coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

जसको बिकिनीले संसद् हल्लायो

बलिउडमा आजभोलि बिकिनी र स्विमसुट लगाउनु सामान्य भइसक्यो। तर, १९६० देखि ८० को दशकमा धेरै कम अभिनेत्री बिकिनी लगाएर क्यामरासामु आउन तयार हुन्थे। ६० को दशकमा अभिनेत्री शर्मिला टैगोर पहिलो पटक बिकिनी लगाएर दर्शकसामु आइन्। उनको यो अवतार दर्शकलाई खासै मन परेन। उनी विवादमा फसिन्।

सन् १९६६ मा फिल्मफेयर म्यागजिनको आवरण पृष्ठमा शर्मिला बिकिनीमा देखिइन्। भारतीय दर्शकले पहिलो पटक कुनै अभिनेत्रीलाई बिकनीमा पोज दिएको देखेका थिए। विवाद यति बढ्यो कि संसद्मा समेत यो मुद्दा उठाइयो। बिकिनीमा फोटोसुट गराउने शर्मिला त्यतिखेरकी पहिलो अभिनेत्री हुन्। यति मात्र नभई फिल्मफेयर म्यागजिनका लागि बिकिनीमा पोज दिने उनी पहिलो भारतीय अभिनेत्री पनि हुन्।

भनिन्छ, जब उनी फोटोसुटका लागि स्टुडियो पुगिन् फोटोग्राफर धीरेन चावडाले उनलाई सोधे, 'सुटमा के लगाउनुहुन्छ?' शर्मिलाले ब्यागबाट फ्लोरल टू–पिस स्विमसुट निकालिन् र भनिन्, 'यसमा फोटोसुट गराउनेछु।' टू–पिस बिकिनीमा म्यागजिनमा देखिने उनी पहिलो भारतीय अभिनेत्री बनिन्। केही दिनपछि कभर पेज भाइरल भयो र यससँग जोडिएका विवाद पनि बढ्दै गए।

वर्ष १९६६ शर्मिलाका लागि अत्यन्त सुखद रह्यो। यस वर्ष उनका 'अनुपमा', 'देवर', 'सावन की घटा', 'नायक' र 'ये रात फिर न आएगी' पाँच फिल्म रिलिज भए। पाँचै फिल्ममा उनको अभिनयका प्रशंसा भयो। साथै, बिकिनी विवादले पनि उनलाई फाइदा पुर्‍यायो।

यसपछि लामो समयसम्म शर्मिलाले त्यस फोटोसुटसँग जोडिएका प्रश्नको सामना गर्नुपर्‍यो। उनी यसबाट वाक्कदिक्क भइन्। एक अन्तर्वार्तामा उनले भनिन्, 'हाम्रो समाज त्यतिखेर एकदमै रुढिवादी थियो। मैले के गरिरहेकी छु भन्ने मलाई कुनै आइडिया थिएन। मानिसहरूले मलाई कस्ता–कस्ता कुरा सुनाए। कतिपयले भने लाइमलाइट बटुल्न यस्तो गरेको आरोपसमेत लगाए। त्यतिबेला म जवान थिएँ। केही नयाँ र अरूभन्दा फरक गर्न चाहन्थेँ।'

पछि शर्मिलाले त्यतिखेरका प्रसिद्ध भारतीय क्रिकेटर नवाब मंसुर अली खान पटौदीसँग लगनगाँठो कसिन्। दुवैको भेट सन् १९६५ मा दिल्लीमा एक जना साथीमार्फत भएको थियो। चार वर्ष डेटिङ गरेपछि उनीहरूले सन् १९६९ मा बिहे गरेका थिए। बिहेपछि शर्मिलाले आफ्नो धर्म परिवर्तन गरिन्। उनी हिन्दूबाट मुस्लिम भइन्। उनले आफ्नो नाम आयशा सुल्ताना राखिन्। उनका तीन छोराछोरी छन्– सैफ अली खान, सबा अली खान र सोहा अली खान।

बिहेको केही समयपछि उनी पारिवारिक कारणले फिल्म क्षेत्रबाट टाढिइन्। अहिले चाहिँ कहिलकाहीँ फिल्ममा 'स्पेसल अपियरेन्स'मा देखिने गरेकी छिन्।

प्रकाशित: १४ माघ २०७३ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App