४ वैशाख २०८१ मंगलबार
विचार

कुलमान र हाम्रो ऊर्जा

यो ब्रह्माण्डमा ऊर्जाबिना कुनै वस्तुको सिर्जना सम्भव छैन तर ऊर्जा कुनै वस्तु होइन। हरेक वस्तु र कार्य अनि सृष्टिसँग ऊर्जाको सिधा सम्बन्ध छ। ऊर्जाबिना कुनै कार्य सम्भव छैन। अहिले देशमा कुलमान घिसिङ एक सम्मानका पात्र बनेका छन् किनकि जलस्रोतको धनी देशका बासिन्दा हामी बत्तीमुनिको अँधेरोझैं सधैं अन्धकारमा बाँच्न विवश थियौं। भित्री चुरो कहिल्यै खोजेका रहेनछौं जुन कुरा कुलमान घिसिङले आफू विद्युत् प्राधिकरणको निर्देशक पदमा नियुक्त भएलगत्तै  काठमाडौं उपत्यकामा विद्युत् कटौती कम गरेर देखाइदिए। त्यतिमात्र नभएर उनले मुलुकभर नै विद्युत् कटौती गर्न सकिने कुरासँगै देशमा विद्युत् विकासका लागि अपनाउनुपर्ने नीति एवं योजनाबारे आफ्नो धारणा नै सार्वजनिक गरे। उनकै अनुसार अहिलेको हिउँदमा हामीले मज्जाले विद्युत् उपभोग गर्न पाएका छौं र दिनदिनै उनीप्रति आभारी भएका छौं। यस कार्यबाट उनले विद्युत् अभावको मार खेपिरहेका जनसमुदायबाट व्यापक समर्थनमात्र प्राप्त गरेका छैनन् ,विद्युत् माफिया, कमिसनखोर एवं विद्युत् प्राधिकरणका भ्रष्ट कर्मचारीलाई जनतासामु प्रस्तुत गर्ने काम पनि गरे। उनको यो भित्री ऊर्जाले जनताको भलो हुने काम गरेको छ भने हाम्रै विद्युत् ऊर्जा हामीले नै उपयोग गर्न पाएका छौं।

महान् दार्शनिक अरस्तुले भनेका छन्– 'मनको ऊर्जा नै जीवनको सार हो।' जीवन पाएर त्यो जीवन ऊर्जा देश र जनताको हितमा लगाउन सकिने रहेछ भन्ने उदाहरण कुलमानले प्रष्ट पारिदिए। दैनिक १८ घन्टासम्म विद्युत् कटौती बेहोर्न बाध्य काठमाडौंबासीले हृदयदेखि उनको प्रशंसा गरेका छन्। त्यही ऊर्जा कुलमानले जनहितमा लगाए भने उनीभन्दा अगाडिका जिम्मेवार व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थमा लगाइरहेका रहेछन्। हत्केलाले सूर्य छेक्न नसकिएजस्तै अपराध गतिविधि अपनाउने र जनतालाई ठग्नेहरुको पर्दाफास एकदिन अवश्य हुनेछ किनकि सत्य धेरै समय लुकाउन सकिन्न।

ओशोले बडो मार्मिक तरिकाले भनेका छन्– 'जीवित भएर जिउनुमात्र मनुष्यको उद्देश्य होइन, असली उद्देश्य उसको ऊर्जा जागरण र स्वचिन्तनमा लगाउनु हो किनकि स्वचिन्तनबाट मात्र आफू हुनु, आफ्नो असल कर्म र जनहितको बोध हुन्छ।' कुलमानको जीवन र उनको सोच अनि उनको जीवन ऊर्जाको परिणाम ओशोको यो वचनसँग पनि मिल्न गएको छ। रविशंकरले भनेका छन्– 'धनी बन्ने चाहनाले मानिसलाई लोभी, स्वार्थी र लालची बनाउँछ।' आज हाम्रा नेतृत्व वर्गलाई यही कोटीमा राख्दा अन्यथा हुँदैन किनकि आफ्नो व्यक्तिगत स्वार्थ र सम्पन्नताको लालचले देश नंग्याइसकेका छन्। उनीहरुको ऊर्जा देशलाई सकेसम्म चुस्ने र खोक्रो बनाउने अनि जनतामाथि खेलबाड गर्ने काममा खर्च गराइरहेछन्।

प्रकृतिमा अलगअलगरूपमा ऊर्जा उपलब्ध छ। प्रकाश ऊर्जा, यान्त्रिक ऊर्जा, गुरुत्वाकर्षण ऊर्जा, विद्युत् ऊर्जा, ध्वनि ऊर्जा, रासायनिक ऊर्जा र परमाणु ऊर्जा आदि। प्रत्येक ऊर्जाले एकअर्कामा समन्वयात्मकरूपले काम गरिरहेका हुन्छन् जसको कारणले हाम्रो जीवन चलिरहेको छ, यीमध्ये कुनै एक ऊर्जामात्र नहुने हो भने पनि संसार चल्न मुस्किल हुनेछ। यी हामीले बाहिर जानेका ऊर्जाका रूप हुन् तर त्योभन्दा गहिराइमा हामी प्रत्येकभित्र महत्वपूर्ण ऊर्जा छिपेको छ  जसको हामीले पूर्णरूपमा प्रयोग गरेकै छैनौँ। हामीभित्र रहेको प्राणमय ऊर्जा, प्रेम ऊर्जा, कर्म ऊर्जा, सकारात्मक विचारको ऊर्जा, ध्यान ऊर्जा, संगीत ऊर्जा जसले हृदयलाई तरंगित गराइदिन्छ र अस्तित्वसँग साक्षात्कार गराइदिन्छ, यी भित्री ऊर्जाले सधैं प्रसन्न, जाँगरिलो, जागरुक, प्रेमल र करुणावान बन्न प्रेरित गर्छन्। यी प्रत्येक मानिसभित्र हुने ऊर्जाका स्वरूप हुन् तर मानिसले यसलाई प्रयोगमा ल्याएकै छैन। प्रयोगमा ल्याउँदो हो त जताततै स्वार्थ र संकुचित भावनाले भरिएका व्यक्ति र तिनका कर्मका नकारात्मक परिणाम हामीले समेत भोग्नुपर्दैनथ्यो होला।

  एकजना कुलमानको सकारात्मक ऊर्जाले जनताले यति धेरै राहत पाउँदारहेछन् भन्ने छर्लंग भइसकेपछि के हामी प्रत्येकले सोचेका छौं हाम्रो भित्री ऊर्जा हामीले कता लगाइरहेका छौं? हाम्रो सफलता/असफलता, हाम्रो सुख/दुःखको अनुभूति र हाम्रो कर्मको फल हाम्रो ऊर्जासँग सम्बन्ध राख्छ। हामीले ऊर्जा जता लगायौं त्यही फल प्राप्त गछर्ौं जसरी पानी छेकेर बाँध बनाएर विद्युतीय ऊर्जा निकाल्न सकिन्छ भने उर्लेर खेर गएको पानी बाढीस्वरूप बनेर खेतीपाती, जमिन नष्ट गरिदिन्छ। सौर्य उर्जालाई प्रयोगमा ल्याएर विद्युतीय ऊर्जामा परिणत गर्न सकिएजस्तै हाम्रो प्रेमरूपी ऊर्जा प्रयोगमा ल्याएर सम्बन्धमा मधुरता, उमंगता र स्वतन्त्रता अनुभव गर्न सकिन्छ। हाम्रो कर्मरूपी ऊर्जालाई सक्रिय गराएर जुनसुकै कर्मलाई सेवाभावको हिसावले प्रयोग गर्न सकिन्छ जसको परिणाम कल्याणकारी हुन जान्छ।

हाम्रो घरमा परिवारबीच सम्बन्ध सुमधुर छैन भने हाम्रो प्रेम ऊर्जाले काम गरेको छैन अर्थात् हामीले प्रेम ऊर्जालाई प्रयोगमै ल्याएका छैनौँ। हाम्रो व्यापार, व्यवसाय सफल भएको छैन भने कर्म ऊर्जालाई प्रयोग गरेकै छैनौँ। म जसरी पनि सफल बनाउँछु भनेर त्यसमा दत्तचित्त भएर ऊर्जालाई प्रयोग गरेकै छैनौँ। कार्यालयमा असल प्रशासक वा कर्मचारी बन्न सकेका छैनौँ भने हामीभित्रको ऊर्जा जगाएर कर्ममा लगाउने प्रयत्न गरेकै छैनौँ। हाम्रो अध्ययन/अध्यापन सोचेअनुरूप राम्रो भएको छैन भने पनि हाम्रो चेतना जागरणमा त्यो ऊर्जालाई प्रवाह हुन दिएकै छैनौँ। ऊर्जा देखिने वस्तु होइन, हामी सबैभित्र छिपेको अथाह शक्ति ऊर्जा हो जसलाई शब्दमा व्यक्त गर्न पनि गाह्रो हुन्छ।्र यसलाई अनुभव मात्र गर्न सकिन्छ र त्यो ऊर्जा हाम्रा कर्ममा शतप्रतिशत प्रयोग भए भने हाम्रा कर्मका परिणामले हामीलाई आनन्दमा लग्छन्।

हामीभित्र छिपेको ऊर्जालाई निर्देशन दिएर सही मार्गमा लगाउने काम हाम्रो हो। मानिसको जीवन अस्तित्वले प्रदान गरेको एउटा उपहार हो। यो जीवन ऊर्जालाई कुलमानले जस्तै हामी प्रत्येकले सही मार्गमा प्रयोग गर्न सक्यौं भने आफ्नो र सारा जगतको भलाइमा काम आउन सक्छ। यो पो हो त जीवन पाउनु, जिउनु, रमाउनु र कसैलाई केही गर्न सक्नुको आनन्द। दिनुमा छ जीवन लिनुमा होइन। एकजना जापानिज प्रोफेसरले भनेका छन्– 'देश बनाउन ४ जना असल मान्छे भए पुग्छ।' हामीले अनुभव गरिसक्यौं एकजना कुलमानको कारणले आज देश उज्यालोमा रमाएको छ। विद्यार्थीले उज्यालोमा पढ्न पाएका छन्। गृहिणीले उज्यालोमा भान्छा चलाउन पाएका छन्। सबैमा अहोभावको भाव पलाएको छ। सब सकारात्मक छन्। कुलमान जस्तै अरु ३ जना देश र जनताको सेवामा लाग्ने व्यक्ति जन्मन सके के हाम्रा जापानिज प्रोफेसरले भनेझैं देशले निकास पाउँथेन त?

प्रकाशित: १७ माघ २०७३ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App