८ वैशाख २०८१ शनिबार
अन्य

एकताको सूत्रः माघेसंक्रान्ति

पदम श्रेष्ठ

गत शनिबार माघ १ गते राजधानीको मुटु टुँडिखेलमा थारु समुदायले र खुल्लामञ्चमा मगर समुदायले माघी–नयाँ वर्ष विशेष समारोह नाचगानका साथ मनाए। यसरी एउटै माघी पर्वलाई दुई समुदायले एउटै ठाउँ, तर छुट्टाछुट्टै पहिचानमा मनाउन थालेको पहिचानसहितको संघीयताको आवाज बुलन्द भएपछि मात्र हो। त्यसअघि माघीलाई थारुको मात्र नयाँ वर्ष मानिन्थ्यो नेपालमा। तर, पहिचानको आवाज बलियो भएसँगै माघी नयाँ वर्ष थारुमात्र होइन मगर, किरातलगायतका जातीय समुदायको पनि हो भन्ने तथ्य उजागर हुँदै जान थालेको छ।

सम्भवतः सबै नेपालीले एकसाथ मनाउने साझा पर्व हो माघे संक्रान्ति। तराईका आदिबासी थारु हुन् वा मगरले माघीलाई नयाँ वर्षका रूपमा स्वागत गर्छन्। एउटा संयोग नै भनौँ वा वास्तविकता यी दुवै समुदायले आफूलाई भगवान् गौतम बुद्धका वंशजको रूपमा पनि दाबी गर्दै आइरहेका छन। माघीलाई नयाँ वर्षका रूपमा आत्मसात गरिदिँदा यी दुई समुदायको नजिकपन अझै प्रगाढ हुँदै जान थालेको आभास हुन्छ। त्यसमाथि थारु आदिभूमि थरुहट र मगर आदिभूमि मगरात एउटै धरातलीय परिवेश पहाड र तराईमा पर्नुले पनि माघीले यी समुदायलाई अझै नजिक तुल्याएको छ।  राजधानी काठमाडौँका आदिबासी नेवारहरूले पनि माघे संक्रान्तिलाई घ्यो, चाकु, सँल्हुका नाउँमा भव्य ढंगमा मनाउँछन्। तराई–मधेसमा यस दिनलाई तिला संक्रान्ति त पूर्वी नेपालका किरात र हिमाली समुदायका शेर्पा, थकाली, तामाङ, गुरुङलगायतका समुदायमा पनि नयाँ वर्ष येलेदोङ, ल्होछार प्रारम्भको दिनका रूपमा लिइन्छ। निकै पिछडिएका समुदाय राउटे, कुसुण्डामात्र होइन, क्षत्री–ब्राह्मणले पनि आआफ्नै तौरतरिकाबाट मनाउँछन् माघे संक्रान्ति। सूर्य उत्तरायण हुँदै गएपछि दिन लामो हँुदै जाने पर्वका रूपमा लिइने माघे संक्रान्तिलाई कतिपय आदिबासी घरघरबाट धुपदीप बाल्दै, उखु, सुन्तलालगायतका फलफूल, उसिनेको सख्खरखण्ड, तरुल, आलु आदि देवीथानमा चढाउने मेलाका रूपमा पनि मनाउने गर्छन्।


सबै नेपालीले एकसाथ मनाउने साझा पर्व हो माघे संक्रान्ति। तराईका आदिबासी थारु हुन् वा मगरले माघीलाई नयाँ वर्षका रूपमा स्वागत गर्छन्। एउटा संयोग नै भनौँ वा वास्तविकता यी दुवै समुदायले आफूलाई भगवान् गौतम बुद्धका वंशजको रूपमा पनि दाबी गर्दै आइरहेका छन। माघीलाई नयाँ वर्षका रूपमा आत्मसात गरिदिँदा यी दुई समुदायको नजिकपन अझै प्रगाढ हुँदै जान थालेको आभास हुन्छ।

थारु नयाँ वर्ष

नयाँ वर्ष माघीमा तराईका आदिबासी थारु समुदायमा गणप्रथाअनुरूप बढघर (गाउँका थकाली) चिरकिया (गाउँका पुजारी), चौकीदार (हुलाकी), गुरुवा (संरक्षक), गरधुरिया (घरमूली) चुन्ने गरिन्छ। यसरी चुन्ने परम्परालाई माघी दिवानी भनिन्छ। कमैया, हलिया, हरुवाचरुवा राख्ने परम्परा रहँदा माघीकै दिन कमैया फुकाउनेदेखि नयाँ सम्झौता गर्ने कामसमेत गरिन्थ्यो। माघीमा विशेष परिकार बनाएर खाने–खुवाउने, आपसी सद्भाव साटासाट पनि गर्ने गरिन्छ। माघीमा घोँगी (शंखेकीरा), मुसा, गंगटो, सुँगुरको मासुका परिकारसहित ढिकरी, रोटी खाने–खुवाउने पनि गरिन्छ।

माघीको भोलिपल्ट दाजुभाइले दिदीबहिनीलाई 'कहार्ने'को नाउँमा चामल, नुन, मासको दाल र केही उपहार दिएर पठाउने गरिन्छ।  यही क्रममा घर वा गाउँका मूलीबाट आशीर्वाद लिने नयाँ वर्षको मुख्य उद्देश्य रहिआएको पाइन्छ। विशेष गरी कैलाली, कन्चनपुर, बाँके, बर्दिया, दाङ, रुपन्देही, नवलपरासी, चितवनसम्मका थारु समुदायमा यो पर्वलाई भव्य र सभ्य तरिकाले मनाउने गरिन्छ।

मगर माघी 

आफूलाई  भगवान् बुद्धकै वंशज बताउँछन् मगर पनि। आदिथलो मगरात (रुकुम, रोल्पा, प्युठान, सल्यान, पाल्पा, अर्घाखाँची, जाजरकोट, दैलेख, डोल्पा, सुर्खेत) र थारु आदिभूमि थरुहट (कैलाली कन्चनपुर, बाँके, बर्दिया, दाङ, रुपन्देही, नवलपरासी, चितवन)सँगसँगै रहेका मगरले पनि माघीलाई नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। नेपालमा १० वर्षे माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलनले पहिचानको मुद्दा उठाउनुअघि अन्य समुदायले जस्तै माघी नयाँ वर्षका दिन सुंगुरबंगुर काट्यो, सेलरोटी पकायो, इष्टमित्र–आफन्त बसेर भोज खायो मात्र हुन्थ्यो। तर, अचेल त्यो त्रमभन्दा अघि बढेर माघी नयाँ वर्षलाई पहिचानको आन्दोलनको विशेष दिनका रूपमा अगाडि बढाइएको देखिन्छ। दसैँमा जस्तै आफूभन्दा ठूला तथा मान्यजनको हातबाट टीकाटालो गर्ने, ढोगभेट गर्ने परम्परालाई पुनःस्थापित गरेका छन् मगर समुदायले। जुन परम्परा पुर्खाले आदिकालदेखि प्रचलनमा ल्याएका थिए। समयसँगै कुनै बेला क्रम विच्छेदजस्तै बनिसकेको माघी नयाँ वर्ष मान्ने संस्कारलाई पहिचानसहितको मगरात स्वायत्त प्रदेश स्थापनाको आन्दोलनका रूपमा अघि बढाएको पनि पाइन्छ।

मगरले पनि थारुले जस्तै माघीलाई नै नयाँ वर्षका रूपमा लिएका छन्। त्यत्रिमात्र होइन थारुले जस्तै मगरले पनि आफ्नो वंशलाई भगवान् बुद्धकै नश्ल मान्दै आइरहेका छन् भने माघीमा मगरले खाने बंगुर–सुंगुरको मासुमा समानता पाइन्छ। भनिन्छ, अख्खालिपि पाली भाषा, मामाको छोरीसँग विवाह गर्ने संस्कार र माघेसंक्रान्तिमा बंगुरको मासु खाने संस्कारमा समेत यी जातिमा समानता पाइन्छ।

खिचडी पर्व सूर्य उत्तरायणबाट दक्षिणायणतर्फ लागेको दिनका रूपमा लिइने माघेसंक्रान्तिलाई क्षेत्री, ब्राह्णहरू नदीको दोभान, त्रिवेणीमा स्नान गरी शिव आराधना गर्दै मनाउँछन्। यस दिन यस समुदायमा घिउ–चाकु, तिलौरी, तरुल, सख्खरखण्डका साथै चोखो ढंगमा पकाएको खिचडी खाने गरिन्छ। स्नानका लागि गोकर्ण, देवघाट, पाल्पाको रुरु, तारुका, बेत्रावतिलगायतका स्थलमा नुहाउनेको भीड नै लाग्ने गर्छ। यस दिन शाकाहारी खाना कन्दमूलका साथ देवीदेवतालाई लाख बत्ती दिने प्रचलन पनि छ। यी जातिले पनि माघेसंक्रान्तिलाई दिन लामो हँुदै जाने पर्वका रूपमा समेत लिन्छन्।  

ल्होछार र येलेदोङ

किरातीको येलेदोङ, शेर्पालगायतका हिमाली समुदायको नयाँ वर्ष भिन्नाभिन्नै समय र आस्थाका आधारमा सुरु हुने भए पनि माघ १ गते माघेसंक्रान्तिलाई थारु समुदायले जस्तै नयाँ वर्ष थालनीका दिनका रूपमा लिने गरेको पाइन्छ। किरातीको येलेदोङ कुन समय निर्धारणका आधारमा गन्ती थाल्ने निर्क्योल हुन बाँकी नै छ भने गुरुङ समुदायले पुस १५ लाई, तामाङले माघ प्रतिपदाका दिनलाई र शेर्पा समुदायले फागुन प्रतिपदाका दिनलाई नयाँ वर्ष सुरुवातको दिन मान्छन्, तर माघीलाई सम्पूर्ण मंगोलियन समुदाय सौर्य पात्रअनुरूप गणना गर्नुपर्नेमा एक मत देखिएका छन्। यसैबीच किरात समुदायले माघे संक्रान्तिलाई कक्फेक्वातङ्नामका रूपमा शनिबार किरात भूमि  पूर्वी नेपालमा मनाए। लिम्बुवान र खम्बुवानको पहिचानका रूपमा अगाडि आएको किरात प्रदेशका बासिन्दाले किराती नयाँ वर्ष येलेदोङ सम्बत् ५०७७ पुगेको जनाएका छन्।

राउटे, कुसुण्डा, चेपाङको प्रकृतिपूजा

अदृश्य शक्तिका उपासक वनजीवनमा रमाएका राउटे, कुसुण्डा र चेपाङलाई खस, तामाङ र किराती नश्लको नजिकको मानिन्छ। त्यसैले यी समुदायले मनाउने जति पनि संस्कार–संस्कृति छन्, ती सबैलाई कुनै न कुनै रूपमा आदिम परम्पराका रूपमा लिइन्छ। प्राकृतिक देवताहरू भुँयार, मस्टो, डाढे मस्टो, डुढे मस्टो आदि पुज्ने यी प्राचीन जातिले माघेसंक्रान्तिलाई पुर्खा स्मरण पर्वका रूपमा मनाउँछन्। रिठ्ठा–भ्याकुरजस्ता कन्दमूल खाएर जीवनको रथ अगाडि बढाइरहेका यी समुदायले यो दिनलाई अप्रत्यक्ष रूपमा पुर्ख्यौली जीवन गाथा स्मृति दिवसका रूपमा मनाउने गर्छन्। सिकार गरी ल्याएको जन्तुको मासुका परिकार, कन्दमूलका साथ नाचगान गरी माघेसंक्रान्ति यिनले मनाउँछन्। गुल्मी, प्युठान, कास्की, सल्यान, दाङ, दैलेख, सुर्खेतका दुर्गम बस्तीहरूमा बस्ने यी समुदायले पुस संक्रान्तिका दिन भुँयार देवताको पूजा थाल्ने र माघेसंक्रान्तिका दिन समापन पूजा गर्छन्। त्यसैगरी वन नमास्न, सिकार नबिगार्न र रोगव्याधिबाट बचाउन सूर्यदेवतालाई पुज्ने यस समुदायको संस्कृति रहेको छ। माघेसंक्रान्तिलाई यी वनमा रमाएका मानिसले प्रकृतिपुजा गर्ने दिनका रूपमा लिने गरेको पाइन्छ।

दिपंकर यात्रा

प्रत्येक वर्षको माघेसंक्रान्तिका दिन भक्तपुरको थथु बहिल नःपुखुनेर एक बृहत् पञ्चदान पर्व मनाइन्छ। बुद्ध शासनलाई निरन्तरता दिन काठमाडौँ उपत्यकाका प्रत्येक बिहार–महाबिहारका दिपंकर बुद्धलाई उपस्थित गराइ उपाशक–उपाशिकाबाट दान दिने–लिने परम्परा छ। दानमा शाक्य भिक्षु–भिक्षुणीहरू, फुवरे ,वज्राचार्य गुरुजुको सहभागिता रहने गर्छ भने प्रत्येक पाँच वर्षमा पाटनको नागबहालमा इतिल्हने पञ्चदान र प्रत्येक १२ वर्षमा स्वयम्भुको भुइँखेलमा देशभरका बिहार–महाविहारको सहभागिता गराइ राष्ट्रप्रमुखको समेत उपस्थितिमा सम्यक महादान पर्व भव्य ढंगमा मनाइन्छ।

पञ्चदान पर्वमा दाताहरूबाट भिक्षुलाई जीवननिर्वाहका लागि आवश्यक अन्न, नगद, वस्त्रलगायत सियोधागोसमेत दान गर्ने गरिन्छ। काठमाडौँ उपत्यकामा स्वयभ्भु महाचैत्यलाई मूल मान्दा पाँच सयभन्दा बढी बिहार–महाबिहार रहेका छन्। सम्यक महादानमा स्वयम्भु चैत्यलाई मूल मानी बौद्ध–चबवहिलको धन्दो चैत्य, काभ्रेको नमोबुद्ध, पाटनको हिरण्यवर्ण महाबिहारदेखि भक्तपुरको क्वाठडौँ महाबिहारसम्मको सहभागिता रहने गर्छ। तर प्रत्येक वर्ष माघेसंक्रान्तिका दिन हुने पञ्चदा सम्यक पूजामा भक्तपुरको क्वाठडौँ प्रशन्नशील महाबिहार, साकोठाको चतुव्रह्म महाबिहार, गोल्मढीको झौरबही, भार्वाचोको क्वथुबही र इताछेँको थथु बहीको दिपंकर बुद्धको सहभागिता रहने गर्छ। 

गोरु जुधाउने मेला

नौकोटको संयोजन नुवाकोट जिल्लाकै पहिचान पर्वका रूपमा रहेको गोरु जुधाउने जात्रा माघेसंक्रान्तिको पर्याय पर्व बन्दै आएको छ। यस वर्ष पनि १८ हल जोडी गोरु जुधाएर पहिचानको पर्वलाई निरन्तरता दिइएको छ। राणाकालीन शासकले सुरुमा आफ्नो औकात प्रदर्शनका लागि थालिएको गोरु जुधाइ पर्व वर्तमानमा जनस्तरबाटै पहिचानमुखी महोत्सवका रूपमा मनाउन थालिएको देखिन्छ। यसको इतिहास निकै लामो छ।

घ्यो–चाकु सल्हुँ नेवार समुदायमा माघेसंक्रान्तिलाई घ्यो–चाकु सल्हुँका नाउँमा मनाइन्छ। घ्यो भन्नाले घिउ र चाकुको अर्थ मौलिक मिठाइ उखुको पाक हो। राँगाको मासुको परिकार(छोयला, कचिला, दायकुगुला) का साथ चिउरा तथा नौ प्रकारका परिकार बोडि, यलय् पल(पालुंगोको साग) तिलका परिकार, उसिनेको तरुल, सख्खरखण्ड आदिका साथ खाने–खुवाउने गरिन्छ। यसरी तिल, तरुल, चाकुका परिकार खानाले जाडोबाट बच्न सकिन्छ भन्ने विश्वास रहेको पाइन्छ।

माघेसंक्रान्तिको दिन बिहान नुहाएर पितृ तर्पणपश्चात् देवीदेवताको पूजा आदि कर्म गरी घरका मूली अर्थात् अजी वा आमाको हातबाट दुवै कानमा तोरीको तेल हाल्न लगाउने र तालुमा तेल घस्न दिने गरिन्छ। आमाको हातबाट तेल लगाउन विवाह भई गएकी चेलीदेखि आफन्तसमेत आउने गर्छन्।

ङालायगु जात्रा

भक्तपुरको मौलिक पर्व ङालायगु पर्व प्रत्येक वर्ष माघ १ गते अर्थात् माघेसंक्रान्तिका दिनबाट सुरु हुने गर्छ। वर्षको सबैभन्दा जाडो हुने दिन पारी माछा मार्ने जात्रा अर्थात् नेपाल भाषामा ङालायगु पर्वको थालनीबारे छुट्टै दर्शन पाइन्छ। भक्तपुरकी आस्थादेवी नवदुर्गाको प्रतीक स्वरूप जिउँदो सुंगुरसहितका देवीगणलाई माछा मार्ने देवताका साथ टोलटोलमा नचाउन लाने गरिन्छ ङालायगु जात्रामा। रातको बेला नवदुर्गादेवीको प्रतीक सुंगुरलाई किसानको खेतखेतमा लगेर छुवाइदिए यस वर्षको अन्नबाली सप्रन्छ भन्ने मान्यता रहेको पाइन्छ भने यो जात्रा भक्तपुरको २१ वटा टोलमा साउनको भलभल अष्टमीका दिनसम्म चालु रहन्छ।

प्रकाशित: ८ माघ २०७३ ०५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App