७ वैशाख २०८१ शुक्रबार
अर्थ

दैनिक १३ घन्टा थुनिन्छ रक्सोल नाका

वीरगन्ज— नेपालको लागि चाहिने पेट्रोलियम इन्धनको ६५ देखि ७० प्रतिशत, अरु मालसानको ६० प्रतिशत र दैनिक सयौं यात्रुवाहक सवारीसाधन भित्रिने वीरगन्जसँग जोडिएको रक्सोल नाका अघोषित रुपमा दैनिक १३ घन्टासम्म थुनिने गरेको छ।

दक्षिणबाट उत्तर नेपालतर्फ पस्ने भारतको नेसनल हाइवे (एनएच)–२८ लाई पूर्व–पश्चिम चल्ने नरकटियागन्ज–दरभंगा रुटको रेल लाइनले रक्सोलबाट निस्किने बिन्दुमा छेकेको छ। पोहोरदेखि ‘ब्रोडगेज’ (ठूलो लाइन) बनेको त्यो रेल लाइन भएर आहोरदोहोर गर्ने यात्रुवाहक रेल र मालबाहक रेल आउदा–जाँदामात्र होइन रक्सोल स्टेसनमा पार्किङ गरिने रेल व्यवस्थापन गर्दा पनि ब्यारियर (ढाला) खसाइन्छ र नाका अवरुद्ध हुन्छ ।

यातायात रोकेर, सडकमाथिको फलामे लाइनबाट रेल हिँड्ने हो । भारतीय रेल्वेको मध्यपूर्वी जोनको रेकर्ड अनुसार रक्सोल मुख्य सडकको रेल्वे ढाला २४ घन्टाभित्र अर्थात दैनिक १३ घन्टासम्म बन्द रहन्छ । त्यहाँ ओभर ब्रिथ (अकासेपुल) नहुँदा सडक यातायात रोकेर रेल यातायात सुचारु र व्यवस्थापन गर्ने गरिएको छ । वीरगन्ज भन्सार कार्यालयको रेकर्ड अनुसार दैनिक १ सय २० देखि डेढ सय पेट्रोलियम इन्धनका गाडी र करिब हजार मालवाहक सवारी यस नाका भएर आउँछन् । ‘यसमा निश्चित रुपमा रेल्वे ब्यारियरले अवरोध पु¥याउने गरेको छ, यस नाकाको यो एउटा ठूलै समस्या हो,’ वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले भने ।

रक्सोल नका अहिले बिहान ५ देखि राति ११ बजेसम्म १८ घन्टा खुल्ला गरिए पनि यसको आधा जति समय रेल ब्यारियरको अवरोधमा बित्छ। ढाला बन्द हुँदा यातायात रोकिन्छ दुवैतर्फ ट्यांकर, ट्रक, कन्टेनर, ट्याक्टर, बयलगाडा, टाँगा, रिक्सा, टेम्पो, मोटरसाइकल, कार र जिपको लाइन लाग्छ र, जाम हुन्छ । जाम खुल्न घन्टौं लाग्छ। जाम खुलेर यातायात आवागमन खुकुलो हुनै लागेको बेला फेरि रेल ब्यारियर खसिसकेको हुन्छ। 

नेपालको मुख्य प्रवेश बिन्दुमा भएको अवरोधले नेपालको व्यापारलाई शिथिल बनाएको पेट्रोलियम ढुवानी महासंघका वरिष्ठ उपाध्यक्ष तथा उद्योगी मनोज दासले बताए । ‘नेपालको व्यापार पारवहनमा बोतलको घाँटी जस्तै छ रक्सोलको रेल ब्यारियर,’ दासले भने, ‘रक्सोलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोको एउटा भाग रेल लाइनपारि छ । त्यहाँ जाने ट्यांकरलाई समस्या हुने नै भयो । ब्यारियरले जाम भएपछि वारि रहेको मेन डिपोमा पनि ट्यांकर भित्रिन र निस्किन समस्या हुने गरेको छ ।’ रक्सोलबाट हिँड्ने ट्यांकर मात्र होइन, बरौनीबाट दैनिक ३० देखि ४० को संख्यामा आउने ग्यास बुलेट र २० को हाराहारीमा आउने तेल ट्यांकर पनि रक्सोल आएर जाममा पर्ने गरेको उनले बताए ।

बिहीबार र शनिबार सबभन्दा बढी समय रक्सोल रेल ढाला बन्द रहने गरेको उनले जनाए । नेपाल आयल निगमको अमलेखगन्जस्थित क्षेत्रीय कार्यालयका निर्देशक खिलेन्द्र कार्कीले नेपालको पेट्रोलियम आपूर्तिमा ६५ देखि ७० प्रतिशत योगदान दिइरहेको नाकामा रेल अवरोधले निकै समस्या रहेको बताए । ‘बेलामा ट्यांकर लोड हँुदैन । लोड भइसकेर पनि निस्किनका पर्खिनुपरेको हुन्छ । बेलैमा नेपाल भित्रिन सक्दैन र काठमाडौं पठाउन पनि ढिलाइ हुन्छ,’ उनले रक्सोल नाकामा रहेको समस्याले गर्दा परेको मर्का सुनाए, ‘नेपाललाई नै यसले समस्या पारेको भन्न सकिन्छ ।’

रक्सोल कस्टमका प्रमुख रहेका सहायक आयुक्त आरके सिंहले रक्सोल रेल्वे ढाला दैनिक १३ घन्टा रोकिँदा मालसामानको आयात–निर्यात र यातायातमा समस्या रहेको स्वीकारे । उनले यसबारे प्रतिक्रिया दिन भने मानेनन् । वीरगन्जका उद्योगी, व्यवसायीमात्र होइन पारि रक्सोलका व्यापारी र नागरिक अगुवाले पनि बेलाबेलामा रक्सोलमा रेल ब्यारियर उपर एउटा ओभर ब्रिज माग गर्दै आएका छन् । ‘यो रेल ब्यारियरले यहाँ निकै अप्ठेरो छ,’ रक्सोलका नागरिक अगुवा अनिलकुमार सिन्हाले भने, ‘नेपाल भारत व्यापार र द्विपक्षीय जनसम्बन्धमा मानिसको आवागमनमात्र होइन, रक्सोल बजार र यहाँका बासिन्दालाई पनि एउटा ओभरब्रिज नभई नहुने कुरा हो ।’

प्रकाशित: २२ असार २०७३ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App