५ वैशाख २०८१ बुधबार
कला

दृष्टिविहीन परिवारका लागि घर बनाउने जीग्री–पाँडेको घोषणा (भिडियाे)

काठमाडौं– हास्य कलाकार कुमार कट्टेल (जीग्री) र अर्जुन घिमिरे (पाँडे)ले सामाजिक काममा आफ्नो कमाइको ५ प्रतिशत लगानी गर्ने र वार्षिक १० वटा कार्यक्रम गर्ने घोषणा गरेका छन्। सामाजिक कामलाई निरन्तर रुपमा अघि बढाउने उद्देश्यले उनीहरुले यस्तो घोषणा गरेको जनाएका छन्।

आफ्नो कमाइको अलवा उनीहरुकै सक्रितामा स्थापना भएको जीग्री–पाँडे प्रतिष्ठानले वार्षिक १० वटा कार्यक्रम गरेर सामाजिक कामका लागि सहयोग संकलन गर्ने उद्देश्य राखेको प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलले बताए।

जीग्री–पाँडे प्रतिष्ठानको स्थापना नै सामाजिक कामका लागि भएको भन्दै उनीहरुले सप्तरीको गम्हरीया–४ प्रवाहका दृष्टिविहीन ३ परिवारका लागि घर बनाउने घोषणा गरेका हुन्।

युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहको पहल र सप्तरी युथ नेपालको संयोजनमा उक्त ठाउँमा पुग्दा त्यहाँको दुरावस्थाले आफूहरुलाई केही गर्नुपर्छ भन्ने भावना उत्पन्न भएको उनीहरुको भनाई छ।

सप्तरीका उक्त तीन परिवारमा १७ जना सदस्य छन्। उनीहरुलाई पाल्ने मुख्य व्यक्तिसहित ५ जना नै दृष्टिविहीन हुँदा दैनिक गुजरा चलाउन समेत समस्या छ। बस्नको लागि बास, शरीरमा लगाउने कपडा र खाद्यन्नको समेत अभावमा रहेकाले उनीहरुलाई सहयोग गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। केही दिन अघि मात्र उनीहरुले दृष्टिविहीन परिवारका लागि लत्ताकपडा र खाद्यान्न वितरण गरेका थिए।

३० लाख रुपैंया अनुमानित लागतमा निर्माण हुने उक्त घर बालमैत्री, अपांगमैत्री र धुवाँरहित बनाइने जीग्री पाँडे प्रतिष्ठानले जनाएको छ। दृष्टिविहिनका लागि घर बनाउने अभियानका लागि सहयोग गर्न प्रतिष्ठानको कृषि विकास बैंकको खाता नं. ०२१०६०११२९५९३०१२ वा प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेको नाममा रेमिट्यान्समार्फत पनि सहयोग पठाउन सकिने जीग्री–पाँडेले जानकारी दिएका छन्।

यसैबीच, उनीहरुले धुर्मुस–सुन्तलीले देखाएको समाज सुधारको बाटोमा आफूहरु पनि हिँड्न तयार भएको उनीहरुले बताए।

‘उहाँहरुसँगको सहकार्य र ऐक्यबद्धता अहिले पनि जारी छ, त्यसबाट पाएको शिक्षाको प्रतिफलस्वरुप दृष्टिविहीन परिवारका लागि घर बनाउने आँट गरेका हौँ,’ कुमार कट्टेलले भने। देखासेखी वा प्रतिस्पर्धा भन्दा पनि सामाज परिर्वतनका लागि आफूले सकेको सहयोग गर्नु हरेक नागरिकको कर्तव्य भएकाले त्यही कर्तव्य आफूहरुले पालना गरेको प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेले बताए।

‘यो कामका लागि सहयोगी हातहरुको साथ आवश्यक छ,’ उनले भने, ‘सहयोगका लागि प्रतिष्ठानले सबै समक्ष अपिल गर्दै भिडियो सार्वजनिक गरेको हो।’

भिडियाे हेर्नुहाेस्ः

प्रकाशित: ११ माघ २०७३ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App