७ वैशाख २०८१ शुक्रबार
समाज

'फोहोरदेखि भगवान् पनि रुन्छन् होला'

काठमाडौं- आफ्नो भाइको व्रतबन्धका लागि पाटन कुम्भेश्वर मन्दिर पुगेकी सविता आचार्य नाकमुख छोपेर एक कुनामा बसिरहेकी थिइन्। 'जताततै फोहोर छ। जहाँ टेक्यो त्यहीँ फोहोर,' खिन्न हुँदै उनले भनिन्। मन्दिर ढोकैछेउ कुहिन लागेको फोहोर थुप्रिएको छ। मन्दिर प्रांगणभित्र टपरी, फूल, अक्षता, फलफूलका बोक्रा, प्लास्टिक, कागज जताततै फालिएका छन्। भजनमण्डली बस्ने सत्तलछेउ धेरै दिनदेखिका फोहोर बोरामा हालेर थुपारिएको छ। मन्दिरवरपर फोहोर नफाल्न टाँसिएको सूचनामुनि फोहारको डंगुर छ।

कुम्भेश्वर फोहोर थुप्रिएर मन्दिर क्षेत्रको वातावरण प्रदूषित भएको भक्तजन गुनासो गर्छन्। 'फोहोर नफाल्ने भनेर सूचना टाँसेको छ तर फोहोर हाल्ने डस्टबिनको व्यवस्था छैन,' ललितपुरका निरञ्जन श्रेष्ठ गुनासो गर्छन्, 'मन्दिरमा हिन्दू मात्र होइन, विदेशी पनि आउँछन्। अनि उनीहरुले के सन्देश लिएर जालान्?' मन्दिरका पूजारी माधवश्याम श्रेष्ठले भनेे फोहोर फाल्ने डस्टबिन राख्दा पनि मानिसले डस्टबिनको प्रयोग नगरेको बताए। 'अहिले मन्दिरको मात्र फोहोर व्यवस्थापन गर्ने कुनै निकाय छैन। स्थानीय क्षेत्रमा फोहोर लैजाने नगरपालिकाकै गाडी प्रयोग भइरहेको छ,' पूजारी शर्माले भने।

कुम्भेश्वर मन्दिरका नाममा स्थानीय कुम्भेश्वर टोल सुधार समितिले पनि विभिन्न कार्यक्रम गर्ने गरेको छ। टोल सुधार समितिको कार्यक्रमका ब्यानर मन्दिरका भित्तामा झुन्ड्याइएका कारण थप फोहोर भएको शंखमूलका राज तन्डुकारले गुनासो गरे। 'मन्दिरमा झुन्ड्याइएका ब्यानर र बोर्डका कारण फोहोर बढ्ने मात्र हैन, मन्दिरको स्वरुप नै कुरुप देखिएको छ,' उनले भने। टोल सुधार समितिले गर्ने विभिन्न कार्यक्रमका सूचना मन्दिरका विभिन्न भागमा झुन्डिएको देख्न सकिन्छ।

कुम्भेश्वर मन्दिर एउटा उदाहरण मात्र हो। धेरैजसो मन्दिरवरिपरि दैनिक उत्पादन हुने फोहोर व्यवस्थापन नगरिँदा मन्दिर क्षेत्र फोहोर हुने गरेको सरोकारवाला बताउँछन्। फोहोरले गर्दा भक्तजनलाई त समस्या भएकै छ। साथै, मन्दिरवरपर बसोबास गर्ने सर्वसाधारणको दैनिकीमा समेत समस्या हुने गरेको न्युरोडका सुमित शर्मा बताउँछन्। 'संकटा मन्दिरमा शनिबार हुने पूजाबाट उत्पन्न फोहोर खान आउने कुकुर र परेवाजस्ता पशुपक्षीले फोहोर झन् फैलाइदिन्छ,' उनले भने, 'कहिलेकाहीँ हिँडडुल गर्न समेत अप्ठेरो बनाइदिन्छ।'

नेपालको सबैभन्दा ठूलो पशुपतिको मन्दिरमा समेत पूजाको समय हिलो र फोहोरका कारण मन्दिरको वातावरण प्रदूषित बनेको गुनासो भक्तजनले गरेका छन्। कुम्भेश्वर मन्दिरका पूजारी माधवश्याम शर्मा भने मन्दिरमा हुने फोहोर कम गर्न भक्तजन आफैँ पनि सचेत हुनुपर्नेमा जोड दिन्छन्। 'सबैको आस्थाको केन्द्र हो। सफा मनले मन्दिरमा पूजा गर्न आउनेले मन्दिरको सरसफाइमा पनि सजग भए धेरै राम्रो हुन्थ्यो,' पूजारी शर्माले भने। डस्टबिनको प्रयोग गर्ने र पूजासामग्री जथाभावी नफाले मन्दिरको फोहोर धेरै घट्ने उनको भनाइ छ।

भक्तजनको चेतनाको कमी हुँदा र फोहोरको उचित व्यवस्थापन नहुँदा नियमित पूजाआजा हुने मन्दिर क्षेत्रमा फोहोरमैला थुप्रिएको जानकार बताउँछन्। 'धर्म होस्, भगवान खुसी होस् भनेर पूजा गर्छाैं। तर फूल–प्रसाद जताततै फाल्छौँ,' कुम्भेश्वर मन्दिरमा लाख बत्ती बाल्न आएका पूजारी गणेश नेपालले भने, 'मन्दिरको फोहोर देखेर त भगवान् पनि रुन्छन् होला।'

प्रकाशित: १७ माघ २०७३ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App