८ वैशाख २०८१ शनिबार
फोटो फिचर

हिउँले सेताम्य जुम्ला

जुम्ला– यतिबेला जुम्ला हिउँले सेताम्य बनेको छ। अघिपछि उराठ लाग्दा डाँडाकाँडाहरु अहिले सेताम्य छन्। यस्तो देखिन्छ– मानौं जुम्लाको धर्ती यतिबेला हिउँको गलैंचाले सजाइएको होस्।   

पुस महिनामा सामान्य रुपमा दुई पटक हिउँ परे पनि माघ महिनामा सबैभन्दा ठुलो हिमपात भएको हो। यो पटक दुई दिनसम्म बादल लागेपछि भारी हिमपात भएको हो। यो वर्षकै सबैभन्दा बढी हिउँ परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ। हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। शुक्रबार मध्यरातदेखि परेको हिमपातले जुम्ला सेताम्य भएको हो।  

जिल्लाको डिल्लीचौर, छुमचौर, पातारासी गोठिचौर, बुम्रामाडिचौर, वोता मालिका, मालिकाठाटा, घोडेमहादेव र ताम्तीलगायतका गाविसमा बाक्लो हिमपात भएको छ। सदरमुकाम खलंगामा आधा फिट बाक्लो हिउँ परेको हो। शनिबार दिनभर हिउँ खेल्नेहरुको लर्को लागेको थियो।

हिमपातले जनजीवन निकै कष्टकर वनेको स्थानीय बताउँछन्। गाईवस्तुलाई दानापानी दिनदेखि बालबालिका र वृद्धावृद्धालाई चिसोको प्रभाव निकै परेको स्थानीयले बताएका हुन्।  

हिउँका कारण विमानस्थलमा हवाइजहाज अवतरणमा कठिनाइ भईरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विमानस्थल सफाई गरेका छन्। सदरमुकाम आसपासको जंगलमा झण्डै एक फिट हिउँ परेको छ। हिमपातले सबैभन्दा जिल्लाको उच्च भेगको जनजीवन झन कष्टकर बनेको हो।  

सदरमुकाममा ट्युसन तथा कोचिङ कक्षा अध्यायन गर्न आएका विद्यार्थीहरु चिसोका कारण मर्कामा छन्। किसान भने हिमपातका कारण निकै खुसी छन्। लामो समयदेखि हिउँ नपर्दा गह्रामा लगाएको हिउँदेवाली सुक्न लागेको बेला हिमपात भएपछि निकै खुसी भएका हुन्। हिमपातले भर्खरै व्यवस्थापन गरेको स्याउ बगैंचालाई मलजल पुग्ने कृषि प्राविधिकहरु वताउँछन्।

हेर्नुहोस् तस्बिरहरुः
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App