शिव रिजाल
हाम्रा पुर्खाले अनुभव र अभ्यास गरेको ज्ञान र सीप शरीरभित्र बग्ने एउटा तरंग हो। यो तरंग तिनले रचना गरेका साहित्य, धर्म, सहर, वास्तुकला आदिमा बोध गर्न सकिन्छ। शरीर अनुभवलाई आधार मानेर हाम्रा पुर्खाले प्रतिपादन गरेका निकै सिद्धान्त हाम्रो समयमा लागु हुन सकिरहेका छैनन्। निश्चय नै शरीरमाथि राखिएका शास्त्रीय संकथनहरू संख्यामा निकै छन्। तर, केही निश्चित अंग संकथनलाई मात्र निरन्तरता दिइएको सामाजिक र राजनीतिक यथार्थ बिर्सन हुन्न। शरीरलाई जातीय वर्गमा विभाजन गर्न रूचाउने शासकवर्गले आफू हितैषी अंग संकथनहरूको मात्रै सम्बर्द्धन गर्न थाले। आफूभन्दा फरक वर्गका मानिसको शरीर चेतशून्य हुन्छन् भन्ने भ्रमको सिर्जना भयोे। ज्ञानबिहीन त्यस्ता शरीर मुढोझैँ लढिरहन्छन् भन्ने धारणाले भ्रमित वैचारिक संस्कृतिको विकास भयो। जस्तै सुन्दर धुन निकाल्न सक्ने शरीर भए पनि, जस्तोसुकै सुन्दर मूर्ति र भाँडा बनाउन सक्ने शरीर भए पनि त्यो अपूर्ण र अछुत भनी मान्न थालियो।
आफूले स्वीकारेको बाहेक अन्य संकथन बहिष्कार गरिने वैचारिक संस्कार बलियो भएर आयो हाम्रो समाजमा। शरीर सबैको हुन्छ, पूर्णता कसैलाई प्राप्त हुन्न। सम्पूर्णता प्राप्त गर्नको लागि आफूलाई अपूर्ण छु भन्ने बोध हुनुपर्छ। शरीर पनि ब्रह्माण्डजस्तै सदा तरंगित भइरहने वस्तु हो भन्ने संकथनहरू राज्यको शिक्षा र कानुनमा कहिल्यै परेनन्। शरीरमाथि राखिएका केही संकथनका आधारमा समाजले आफ्ना सदस्यमाथि नियन्त्रण गर्दोरहेछ। यो समाज निर्माण प्रक्रियाको पहिलो आधार रहेछ। एक निश्चित शक्तिशाली वर्ग हितैषी अंग संकथनमा शोषितवर्गका शरीरको सम्मान नहुने रहेछ। अंग संकथन त्यसैले विशुद्ध दार्शनिक अभ्यास होइन। यस्ता संकथनभित्र राजनीति लुकेको हुन्छ। अरुको अपूर्णता औँल्याएर आफ्नो लाज ढाक्नेे ज्ञानको राजनीति हुन्छ।
अरुले अनुभव गरेको शरीरबोधले पनि हामीलाई आत्मबल दिने गर्छ। एक व्यक्तिले साधनाबाट प्राप्त गरेको विचार अनि यसबाट बनेका वचन र कर्मले आमनरनारीका शरीरमा प्रभाव पारिरहेको हुन्छ। हामी महात्मा गान्धीलाई उदाहरणको रूपमा लिन सक्छौँ। उनले आफ्नो शरीरलाई ध्यान र योगाभ्यासको माध्यम बनाए, तर त्यही शरीर राजनीतिक र वैचारिक तहमा सबभन्दा शक्तिशाली भएर आयो, औपनिवेशिक भारतमा।
अर्को प्रसंग, आधुनिक नेपाली समाज निर्माण प्रक्रियालाई विभिन्न देशमा प्रयोगमा ल्याइएका विकासका मोडेलका आधारमा अघि लाने प्रयास भइरहेको छ। यसै अनुरूपका नीतिनियमहरू तर्जुमा गरिँदैछ। पुँजीवादी समाजले अघिसारेका अंग संकथनहरू व्यापक हुँदैछन्। हाम्रो आफ्नै शरीर हामीले भन्दा पनि पुँजीशक्ति चलाउनेहरूको व्याख्याबाट निर्देशित भइरहेको छ। नेपाली समाज निर्माण प्रक्रियालाई अंग संकथन र तिनले पारेको प्रभावबाट अलग्याएर हेर्न सकिन्न। तर अंग संकथनहरूले सिर्जना गरेका भ्रम र यथार्थ बु‰न–बुझाउन हामी नेपालीले गर्नुपर्ने यात्रा स्वभावले नै फरक हुन आउँछ। हाम्रा ऋषिमुनीहरूले शरीरमाथि गरेका व्याख्यालाई कुनै संग्रहालयमा राखिएको प्राचीन वस्तुझैँ लिने वैचारिक संस्कारको विकास हँुदैछ। हाम्रो शरीरको समकालीनता छ, तर पनि शरीर विभिन्न समय र सामाजिक सन्दर्भमा यसमाथि राखिएका संकथनहरूबाट निर्देशित र नियन्त्रित हुने गर्छ भन्ने कुरातिर कमै ध्यान गएको छ।
२०४६ सालयता नेपाली समाजमा हुँदै आएका राजनीतिक र सामाजिक रूपान्तरण ऐतिहासिक छन्। महिला र पुरुष, पाहाडी र मधेसी, छुत र अछुत, जनजाति र गैरजनजातिजस्ता विषयमाथि बहसहरू चलेका छन्। ऐतिहासिक मानिने यस्ता बहसमा शरीर अधिचेतना न्यूनमात्रामा पाइन्छ। विभिन्न आन्दोलनका क्रममा आमनेपालीका शरीरले लिएको आयाम, त्यसले उजागर गरेको शक्तिलाई राजनीतिक दलका केही नीति र नाराका आधारमा मात्र हेरिएको छ। सहिद, दिवंगत नेताहरू र विचारकहरूका प्रसंग राजनीतिक रणनीतिको रूपमा ज्यादा प्रयोग भएको छन्। मुक्त वा स्वतन्त्र अनि आत्मविवेकी नागरिकको काल्पनिकीमा कस्ता अंग संकथन पर्छन्, यतातिर बहस चल्न सकेको छैन। केही वर्षयता मुत्यु संस्कारलाई थप परिमार्जन गर्नुपर्छ भन्ने बहस चल्न थालेको छ। यो बहसलाई व्यापक बनाउन सकिएको छैन। मृत शरिरले जीवित समाजमा पार्ने प्रभाव के हो? यो सामाजिक र मनोवैज्ञानिक यथार्थ बु‰न–बुझाउन हामीले अंग संकथनमाथि बहस व्यापकस्तरमा चलाउन सक्नुपर्छ।
नेपालमा दलित विषय सामाजिक, राजनीतिक र आर्थिक दृष्टिकोणबाट व्याख्या भएका छन्। मार्क्सवादीहरू वर्गसंघर्षलाई जोड दिन्छन्। वर्गद्वन्द्वबाट नयाँ चेत निस्कन्छ, अनि यसले नयाँ सम्बन्धका आयामहरू खोलिदिन्छ। यो सोच सबभन्दा प्रबल देखिन्छ तिनले चलाएका बहसहरूमा। यस्ता बहससँग सहमत हुँदाहुँदै पनि हामी थप के भन्छौँ भने बलियो अर्थतन्त्र, रोजगारी र समान अधिकारलाई अंग संकथनबाट अलग्याएर हेर्न सकिन्न। अंग संकथनभित्र चल्ने राजनीति चिर्न नसक्दासम्म हामी स्वतन्त्र नागरिकको परिकल्पना गर्न सक्दैनौँ। जुन अछुत हुँदैहोइन, यो कसरी केही संकथनले बनाएको जेलभित्र रहिरहन सक्छ?
त्यस्तै, पश्चिमी मुलुकमा उद्भव र प्रयोग भएका कला, साहित्य र समालोचनाजनिन प्राज्ञिक अभ्यासहरूको प्रभाव नेपाली आधुनिक र उत्तरआधुनिक लेखन संस्कृतिमा प्रत्यक्ष र अप्रत्यक्ष ढंगमा परेको देख्न सकिन्छ। स्वाभाविक र अस्वाभाविक लाग्ने यस्ता प्रभावमाथि धेरै बहस भएका छैनन्। नेपाली समाजका आफ्ना चरित्रहरूमध्ये अंग संकथन एउटा प्रमुख तŒव हो। आफ्नो शरीरबोधबिना नवीनतम रचना वा विचार राख्न सकिन्न भन्ने तर्क सर्वमान्य छ। त्यसो त समालोचकहरूले यतातिर ध्यान नदिँदा पनि नेपाली साहित्यमा अंगचेतना प्रचुर मात्रामा अनुभूत गर्न सकिन्छ। बदलिँदो राजनीतिक र सामाजिक परिवेशमा लक्ष्मीप्रसाद देवकोटाले सिर्जना गरेका कविपात्रहरू नवीन शारीरिक अनुभव प्रस्तुत गर्छन्। ती भन्छन्– मेरो शरीर फरक भएको छ। अनुभव नयाँ गर्छु म। मलाई बु‰यौ भने नयाँ समय बु‰यौ, भन्छ ऊ। देवकोटाका ‘यात्री’देखि ‘पागल’जस्ता कवितामा शरीरचेत प्रचुरमात्रामा छ। त्यसैगरी बीपी कोइरालाका ‘सुम्निमा’देखि ‘मोदीआइन’मा शरीरचेत प्रचुर भएर आउँछ। सुम्निमा, सोमदत्त, अर्जुन र कृष्ण सबै अंग संकथनले जन्माएका भ्रम र यथार्थको कुरा गर्छन्। तर, यी कृतिबारे विधागत आधारमा ज्यादा व्याख्या भए। कवि श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’मा शरीरचेत प्रचुर छ। कवि आहुतिको ‘गहुँगोरो अफ्रिका’मा बोल्ने पात्र शरीर लिएर बोल्छ। उसको शरीरमा कुद्ने झट्का नयाँ समयको उद्बोधन हो। तर, यीलगायत अन्य कवितालाई प्रगतिशील वर्गमा ज्यादा लिने गरिएको छ। नाटककार अभि सुवेदीको ‘अग्निको कथा’का पात्रहरू शरीरबोधतिर फर्किन्छन्। तिनका लागि आफ्नै शरीर सबभन्दा भरपर्दो सिर्जनशील स्रोत र माध्यम हो। समालोचकहरूले यसलाई उत्तरआधुनिक नाटक भनी व्याख्या गरे।
नेपाली कला र साहित्यलाई विभिन्न विधागत श्रेणीमा विभाजन गरेर हेर्ने समालोचना पद्धति सबभन्दा स्थापित मान्यता भएर आएको छ। यथार्थवादी मानिने उपन्यासले प्रस्तुत गर्ने शरीर के हो? अनि यो कस्ता अंग संकथनहरूबाट निर्देशित हुन चाहन्छ त? अथवा यौनवादी भनी मानिने कथाले प्रस्तुत गर्ने शरीर कस्तो हो? यी कस्ता अंग संकथनको छायाँबाट मुक्त हुन चाहन्छ? यतातिर खासै ध्यान जान सकेको छैन।
शरीर आफैमा निरुपण गर्न नसकिने वस्तु हो। शरीर सबैका हुन्छन्। यो प्रष्ट देखिन्छ। हाम्रा अंगहरूका नाम छन्। अंगहरूले गर्ने कामका बारेमा पनि हामी परिचित छौँ। झट्ट हेर्दा शरीर पनि अध्ययन गरिनुपर्ने विषय हो र जस्तो लाग्छ। तर, हाम्रो अनुभव बोल्छ, हाम्रा सबै अनुभव वाचाल नहुन सक्छन् हाम्रै लागि। कैयाँै अनुभव अवचेतनमा मात्रै सीमित रहन्छन्। आफैले बोकेर हिँड्ने, त्यसैबाट निर्देशित भइरहने र निकै कोसिस गरेर पनि नबुझिने हुन्छन् हाम्रा अवचेतन। हाम्रो आफ्नै भए पनि अवचेतनतिरको यात्रा त्यत्ति सहज हुँदैनन्। फेरि सबैसँग त्यसका लागि चाहिने शक्ति, विश्वास र समय नहुन सक्छ। त्यसैले हामी एकआपसका आंगिक चेत र अनुभवले काम चलाउन थाल्छौँ।
हाम्रो शरीर कत्तिको समाज र कत्तिको प्रकृति हो? हामीलाई छुट्याउन गाह्रो हुन्छ। हामीले बाँचेको समाज हाम्रो शरीरभित्र घर बनाएर बस्छ। समाजमा हाम्रो घर छ कि हाम्रो शरीरभित्र समाज छ, छुट्याउन गाह्रो हुन्छ। सरकारले अपनाउने आर्थिक, राजनीतिक र सांस्कृतिक नीतिले हाम्रो शरीरमा व्याप्त छालादेखि हामीले विसर्जन गर्ने मलमूत्रसम्म प्रभाव पारिरहेको हुन्छ। तर पनि हामी राजनीति र प्रकृति फरकफरक कुरा हुन् भनी मान्छौँ। प्रकृति हामीभित्र छ। आगो हामीले ग्रहण गर्ने भोजनबाट पनि निस्कन्छ। उज्यालो र अँध्यारोको खेल हामीभित्र पनि चलिरहन्छ। तर पनि प्रकृति हामीभन्दा बाहिर छ भन्ने बोधले हामी निर्देशित भइरहन्छौँ। समाज, शरीर, प्रकृति कहाँ गएर मिल्छ? अनि कहाँबाट फरक हुन थाल्छ? सबभन्दा अप्ठ्यारो हामीलाई आफ्नै शरीर लाग्न थाल्छ। यसमाथि हाम्रो नियन्त्रण कहाँ पुगेर खुस्किन्छ, हामी आफै भन्न सक्दैनौँ।
हाम्रो शक्ति कहाँबाट आउँछ। ध्यानबाट आउँछ? धनबाट आउँछ? सुन्दर हुनुबाट आउँछ? हाम्रो शरीरमा आउने शक्ति हाम्रो आफ्नै शरीरबाट आउँछ कि अरु कसैको शरीरबाट? जात्रामा सहभागी हुँदा आउँछ कि व्रत, पूजा, आराधनाबाट आउछँ? हाम्रो अनुभव बोल्छ अरुले अनुभव गरेको शरीरबोधले पनि हामीलाई आत्मबल दिने गर्छ। एक व्यक्तिले साधनाबाट प्राप्त गरेको विचार अनि यसबाट बनेका वचन र कर्मले आमनरनारीका शरीरमा प्रभाव पारिरहेको हुन्छ। हामी महात्मा गान्धीलाई उदाहरणको रूपमा लिन सक्छौँ। उनले आफ्नो शरीरलाई ध्यान र योगाभ्यासको माध्यम बनाए, तर त्यही शरीर राजनीतिक र वैचारिक तहमा सबभन्दा शक्तिशाली भएर आयो, औपनिवेशिक भारतमा।
अन्त्यमा, मुक्त शरीरको कल्पना एउटा सनातन शक्ति हो। अंग संकथनबाट मुक्त शरीरको कल्पना गर्न सकिन्न। तर, सबै संकथन एउटै स्वभावका छैनन्। जब केही निश्चित अंग संकथनका साँचोमा ढालिएर बनिएका हाम्रा स्वभाव, चेत र सम्बन्ध दुख्दै जान्छ, हामी स्वभावले नै फरक तर मन आनन्द पार्ने अंग संकथनतिर फर्कन्छौँ। अंग संकथनलाई जम्न दिनु हुन्न। यसलाई तरल बनाउन यसभित्र छिर्न सक्नुपर्छ। यो सम्भव पार्न सक्नु हाम्रो जिम्मेवारी हो।
प्रकाशित: ८ माघ २०७३ ०५:३५ शनिबार