५ वैशाख २०८१ बुधबार
विचार

शीतलनिवास पार्टी प्यालेस

अचेल भोज बिहेको मात्र हुँदैन। बिनाबिहेका पनि हुन्छन्। व्रतबन्ध, पास्नी, बर्थ डे, एनिभर्सरी, प्रमोसन, विदेश भ्रमण, जाँचमा उत्तीर्ण आदि सानोभन्दा सानो अवसरमा पनि ठूलोभन्दा ठूलो भोज भइरहेका हुन्छन्। शायद यही कारणले होला, आजभोलि शहरबजारतिर टोलटोलमै भोज गर्ने पार्टी प्यालेस खोल्न थालिएका छन्। जता हेरे पनि पार्टी प्यालेस। यस्तो लाग्छ, कुनै बेला मन्दिरै मन्दिरको सहर भनिने यो नगर अब पार्टी प्यालेसै पार्टी प्यालेसको नगर पो बन्न जाने हो कि?

यसै क्रममा अहिले भर्खरै सहरमा एउटा अर्को पार्टी प्यालेस खोलिएको छ– शीतल निवास पार्टी प्यालेस। नामैले थाहा भयो, यो पार्टी प्यालेस शीतल निवासमा छ। ठूलो एरिया, सुरक्षित स्थान यो पार्टी प्यालेसको विशेषता हो। सानोतिनो समारोह र भोजहरू त यो पार्टी प्यालेसमा भइ नै रहेको थियो। कहिले पुस्तक विमोचन, कहिले अभिनन्दन, कहिले पुरस्कार वितरण आदि आदि जस्ता कार्यक्रम पनि यो पार्टी प्यालेसमा हुँदै आइरहेको थियो। यस्तो कार्यक्रम गर्दा सानोतिनो भोज त हुने नै भयो।

वास्तवमा यो एउटा भव्य नै पार्टी प्यालेस हो। शायद यसको भव्यता देखेर नै होला, कोही कोही त यसलाई पार्टी प्यालेस होइन 'प्यालेस' मात्रै पनि भन्न रुचाउँछन्।

गएको तीज पर्वमा यो पार्टी प्यालेसभित्र एउटा तीजको भोज पनि आयोजना भएको थियो। तीजमा हुने जम्मै नाचगान र खानापिन यही पार्टी प्यालेसमा भयो। यही क्रममा अहिले भर्खरै यहाँ एउटा बिहेको कार्यक्रम पनि सम्पन्न भयो। जन्तीलाई स्वागत  गर्ने र भोज ख्वाउने काम यही पार्टी प्यालेसभित्र सम्पन्न भएको थियो। यो पार्टी प्यालेसमा भएको यही नै पहिलो बिहे कार्यक्रम हो। वास्तवमा पार्टी प्यालेस आफ्नो व्यवसाय विस्तार गर्दैछ भन्ने कुरा यसैबाट थाहा हुन्छ। अब विस्तारै पास्नी, व्रतबन्ध, बिहेको एनभर्सरी आदि जस्ता भोजमूलक कार्यक्रम पनि हुँदै जाला भन्ने आशा गर्न सकिन्छ। 

यो पार्टी प्यालेस प्रयोग गरेपछि एउटा कुरामा भने ढुक्कै भए हुन्छ कि यहाँ बत्ति कहिल्यै जाँदैन, पानी कहिल्यै खाली हुँदैन। पार्किङको राम्रो व्यवस्था छ। जाँड खाएर कसैले हुलहुज्जत गर्ला भनेर चिन्ता लिनुपर्दैन, नेपाली सेनाकै सुरक्षा छ। भर्खरै सम्पन्न भएको बिहे भोजले यो कुरा प्रमाणितै गरिदियो। पूरा जन्तीलाई सम्मानपूर्वक राख्न मिल्ने कम्पाउन्ड छ। पन्ध्र सयभन्दा बढी पाहुनालाई मजाले भोज ख्वाए। कसैको कुनै गुनासो रहेन। यदि तपाईँको पनि विशिष्ट पाहुनासमेत निम्त्याउनुपर्ने भोज छ भने शीतल निवास पार्टी प्यालेसभन्दा राम्रो अर्को पार्टी प्यालेस होला जस्तो मलाई लाग्दैन। (कृपया यसलाई शीतल निवास पार्टी प्यालेसको विज्ञापन गरिएको भन्ने नठानियोस्। उक्त पार्टी प्यालेसको विज्ञापन गरेर मैले पाउने केही छैन। साँच्चै भन्ने हो भने यो पार्टी प्यालेससँग मेरो दूरदूरसम्मै कुनै सम्बन्ध छैन। म त यसको भव्यताको वर्णनमात्रै गर्दैछु।)

वास्तवमा यो एउटा भव्य नै पार्टी प्यालेस हो। शायद यसको भव्यता देखेर नै होला, कोही कोही त यसलाई पार्टी प्यालेस होइन 'प्यालेस' मात्रै पनि भन्न रुचाउँछन्। यत्रो भव्य ठाउँ छ, यसलाई कसरी पार्टी प्यालेस भन्ने, यो त प्यालेसै हो! भन्नेहरू यसो भन्छन्। शायद यसलाई 'प्यालेस' नै ठानेर हुनुपर्छ, अस्ति एक पटक यो पार्टी प्यालेसमा पूर्वराजा समेत छिर्न पुगे। कतिलाई त अझै पनि भ्रम छ, शीतल निवास पार्टी प्यालेस वास्तवमा 'प्यालेस' हो कि 'पार्टी प्यालेस' हो? हेर्दा प्यालेस जत्तिकै भव्य छ कसरी पार्टी प्यालेस भन्नु? तर कामचाहिँ भोजभतेर मात्रै हो कसरी प्यालेस भन्नु। हामी आफैँ पनि रणभुल्ल हुने स्थिति छ। पार्टी प्यालेस सञ्चालकमध्ये केही यस्ता पनि छन् जो यसलाई पूरा प्यालेसै बनाउनुपर्छ भन्ने विचार राख्छन्। यसको शान, गरिमा, हैसियत, चालढाल, शैली, तौरतरिका, विधिव्यवहार, बानी व्यहोरा जम्मै प्यालेस जस्तै हुनुपर्छ भन्ने उनीहरूको राय छ। त्यसैले उनीहरू यो पार्टी प्यालेसलाई क्रमशः प्यालेसमै रूपान्तरण गर्ने कोसिसमा छन्। अर्थात उनीहरू 'शीतल निवास पार्टी प्यालेस' लाई 'शीतल निवास प्यालेस' बनाउने तरखरमा छन्।

त्यस्तो विचार राख्ने एकजना सञ्चालकलाई अस्ति एउटा अर्कै पार्टी प्यालेसको भोजमा भेटेको थिएँ। उनलाई देख्नेबित्तिकै मैले ठट्ठा गरिहालेँ, 'ओहो, पार्टी प्यालेसको सञ्चालकलाई नै आज अर्को पार्टी प्यालेसमा भेट्न पाइयो है!'

तर मेेरो ठट्ठा उनलाई मन परेनछ। मुखमा लालमोहन हाले पनि अनुहार भने तीते करेलीको पार्दै उनले भने, 'मेरो पार्टी प्यालेसलाई पार्टी प्यालेस नभन्नुस् है, यो त प्यालेस हो प्यालेस!'

'प्यालेस! कसरी?,' म छक्क परेँ, 'तपाईँको त उही शीतल निवास पार्टी प्यालेस होइन र?'

'फेरि पार्टी प्यालेस भन्नुभो...,' उनको मुखको लालमोहनले अमिलो टेस्ट दिन थालेछ क्यारे, 'यो पार्टी प्यालेसलाई अब हामी पूरै प्यालेस बनाउँदै छौँ। तपाईँ केही समय पछि हेर्नुहोला।'

मैले भनेँ, 'प्यालेस किन चाहियो? पार्टी प्यालेसै ठीक छ नि, होइन र?'

उनले भने, 'किन चाहिँदैन? राजतन्त्र गएपछि देशका जम्मै प्यालेसहरू पनि गयो। आखिर एउटा प्यालेस त हामीलाई चाहिहाल्यो नि। त्यसैले हामी यो पार्टी प्यालेसलाई नै प्यालेस बनाउने तयारीमा छौँ। भव्य प्यालेस!'

उनको दृढता चिकेन करी जत्तिकै पक्का थियो। 'शीतल निवास पार्टी प्यालेस'लाई अब छिट्टै 'शीतल निवास प्यालेस' मा रूपान्तरण हुने कल्पनाले मलाई पनि साँधेको अचारले जत्तिकै रोमाञ्चित पारिदियो।

प्रकाशित: १४ माघ २०७३ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App