coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेवानि चार दर्जन 'ककपिट' र 'क्याबिन क्रु’ थप्दै

काठमाडौं— राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ‘ककपिट क्रु’ र ‘क्याबिन क्रु’ गरी करिब चार दर्जन नयाँ नियुक्त गर्ने भएको छ। तिनमा पाइलट, एयरहोस्टेस र स्टेवार्ड हुनेछन्।

निगमले चाँडै नै एक दर्जन पाइलट, १६ एयरहोस्टेस (परिचारिका) र १६ स्टेवार्ड (परिचारक) नियुक्त गर्न लागेको हो । तीमध्ये एयरहोस्टेस र स्टेवार्डको पहिलो चरणको परीक्षा पनि लिइरहेको छ । एक दर्जन पाइलटका लागि एक साताभित्र सार्वजनिक सूचना जारी गर्ने घोषणा गरेको छ । 

पाइलट अभाव हुँदा निगमले अन्तर्राष्ट्रिय उडानमा आफ्ना जहाजलाई पूर्णक्षमतामा उडाउन सकेको छैन । नयाँ पाइलट र अन्य क्याबिन क्रु नियुक्त भएपछि आफ्ना सम्पूर्ण उडान थप सरल हुने निगमको भनाइ छ । जति जहाज संख्या थपिँदै जान्छ, ध्वजावाहकले त्यति नै पाइलट अभाव झेल्दै आएको छ । यसैका कारण व्यापारिक हिसाबमा पछाडि पर्नेमात्र नभई निगमको छवि थप धमिलो भइरहेको छ ।

निगम व्यवस्थापनले उपलब्ध गराएको ताजा तथ्यांकअनुसार हाल दुईथान ‘बोइङ ७५७’ जहाज उडाउन १८ जना क्याप्टेन छन् भने ‘ए३२०–२००’ सिरिजका दुईथान जहाज उडाउन आठ क्याप्टेन र १३ को–पाइलट छन् । दुइटा बि७५७ लाई १४ क्याप्टेन र १४ को–पाइलट तथा ए३२० लाई पनि त्यति नै संख्या गरी कुल ५६ पाइलट आवश्यक पर्छन् ।

त्यसैगरी आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका लागि ८० जना एयरहोस्टेस र १८ जना स्टेवार्ड रहेका छन् । अब नयाँ नियुक्ति भएपछि ९६ एयरहोस्टेस र ३४ स्टेवार्ड हुनेछन् ।

‘एक दर्जन नयाँ पाइलट थपिएपछि ए३२० जहाजलाई पूर्णक्षमतामा उडाउन सकिने छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, ‘त्यस्तै एयरहोस्टेस र स्टेवार्ड पनि थपिएपछि हाम्रो सम्पूर्ण उडान ‘स्मुथ’ हुने विश्वास छ ।’

निगमका अनुसार एयरहोस्टेस र स्टेवार्डको पहिलो चरणको परीक्षा ‘पर्सनालिटी टेस्ट’ चलिरहेको छ । १६ जना एयरहोस्टेसका लागि ७ सयभन्दा बढी प्रतिस्पर्धामा छन् भने स्टेवार्डमा पनि उल्लेख्य प्रतिस्पर्धा चलिरहेको छ ।

‘पर्सनालिटी टेस्टपछि लिखित परीक्षा र अन्तिममा अन्तर्वार्ता लिन्छौं,’ प्रवक्ता शर्माले भने, ‘सफल हुने १६ एयरहोस्टेसर १६ स्टेवार्डलाई दसैंपछि नियुक्ति दिने गरी काम भइरहेको छ ।’

निगमलाई पाइलट अभावले विस्तारै समस्या पर्न थालेको छ । पछिल्लो विवरणअनुसार निगमलाई ठूला जहाज उडाउन तत्काल एक दर्जन पाइलट आवश्यक छ । जसमा चारजना क्याप्टेन र आठजना को–पाइलट हुनेछन् । ‘हामी सकेसम्म नेपाली पाइलट नै लिन्छौं, तर केही उपाय लागेन भने विदेशी पाइलट करारमा लिएर अन्तर्राष्ट्रिय उडान पूर्णक्षमतामा उडाउँछौं,’ शर्माले भने ।

निगमसँग अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादित १ सय ९० सिट क्षमतायुक्त बि७५७ सिरिजका दुईथान र युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग एक वर्षअघि खरिद गरी ल्याइएका १ सय ५८ सिट क्षमतायुक्त ए३२०–२०० सिरिजका दुईथान जहाज छन् । एउटा बि७५७ भने हाल इन्जिन मर्मतका लागि सिंगापुरमा रहेको छ । 

निगम सञ्चालक समितिले यसअघि नै दुइटा बि७५७ जहाजका लागि आधा दर्जन को–पाइलट आन्तरिक रूपमा लिन व्यवस्थापनलाई स्वीकृति दिएको थियो । त्यसैअनुसार व्यवस्थापनले आन्तरिक उडानका क्याप्टेनलाई बोइङको को–पाइलटमा स्तरोन्नति गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

ए३२० जहाजका लागि लिन लागिएका चार क्याप्टेन विदेशी नै हुने अवस्था आयो भने निगमलाई आर्थिक हिसाबमा महँगो पर्नजाने छ । सञ्चालक समिति सम्बद्ध एक अधिकारीका अनुसार विदेशी पाइलटलाई १२ हजारदेखि १४ हजार अमेरिकी डलर तलबभत्ता दिनुपर्ने हुन्छ जबकि नेपाली पाइलट भए भने निगमको कर्मचारी सेवासर्तअनुसार हुने छ ।

व्यवस्थापनकै एक उच्च अधिकारीले पाइलटलाई आकर्षक सेवा–सुविधा दिन नसकेका कारण निगमका जहाज उडाउन पाइलटहरूले चासो नदिएको बताए । उनका अनुसार निगमका क्याप्टेन (जसले जहाज कमान्ड गर्छन्) ले मासिक औसत ८० घन्टा उडान गर्न पाए भने सबै कर कटाएर प्रतिमहिना २ लाख २५ हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म हात पार्छन् । 

‘तर, यो रकम भनेको यहीँका निजी वायुसेवा कम्पनीका साना जहाज उडाउने क्याप्टेनको भन्दा कम हो किनभने निजी कम्पनीका क्याप्टेनले महिनाको पाँच लाखभन्दा बढी खान्छन् । त्यसमाथि छिमेकी देशमा ठूला जहाज उडाउने क्याप्टेनले मासिक न्यूनतम ८ लाख रुपैयाँ तलब थाप्छन्,’ ती अधिकारीले भने, ‘हामीले दुःखका साथ भन्नुपर्छ, यो विडम्बना हो र हामी चाहेर पनि पाइलटलाई सेवा सुविधा थप्न सकिरहेका छैनौं ।’

 

 

प्रकाशित: २२ असार २०७३ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App