७ वैशाख २०८१ शुक्रबार
विचार

आफैंसँग संवाद गर्ने राष्ट्रको सपना

उनका बहुप्रशंसित नाटकका पंक्ति–पंक्तिको उद्धरण हुनु स्वाभाविकै हो । तर अमेरिकी नाटककार अर्थर मिलर स्वयंले लेखेका अनगिन्ति अक्षरजस्तै अखवारमा उद्धृत उनको एउटा पंक्तिको पनि सहस्रौं पटक उद्धरण हुँदै आएको छ, आज पनि त्यो पंक्ति उत्तिकै सान्दर्भिक छ । उनी भन्छन्– एउटा आदर्श अखवार, म अनुमान गर्छु, आफैँंसँग संवाद गर्ने एउटा राष्ट्र हो । सबै किसिमका आमसञ्चार माध्यमको प्रस्फुटन र निरन्तर विकासलाई आधुनिक लोकतन्त्रको आधार मानिन्छ । त्यही कारण लन्डनबाट प्रकाशित हुने द अब्र्जभरको सन् १९६१ को अन्त्यतिर २६ नोभेम्बरको अंकमा उद्धृत उनको यो भनाइ यति लोकप्रिय भएको हो । त्यही वर्ष उनको जीवनको उल्लेखनीय घटनाका रूपमा मर्लिन मुनरोसँग उनको वैवाहिक सम्बन्ध तोडिएको थियो । तर उनको आफैँंसँग संवाद गर्ने राष्ट्रको परिकल्पनाको अभिव्यक्ति त्यो घटनासँग जोडिएको थिएन । कदाचित, दोस्रो विश्वयुध्दपछिको एक दशकसम्म अमेरिकी सत्ताधारी वर्गमा छाएको कम्युनिज्मको उग्र भय र कम्युनिस्टको अन्धशिकार अभियानका सन्दर्भमा अखवारहरुबाट उनले गरेको अपेक्षासँग जोडिएको थियो । चार्ली च्यापलिन र उनीलगायत तीन सयभन्दा बढी सर्जकलाई त्यसबेला कम्युनिस्टका हितैषी ठह¥याइ नकारात्मक सूचीमा अंकित गरिएको थियो । त्यसैले उनले परिकल्पना गरेको अमेरिकी आमसञ्चार माध्यमको मोडेलमा त्यहाँको राष्ट्रिय धर्मका रूपमा आत्मसात गरिएको एन्टी कम्युनिस्ट आइडियोलोजीबाट मुक्त हुनुपर्छ भन्ने आग्रह थियो ।

एउटा राजनीतिक सीमाको वृत्तमा बाँधिएको भूखण्ड आन्तरिक संवादको सुदृढ अवस्थाको अभावमा सशक्त राष्ट्रका रूपमा स्थापित हुन सक्दैन । यही आशयका साथ समसामयिक दाबी, विरोध, तर्क र धारणाले विनापूर्वाग्रह मिडियामा स्थान पाए भने ठूलो क्षति टरेर जान् ासक्छ भनिएको हो । कम्युनिकेसन ग्यापको अन्त्य भएको खण्डमा उग्रता नामेटमात्र हुँदैन, सीमाबाहिरको स्वार्थसमेत पराजित हुन्छ भन्ने तर्क पनि त्यही आधारमा गरिएको हो । गएको साता नेपालको मधेस आन्दोलनको एक दशकको सम्झना गर्ने क्रममा भएका गतिविधिलाई हाम्रा आमसञ्चार माध्यमले प्रदान गरेको समय वा स्थानका सम्बन्धमा पनि त्यस्तै अपेक्षाका कारण सवाल उठाइएका हुन सक्छन् । तर द्वन्द्व बढ्दै गएको समाजमा विविधताबीच एकताको सेतू बाँध्ने अखवारलगायत सबै प्रकारका आमसञ्चार माध्यमको सकारात्मक भूमिकाको परिभाषामै मतैक्य हुँदैन । मिडियाले उठेका स्वरलाई स्थान दिएर संवादबाट एकताका निम्ति सघाउ पु¥याउँछन् भन्ने एउटा धारणा छ । अर्को धारणा छ, राष्ट्रको विखण्डन गर्ने स्वरलाई स्थान नदिएर मिडियाले एकताका निम्ति सकारात्मक भूमिका निर्वाह गर्न सक्छन् ।

नेपाली समाजको यही मतभेदले आमसञ्चारमाध्यमका निम्ति असहज अवस्था सिर्जना गर्दै लैजाने देखिँंदैछ । खासगरी बितेका दश वर्षमा मधेसको मनोभावको प्रतिनिधित्व सम्बन्धमा अखवारलगायत सबै प्रकारका माध्यमको भूमिकाउपर प्रश्न उठाइएका छन् । एकातिर नेपालका मिडियामा प्रतिविम्बित हुने मधेसका सवालबारे बेलाबेला मधेसमा प्रतीकात्मकरूपमा असन्तुष्टि व्यक्त भएका छन् । अर्कोतिर मधेसमा भइरहेका सबै गतिविधि अखबारमा प्रतिविम्बित हुनुहुँदैन भन्ने आशयका साथ प्रेस काउन्सिल विज्ञप्ति जारी गर्दैछ । फलतः देशमा माओवादी र राज्यबीचको द्वन्द्वकालीन अवस्थाको झझल्को देखिन थालेको छ।

सैध्दान्तिकरूपमा एउटा राष्ट्रिय अखवारले सम्पूर्ण राष्ट्रलाई समेट्छ । अखवारपछि समयक्रममा उदाउँदै आएका सबै मिडियाले देशलाई जोड्ने सामथ्र्य राख्छन् । तर विद्यमान शीतलहरीकै बीच मधेसका कैयन् पत्रकार एकै स्वरमा भन्छन्– काठमाडौँका मिडिया तथाकथित राष्ट्रिय मिडिया हुन । राजधानीका अखवार, रेडियो, टेलिभिजन र अनलाइनका प्रतिनिधिसमेत स्वरमा स्वर मिलाउँछन्, नेपाली मिडियाले हाम्रो कुरा छाप्दैनन्, हामीलाई समेट्दैनन् । राष्ट्रिय मिडियाका सम्बन्धमा मधेसका पत्रकारको छापकै हाराहारीमा राजधानीका बुध्दिजीवीको अर्कै विश्लेषण छ । उनीहरु प्रश्न र्गछन्– राष्ट्रपति जनकपुर पुग्नुभन्दा १५ दिनपहिलेदेखि नेपालको राष्ट्रपतिलाई मधेसमा आउन दिनुहुन्छ कि हुँदैन भन्ने प्रश्न राखेर बहस सञ्चालन गर्ने स्थानीय रेडियोमाथि कारबाही हुनुपर्दैन ? अथवा माघ ७ गतेको वलिदान दिवसका अवसरमा राष्ट्रको भूअखण्डताविरुध्द दिइएको अभिव्यक्तिलाई आमसञ्चारमाध्यमले स्थान वा समय प्रदान गर्न हुन्छ ? आरोप÷प्रत्यारोपको सूची लामो बन्न सक्छ । तर न यस्ता प्रश्नको तत्कालै ओठे जवाफ फर्काएर समाधान फेला पर्छ, न त सतही र तातो वादविवादबाटै कुनै सकारात्मक बाटो पहिल्याउन सकिन्छ । वस्तुतः एउटा समुदायले अर्कोको अभिव्यक्ति वा व्यवहारबाट एउटा निष्कर्ष निकाल्छ भने पहिलो पक्षले यस्तो सन्देश किन प्रवाहित भयो वा यस्तो अर्थ किन स्थापित भयो भन्ने सोच्नु सबैभन्दा उपयुक्त हुन्छ । अझ कतिपय अवस्थामा त कुनै व्यक्ति वा दुई चार जनाको समूहको अभिव्यक्तिलाई आमसमुदायको धारणा ठानिनु गलत हुन जान्छ । तर फेरि आमप्रवृत्तिलाई नजरअन्दाज गर्ने धृष्टता भने गर्नुहुँदैन ।

मधेसकेन्द्रित राजनीतिकर्मी भन्दैछन्– मधेसीको इच्छा, आकांक्षालाई नजरअन्दाज गर्दै राष्ट्रिय एकता र अखण्डता विपरित कार्य गरिंँदैछ । एकातिर मधेस छुट्टै राष्ट्र भएकाले चित्त नबुझेको खण्डमा अलग हुन सक्छ भन्ने अभिमत स्थापित गर्ने प्रयत्न छ । अर्कोतिर संसद्मा प्रतिनिधित्व गर्ने केही मधेसकेन्द्रित पार्टी र मधेसका उग्र विद्रोही यो विषयमा एकै ठाउँमा देखिन्छन् । मधेसको अलग पहिचानको विषयले दुवैथरीलाई समेटेको छ । एकातिर पहिचान र प्रतिनिधित्वको आकांक्षा चुलिएको छ, अर्कोतिर जान÷अन्जानमा नेपालका अधिकांश आमसञ्चारमाध्यमले एकथरी नेपालीको पहिचानलाई सारा नेपालीको पहिचानका रूपमा थोपरेको भान मधेसलाई परिरहेकै छ ।

यस्तो अवस्थामा आमसञ्चारमाध्यमप्रति फलदायी राष्ट्रिय संवादका निम्ति मार्मिक आग्रह हुनु स्वाभाविक हुन्छ । पाठकमाझ शब्द बेच्ने र पाठकलाई विज्ञापनदाताको हातमा बिक्री गर्ने कारोबारका रूपमा स्थापित अखवारको व्यवसाय एक्काइसौं शताब्दीको पहिलो दशकको मध्यसम्ममा आरोलो लाग्न थालेको प्रष्टै देखियो । तर समयक्रममा माध्यमहरु परिवर्तन हुँदै गए पनि पत्रकारिताले समाजमा भावनात्मक एकताको सूत्रधार र बाहकका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेको देखिँंदै आएको छ । आदर्श अखबारसम्बन्धी मिलरको कालजयी परिकल्पनामा आफ्नै देशभित्र देशद्रोहीको अभियोग खप्नुपरेको उनको पीडा समाहित थियो । उनको समयको आमसञ्चारमाध्यमको क्षितिज आज निकै फराकिलो भएको छ। अखबारमात्र होइन आजको सन्दर्भमा अनेक प्रकारका आमसञ्चारमाध्यमले कुनै पनि देशको आन्तरिक संवादलाई सुदृढ बनाउने सामथ्र्य राख्छन् ।

विभिन्न समाजमा सुनिंँदै आएको छ, मिडियाको मध्यस्थको भूमिकामा हाम्रो सरोकारको विषय विलुप्त भयोे । कतिपय समुदायले गुनासो गर्ने गरेका छन्, मिडियाको एकलकाँटे वा एकनासे बुझाइका कारण हाम्रो सही प्रतिनिधित्व हुन सकेन, हामीले अति कम स्थान वा समय पाइरहेका छौ । कतिपयको मत छ, हाम्रो नकारात्मक प्रतिनिधित्व भइरहेको छ । लगातार एकलकाँटेरूपमा नकारात्मक प्रतिनिधित्व गराइँदैछ। त्यसैले कतिपय अवस्थामा आमसञ्चारमाध्यमले विचार, सवाल वा घटनाको प्रतिनिधित्वका क्रममा आलोचना खेप्दै आउनुपरेको छ ।

कुनै घटना÷परिघटना वा प्रवृत्तिको सतहमा देखिएको चित्र वास्तविक नहुन पनि सक्छ । त्यसैले मिडियामा समेटिने कुनै समाज, मानिस वा गतिविधिले किन यसरी स्थान पायो भन्ने प्रश्न उठी नै रहन्छ। अधिकांश समय तीव्रताको बाध्यता बेहोर्नुपर्ने आमसञ्चारमाध्यमले देखाउने तस्बिर सतही नै हुने सम्भावना रहन्छ । मिडियाले यथार्थ चित्रण गर्छ, यही नै मिडियाको प्रमुख काम र पहिचानको प्रमुख आधार हो । तर मिडियामा प्रतिविम्बित हुने विश्वको तस्बिर साँचो विश्वसँग कतिसम्म मेल खान्छ भन्ने प्रश्न जहाँको त्यहीँं छ ।

जबदेखि संसारमा आमसञ्चारमाध्यमहरु प्रभावकारी सामाजिक संस्थाका रूपमा स्थापित भए, तबदेखि नै आममानिसको मस्तिष्कमा मिडियामार्फत कुँदिने तस्बिर कतिसम्म सत्य हुन्छ भन्ने विषयमा व्यापक विमर्श हुँदै नै आएको छ । आज मानिसलाई आफ्ना इन्द्रियहरुले देख्न, सुन्न वा अनुभव गर्न नसक्ने घटना वा समारोहसँग पनि साक्षात्कार गर्न परेको छ । एकातिर मिडियालाई हाम्रा इन्द्रियहरुको विस्तारका रूपमा विश्वास गर्नुपरेको छ, अर्कातिर बाह्य संसार वा आफ्नो पहुँचबाहिरको विश्वबारे मिडियाले गरेको व्याख्या वा तस्बिर सम्बन्धमा प्रश्न उठाउनु पनि परेको छ ।

मधेसमा ¥याली भइरहेका छन्, सभा आयोजना भइरहेको छ, मधेसमा विद्रोही उग्र भाषण गरिरहेका छन्। यस्तो अवस्थामा समाजको एक अविभाज्य अंगका रूपमा जिम्मेवार र व्यावसायिक आमसञ्चारमाध्यमका निम्ति संवादलाई सकारात्मक दिशातर्फ मोड्न सहज छैन । यतिखेर दुई वटा विपरित धारबाट अलग–अलग तर्कका साथ मिडियाले गर्दै आएको मधेसको चित्रण वास्तविक वा उपयुक्त छैन भन्ने धारणा व्यक्त भइरहेको छ । तर यो द्वन्द्वात्मक अवस्था संवादबाटै सद्भावतर्फ रूपान्तरणका निम्ति बाधक भने छैन।

 

 

प्रकाशित: १२ माघ २०७३ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App