coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

पर्यटन प्रवर्द्धन गर्न शिक्षामन्त्रीदेखि पर्यटन बोर्ड अधिकारी वेलायतमा

लण्डन— वेलायत भ्रमणमा रहेका नेपाली अधिकारीहरु नेपाल पर्यटकहरुलाई स्वागत गर्न आतुर रहेको बताएका छन्। नेपाल पर्यटन बोर्ड तथा लण्डनस्थित नेपाली राजदूतावासद्वारा आयोजित नेपाल ए डेस्टिनेशन फर एडभेन्चर ट्राभल नामक कार्यक्रममा बोल्दै हाल लण्डनमा रहेका शिक्षा मन्त्री धनीराम पौडेलले भूकम्प पछि क्षतिग्रस्त भएका धेरैजसो पदमार्गहरु मर्मत संभार भैसकेको र नेपाल पर्यटकहरुका लागि सुरक्षित गन्तव्य रहेको बताए।

अंग्रेजी भाषामा लिखित मन्तव्य पढ्न निकै असज रुपमा प्रस्तुत भएका उनले नेपाल सरकार पर्यटन प्रबर्द्धन गर्न गम्भीर रहेको भन्दै समुदायमा आधारित पर्यटन र होम स्टेलाई सरकारले बढावा दिइरहेको बताए।

नेपाल तथा बेलायतबीच कूटनीतिक सम्बन्ध कायम भएको २०० वर्ष पुगेको अवसरमा आयोजित सो कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले सन् २०१५ मा झण्डै २९ हजार ब्रिटिश पर्यटकहरु नेपाल आएकोमा सन् २०१६ मा ४६ हजारभन्दा बढी ब्रिटिश पर्यटकहरुले नेपालको भ्रमण गरेको बताए।

ब्रिटेनकालागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले अतिथिलाई भगवान मान्ने परम्पराका कारण पनि नेपालीहरुले पर्यटकहरुलाई मन खोलेर स्वागत गर्ने गरेको बताए। उनले साहसिक पर्यटनका लागि एक लोकप्रिय गन्तव्य रहेकेा भन्दै पर्यटकहरुलाई सेवा दिन दूतावास क्रियाशील रहेको पनि बताए।

नेपालको पर्यटन संभावनाबारे एक प्रस्तुति दिँदै नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक मणिराज लामिछानेले रक क्लाइम्बिङ, बन्जि जम्पिङ जस्ता साहसिक खेलका लागि नेपाल विश्वभरि प्रसिद्ध रहेकेा बताए। सन् १९९२ मा पहिलो पटक नेपाल पुगेका चर्चित ब्रिटिश कलाकार तथा चित्रकार स्टेफेन किङले भूकम्पपछि लाङटाङ उपत्यका अब पर्यटकहरुलाई स्वागत गर्न पर्खिरहेको बताए।

'म के सन्देश दिन चाहन्छु भने नेपाल पर्यटकहरु स्वागत गर्नकालागि खुला छ', हालै लाङटाङ पुगेर फर्केका उनले भने।

नेपाली दूतावासका प्रथम सचिव शरदराज आरनले सन्चालन गरेको सो कार्यक्रममा कलाकारहरुले नेपाली विविधता झल्काउने नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा ब्रिटिश पर्यटन व्यवसायीहरु, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरु, समाजसेवी तथा पत्रकारहरुको उपस्थिति थियो।

सहभागीहरुलाई पर्यटन प्रचार सामग्री रहेको गुडी ब्याग पनि वितरण गरिएको थियो। 

प्रकाशित: १२ माघ २०७३ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App