coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अस्ताए पन्नाकाजी

काठमाडौं- गायक तथा संगीतकार पन्नाकाजीको ८५ वर्षको उमेरमा बुधबार ताहाचलस्थित निवासमा निधन भएको छ। उनको बुधबारै दिउँसो काठमाडौंको टेकुदोभानमा अन्तिम संस्कार गरियो। थुप्रै कालजयी गीत गाएका तथा संगीत सिर्जना गरेका पन्नाकाजीको 'तिरिरी मुरली बज्यो वनैमा' बोलको गीत सर्वाधिक लोकप्रिय छ। १९८८ पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजीले ०१३ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उद्घाटनका बेला 'तिरिरी मुरली बज्यो वनैमा' गाउँदा कार्यक्रममा उपस्थित तत्कालीन राजा महेन्द्र उनीबाट प्रभावित भएका थिए। उनी महेन्द्रका मन पर्ने गायकमा पर्थे।

गीत–संगीतसम्बन्धी अध्येता प्रकाश सायमीका अनुसार पन्नाकाजी झन्डै १० वर्षदेखि उच्च रक्तचाप लगायत रोगबाट पीडित थिए भने ०४० देखि कान पनि कम सुन्न थालेका थिए।

'उहाँको बुवा आफैँमा कुशल भजन गायक हुनुहुन्थ्यो, बुवाकै प्रेरणाले संगीतमा आउनुभयो,' सायमीले भने, 'संगीतमा आउनुअघि उहाँ नाटकमा अभिनय गर्नुहुन्थ्यो, त्यो बेला नाटकमा महिला कलाकार कम हुने भएकाले उहाँले धेरै नाटकमा नारी चरित्रमा अभिनय गर्नुभयो।'

पन्नाकाजीले २००७ सालबाट रेडियो नेपालमा गीत गाए पनि २०१४ बाट लाइब्रेरियनका रुपमा त्यहाँ जागिरे बने। ०१८ मा पन्नाकाजीले भारतको दार्जिलिङकी गायिका दिलमाया खातीसँग 'मनमा तिम्रो प्रीत बस्यो' बोलको पहिलो युगल गीत गाएका थिए। जसमा शिवशंकरको संगीत र माधव खनाल 'भावुक'को शब्द थियो।

'दार्जिलिङ र नेपालको संगीतलाई जोड्न पनि उहाँको योगदान उत्तिकै अतुलनीय छ,' सायमीले भने।

सायमीले निधन भएका स्रष्टालाई नेपाल प्रज्ञा प्रतिष्ठानमा राखेर अन्तिम श्रद्धाञ्जली दिने प्रचलन रहे पनि परिवारकै इच्छाअनुसार प्रतिष्ठानमा नराखिएको बताए।

०३० बाट पन्नाकाजीसँग परिचय भएका संगीतकार तथा गायक शम्भुजित बास्कोटा पन्नाकाजीलाई भद्र व्यक्ति भन्न रुचाउँछन्। 'उहाँ स्वाभिमानी हुनुहुन्थ्यो, सबैसँग सरल बोल्नुहुन्थ्यो, कहिल्यै पनि झर्को मानेर बोलेको सुनिएन,' उनले भने, 'संगीतमा पनि उहाँ आफ्नै किसिमको धुन बनाउनुहुन्थ्यो। नातिकाजी, फत्तेमान, शिवशंकरसँगको निकटताले पनि उहाँको संगीतमा नयाँपन आउँथ्यो।'

पछिल्लोपटक पन्नाकाजीकी नातिनीको पास्नीका बेला भेट भएको बताउने शम्भुजितले 'तिरिरी मुरली' बोलको गीत विदेशीको रोजाइमा पनि परेको जनाए। 'त्यो गीत धेरै विदेशीले गाए, विशेषतः जापानीले यो गीतमा बढी रुचि देखाए,' उनले भने।

शम्भुजितले लेखेको गीत 'तिम्रो हँसिलो त्यो मुहारको'बाट प्रभावित पन्नाकाजीले शम्भुजितलाई 'तिम्रो गीत हिट हुन्छ' भन्दै ढाडस दिन्थे। 'रेडियो नेपालमा अहिले भएका सबै पुराना टेप रेकर्डरको संरक्षणमा उहाँको ठूलो योगदान छ,' शम्भुजितले भने।

रेडियो नेपालले ०२२ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा नारायणगोपाल संगीतमा र पन्नाकाजी गायनतर्फ प्रथम भएका थिए। उनले 'किन–किन तिम्रो तस्बिर' र 'लोलाएका ती ठूला', 'नौलाखे तारा', 'एकानी दुवानी', 'रात यो नबित्ला', 'लालीगुराँस फुल्यो है' लगायत सिर्जना नेपाली संगीतलाई दिएका छन्।

'तिरिरी मुरली बज्यो'को रचनाकार शरदकुमार शाक्य हुन्। चार छोरा र एक छोरीका अभिभावक पन्नाकाजीका आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी करिब चार सय गीत रेकर्ड भएका छन्।

उनका दुई छोरा प्रवेशमान शाक्य र पवित्रमान शाक्य संगीतमा क्रियाशील छन्। प्रवेशले पिताको 'तिरिरी मुरली बज्यो वनैमा'लाई नयाँ भर्सनमा पनि बजारमा ल्याइसकेका छन्।

अभिनयमा पनि रुचि राख्ने उनले नास खलः, विषन्तरया मच्चादान, कुंडाल लगायत नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका थिए। रेडियो नेपालमा रहँदा उनले मेरो मनको, कहाँसम्म धाउन, तिमीभन्दा याद, एकै र थुंगा, सागर हो मेरो, नौ लाख तारा बन्द छौ तिमी, यस्तै मलाई भेट्न देऊ, बिहानी घाम, तिरिरी मुरली बज्यो वनैमा, जाँदै छु आज लगायत बोलका गीत रेकर्ड गराएका थिए।

उनले सर्वोत्तम साधक गायक, नातिकाजी सम्मान, वीरेन्› पदक, गोरखा दक्षिण बाहु, रेडियो नेपाल सेवा पदक, शुभराज्यभिषेक पदक, इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड जस्ता सम्मान र पुरस्कार पाएका थिए।

उनका आधुनिक गीति संग्रह लिजेन्ड अफ पन्नाकाजी :  कसरी बिर्सुं म, लिजेन्ड अफ पन्नाकाजी :  आफ्नो संसार र साधक गायक पन्नाकाजी गरी तीन एल्बम बजारमा आएका छन्। नेपाली कांग्रेसमा आस्था राख्ने उनी ०१८ मा नौ महिना नख्खु जेलमा परेका थिए।

प्रकाशित: १३ माघ २०७३ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App