८ वैशाख २०८१ शनिबार
राजनीति

पेलाइमा विद्यार्थी

झापा- राजनीतिक दलदेखि विभिन्न संघसंस्थासम्मले सार्वजनिक कार्यक्रमका लागि विद्यालय प्रांगण नै रोज्दा विद्यार्थीको पढाइ सधैं बिथोलिने गरेको छ। हरेक संघसंस्था र दलले समाजमा आफ्नो उपस्थिति देखाउन केही न केही कार्यक्रम गरिरहेका हुन्छन्। अन्य सार्वजनिक स्थल अभावमा उनीहरूले स्कुलकै चौरलाई कार्यक्रमस्थल बनाउँछन्। यसले नियमित पठनपाठनमा असर पारिरहेको तथ्यलाई आयोजक देखेको नदेख्यै गर्छन्। सामुदायिक विद्यालयमा कार्यक्रम आयोजना गर्नेहरूले स्कुलसँग अनुमति लिने आवश्यकता पनि ठान्दैनन्।

'संघसंस्था र दलहरू जे गर्नुपरे पनि स्कुलकै चौरमा भेला हुने चलन छ,' ज्यामिरगढी माविका प्रधानाध्यापक सन्तप्रसाद चौलागाईं भन्छन्, 'तर, त्यसरी भेला हुँदा, कार्यक्रम गर्दा विद्यार्थीको पढाइमा आउने अवरोधबारे कोही गम्भीर हुँदैनन्। यो समस्याको मुख्य पाटो हो।'  

सरकार स्वयं पनि यो मामिलामा उदासीन र गैरजिम्मेवार छ। साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल झापाको  बनियानी आउँदा स्कुलमै कार्यक्रम भयो। प्रधानमन्त्री आउने भएपछि केही दिनअघिदेखि नै स्कुलमा सुरक्षाकर्मीको आवतजावत सुरु भयो। धमाधम पढाइ चलिरहेकै बेला दुई दिन स्कुल ठप्प भयो। स्कुल ठप्प पारेर प्रधानमन्त्रीको भाषण भयो।

विद्यालय मैदानमा यस्ता कार्यक्रम रोक्न व्यवस्थापन समितिले नसक्दा समस्या बढिरहेको जिल्ला शिक्षा कार्यालयको भनाइ छ। 'विद्यालयको पठनपाठन बिनाअवरोध अघि बढाउने, रेखदेख गर्ने दायित्व व्यवस्थापन समितिको हो,' जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराल भन्छन्, 'त्यसो गर्न नसक्ने हो भने समितिको औचित्य के हो?' उनले समितिबाट जिम्मेवार भूमिका अपेक्षा गरे पनि यथार्थ बेग्लै छ। किनभने दलीय भागबन्डामा गठन हुने समितिमा दलका कार्यकर्ताको ताँती हुन्छ। उनीहरू विद्यालय सुधारभन्दा बढी राजनीतिक अभीष्ट पूर्तिमै मग्न हुन्छन्। जसका कारण उनीहरू केही गर्न खोज्दैनन्।

यीबाहेक अन्य कार्यक्रम पनि पढाइ बिथोल्ने कारक बनिरहेका छन्। मंसिरमा स्कुलमा धमाधम पढाइ चलिरहेको थियो। सुरुंगा गोल्डकप फुटबलको चौथो संस्करण विद्यालय मैदानमा भयो। सुरुंगावासीले गौरवका रूपमा लिएको सो प्रतियोगिता अवधिभर कन्काई माविका विद्यार्थीको पढाइ बिथोलियो किनभने फुटबल स्कुलकै मैदानमा भएको थियो। हरेक दिन एक बजेपछि विद्यार्थीको पठनपाठन रोकेर प्रतियोगिता चलेको थियो। 'प्रतियोगिताभरि दैनिक सबै कक्षाका तीनवटा कक्षा बन्द नै भए,' विद्यालयका एक शिक्षकले भने, 'हामीले फुटबल नगरौं भन्न सक्ने अवस्था रहेन, पढाइ रोक्नुको विकल्प भएन।' फुटबल प्रतियोगितालाई समाजको प्रतिष्ठा ठान्नेहरूले स्कुलको संवेदनशीलता नबुझेको ती शिक्षकको भनाइ छ।

पुस दोस्रो साता सुरु भएर केही दिनअघि  काँकडभिट्टा गोल्डकपको दोस्रो संस्करण सकियो। प्रतियोगिता सफल पार्न काँकडभिट्टामा पनि अभूतपूर्व सामाजिक एकता प्रदर्शन भयो। तर  स्कुलका विद्यार्थीको पढाइ भने प्रतियोगिताभरि प्रभावित भयो। प्रत्येक दिन तीनवटा कक्षा बन्द गर्नुपर्ने बाध्यता आइलाग्यो। 'मैदानमा फुटबल खेल सुरु भएपछि पढाइ त स्वाभाविक रूपमा प्रभावित हुन्छ,' काँकडभिट्टा माविका प्रधानाध्यापक तुलसीप्रसाद निरौलाले भने, 'यसले विद्यालयमा धेरै समस्या ल्याएको छ।'

यी त केही उदाहरणमात्रै हुन्। यसरी विद्यालयको मैदानमा खेलकुद तथा अन्य कार्यक्रम आयोजना गर्दा पठनपाठन पूरै प्रभावित हुँदै आएको छ। झापाका अधिकांश खेलमैदान तथा खुला चौर विद्यालय परिसरमै छन्। विभिन्न कार्यक्रमका स्थानीय आयोजक त्यही ठाउँलाई कार्यक्रमस्थल बनाउँछन्। विद्यालयले इन्कार गर्न सक्दैनन्।

सामुदायिक विद्यालयले कक्षा समय उपयोग नगरेको, अधिकांश दिन बिदा हुनेलगायत कारणले शैक्षिक उपलब्धि राम्रो नभएको आरोप खेप्दै आएका छन्। तर विद्यालय मैदानमा कार्यक्रम गर्दा विद्यार्थीमा पर्ने असरबारे भने आयोजकले कहिल्यै सोच्दैनन्। फुटबल तथा अन्य मनोरञ्जनात्मक कार्यक्रममा तत्काल विद्यार्थी आकर्षित भए पनि त्यसले समयमै कोर्स पूरा गर्न बाधा हुन्छ। विद्यालय समयमा  स्कुलकै मैदानमा आयोजना हुने विविध कार्यक्रमले कलिला विद्यार्थीको सिकाइ प्रक्रियामा असर गरिरहेको जानकार बताउँछन्। 'स्कुल बिदा भएका बेला बेग्लै हो, विद्यालय चालू अवस्थामा रहेका बेला पठनपाठनमा बाधा पुर्‍याउने काम कसैले गर्न हुँदैन, यसका लागि कडा कानुन चाहिन्छ,' पूर्वशिक्षक भीम राउत भन्छन्, 'विद्यालय परिसरलाई अन्य हस्तक्षेपले प्रभावित हुन दिनु बालअधिकार हनन हो।'

झापामा ३ सय ६५ सामुदायिक स्कुल छन्। तीमध्ये धेरैजसोका मैदानलाई धेरैले कार्यक्रमस्थल बनाउँछन्।  विभिन्न निजी तथा सामुदायिक विद्यालयका मैदानमा हुने राजनीतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, संघसंस्थाले गर्ने कार्यक्रमले पढाइ प्रभावित हुन्छ। तर यो पाटोलाई कार्यक्रम आयोजक, अभिभावक, शिक्षक र  समाजका अगुवाले गम्भीरतापूर्वक लिएको पाइँदैन।

नयाँ संविधानले विद्यालयमा राजनीतिक कार्यक्रम गर्न नपाउने किटान गरेको छ। तर विद्यालय परिसरमा बिनाअनुमति आयोजकले विभिन्न कार्यक्रम गर्न छाडेका छैनन्।  काँकडभिट्टा माविका प्रधानाध्यापक निरौलाका अनुसार विद्यालय मैदानमा विभिन्न संघसंस्थाले कार्यक्रम गर्छन् तर अनुमतिचाहिँ माग्दैनन्। यस्तो समस्या जिल्लाका अन्य क्षेत्रमा पनि उस्तै छ। झापाकै एउटा विद्यालयका प्रधानाध्यापकका अनुसार सबैभन्दा पेल्ने काम स्थानीय दलका कार्यकर्ताले गर्छन्। स्कुल चल्दाचल्दै पार्टीको प्रशिक्षण चलाउने कामसमेत धेरै पटक भएको छ।

खेलकुद क्षेत्रका अगुवा खुला मैदान र खेलमैदान स्कुलबाहेक अन्यत्र नहुँदा यस्तो समस्या आएको बताउँछन्। 'बालबालिकाको पढाइ बिथोलेर कुनै पनि गतिविधि हुनु हुँदैन,' पूर्व फुटबल खेलाडी दीपक कटुवाल भन्छन्, 'यसका लागि सरकारले खुला मैदान बनाउने, खेलमैदान बनाउने काममा लगानी गर्नुपर्छ। अन्यथा यस्तो समस्या सधैं रहिरहन्छ।'

प्रकाशित: ९ माघ २०७३ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App