coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पोर्चुगलको यात्र कठिन हुनसक्छ

युरोपियन च्याम्पियनसिप सेमिफाइनल पुग्ने टोलीमध्ये वेल्समात्र अनेपक्षित टोली हो । सन् १९५८ पछि ठूलो प्रतियोगिता खेलिरहेको वेल्सले सेमिफाइनलसम्म यात्रा तय गर्ने कमैको अनुमान थियो। तर टोलीले जसरी च्याम्पियनसिपमा प्रदर्शन ग¥यो, त्यसका आधारमा भने फाइनल पुग्ने अनुमान पनि हुन थालेको छ । टोलीले जति राम्रो प्रदर्शन गरिरहेको छ, त्यति नै भाग्यले पनि साथ दिइरहेको छ । मिहिनेत गर्ने टोलीलाई भाग्यले पनि साथ दिन्छ भन्ने वेल्सको नतिजाबाट पनि प्रस्ट हुन्छ ।
पोर्चुगल, जर्मनी, फ्रान्स प्रतियोगिताको निकै अगाडिसम्म जान्छन् भन्ने धेरैले अनुमान गरेकै थिए । जर्मनी र फ्रान्स जसरी च्याम्पियनसिपमा अघि बढिरहेका छन्, त्यसको तुलनामा पोर्चुगलको यात्रा भने कठिन छ ।
पहिलो सेमिफाइनलमा पोर्चुगलले वेल्सको सामना गर्दैछ । पोर्चुगलसँग तुलना गर्ने हो भने वेल्स अन्तर्राष्ट्रिय फुटबलमा कम अनुभवी टोली हो । तर यसै च्याम्पियनसिपलाई आधारमा मान्दा भने वेल्स माथि छ । विश्वकै उत्कृष्ट मानिएको बेल्जियमलाई हराएपछि भने वेल्सलाई फाइनलमा देख्नेको पनि कमी छैन । अर्कोतर्फ पोर्चुगलले भने समूह चरणदेखि नकआउट चरणसम्मका पछिल्ला ५ खेलमा ९० मिनेटमा नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन । प्रिक्वार्टरमा थप समयमा जितेको पोर्चुगलले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटसम्म कुर्नुपरेको थियो । वेल्सको प्रिक्वार्टरफाइनल संघर्षपूर्ण रहे पनि क्वार्टरफाइनल भने सानदार थियो ।
पोर्चुगल र वेल्सबीच सेमिफाइनल तय भएदेखि नै क्रिस्टियानो रोनाल्डो र गारेथ बेलबीचको प्रतिस्पर्धा हुने चर्चा सुरु भएको छ । दुवैले रियाल मड्रिडबाट खेल्ने भएकाले पनि त्यो चर्चा अस्वाभाविक होइन । विश्वकै महँगा दुई खेलाडी एउटा क्लबबाट खेल्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा अलग अलग टोलीमा हुँदा ती दुईको तुलना हुनु स्वाभाविक नै हुन्छ । लामो समय विश्व फुटबलमा प्रभाव जमाएका पोर्चुगलका रोनाल्डोभन्दा यसपटकको च्याम्पियनसिपमा बेल निकै चम्केका छन् । क्वार्टरफाइनल बाहेकका हरेक खेलमा बेलको महŒवपूर्ण भूमिका देखिन्छ । तर, रोनाल्डोको हकमा भने उनको टोलीले जसरी संघर्ष गरिरहेको छ, उनको अवस्था पनि त्यस्तै छ ।
सेमिफाइनल र फाइनल अघिल्ला प्रतिस्पर्धाहरूभन्दा पनि रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिन्छ । त्यो स्तरमा दुवै टोलीले एकअर्कालाई निकै आदार गर्ने भएकाले कहिलेकाहीँ सोचेभन्दा खल्लो पनि हुनसक्छ । फाइनलभन्दा एक कदममात्र टाढा रहेको खेलमा कुनै पनि टोली गोल खान चाहँदैन । त्यसले पनि रोचकतामा केही कमी आउन सक्छ ।
सेमिफाइनलमा पोर्चुगल दाबेदार हो भने वेल्स ‘अन्डर डग’ । त्यसको फाइदा वेल्सले उठाउन सक्नुपर्छ । जसरी बेल्जियमसँग १–० ले पछि परेर पनि वेल्सले नतिजा उल्टायो त्यही प्रदर्शन कायम राख्न सके पोर्चुगललाई कठिन हुन्छ । वेल्सले अहिलेसम्म जसरी बिना डर खेलिरहेको छ, टोलीको बलियो पक्षनै त्यही हो । प्रतिद्वन्द्वी को भनेर होइन, आफ्नो खेल खेल्दा त्यो टोलीलाई फाइदा पुग्नेछ ।
रोनाल्डोबाहेक पनि टोलीका अन्य खेलाडी चम्केकाले केही फाइदा छ । तर रोनाल्डो टोलीका म्याचविनर हुन् । उनी चल्दाको खेलको रौनक नै बेग्लै हुन्छ । हंगेरीसँग जस्तो उनको प्रदर्शन फेरि हुन सकेको छैन । अर्कोतर्फ टोलीले ९० मिनेटभित्रै खेल जित्न कोसिस गर्नुपर्छ । पेनाल्टी सुटआउटमा पुग्दा दुवै टोलीको सम्भावना बराबरी हुन्छ ।
जर्मनी र फ्रान्सविरुद्धको दोस्रो सेमिफाइनल फाइनलसरहको अर्थमा हेरिन्छ । जर्मनी विश्व च्याम्पियन र फ्रान्स अर्को घरेलु टोली । फ्रान्सलाई घरेलु समर्थकको साथ मात्र रहनेछैन, टोलीको घरेलु मैदानमा इतिहास पनि बलियो छ । घरेलु मैदानका सबै ठूला प्रतियोगिता फ्रान्सले जितेको छ । इतिहासमात्र होइन, जारी च्याम्पियनसिपमा पनि टोलीले दाबेदार शैलीमा प्रदर्शन गरेको छ । तथापि खेल दुवै टोलीका लागि सहज हुनेछैन । ५०÷५० खेल हो ।
केही वर्षयता फ्रान्सेली टोली निकै उतारचढावपूर्ण परिस्थितिबाट गु्रजेको छ । यो च्याम्पियनसिपमा जसरी अघि बढेको छ, टोलीमा जितको तीव्र भोक देखिएको छ । अहिले टोली संगठित पनि छ । दिमित्री पायेट लगायतका खेलाडी यही प्रतियोगिताबाट स्टार बनेका छन् । जर्मनीजस्तै फ्रान्स पनि स्टारले भरिएको टोली बनेको छ । पायेट, एन्टोनी ग्रिजम्यान, पाउल पोग्बा, ओलिभर जिरौड सबै फर्ममा छन् । उता जर्मनीका फरवार्डहरू भने गोल गर्न संघर्ष गरिरहेका छन् । विश्वकपमा १० खेलमा १० गोल गरेका थोमस मुलरले युरोपियन च्याम्पियनसिपका १० खेलमा एउटा गोल गर्न सकेका छैनन् । त्यसो दबाब उनीमाथि छ । कम्बिनेसन, स्पिरिट र घरेलु मैदान सबै हिसाबले फ्रान्स केही माथि छ । क्वार्टरफाइनल खेल्न नपाएका दुई खेलाडी फर्केका छन्, त्यसले टोलीको मनोबल बढाउने छ  । जर्मनीमा तीन नियमित खेलाडी हुने छैनन्। त्यसको केही न केही असर जर्मन टोलीमा पर्नेछ । तर जर्मनीको बेन्च स्टे«न्थ राम्रो छ । जर्मनीको राम्रो पक्ष भनेको पछिल्ला ५ खेलको ९० मिनेटभित्र एक गोल त्यो पनि पेनाल्टी खाएको छ । गोलकिपर म्यानुयल नुयुरको हुनुको फाइदा टोलीलाई छ । उनी रक्षापंक्तिकै खेलाडी बराबरप्रदर्शन गर्छन् । निर्धारित र थप समयमा बराबरी नतिजा निस्किए त्यसको फाइदा जर्मनीलाई पुग्न सक्छ । कारण टोलीले ४० वर्ष ठूलो प्रतियोगिताको टाइब्रेकरमा हारेको छैन ।
त्यति हुँदाहुँदै पनि जर्मनीको स्कोरिङमा समस्या देखिएको छ । प्रिक्वार्टरमा टोलीको जित जति सहज रह्यो, अरुमा कठिन भइरहेको छ । इटालीलाई हराउनु उसका लागि यो च्याम्पियनसिपको सबैभन्दा ठूलो सकारात्मक पाटो हो । तुलानात्मक केही कमजोर टोलीलाई हराएर अघि बढेको फ्रान्सलाई जर्मनीको चुनौती सहज पक्कै हुने छैन । दुवै टोली एट्याकिङ खेल्ने भएकाले काउन्टर एट्याकमा गोल खाने सम्भावना पनि त्यत्तिकै छ । त्यसमा दुवैले सचेत हुनुपर्छ । फ्रान्सको अर्को सकारात्मक पक्ष भनेको लगातार गोल गरिरहेको छ । अग्रपंक्तिमा पनि संगठित प्रदर्शन भइरहेको छ । एकले अर्कालाई पूरा साथ दिइरहेका छन् । फ्रान्सले घरेलु मैदानमा जर्मनीलाई पार लगाउन सक्छ, तर टोलीले त्यसका लागि ९० मिनेटभित्रै नतिजा आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ ।

प्रकाशित: २२ असार २०७३ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App