७ वैशाख २०८१ शुक्रबार
अन्य

तृप्त माझी

हेनरिख थ्योडोर ब्योल

युरोपको पश्चिमी तटस्थित एउटा बन्दरगाहमा मैलोधैलो कपडा लगाएको एउटा मानिस माछा पक्रने नाउँमा पल्टेर उँघिरहेको थियो। आकर्षक पोशाकको एउटा पर्यटक मज्जाले उँघिरहेको माझी देखेर तस्बिर खिच्न आफ्नो क्यामेरामा रंगिन रिल हाल्दै थियो। नीलो आकाश, हरियो समुद्र, हिउँले ढाकिएको श्वेतलहरको शान्तिपूर्ण पंक्ति, कालो नाउ, माछा पक्रनका लागि रातो टोपी।

सबै कुरा नियालिसकेपछि अचाक्ली सुन्दर तस्बिर निकाल्ने मनशायले पर्यटकले तस्बिर खिच्यो– क्लिक। अर्को एक पटक पनि आवाज आयो– क्लिक। पर्यटकले सोच्यो– 'सबै राम्रा कुरा तेस्रो पटक पनि गरिन्छ।' त्यसैले उसले अर्को तस्बिर पनि खिच्यो– क्लिक।

तपाईं पूराका पूरा माछाको एक्लो मालिक हुनुहुनेछ। तपाईंले व्यापार विस्तार गर्दै जाँदा माछाको बेग्लै रेस्टुराँ खोल्न सक्नुहुन्छ। बीचका कुनै दलालबिना नै तपाईंले समुद्री झिँगेमाछालाई पेरिस निर्यात गर्न सक्नुहुन्छ। अनि...' यहाँसम्म आइपुग्दा पर्यटकको उत्साहले शब्द नै फेला पार्न सकिरहेको थिएन।

कसोकसो उँघिरहेको माझी ब्युँझियो। ऊ सुतीसुतीकनै उठ्यो। अझ यसो भनौँ, उसले लम्पसार परेकै अवस्थामा टाउको उठायो। अर्धनिद्रामै छु भनेजसरी उसले चुरोट छाम्यो। चुरोट कुनचाहिँ बगलीमा होला भन्ने पत्तो पाउनुअघि नै पर्यटकले उसको नाकैअघिल्तिर चुरोटको प्याकेट राखिदियो। उसको मुखको अघिल्तिर होइन, नाकैको मुनि। फेरि पर्यटकले के सोच्यो, नाकमुनिबाट प्याकेट फिर्ता ल्यायो र हातमा राखिदियो। त्यसपछि माझीले चुरोट सल्काउन लाइटर बाल्दै गर्दा चौथो पटक पर्यटकले 'क्लिक' पार्‍यो। क्लिकको आवाज सुन्नेबित्तिकै माझीले अनुत्साहपूर्वक पर्यटकतर्फ हेर्‍यो। माझीमा तस्बिर खिचाउने उति धेरै रूचि देखिएन।

त्यसबेला माझीले अत्यधिक विनम्रता देखाएकाले अनौठो स्थिति उत्पन्न भयो। गफिने लोभले स्थानीय भाषामा अझ भनुँ माझीले बोल्ने भाषामै कुरा गर्ने चाहना पर्यटकले टुटेफुटेको लवजमा प्रकट गर्‍यो– 'आज तपाईंको दिनको सुरुवात निकै राम्रो होला जस्तो छ।'

माझीले असहमतिमा शीर झट्कार्‍यो।

'कसैले मलाई मौसम निकै राम्रो हुने कुरा सुनाएको थियो,' पर्यटकले माझीको आवाज सुन्न व्यग्र हुँदै थप्यो।

माझीले टाउको मात्रै हल्लायो।

'मौसम राम्रो हुने हुनाले तपाईंले काम खोज्न अन्त कतै जानु नपर्ला जस्तो छ,' पर्यटक फेरि पनि बोलिरह्यो। फेरि पनि माझीले केही बोलेन। त्यसैले पनि पर्यटकको बेचैनी बढ्न थाल्यो।

पर्यटकले सोच्यो– 'यो विचरा मैलोधैलो कपडा लगाएको मानिसको दिलमा पक्कै पनि केही गम्भीर कुराले रैँदालो खेलिरहेको होला। पक्कै पनि एउटा राम्रो मौका गुमाएका कारण ऊ निराश भएको हुनुपर्छ।'

'तपाईंको स्वास्थ्य त्यति राम्रो छैन कि क्या हो?' पर्यटकले माझीको मनको अवस्था बुझेजसरी सान्त्वना प्रकट गर्न खोज्यो। र थप्यो, 'मलाई तपाईंको अवस्था देखेर नराम्रो लागिरहेको छ!'

आँखा, हात र टाउकोको इशाराले कुरा गरिरहेको माझीले अब भने मुख खोल्यो। उसले भन्यो– 'मलाई गज्जबकै अनुभूति भइरहेको छ। यसअघि कहिल्यै यति आनन्द महसुस भएको थिएन।'

अर्धनिद्रामा भएको माझी बसेको ठाउँबाट उठ्यो, जिउलाई तनक्क तन्क्यायो। मानौँ, ऊ देखाउन खोजिरहेको छ– म निकै पहलमान छु। स्वास्थ्य पनि गज्जबकै छ।

मेरो तन, मन अति स्वस्थ छ।

पर्यटकको अनुहारको भाव अझै विदीर्ण भयो। उसले आफ्नो प्रश्नलाई अझै बढी दबाब दिने गरी तन्काउन सक्तैनथ्यो। त्यसो गरेको खण्डमा माझीको व्यवहारमा ठूलो परिवर्तन आएर उसलाई धपाइदेला भन्ने डर थियो।

'सञ्चै रहेछ त!' पर्यटकले भन्यो, 'त्यसो हो भने यस्सो घुमघामका लागि बाहिर किन जानु हुन्न त?'

प्रश्न खस्न नपाउँदै माझीले जवाफ दियो– 'आज बिहानै मात्र म बाहिर गई घुमफिर गरी आएको हुँ।'

'उसो भए त दिनको सुरुवात निकै राम्रो भएजस्तो छ!' पर्यटकले कुरा लम्ब्याउन खोज्यो।

'यति गज्जबको सुरुवात भयो कि दोहोर्‍याएर कतै जाने इच्छा नै भएन। मैले टोकरीमा चार–चार वटा ठूलाखाले झिँगे माछा पक्रिएँ। लगभग दुई दर्जन अन्य माछा पनि हात पारेँ।'

यतिञ्जेलसम्म पर्यटक माझीकै छेउ पुगिसकेको छ र ध्यानपूर्वक कुरा सुनिरहेको छ।

पर्यटकलाई लाग्यो, अबचाहिँ माझी पूर्ण रूपमा निद्राबाट ब्युँझिसकेको छ। माझी सामान्य देखिन थालेको छ। त्यसको कारण के पनि थियो भने उसले पर्यटकको काँधमा हात राखेर गफिइरहेको छ।

पर्यटकको आँखामा अझै चिन्ता झल्किरहेको माझीले महसुस गर्‍यो। उसको यो चिन्ताको अभिव्यक्ति अनुचित लागिरहेको भए पनि मार्मिक नै महसुस गरिरहेको छ। आफूले कहिल्यै नचिनेको यस पर्यटकले आफूप्रति चिन्ता गरेको पाएपछि माझीले भन्यो– 'एक्लो व्यक्तिका लागि यो माछा पर्याप्त हो। भोलि र पर्सिका लागि मलाई मनग्गे हो यो।'

'चुरोट पिउने त फेरि?' पर्यटकले सोध्यो।

'हुन्छ, धन्यवाद,' माझी उस्तै बेफिक्रीका साथ बोल्यो।

माझीले मुखमा चुरोट लिँदै गर्दा पर्यटकले पाँचौँ क्लिक गर्‍यो। टाउको हल्लाउँदै पर्यटक नाउको एउटा किनारामा बस्यो र आफ्नो क्यामेरा तल राख्यो। अब उसले जे भन्न लागिरहेको थियो, त्यसको भाव, गहिराइ र उचाइ बुझाउन उसलाई दुवै हात चाहिएको थियो।

पर्यटकले भन्यो– 'हुन त यो तपाईंको जीवन हो। म तपाईंको व्यक्तिगत मामिलामा हस्तक्षेप गर्न पनि चाहन्नँ। तर, तपाईंले यसअघि तीन–चार वा पाँच अथवा दस दर्जन माछा पक्रनु भयो होला। हैन त?'

माझीले जवाफमा केही बोलेन। मात्र टाउको हल्लायो।

पर्यटक भन्छ– 'तपाईं यसरी नबस्नूस्। दिनमा जति माछा पक्रनु हुन्छ, त्योभन्दा बढी पक्रने प्रयास गर्नूस्। यसो गर्नुभयो भने एक वर्षभित्रै तपाईंले एउटा मोटर किन्न सक्नुहुन्छ। दुई वर्षमै अर्को नाउ, तीन या चार वर्षमा तपाईंले एउटा सानो जहाज किन्न सक्नुहुन्छ। दुई वटा नाउले त स्वाभाविक रूपमा तपाईंले कति हो कति माछा पक्रन सक्नुहुन्छ। यसपछि गर्दै जाँदा तपाईंसँग ठूला दुई वटा जहाज हुनेछन्। त्यसपछि तपाईं...' पर्यटक बोल्दाबोल्दै उत्साहित हुन थाल्छ र केही क्षणको मौनतापछि पुनः थप्छ– 'एउटा सानो कोल्ड स्टोरेज बनाउन सक्नुहुन्छ। सायद एउटा माछामासु पकाउने फ्याक्ट्रीसमेत स्थापना गर्न सक्नु होला। गर्दै जाँदा तपाईं आफ्नै निजी हेलिकप्टरमा उड्न सक्नुहुन्छ। तपाईं सारा माछा भेला पार्न सक्नुहुन्छ र आफ्ना जहाजलाई रेडियोबाटै नियन्त्रण गर्न सक्नुहुन्छ। तपाईं पूराका पूरा माछाको एक्लो मालिक हुनुहुनेछ। तपाईंले व्यापार विस्तार गर्दै जाँदा माछाको बेग्लै रेस्टुराँ खोल्न सक्नुहुन्छ। बीचका कुनै दलालबिना नै तपाईंले समुद्री झिँगेमाछालाई पेरिस निर्यात गर्न सक्नुहुन्छ। अनि...' यहाँसम्म आइपुग्दा पर्यटकको उत्साहले शब्द नै फेला पार्न सकिरहेको थिएन।

माझीले मुस्कुराउँदै त्यस अन्जान व्यक्तिको काँध थप्थपाउँछ, मानौँ त्यस बालकले केही निलेर अड्काएको होस्!

माझीले सुस्त स्वरमा सोध्यो– 'त्यसपछि?'

पर्यटकले शान्त तर उत्साहपूर्वक माझीलाई भन्यो– 'त्यसपछि तपाईं निश्चिन्त भएर यहाँ बन्दरगाहमा बस्न सक्नुहुन्छ र पारिलो घाममा उँघ्दै यस भव्य समुद्रको सुन्दर दृश्यको मज्जा लिन सक्नुहुन्छ।'

माझीले भन्यो– 'तर मैले त त्यही गरिरहेको थिएँ। म आनन्दले बन्दरगाहमा बसेको छु, उँघिरहेको छु। तर, तपाईंको क्लिकले मेरो उँघाईलाई बाधा पार्‍यो।'

माझीको कुरा सुनेर पर्यटक विचारमग्न भयो। एक पटक पहिले पनि उसले सोधेको थियो, दिनमा कति घन्टा काम गर्छ? जवाफमा घन्टा होइन, दिनमा एक पटक मात्र काम गर्छ भन्ने उत्तर पाएको थियो। उसको उद्देश्य नै थियो, दिनमा एक पटकभन्दा बढी काम गर्नु नपरोस्। मैलोधैलो पहिरन लगाएको माझीप्रति पर्यटकमा कुनै दयाभाव यतिखेर देखिएन। बरु उसलाई माझीको बेफ्वाँकको जिन्दगीको थोरबहुत इर्ष्या नै लागिरहेको थियो।

सन् १९७२ मा नोबेल साहित्य पुरस्कारबाट सम्मानित जर्मन कथाकार। अनुवादः अच्युत कोइराला

प्रकाशित: ८ माघ २०७३ ०५:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App