८ वैशाख २०८१ शनिबार
विचार

डोनाल्ड ट्रम्पको नारीद्वेष

जनवरी २० मा डोनाल्ड ट्रम्पको सत्तारोहण सभ्य संसारको युगमा सायद काला दिनहरूको प्रवेशविन्दु थियो। त्यसैले त भोलिपल्ट संसारभर महिलाले उनको विरोधमा विशाल विरोध जुलुस निकाले। विभिन्न माध्यमले दिएका समाचारअनुसार ट्रम्पको शपथ कार्यक्रममा मुस्किलले साढे दुई लाख मानिस उपस्थित थिए। सान फ्रान्सिस्कोमा मात्र उनको विरोधमा महिलाले निकालेको जुलुसमा १० लाख मानिस थिए। अमेरिकाका हरेकजसो राज्य र सहरमा लाखौँ महिलाले उनको नारीद्वेषी अभिव्यक्तिप्रति असहमति प्रकट गर्दै विरोध प्रदर्शन गरे। यो ट्रम्पको नारीद्वेषी वक्तव्य र मानसिकताको प्रतिक्रियामात्र थिएन, प्रतिरोधको पनि संकेत थियो।

प्रतिगमनको प्रवेशविन्दु

चरम जातिवादी चरित्रका कारण अमेरिकामा निषेधित दल क्लु क्लक्स क्लानका कुनै समयका नेता डेबिड ड्युक डोनाल्ड ट्रम्पको सत्तारोहणले हुनसम्म पुलकित भएका थिए। उनले ट्रम्पलाई जिताउन भूमिका खेलेको भन्दै विकिलिक्सका जुलियन एसेन्जरलाई धन्यवाद दिए। डेबिडका अनुसार ट्रम्प उनको दिलको बात बोलिदिने मनुवा हुन्। कुख्यात क्लु क्लक्स क्लान अमेरिकाका यस्तो नश्लवादी गुप्त गिरोह थियो जसको उद्देश्य अमेरिकामा रहेका काला मानिसमाथि अत्याचार गर्नु थियो। यिनीहरू गोराबाहेक कसैलाई मान्छे गन्दैनथे। प्रस्ट छ, अमेरिकाका गोरा कन्फर्मिस्ट, कथित राष्ट्रवादीहरूले नै ट्रम्पलाई बढी भोट दिएका थिए। उदेकलाग्दो के छ भने जो ८० प्रतिशतभन्दा बढी बेलायती मूलका मानिस हुन्, तिनैले अमेरिकी जरो, परम्परा र राष्ट्रवादको वकालत गर्दै ट्रम्पको सन्काहा अभिव्यक्तिमा आफ्नो सपना साकार हुने देखेका थिए।

चुनावताका २५ दिनमा उनले १ सय १२ झुट बोलेका थिए। रियालिटी टिबी सोका सञ्चालक र रियल स्टेटका व्यवसायी ट्रम्पले देश पनि आफ्नो कम्पनी जसरी नै चलाइदिने घोषणा गरिसकेका छन्। यी सब हेर्दा लाग्छ, उनको जित गल्ती, गन्जागोल र विसंगतिहरूको प्रहसन थियो।

ट्रम्पको विजयले उल्लासित क्लु क्लक्स क्लानका नेता डेबिड ड्युकले टि्वटमा लेखेका थिए, 'ट्रम्पज्यूलाई संसारकै सबैभन्दा महान् मान्छे बन्ने अवसर आएको छ। हामीले नै उनलाई जिताएका हौँ।' ट्रम्पले नै चुनेका उपराष्ट्रपति माइक स्पेन्स पनि कम नारीविरोधी, विज्ञानविरोधी र कट्टर इसाइपन्थी होइनन्। आफ्नो चुनावबारे उनले भनेका छन्, 'आखिर हीराले नै हीरालाई चिन्दोरहेछ।'

डेमोक्रेटिककी उम्मेदवार हिलारीले जितेकी भए संसारभर ओइलाउँदै गएको लोकतन्त्रको कोपिला फक्रन्थ्यो भन्ने किमार्थ होइन। विदेश मन्त्रीका रूपमा उनको सिर्जनाबिहीन कार्यकाललाई अमेरिकी जनताले उत्साहजनक नमान्नु स्वाभाविक थियो। तर, उनले जितेको भए अमेरिकाजस्तो शक्तिशाली राष्ट्रले पहिलो पल्ट महिला राष्ट्रपति पाउँथ्यो। अनि, उनी ट्रम्पभन्दा 'ज्यादै कम खराब' थिइन्। हो, हिलारीलाई ८८ प्रतिशत कालाले भोट दिए। ओबामालाई ९३ प्रतिशत कालाले भोट दिएका थिए। यसपालि कालाहरूको सबै भोट हिलारीलाई जाने अनुमान गरिएको थियो। किनभने ट्रम्प कालाहरूसँग हदै घृणा गर्छन् भन्ने उनीहरूलाई राम्ररी थाहा थियो। यसै मेसोमा बंगलादेशकी नारीवादी लेखक तसलिमा नसरिनले लेखेकी छन्, 'तैपनि कालाहरूको ८ प्रतिशत भोट ट्रम्पले किन पाए? उनी नारीद्वेषी थिए, त्यसैले? उनीहरू हिलारीलाई मन पराउँदैनथे, त्यसैले? अथवा उनीहरूलाई हिलारीको इमेल स्कान्डल मन परेन, त्यसैले?'

अन्ध राष्ट्रवाद

राष्ट्रवाद शब्द झट्ट सुन्दा जति मीठो लागे पनि यसले अन्ततः अन्ध राष्ट्रवादको रूप लिने खतरा हुन्छ। यसले जातिवाद र अन्य जाति, समुदाय र राष्ट्रप्रति घृणा जन्माउँछ। त्यसकारण कम्युनिस्टहरू राष्ट्रवादी होइन, आफूलाई देशभक्त भन्न रुचाउँछन्। दोस्रो विश्वयुद्धमा हिटलरको राष्ट्रवाद अन्ध राष्ट्रवाद र यहुदीप्रति चरम घृणामा परिणत भयो। त्यसको दावानलमा लाखौँ मानिसले ज्यान गुमाए। करोडौँको अंगभंग भयो। यता रुसी जनताले भने हिटलरको आक्रमणविरुद्ध बहादुरीपूर्ण देशभक्ति प्रदर्शन गरे। अन्ततः आक्रमणकारी जर्मनी भाग्न बाध्य भयो। त्यसका नेता हिटलरले आत्महत्या गरे। हिटलरलाई जसरी जातिवादको छडीले ताकत दिएको थियो र जर्मन जनतालाई एकोहोर्‍याउन उनी सफल भएका थिए, ट्रम्पको जितमा पनि त्यही राष्ट्रवादले भूमिका खेलेको प्रस्टै छ। हिटलर यहुदीविद्वेषी थिए, ट्रम्प महोदय काला जाति, मुसलमान, महिला र आप्रवासी विद्वेषी छन्।

महिलाप्रति उनको दृष्टिकोण मध्ययुगीन सामन्तको भन्दा भिन्न छैन। उनले महिलालाई कुकुर्नी, कुरूपलगायत अनेक अनेक विशेषण दिएका छन्। उनी सौन्दर्यलाई महिलाको एकमात्र गुण ठान्छन्। कतिसम्म भने उनले सुन्दरी इभान्का आफ्नै छोरी नभएकी भए तिनलाई 'प्रस्ताव राख्ने' हदसम्मको अभिव्यक्ति दिएका थिए। लिन्ड्से लोहानलगायत हलिउडका कतिपय हिरोइनलाई उनले 'शयन कक्षका लागिमात्र उपयुक्त' भनेर तिनको अस्मितामाथि खुला आक्रमण गरेका छन्। यसले गर्दा स्कारलेट जोहान्सन, ग्लोरियस स्टाइनम, एस्ले जड, माइकल मुरलगायत कतिपय सिनेकर्मी ट्रम्पविरुद्ध प्रदर्शन र भाषणबाजीमा उत्रन बाध्य भए। मुरले त ट्रम्पसँग होइन, विरोध प्रदर्शनमा उत्रनेसँग बहुमत भएको दाबी गरे।

यस्तो स्थिति देख्दा नारीलाई मान्छे नगन्ने यिनै महोदयलाई ५३ प्रतिशत अमेरिकी महिलाले भोट दिएका थिए भन्ने तथ्यांक कम्ती अचम्मलाग्दो छैन। अमेरिकी सर्वसाधारण महिला के चाहँदा रहेछन् त भन्ने गम्भीर प्रश्न यसले उठाएको छ। काला जातिका पुरुष बाराक ओबामालाई दुई कार्यकाल चुनेर इतिहास बनाएका अमेरिकी जनताले आठ वर्षपछि चरम जातिवादीलाई राष्ट्रपति चुनेको घटना पनि उत्तिकै अपत्यारिलो लाग्छ। अब ट्रम्पले अमेरिकाबाट अनेक नीति ल्याएर मुसलमान र आप्रवासीलाई खेद्ने त घोषणै गरिसकेका छन्। आप्रवासीलाई छिर्न नदिन मेक्सिकोसँगको सीमामा विशाल पर्खाल खडा गर्ने र त्यसको खर्च मेक्सिकोलाई तिर्न लगाउने उनको योजना छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मात्र होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उनको दोस्ती जम्ने छाँट देखिँदैछ। मोदीलाई उनले यसै वर्षभित्र अमेरिका भ्रमणका लागि निम्ता दिइसकेका छन्। ट्रम्पले मानिसमा सुषुप्त स्थितिमा रहेको आदिम घृणा र द्वेषलाई जगाउने काम गरेका छन्। मानिस कहिलेकाहीँ अरूको सन्काहा अभिव्यक्तिमा आफ्नो कुण्ठा निकास भएको महसुस गर्छन्। झुट बोल्न त उनी महारथप्राप्त नै छन् भन्ने देखिन्छ। 'टोरन्टो सन' का पत्रकार डेनियल डेलका अनुसार चुनावताका २५ दिनमा उनले १ सय १२ झुट बोलेका थिए। रियालिटी टिबी सोका सञ्चालक र रियल स्टेटका व्यवसायी ट्रम्पले देश पनि आफ्नो कम्पनी जसरी नै चलाइदिने घोषणा गरिसकेका छन्। यी सब हेर्दा लाग्छ, उनको जित गल्ती, गन्जागोल र विसंगतिहरूको प्रहसन थियो।

उल्टो लहरको खतरा

 सन् १९१७ अप्रिलमा प्रथम विश्वयुद्धका क्रममा अमेरिकाले जर्मनीविरुद्ध युद्ध घोषणा गर्दा अमेरिकी राष्ट्रपति उड्रो विल्सनले युरोपमा जर्मनीविरुद्ध शान्ति, न्याय, स्वतन्त्रता र प्रजातान्त्रिक मूल्यहरूको रक्षाको जिम्मेवारी लिने घोषणा गरेका थिए। त्यसपछि दोस्रो विश्वयुद्ध, शीतयुद्ध, अन्य सानातिना युद्ध हुँदै हरेक घटनामा उसले आफूलाई संसारकै लोकतन्त्रको रक्षक ठान्दै आएको छ। यस्तो बेला अनपेक्षितरूपमा अमेरिकी शासनको आसनमा चरम जातिवादी ट्रम्पको शासन सुरु भएपछि युरोपमा अब यो नेतृत्व त्यहाँको सबैभन्दा धनी र शक्तिशाली राष्ट्र जर्मनीले लिनुपर्ने आवाज गुन्जन थालेको छ। यसले एन्जेला मार्केललाई चौथो पटक चान्सलर बन्ने अवसर प्रदान गर्ने सम्भावना राजनीतिक विश्लेषकहरूले व्यक्त गर्न थालेका छन्। निवर्तमान राष्ट्रपति ओबामाको अपेक्षासमेत यही हुन थालेको छ। यतिमात्र होइन, ट्रम्पको जितले संसारका जातिवादी, रुढीवादी, अन्धराष्ट्रवादी दलहरूलाई हौसला प्रदान गर्ने र त्यसको झोकाले प्रतिगमनको ठूलो लहर ल्याउने खतरा व्यक्त गरिँदैछ। विश्लेषकहरूले यो घटना फ्रान्समा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा कट्टरपन्थी मरिन लिपेनको विजयका लागि प्रेरक हुने अनुमान गरेका छन्। ट्रम्पको चाला हेर्दा उनी आफ्नो जिद्दीमा सम्झौता गर्लान् जस्तो देखिन्न। तर, शपथ ग्रहणको भोलिपल्टै अमेरिकामा मात्र होइन, लन्डन, पेरिस, तेल अभिभ, कोसोभो, बर्लिन, मस्को, मेक्सिको सिटी, मेलबर्न, प्रिस्टिनालगायत संसारका प्रमुख सहरमा भएको प्रदर्शनको प्रतिरोध शक्तिलाई उनले पनि कम आँक्न सकेका छैनन् भन्ने उनको तमोगुणी प्रतिक्रियाले प्रस्ट पारेको छ।

प्रकाशित: १४ माघ २०७३ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App