१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यातायात कार्यालयमा 'सर्भर डाउन'

काठमाडौं- यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमति कार्यालयमा जडान गरिएको सर्भर तथा सफ्टवेयर बिग्रिएपछि सेवाग्राही मर्कामा परेका छन्। 'सर्भर डाउन' हुँदा १३ वटै अञ्चलमा सवारीचालक अनुमतिपत्रको नवीकरण र नयाँ सवारीचालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन भने वागमती अञ्चलमा दर्ता, रि–ट्रायल तथा चालक अनुमतिपत्र अनलाइन फारमको काम रोकिएको छ।

उपत्यकाबाहिर १३ दिनअघि र वागमती अञ्चलमा मंगलबारदेखि सर्भर डाउन भई काम हुन सकेको छैन।

सर्भरमा बारम्बार समस्या आउँदा पनि विभागले बेवास्ता गरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन्। 'सधैँजसो नै यातायातको सर्भरमा समस्या आएकै हुन्छ,' यातायात व्यवस्था कार्यालय एकान्तकुनामा भेटिएका सेवाग्राही अर्जुन पाण्डेले भने, 'सर्भर नै व्यवस्थित गर्न नसक्नेले कसरी अनलाइन सेवा देला?'

सरकारले गत पुस १० गतेदेखि अनलाइन आवेदन फारमको व्यवस्था गरेको थियो। तर, नियमित सेवा दिन सकेको छैन।

यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमति एकान्तकुना प्रमुख तेजनारायण यादवले सर्भर समस्याले मंगलबारदेखि कार्यालयले सेवा प्रवाह गर्न नसकेको बताए। 'कहिले सडक विस्तारका क्रममा, कहिले जात्रा त कहिले बिजुलीको तार हटाउने क्रममा सर्भरको तार चुँडिने गर्छ, जसकारण सेवा प्रवाहमा समस्या भएको हो,' उनले भने।

पहिले वागमतीमा एउटा मात्रै कार्यालय हुँदा कम समस्या भएको र अहिले तीन कार्यालय थप गरिएकाले सर्भर सेयरिङ गर्दा समस्या आइरहेको उनको भनाइ छ।

६ वर्षअघि बनाएको यातायात कार्यालयको ड्राइभिङ रजिस्ट्रेसन सिस्टम अहिले पुरानो भएको र नियमित अपग्रेड नगर्दा समस्या आएको एक सफ्टवेयर कम्पनीले जनाएको छ।

विभागले काठमाडौंबाहिरका कार्यालयमा ड्राइभिङ रजिस्ट्रेसन सिस्टम सफ्टवेयर प्रयोग गरिरहेको छ। यातायात व्यवस्था कार्यालय वागमती अञ्चलमा स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहकल रजिस्ट्रेसन सिस्टम सञ्चालन गरिरहेको यातायात व्यवस्था विभागका कम्प्युटर इन्जिनियर राजकुमार महर्जनले बताए।

'नियमित निरीक्षण तथा अनुगमन गर्ने दक्ष जनशक्ति छैनन्,' महर्जनले भने, 'समस्या आउनेबित्तिकै समाधान गर्नेतर्फ लागिरहेका हुन्छौं। पूर्वतयारी नहुँदा कहिलेकाहीँ समस्या निम्तिने गर्छ।'

विभागमा चार कम्प्युटर इन्जिनियरको दरबन्दी भए पनि अहिले दुई मात्रै रहेका छन्।

यातायात व्यवस्था विभाग महानिर्देशक चन्द्रमान श्रेष्ठले सर्भर सुधार्नेतर्फ अग्रसर भएको बताए। 'सर्भर बिग्रिएर सेवाग्राहीको गाली खाइरहेका छौँ,' उनले भने, 'प्राविधिक समस्यालाई अन्त्य गर्दै लैजाने योजनामा छौँ। विभाग सर्भर थप्न र क्षमता अभिवृद्धि गर्नेतर्फ लागिरहेको छ।'

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सर्भरको अल्पकालीन तथा दीर्घकालीन समाधानको पक्षमा छलफल भइरहेको पनि उनले बताए।

सफ्टवेयर अपग्रेडिङ र अप्टिमाइजेसन भइरहेकाले बिहीबार र शुक्रबारका लागि सवारीचालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण सेवा बन्द रहने विभागले सार्वजनिक सूचना जारी गरेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले बुधबार यातायात व्यवस्था विभाग महानिर्देशक श्रेष्ठ र यातायात व्यवस्था कार्यालय वागमती अञ्चलका चारवटै कार्यालय प्रमुख तथा अन्य प्राविधिकलाई तत्कालै सर्भर समस्या समाधान गर्न निर्देशन दिएका थिए। सोमबारदेखि कार्यालयको काम नियमित सञ्चालन हुने विभागले जनाएको छ।

प्रकाशित: १७ माघ २०७३ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App