८ वैशाख २०८१ शनिबार
विचार

अमर सहिदः राम र लक्ष्मण

प्रजातन्त्रिक आन्दोलनमा सयौं सहिद भए तर राम र लक्ष्मण जस्ता युवाले जुन अदम्य साहस र वीरता प्रदर्शन गरी नेपाली कांग्रेसको आह्वानमा सोलुखुम्बुमा सशस्त्र आन्दोलनको क्रममा वीरगति प्राप्त गर्नुभएको थियो, त्यो निकै कारुणिक र हृदयस्पर्शी  थियो । राम र लक्ष्मणको जन्म २००५ साल वैशाख ५ गतेका दिन तत्कालीन सदरमुकाम उदयपुरगढीमा जुम्ल्याहा माइलो छोराका रूपमा भएको थियो । उनीहरुका पिता त्यतिबेला उदयपुरगढीको माल अड्डामा तहरिर खरिदार हुनुहुन्थ्यो । उहाँहरुको पुख्र्यौली घर काठमाडौंको हाँडी गाउँमा थियो । २००७ को क्रान्तिमा महोत्तरी–सप्तरी क्षेत्रका कमान्डर रुद्रपसाद गिरीको नेतृत्वमा कृष्णप्रसाद भट्टराईसहित ३५ जनाको मुक्तिसेनाको डफ्फाले २००७ साल कात्तिक २७ गतेका दिन उदयपुरगढीमाथि हमला गर्न जाँदा सरदार विष्णुप्रसाद पौडेलले मुक्तिसेनालाई साथ दिई सघाउनुभएको थियो । मुक्ति सेनाले सजिलैसित उदयपुरगढी माथि कब्जा जमाइ त्यहाँ रहेको १७ हजार रुपियाँ पनि हात पा¥यो ।

त्यस क्रान्तिमा सरदार विष्णुप्रसाद पौडेलले साथ दिएका हुनाले राणा शासकले उहाँ  र उहाँका जेठो छोरा ५ वर्षीय वेदप्रसाद र २ वर्षीय राम र लक्ष्मणलाई पक्रेर ल्याउनु भनी प्रहरीलाई कडा आदेश दिए । राणाका फौज र प्रहरीले उदयपुरगढीमा उहाँको घर घेरा हाली फायरिङ गर्न थाल्दा बडा मुस्किलले आफ्नो परिवार र साना बच्चा राम र लक्ष्मणसहित भाग्न सफल हुनुभयो । उहाँले आफ्ना सम्पूर्ण परिवारलाई भारतको जयनगर लिएर जानुभयो । २००७ सालको क्रान्ति सफल भई फागुन ७ गते प्रजातन्त्र घोषणा भएपछि खरदार विष्णुप्रसादले आफ्नो परिवार लिएर सिरहाको बस्तीपुर गाउँमा आई बस्न थाल्नुभयो ।

२००९  सालतिर खरदार विष्णुप्रसाद बस्तीपुरबाट आई नजिकको लहान बजारमा घडेरी किनी बसोबास गर्न थाल्नुभयो र त्यही औषधि पसल पनि थाप्न थाल्नुभयो । जेठो छोरा वेदप्रसाद, माहिलो जुम्ल्याहा राम र लक्ष्मणलाई स्थानीय पशुपति माध्यमिक विद्यालयमा पढाउन थाल्नुभयो ।  राम र लक्ष्मण कक्षा ८ सम्म लहानकै विद्यालयमा पढी कक्ष ९ मा बस्तीपुर हाइस्कुलमा पढन जानुभयो । बस्तीपुर हाइस्कुलबाट २०२१ सालमा एसएलसी पास गर्नुभयो । बस्तीपुरमा पढ्दा त्यहाँको राजनीतिक वातावरणले उहाँहरुलाई ठूलो प्रभाव पा¥यो । खासगरी त्यति बेला बस्तीपुरका २००७ सालका कमान्डर रुद्रप्रसाद गिरी जेलमा बन्दी हुनुहुन्थ्यो भने मित्रलाल गिरीलगायत धेरै कार्यकर्ता प्रवासमा राजनीतिक जीवन बिताइरहेका थिए । मित्रलाल गिरीको छोरा प्रदीप गिरी २०१७ सालमा बस्तीपुरबाट एसएलसी पास गरी पढ्न बनारस जानुभएको थियो । वनारस र बस्तीपुरबीच राजनीतिक गतिविधि आदानप्रदान भइरहन्थ्यो । नेपाली कांग्रेसको संघर्षशीलता र प्रजातन्त्रको पुनः प्राप्तिले सधँै राम र लक्ष्मणको मस्तिष्कलाई उद्वेलित पारिरहन्थ्यो । त्यसैले २०२१ सालमा महेन्द्र मोरङ कलेज विराटनगरमा पढ्न जाँदा सधँै राजनीतिक आन्दोलनमा अग्रसर नै रहनुभयो । यसले गर्दा कलेज अध्ययन क्रममा बढी जेल जीवन बिताउनुपरेको थियो । यतिसम्म कि जेलबाटै राम र लक्ष्मण दुवैले बिएको परीक्षा दिई उत्तीर्ण हुनुभएको थियो ।

एकदिन बिरामी परेकाले प्रशासनको आदेशमा दुवै भाइलाई हतकडी लगाइ अस्पताल लगिएको थियो । अस्पतालबाट फर्किदा बाटोमा साथमा रहेका प्रहरीलाई छक्याई भाग्न दुवै जना भागेर जोगवनीको काडेदार तार पर्खाल नाघी फारबिसगन्ज (भारत) मा रहेको नेकाको क्याम्पस पुग्नुभयो । त्यहाँ उहाँहरुले नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना तयारी भइरहेको थाहा पाउनुभयो ।

जयनगरबाट आन्दोलनकारीको डफ्फा नेपाल सिमानाभित्र प्रवेश गरी कमला नदीको किनारै किनार ओखलढुङ्गातर्फ बढ्न थाले । बिना रोकटोक आखलढुङ्गाभन्दा माथि बढेपछि एउटा नदीनेर पुग्दा सरकारले सुइँको पाई सदरमुकामबाट सेना पठायो तर उहाँहरु यसअघि नै नदी तरेर पारि पुगिसक्नुभएकाले सरकारी सेनाको प्रयास असफल भयो । उता सोलुबजारमा रहेका सेनाका अफिसरसँग विद्रोहीले सदरमुकाम पुगेर सामान्य लडाईँ गर्नासाथ सेनाले आत्मसमर्पण गर्ने र त्यसपछि हतियारयुक्त पुलिस जवानलाई संगठित गरी स्थानीय सरकार गठन गरिने सल्लाह भएको थियो । विद्रोहीले आफू आइपुग्नै लागेको खबर आफ्नो पक्षमा रहेका सरकारी सेनाकहाँ पु¥याए तर सैनिक अफिसरहरुले पूर्व योजनाविपरित विद्रोहीलाई दुई दिन बाटोमै पर्खने सल्लाह पठाए । त्यो सल्लाह मान्नु नै विद्रोहीका लागि सबभन्दा ठूलो घातक सिद्ध भयो । आफूसित मिलेका सरकारी सैनिक पनि सरकारको पक्षमा गएकाले उनीहरु दलबलसहित त्यहाँको टिमुरे जंगलभित्र लुके ।

काठमाडौंबाट आएका थप सैनिक शक्तिले विद्रोहीलाई जंगलमा नै घेर्न पुगे । आखिर सेनाको गोलीबाट टिमुरे जंगलमा नै २०३१ सालमा उनीहरुको हत्या भयो ।
    
 

प्रकाशित: १६ माघ २०७३ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App