। मैले घुम्नको लागि साथीहरूको अनुकूलता पनि बु‰नुपर्ने हुन्थ्यो। रातको ११ बजेको थियो। भाइबरमा रामुलाई अनलाइन देखेँ। कुरैकुरामा रामुले मलाई मेन्लीबिच लैजाने कुरामा सहमति जनाए।

मेन्लीबिच जाने फेरीहरू सर्कुलरकिबाट लाग्दोरहेछ। सर्कुलर किको प्लाटफर्म दुईनजिक त्यहाँको आदिबासी अबरजिनलहरू शिष्ट शैलीमा पैसा माग्दै थिए। उनीहरूसँग फोटो खिच्नुअगाडि राखिएको बटुकोमा नोट वा क्वाइन राखिदिनुपर्थ्यो। मैले पनि १ डलरको क्वाइन झारेर उनीहरूसँग फोटो खिच्न बसेँ। फेसबुकमा यो तस्बिर राख्नेबित्तिकै कथाकार किशोर पहाडी दाइको प्रतिक्रिया आयो– साथीहरूसँग मैले पनि खिचेको छु भन्दै। उनले सन् २०१० मा यस्तै फोटो खिचेका रहेछन्।

सिड्नीको ओपेरा हाउस, सर्कुलर ब्रिजलाई पार गर्दै फेरीले गति लिँदै थियो। विभिन्न गन्तव्य भएका फेरीहरू त्यहाँ ओहोरदोहोर गरिरहेका थिए। टाढैबाट सिड्नीको टोरोंगा जु पनि देखियो। हामीलाई मेन्लीबिच पुग्न करिब ३० मिनेट लाग्यो। निकै घमाइलो थियो। हावा पनि चलेको थियो। अस्ट्रेलिया अंकित टिसर्ट मैले पहिलो पटक त्यहीँ किनेको थिएँ। मेन्लीबिच आफैमा सुन्दर थियो। अझ यसमा सुन्दरता थप्ने सुरासुन्दरी त्यहाँ थिए। घाममा ट्यानको लागि बस्ने पनि उत्तिकै थिए। बगरमा एकखाले स्वर्ग नै ओराल्ने प्रयास गरिएको थियो।

घुम्नेक्रममा हामी वाट्सन बे पनि पुग्यौँ। वाट्सन बेका सुन्दर बगर, हार्वर र तैरिएका पानीजहाज निकै सुन्दर देखिन्थे। बगरमा केही केटाकेटी बालुवाको घर बनाउन व्यस्त थिए भने कोही पानीमा छाप्लाङछुप्लुङ गर्दै रमाउँदै थिए। हामी हार्वरको दृश्यलाई कैद गर्दै वाट्सन बेको अर्को किनारातिर लाग्यौँ। त्यहाँबाट हामीले सुन्दर क्लिफ्सको अवलोकन गर्न पायौँ। सर्कुलर ब्रिज र ओपेरा हाउस पनि मज्जाले देखिँदो रहेछ त्यहाँबाट।

टोरोंगा जु झनै गज्जबको लाग्यो। चिडियाखानाको मुख्य द्वार पुग्न केबुलकारको व्यवस्था थियो। केबुलकारले मनकामनाको  झझल्को दिलाएको थियो। त्यहाँ विभिन्न जनवारलाई अति व्यवस्थित तरिकाले राखिएको रहेछ। राम्रो बासस्थान र आहार भएर हुनुपर्छ, सबै जनवार प्रफुल्लजस्ता लाग्थे। मेरा लागि कंगारु र जिराफ नौला थिए। निकै उत्सुकताका साथ हेरिरहेँ। चिडियाखानाभित्र सिंगल सो र चराहरूको सो पनि हुने रहेछ। त्यो पनि हेरियो। दुवै प्रस्तुतिले त्यो दिनको भ्रमण निकै नै सार्थक तुल्यायो। टोरोंगा जु पूरै घुम्न भने एक दिन चाहिने रहेछ।

बार्बिक्यु गरेर एक साँझ रमाइलो गरेर बस्ने सल्लाह सन्तोषसँग पहिले नै भएको थियो। सन्तोषको घरमा बस्ने क्रममा दुई पटक त्यस्तो रमाइलो आयोजना गरियो। घर छाडेर हिँडेपछि रमाइलो गर्नु आवश्यक पनि थियो। कुखुरा तथा भेडाको मासुको मीठो परिकारले तानिरहेको बेला फेरि अर्को बार्बिक्युको सञ्जोग जुर्‍यो जर्ज रिभरको छेउमा रहेको स्टिल हिल पार्कमा। त्यहाँ त प्रत्येक पार्कमा बार्बिक्यु स्ट्यान्ड राखिएको रहेछ, निःशुल्क प्रयोग गर्न पाइने। ग्यास पनि सरकारले दिने। अचम्म पनि लाग्यो यहाँको सरकारको कार्य देखेर! मैले अन्य कुनै पनि मुलुकमा त्यस्तो व्यवस्था देख्न पाएको थिइनँ।

नेपाल फर्कने दिन नजिकिँदै थियो। निष्प्रभ दाइ र मैले पहिले नै सल्लाह गरेका थियौँ, हामी एक साँझ ओपेरा हाउसको अगाडि बसेर खाना खाने र बोटानिकल गार्डेन घुम्ने। अन्तिम दिनको अघिल्लो साँझ दुवै कुराको संयोग मिल्यो। बोटानिकल गार्डेन घुमेर हामी ओपेरा हाउसनजिकको एउटा रेष्टुराँमा बस्यौँ। बर्गर  र कबाब आउन निकै नै समय लाग्ने रहेछ। हामी त्यही समयमा प्योर ब्लन्डसँगै हार्वर ब्रिजको रात्रिकालीन दृश्य हेर्न र तस्बिर कैद गर्न व्यस्त भयौँ।

सिड्नी दुई कुराको केन्द्र थिए मेरा लागि। एउटा अस्टे्रलिया टेक्ने र अर्को 'साताको साहित्य'को। हामी एक साँझ साताको साहित्यको सम्पुर्ण टिम जम्मा भयौँ। तीन सम्पादक मण्डल म, निष्प्रभ सजी र जयन्ती भाउजु। प्रायोजक डा. किरण थापा र डिला खरेल। हाम्रा साताको साहित्य पुरस्कारका निर्णायक महेन्द्र पौडेल र सुजित सिग्देल। भाउजुको अस्वस्थताका कारण हामीले ऋषि आचार्यलाई छुटाउनुपर्‍यो। सुजितको कविता प्रसंग र अन्य केही कविता सुन्ने–सुनाउने काम पनि भयो।

सिड्नीको यात्रा धेरै कुरामा सार्थक रह्यो। सिड्नी टावर, ब्लुमाउन्टेन, क्यानबेरा, रोयल नेसनल पार्क, बन्डाइबिच, ब्लोहोल कायामा, उलंगंगलगायतका थुप्रै ठाउँ मनमोहक लाग्यो।

हरेक नयाँ वर्षको पूर्वसन्ध्यामा हार्वर ब्रिज वा सर्कुलर किको सेरोफेरोमा हुने आतिसबाजी (फायर वक्स) विश्वमै लोकप्रिय छ। तर, तयो हेर्न मैले थप एक महिना सिड्नी बस्नुपर्थ्यो, जुन सम्भव थिएन। साथीहरू मलाई थप समय बस्न र फायरवर्क्स हेरेर मात्र फर्कन कर गर्दैथिए। तर, नेपालमा थुप्रै काम थाती थिए, अझ त्योभन्दा भरखर मसँग हाँस्न थालेकी सुरभीको सम्झनाले सताइएको थिएँ। सन्तानमोह पनि विदेशमा झनै बढी हुने रहेछ। सन्तानमोह जोख्न नसकिने कुरो, त्यसैगरी देशमोह पनि उत्तिकै हुने रहेछ पराइभूमिमा रहँदा। सीमाबाहिर पुग्दा देशका लागि–देशमै रहेर केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी झनै गहिरो गरेर जाग्ने रहेछ। नेपालबाहिर रहेका सबैमा यस्तै हुँदो हो! देशप्रेमको त्यो सोचलाई साहित्य, कलामा जसरी उतार्नु आवश्यक हुन्छ त्यसरी नै लगानीको सुरक्षा र वातावरण पनि बन्नुपर्ने हुन्छ।

प्रकाशित: ८ माघ २०७३ ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App