coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

तीन कविता : मरुभूमि हाँस्ने जिन्दगी

सञ्जीव राई

मरुभूमि हाँस्ने जिन्दगी

 

जीवनको बस्तीमा बास बस्न लायक

आफूसँग केही नभएपछि

जिन्दगी, सधैँका लागि निस्कन खोजेको हो

फेरि कहिल्यै नफर्कने गरी

 

सम्बन्धको डोरीमा

सर्कसवालाझैँ सन्तुलन मिलाएर हिँड्न नसक्दा

कस्तरी पछारिएको थियो जिन्दगी

एक्लोपनको पत्थरिलो जमिनमा!

 

मैनसँगै रातभरि जलेर खरानीखरानी भएको

आफ्नो उमेर हेर्दै गर्दा

ओँठको एक कुनाबाट

अचानक च्यातिएर एउटा मुस्कान

कस्तो वीभत्स देखिएको थियो

जिन्दगीको अनुहार

जिन्दगीले छातीमा झुन्डाइराखेको

सपनाको सिक्री

चुँडालेर पछाडिबाट

कस्तरी बेपत्ता भएको थियो विश्वास

जीवनको बस्तीमा यसरी बास बस्न लायक

आफूसँग केही नभएपछि

जिन्दगी, सधँैका लागि निस्कन खोजेको हो

फेरि कहिल्यै नफर्किने गरी

अहिले सोच्छु

जिन्दगीलाई जान दिएको भए हुन्थ्यो बरु

दुखेकै सही कमसेकम ऊसँग

एउटा मुटु त हुने थियो

अतीत सम्झी रुनलाई थोपा आँसु

अनि सबैभन्दा त

ऊसँग ईश्वरलाई चढाउन

आत्मा मग्मगाउने पवित्र फूल हुने थियो

 

मैले गर्दा नै

आडम्बरको यो भव्य काँचको महलमा

आफूलाई नग्न देख्न अभिशप्त छ जिन्दगी

हाँस्दा अचेल मरुभूमि हाँस्छ ऊ

आँखामा सागर बोकेर

आफ्नै अनुहार परेको

एउटा लासलाई अघि लाउँदै

जिन्दगी आफूचाहिँ पछिपछि हिँडिरहेको हुन्छ

 

कति ठूलो सजाय दिएछु जिन्दगीलाई

बाँच्न लगाएर!

यतिबिघ्न क्रूर भएर कसरी हेर्न सके हुँला मैले

एउटै मृत्यु पटकपटक मर्दै गरेको जिन्दगीलाई?

आफ्नो सबैभन्दा ठूलो शत्रु

मलाई नै देखेर चकित छ जिन्दगी

उसको विस्फारित नेत्र र,

अर्ध खुलेको ओठ हेर्दै

यतिखेर भरपूर मज्जा लिइरहेको छु म।

 

प्रेम

 

ठाँटिएर शब्द र संवादको पोशाकमा

कहाँ हिँड्दो हो र प्रेम

औपचारिकताको सडकमा?

भेटिँदो हो सधैँ ध्यानस्थ ऊ त

अनुभूतिको विशाल बटवृक्षमुनि

 

बाँधिएर जहिल्यै पनि मनभरिको अँगालोमा

हिँडिरहेको हुन्छ जोसँग

ऊ कल्पनाको डगरैडगर

जसको उपस्थितिमात्रैले

ऊ चढेको खुसीको घोडा

लगाम छुटेर बेकाबु हुन्छ

जसको आँखाको आँगनमा

खनेको गहिरो इनारमा

‰वाम्म हामफाल्ने गर्छ ऊ

जसको सफलता र,

सुखद कामनाको गीत

ढुकढुकीको समलामा

गाइरहेछ उसको श्वासले निरन्तरनिरन्तर

खोल्दैन कहिल्यै तर,

मुखको मूलढोकैमा झुण्डिएको

त्यो भोटेताल्चा

र, देखाउँदैन

छातीभित्रको गोप्य

तहखानामा लुकाइराखेका

सपनाका दामीदामी हीरा–जुवाहरातहरू

 

समुद्रमन्थनमा कालकुट पिँउदादेखि

क्रसमा झुण्ड्याइँदा होस्

वा महाभिनिष्क्रमणमा निस्किँदासम्म

जारी नै छ उसको यात्रा

उत्सर्गको यो अग्निपथमा

थाकेर एक घडी

लिएन विश्राम कहिल्यै

उसले विचलनको छहारीमा

 

जे भनेर बोलाए नि हुने

जुनै रूप–आकृतिमा हेरे नि हुने

मौनताको कैलाशमा तपस्यारत उसलाई।

 

हिम्मतको बाटो

 

जबजब म हिँड्छु हिम्मतको बाटो

समय अचेल झुकेर सलाम गर्छ मलाई

 

कुनै बखत

मेरो खल्तिमा लुकाराखेका

रहरका ससाना गुच्चाहरू खोसेर

सिर्कुनाले हानिहाल्थ्यो

छुच्चो त्यो मास्टर समय

अभावको त झन्

बहानामात्रै चाहिन्थ्यो उसलाई

झम्टिहाल्थ्यो डस्टर उचाल्दै

मेरो अस्तित्वमाथि

 

रहरहरूसँग खेल्ने रहर

कहिल्यै गएन यद्यपि मेरो

 

म कमजोर भएर

त्यो बलियो भएको रहेछ

म दबिएर पो त्यसले थिचेको रहेछ

म रूँदा त्यसको अट्टहास लाग्दोरहेछ

उदासी धुम्मिएको विचारको आकाशमा

एकदिन अचानक

यसरी चम्किएको चट्याङ चेतनाले प्रहार गरेँ

त्यो खजुरो समयलाई

र, परास्त गरेँ

 

मेरो ढाडसँगै कुप्रिँदैकुप्रिँदै

बूढो हुँदोछ समय अब

चिरञ्जीवी रहरहरूको वरदान पाएर

झन्झन् युवा बन्दैछु म

साहसको ओजले धपक्क बलेको

मेरो अनुहारमा

देखेर मोहक मुस्कान

डाहाले नमरुन् कोही

 

जबजब म हिँड्छु हिम्मतको बाटो

समय अचेल झुकेर सलाम गर्छ मलाई।

 

प्रकाशित: ८ माघ २०७३ ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App