coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

'पिंकाथन' अभियन्ता मिलिन्द सोमन

काठमाडौं– भारतीय सुपरमोडल मिलिन्द सोमनको काठमाडौं भ्रमणमा अनिवार्य समावेश हुने दुई गन्तव्य छन्, पशुपतिनाथ र दशरथ रंगशाला। धार्मिक आस्था राख्ने उनी पशुपतिनाथ पुग्दा सकारात्मक ऊर्जा अनुभव गर्छन्। अनि दशरथ रंगशाला त्यही ठाउँ हो, जहाँ उनले पहिलो दक्षिण एसियाली खेलकुदमा भारतका लागि पदक जितेका थिए। त्यसैले छिमेकी देशको भ्रमणमा आउँदा उनले यी दुई ठाउँ पुग्न छुटाएका छैनन्।

पछिल्लो पटक दुई महिनाअघि पहिलो पिंकाथन काठमाडौेंको घोषणा गर्न आउँदा पनि उनले पशुपतिनाथ दर्शन गरे । रंगशाला पुगेर केही ल्याप दौडिए । त्यो उनको दोस्रो काठमाडौं भ्रमण थियो । १९८४ मा नेपालले दक्षिण एसियाली खेलकुदको सुरुआत गर्दा भारतीय पौडी टोलीको सदस्यका रुपमा उनी पहिलो पटक काठमाडौं आएका थिए ।

‘मेरा लागि १९८४ को नेपाल भ्रमणको विशेष महत्व छ । मैले आफ्नो देशको प्रतिनिधित्व गर्दै त्यस बेला पदक जितेको थिएँ । त्यो रजत थियो कि कांस्य, अहिले मलाई सम्झना छैन । तर मेरा लागि त्यो स्वर्णभन्दा कम छैन । किनकी मैले आफ्नो देशको प्रतिनिधित्व गर्दै जितेको त्यो एकमात्र अन्तर्राष्ट्रिय पदक हो,’ मिलिन्दले मंगलबार तेस्रो पटक काठमाडौं आउँदा पत्रकारसँग भने, ‘म त्यस बेला पनि पशुपतिनाथ गएको थिएँ । मलाई पशुपतिनाथ जान मन लाग्छ र त्यहाँ अत्यन्त आनन्द अनुभव गर्छु । त्यहाँ पुगेपछि बेग्लै सकारात्मक ऊर्जा प्रवाहित हुन्छ । पशुपतिनाथ र दशरथ रंगशालामा देशका लागि पदक जितेको सम्झनाले मेरा लागि काठमाडौं विशेष सहर बनेको छ । पछिल्लो पटक यहाँ आउँदा पनि म दुवै ठाउँ गएँ । रंगशाला पुगेर केही ल्याप दौडिएँ । बाटोमा भने प्रदूषणका कारण सकिँन ।’

पहिलो साफमा उनले १ सय र २ सय मिटर ब्रेस्ट स्ट्रोक तथा इन्डिभिजुअल मिडले विधामा प्रतिस्पर्धा गरेका थिए । खेलाडीका रुपमा पहिलो पटक काठमाडौं आउँदा मिलिन्द १९ वर्षका किशोर थिए । अहिले उनको उमेरले ५२ वशन्त पार गरिसकेको छ । त्यसैले उनको काठमाडौं आउने उद्देश्य पनि फेरिएको छ । अहिले उनी आफैं खेल्न नभई एउटा रचनात्मक र सामाजिक कार्यमा हजारौंलाई सहभागी गराउने अभियानका साथ नेपाल आउन थालेका छन् । फागुन १३ मा हुने पिंकाथन काठमाडौंका लागि उनी नेपाल आएका हुन् । महिला सशक्तिकरण तथा महिला स्वास्थ्यको अभियानका रुपमा पाँच वर्षअघि आफैंले मुम्बईमा सुरु गरेको पिंकाथनलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा उनले पहिलो पटक भारतबाहिर काठमाडौंमा गर्न लागेका छन् ।

‘काठमाडौं मेरा लागि विशेष सहर हो । पिंकाथनको अन्तर्राष्ट्रियकरण पनि यही सहरबाट हुन लागेकोमा म अत्यन्तै उत्साहित छु,’ १९८८ मा भारतीय राष्ट्रिय पौडी च्याम्पियनसिप खेलेपछि संन्यास लिएका मिलिन्दले भने ।

महिला स्वास्थ्य क्षेत्रमा आफूले सुरु गरेको अभियान अन्तर्राष्ट्रिय रुपमा विस्तार भइरहँदा उनी जति उत्साहित थिए, त्यति नै मंगलबार रंगशाला पुग्न नसकेकोमा उनी निराश पनि थिए । विमानस्थलबाट सोझै पशुपतिनाथ पुगेका उनको रंगशाला जाने, केही ल्याप दौडिने र आफूले पदक जितेको पौडी पोखरी हेर्ने धोको समय अभावले मंगलबार पूरा भएन । बुधबार बिहानै भारत फर्किनुपर्ने भएकाले यसपल्ट रंगशाला पुग्ने धोको पूरा नहुने सम्भावना थियो । ‘तर भोली बिहान भए पनि जाने प्रयास गर्छु । भोली नसके फागुनमा पिंकाथन काठमाडौंका लागि आउँदा पक्कै पुग्छु । मैले त्यो विशेष पदक जितेको पौडी पोखरी पनि पुग्छु,’ उनले भने ।

खेलाडीपछि भारतीय ग्ल्यामर जगतका सुपरमोडल, विभिन्न देशका फिल्ममा अभिनय गरिसकेका कलाकार, बलिउडका फिल्म निर्माता, खेलाडी हुँदै सामाजिक अभियन्ता लगायतको आफ्नो परिचयमा धेरै आयाम थप्न भ्याएका मिलिन्द कलाकार, मोडल, खेलाडी वा सामाजिक अभियन्तामध्ये एउटा परिचय रोज्नु परे निर्णय गर्न सक्दैनन् । तर आफूलाई दौडिने लत लागेको एउटा अम्मलीका रुपमा बयान गर्न भने उनी एकक्षण पनि लगाउँदैनन् ।

‘पौडीबाट संन्यास लिएपछि म २००३ सम्म खेलकुदबाट टाढा भएँ । मैले पौडीमा राष्ट्रिय च्याम्पियन हुनुका साथै राष्ट्रिय प्रतियोगितामा १३ वर्षसम्म महाराष्ट्रको प्रतिनिधित्व गरेँ । म सानै उमेरदेखि फिट थिएँ,’ ९ वर्षको उमेरमा राष्ट्रिय स्तरमा पौडीको पदक जितेको स्मरण गर्दै मिलिन्दले भने, ‘तर मलाई सानै उमेरदेखि कुनै दिन म्याराथन दौडिनुपर्छ भन्ने लाग्थ्यो । मानवका रुपमा जन्मिएपछि म्याराथन नदौडिइ हुँदैनजस्तो लाग्थ्यो । २००३ मा पहिलो मुम्बई म्याराथनको घोषणा भएपछि मेरो सहरमा म्याराथन हुँदैछ, म पनि त्यसको हिस्सा हुनुपर्छ भन्ने लाग्यो । म फिट थिएँ, २÷३ किलोमिटर सहजै दौैडिन सक्थेँ । २१ किलोमिटर दौडिन्छु भन्ने अठोटसहित भाग लिँदा सहजै दूरी पूरा गरेपछि दौडिने लत बस्यो ।’

मुम्बई म्याराथनका लागि ३ महिना ट्रेडमिलमा दौडिएर उनले तयारी थालेका थिए । ३ महिनापछि सडकमा दौडिने प्रयास गर्दा सुरुमा उनलाई निकै पट्यारलाग्दो अनुभव भयो । तर २००४ मा भएको पहिलो मुम्बई म्याराथनअन्तर्गत २१ किलोमिटरको हाफ म्याराथन बिना कुनै समस्या २ घन्टा ५ मिनेटमा पूरा गरेपछि नयाँ आत्मविश्वास पलाएको उनले बताए ।

‘दौडिने निर्णय गरे पनि धेरै अप्ठेरो होला, सक्दिनँ कि, बाटोमै लड्छु किजस्ता धेरै समस्या मेरो मस्तिष्कमा आउँथे, तर बिनासमस्या मैले दौड पूरा गरेँ । त्यसपछि २१ किलोमिटर दौडिन सकेँ भने २५ किलोमिटर वा त्योभन्दा बढी किन सक्दिनँ भन्ने आत्मविश्वास पलायो । त्यसकै लागि प्रयास गर्दै गएँ । दौडिने लत लाग्यो,’ धेरै पटक ४२ किलोमिटरको सम्पूर्ण म्याराथन दौडिएका मिलिन्दले भने । म्याराथनमा उनको उत्कृष्ट टाइमिङ ३ घन्टा ४० मिनेटको छ । यो टाइमिङ उनले २०१५ मा ५० वर्षको उमेरमा दौडिँदा बनाएका थिए ।

मुम्बई म्याराथनको अनुभवले दौडिने लत लागेका उनले २०११ मा अहमदाबाददेखि मुम्बईसम्मको ५ सय ५० किलोमिटर दूरी १५ दिनमा पूरा गरे । त्यो उनको पहिलो लामो दूरीको दौड थियो । लगत्तै अर्काे वर्ष दिल्लीदेखि मुम्बईसम्म १ हजार ५ सय किलोमिटर दूरी ३० दिन लगाएर पूरा गरे । ‘आजकाल त समय पायो कि एउटा सहरबाट अर्को सहर दौडिइरहन्छु । पहिलो पटक अहमदाबादबाट मुम्बई पुग्न १५ दिन लागेको थियो । अगस्टमा तेस्रो पटक त्यही बाटो दौडिँदा ८ दिनमा पुगेँ,’ उनले योजना सुनाए, ‘पिंकाथनका दुई सदभावना दूतसँग दिल्ली–काठमाडौं रुटमा दौडिन खोजेको थिएँ । तर बोर्डर पार गरेपछि यता राजमार्गमा धेरै निर्माण कार्य भइरहेका रहेछन् । प्रदूषणका कारण सकिएन, निर्माण सकिएपछि दिल्लीबाट काठमाडौं रुटमा दौडिने योजना छ । समय मिल्यो भने एकपटक एभरेस्ट म्याराथन पनि दौडिन्छु ।’

१९८७ मा संयोगवश मोडलिडमा होमिएका मिलिन्द ट्रायथलनका राम्रा खेलाडी हुन् । पौडी, साइक्लिङ र दौडको मिश्रण हुने यो खेल उनले सुरु गरेको केही वर्षमात्र भएको छ । फिटनेसप्रति सचेत भएकैले उनले दुई वर्षअघि जुरिचमा सम्पन्न आइरनम्यान ट्रायथलन १५ घन्टा १९ मिनेटमा पूरा गर्दै आइरनम्यानको उपाधि पाएका थिए ।  ३.८ किलोमिटर पौडी, १८०.२ किलोमिटर साइक्लिङ  र ४२.२ किलोमिटरको दौड सम्मिलित ट्रायथलन आराम नगरी १७ घन्टाभित्र पूरा गर्ने सहभागिलाई आइरनम्यानको उपाधि दिने विश्व ट्रायथलन महासंघको नियम थियो ।

‘२५ वर्षपछि आजकाल पौडिन सुरु गरेको छु । दौड मेरो लत हो । साइक्लिङमा म त्यति राम्रो छैन,’ मिलिन्दले भने, ‘फिट्नेस मुख्य कुरा हो । हिजोआज मलाई ट्रायथलन मन पर्न थालेको छ । जुनसुकै विधामा भए पनि खेलकुदको संस्कार विकास गर्नुपर्छ ।’

एउटा इन्डुरेन्स रनर (लामो दूरीमा दौडिने सोखिन धावक)का नाताले पाँच वर्षअघि महिलाहरूका लागि पिंकाथन सुरु गरेका मिलिन्द फिटनेस र शारीरिक व्यायाम मानव जीवनमा अपरिहार्य रहेको ठान्छन्। पिंकाथन सुरु गर्नुको कारण उनी यही हो भन्छन् उनी । भन्छन्, ‘फिट्नेस पुरुषहरूका लागि मात्र हो। महिलाको काम घर सम्हाल्ने र परिवारका लागि समय दिनेमात्र हो भन्ने विश्वासमा भारतीय समाज अडेको छ । तर महिलाले पनि स्वास्थ्यका लागि र आफ्ना लागि समय दिनुपर्छ । हिँडदा र दौडिँदा स्वास्थ्यका लागि राम्रो हुने सन्देश दिनका लागि यो अभियान सुरु गरेको थिएँ । यो अभियान विस्तार हुने क्रममा छ । काठमाडौंबाट सुरु भएको अन्तर्राष्ट्रियकरण अभियान अझै विस्तार हुने विश्वास छ।’

प्रकाशित: १२ माघ २०७३ ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App