८ वैशाख २०८१ शनिबार
खेल

सहारा अन्तिम चारमा

पोखरा- पाहुना भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक सहारा आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ। सहाराले सिक्किम युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो।

निर्धारित समयमा गोलरहीत बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि खेल गोलरहीत बराबरी भएपछि टाइब्रेकरबाट टुंगो लगाइयो।

टाइब्रेकरमा सिक्किमका सञ्जय क्षेत्रीले पहिलो र फुर्वा छिरिङ भुटियाले पेनाल्टीमा गोल गरे। सोनम तोप्देन र आशिष क्षेत्रीले पेनाल्टी प्रहारमा गोल गर्न सकेनन्।

सहाराका सुशन गुरुङ, शिव सुवेदी, रमेश मगर र उत्तम गुरुङले पेनाल्टीमा गोल गरे। सिक्किमको आहा–रारामा दोस्रो सहभागिता हो।

सहाराले अब झापा–११ र आर्मीको विजेतासँग खेल्नेछ। शनिबारको खेलमा सिक्किमका सञ्जय क्षेत्री नै म्यान अफ दि म्याच भए। आयोजक सहारा आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १२ औं संस्करणको विजेता हो। गत वर्ष सेमिफाइनलमा आर्मीसँग पराजित भएर सहारा बाहिरिएको थियो।

निर्धारित समयमा दुवै टिमले गोलका राम्रा अवसर सिर्जना गरे पनि दुवैले गोल गर्न सकेनन्। पाँचौं मिनेटमै सहाराका अजयी मार्टिनले पेनाल्टी बक्सभित्र सिक्किमका गोलरक्षक पुजन प्रधान बिट हुँदा गोल गर्न चुके। २० औं मिनेटमा रिचार्ड पुनले पेनाल्टी बक्सबाट प्रहार गर्न लाग्दा सिक्किमका गोलरक्षक पुजनसँग ठोक्किएपछि फर्किएको बल मार्टिनले प्रहार गर्दा पोस्टमा लागेर बाहिरियो।

सिक्किमले पनि केही राम्रा अवसर चुकायो। २८ औं मिनेटमा लेन्डुप भुटियाको क्रसमा सञ्जय क्षेत्रीले गरेको प्रहार क्रसबारमा लागेर रिबाउन्ड भयो। ६१ औं मिनेटमा सञ्जयकै फ्रिकिक नाडोङ भुटियाले हेड गर्दा पोस्टमा ठोक्किएको थियो।

सिक्किमका प्रशिक्षक अर्जुन राईले २ पटक गोलका अवसर खेर जाँदा पराजित भएको बताए। 'रणनीति अनुसार मैले खेलाडी परिवर्तन गरें। खेलाडीले राम्रो खेलेका पनि हुन्। तर पराजित भयौं,' उनले भने, 'हाम्रा २ प्रहार बारमा लागेर बाहिरिए, त्यसैले पराजित हुनु पर्‍यो।' उनले आयोजकको माया र सद्भावले पोखरामा खेल्न लोभ्याउने बताए। 'फेरि पनि पोखरामा खेल्न आउनेछौं,' उनले भने।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले सिक्किम शारीरिक रुपमा निकै बलियो र सशक्त टिम भएकाले खेल जित्न टाइब्रेकर कुर्नुपरेको बताए। 'क्वार्टरफाइनलमा जुनसुकै टिम पनि सुरक्षित भएर खेल्छन्। सिक्किमसँग पनि त्यही भयो। हामीले सुरुमा पाएका दुईवटा अवसर गुमायौ,' उनले भने, 'त्यसले गर्दा अन्तिमसम्म कडा मेहनत गर्नुपर्‍यो। सिक्किम सशक्त छ।' उनले आशा गरिएका खेलाडी मार्टिन खेल्न नसकेको बताए। आइतबार लक्ष्मी हुन्डाई मनाङमर्स्याङदी र धरान–११ बीच खेल हुनेछ।

प्रकाशित: ९ माघ २०७३ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App