७ वैशाख २०८१ शुक्रबार
कला

'वाकदेखि ट्वाकसम्म' ध्रुवचन्द्र-खगेन्द्र

पोखरा- लेखक ध्रुवचन्द्र गौतम र खगेन्द्र संग्रौलाबीच उमेरमा जम्मा दुई वर्षको अन्तर छ। तर, कुनै समय खगेन्द्र संगौला गौतमका विद्यार्थी थिए। संग्रौला २०२५ सालतिर नेपालीमा 'अनर्स' गरिरहँदा गौतमले संग्रौलालाई 'समग्र गद्य' पढाउँथे। पछिल्लो समय 'गाली सम्राट' को उपनाम पाएका संग्रौला कडा बोल्नमा उतिबेला पनि कम थिएनन्। गौतमले ४५ मिनेटको कक्षामा लगातार बोलेको मात्रै देखेपछि संग्रौलाले एकदिन गुरु गौतमलाई भनेछन्, 'तपाईं पढाउन आएको कि भाषण गर्न? आफू मात्र बोलेको बोलैगर्ने? त्यतिबेला त गौतमले केही भनेनन् तर भोलिपल्टबाट नोट बनाएर पढाउन थाले। संग्रौलाको चित्त बु‰यो।

शुक्रबार संग्रौलालाई पढाएको सोही प्रसंग निस्किएपछि भने गौतमलाई उतिबेला आफूले गरेको सम्झौतामा चित्त बुझेको रहेनछ। प्रस्तोताले गुरुचेलाको सम्बन्ध कोट्याइदिएपछि गौतमले भने, 'लेक्चरको त कामै थियो भाषण गर्ने। मैले पनि त्यही गरेको थिएँ। तर, उहाँले आपत्ति जनाएपछि नोट बनाएको थिएँ।'

शुक्रबारबाट पोखरामा सुरु 'नेपाल साहित्य महोत्सव' को छैटौं संस्करणमा 'अलिखित संवाद' अन्तर्गत गौतम र संग्रौला साहित्य र सम्बन्धका विविध विषयमा खुले। दुवैलाई कोट्याउने काम गरेका थिए पत्रकार देवेन्द्र भट्टराईले। तर, भट्टराईको प्रश्न गुरुचेलाको सम्बन्धको गहिराइमा नजाँदै 'वाक र ट्वाक' को सम्बन्धमा पुग्यो। चावहिलमा बस्ने दुवै जना 'बिहानको मर्निङवाकदेखि बेलुकीको ट्वाकसम्म' सम्म साथै रहने चर्चा चल्यो। संग्रौलाले आफू १२ वर्षदेखि मर्निङवाकमा जाने गरेको अनुभव सुनाए। तर, गौतमले ठट्यौली गर्दै भने, 'वाकमा त मैले उहाँलाई साथ दिन सकेको छैन तर ट्वाकमा हिजो बेलुकी पनि साथ दिएँ। यस्तो साथ अनगिन्ति दिएको छु।'

शुक्रबारे संवादको अन्तिम प्रस्तुतिको रुपमा रहेको 'अलिखित' संवादमा गौतम र संग्रौलाले 'ट्वाक' को मात्र होइन, नेपाली साहित्यको प्रवृत्ति र आफ्नो रचनाले निम्त्याएका विवादबारे पनि स्पष्टीकरण दिए। गौतमको 'अलिखित' उपन्यासमा मधेसीलाई होच्याउने प्रसंगले मधेसीको चित्त दुखेको र संग्रौलाको 'जुनकीरीको संगीत' मा माक्सर्वादको साटो एनजिओ ठिक हो भन्ने हिसाबले वकालत गरेको भन्दै दुवैमाथि आलोचना भएको थियो। अझ अहिले सत्तामा रहेको पार्टी माओवादीले त त्यही किताबको सन्देशलाई लिएर संग्रौलामाथि भौतिक कारबाही गर्ने चेतावनीसमेत दिएको थियो। गौतमले नम्र रुपमा आफ्नो कमजोरी स्विकारे। 'कहिलेकाहीँ व्यंग्य बुझाउन गाह्रो हुन्छ। मैले जानाजान त्यस्तो गर्न खोजेको त होइन तर हुन गएछ। मैले मधेसीलाई होइन, जमिनदारलाई व्यंग्य गर्न खोजेको थिएँ,' गौतमले भने। तर, आफ्नो किताबमाथिको विवादमा संग्रौलाले भने रोचक जवाफ दिए। उनले भने, 'प्रचण्डजीले ममाथि भौतिक कारबाही गर्ने उद्घोष त गर्नुभएको थियो तर गर्न सक्नुहुन्न भन्नेमा म विश्वस्त थिएँ। किनकि उहाँहरु मैले अनुवाद गरेका मार्क्सका पुस्तक पढेर जनयुद्ध गरिरहनुभएको थियो। म गुरु बनेर उहाँहरुको चित्तमा गढिसकेको थिएँ।'

दिनभर झरी झेल्दै शुक्रबार नेपाली साहित्य महोत्सवको पहिलो दिन यस्तै रोचक विभिन्न चार शीर्षकमा छलफल सम्पन्न भए। कवि शिरोमणि लेखनाथ पौड्यालको सम्झनामा कवितावाचनसाथ सुरु भएको कार्यक्रममा 'पोखरा अबको परिकल्पना' शीर्षकमा वीरेन्द्रबहादुर बस्नेत र रवीन्द्र अधिकारी सुजित महतसँग गफिएका थिए भने कनकमणि दीक्षित र भारतीय लेखक रामचन्द्र गुहाले गुहाकैै पछिल्लो पुस्तक 'डेमोक्र्याट्स एन्ड डिसेन्टर्स' को सेरोफेरोमा वार्तालाप गरेका थिए। त्यस क्रममा बोल्दै गुहाले नेपाल–भारत सम्बन्धका सामाजिक र सांस्कृतिक आयाम तथा माक्सर्वाद र समाजवादका भिन्नताबारे आफ्नो धारणा राखेका थिए। गुहाले माक्सवार्दले सबै समस्याको समाधान राज्यसँग छ भन्ने धारणा राख्ने तर समाजवादले विकेन्द्रित अवधारणा राम्रो भन्ने मान्यता राख्ने भएकाले आफूलाई माक्सवार्दभन्दा समाजवाद उपयोगी लाग्ने धारणा राखेका थिए।

उद्घाटनसत्रमा पूर्वउपकुलपति केदारभक्त माथेमाले 'किनोट स्पिच' का क्रममा   विश्वविद्यालयमा भइरहेको राजनीतिक हस्तक्षेपको दर्दनाक तस्बिर पेस गरेका थिए। थुप्रै देशमा भिजिटिङ लेक्चरको रुपमा पुग्ने गुहालाई दीक्षितले भारतका विश्वविद्यालयको अवस्थाबारे पनि जिज्ञासा राखेका थिए। दीक्षितको जिज्ञासामा गुहाले मोदी सरकारले हस्तक्षेप मात्र होइन, विश्वविद्यालयमा विद्यार्थीलाई बोल्नसमेत बन्देज लाइरहेको दृष्टान्त पेस गरेका थिए। यसैगरी गुहाले नातावाद तथा बौद्धिक चोरीमा पनि भारत नेपालभन्दा अगाडि नै रहेको बताएका थिए।

त्यसपछि भएको अर्को छलफलमा आदित्य अधिकारीले 'नेपालमा को बौद्धिक र कहाँ छन् यस्ता बौद्धिक?' भन्ने विषयमा चैतन्य मिश्र र सिके लालसँग जबाफ मागेका थिए। अन्त्यमा रामभक्त जोजिजू र विनोद बानियाँको सांगीतिक प्रस्तुतिसँगै पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो। निरन्तरको पानीका कारण पोखराकै सेरोफेरामा केन्द्रित रहेको 'के भन्छ पोखरा' शीर्षकको छलफल भने रद्द भएको थियो। सरस्वती श्रेष्ठ सरु, ईश्वरमणि अधिकारी, विनोद बानियाँ, कपिल शर्मा सहभागी हुने छलफललाई र्‍यान्डम रिडर्सका अध्यक्ष उपेन्द्र पौडेलले सहजीकरण गर्ने कार्यक्रम थियो।

सन् २०११ देखि काठमाडौंमा सुरु भएको नेपाली साहित्य महोत्सवको यो छैटौं संस्करण हो। वुकवर्म फाउन्डेन्सनले साहित्यसम्बन्धी अन्तरसंवादलाई घनीभूत गराउने उद्देश्यसाथ सुरु भएको महोत्सव पोखरामा भने दोस्रोपटक आयोजना गरिएको हो। महोत्सव निर्देशक अजित बरालले अन्तरसंवादलाई विकेन्द्रीकरण गर्ने उद्देश्यसाथ काठमाडौंबाहिर आयोजना गरिएको जानकारी गराए। शनिबार शुक्रबारझैं विभिन्न ११ विषयमा अन्तरसंवाद हुनेछन्। शनिबार थप दुई भारतीय लेखक विभिन्न शीर्षकका छलफलमा सहभागी हुनेछन्।

शनिबार चर्चित कथाकार उदयप्रकाश स्वयं आफ्नै कृति 'मोहनदास'को नेपाली अनुवादको सार्वजनिकीकरणमा समावेश हुनेछन् भने नयाँ पुस्ताका लेखक दुर्जोय दत्त हिमा विष्टसँग 'दि मेकिङ अफ बेस्टसेलर' शीर्षकमा गफिनेछन्। चार दिनसम्म पोखराको पर्यटन बोर्डमा चल्ने महोत्सव सोमबार सकिनेछ।

प्रकाशित: १५ माघ २०७३ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App