coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

श्रीपञ्चमीको सान्दर्भिकता

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीलाई श्रीपञ्चमीका रूपमा मनाइन्छ । यस पर्वलाई विद्याकी महान् अधिष्ठात्री सरस्वतीको पूजाको महान् दिवसका रूपमा लिने गरिन्छ । संसारमा मानवका लागि सबैभन्दा ठूलो धनविद्या नै हो । विद्या सबैभन्दा ठूलो हो । त्यसैले शास्त्रमा भनिएको पनि छ– ‘विद्याधनम् सर्वधनम् प्रधानम् ।’ यस दिन विद्यार्थीहरु सरस्वती मन्दिर पुगेर सरस्वतीको पूजाअर्चना गर्छन्, विद्या र सद्बुद्धिको कामना गर्छन् । हाँसमाथि चढेकी, आफ्ना हातमा वीणा लिएकी, पुस्तक, माला र श्वेत वस्त्र धारण गरेकी, पद्माशनमा पद्ममाथि विराजमान भएकी सरस्वती सबैकी आराध्यदेवी हुन् ।

यस दिन देशभरका सरस्वतीका पीठमा भक्तजनको घुइँचो लाग्छ । विद्याकी देवीको आराधना गर्न यस पर्वमा मानिस टाढाटाढाका सरस्वती मन्दिरमा पनि पुगेका देखिन्छन् । सरस्वतीलाई मञ्जुश्रीका रूपमा पनि पुज्ने गरिन्छ । चीनबाट आएर उपत्यकामा प्रवेश गरेको र यहीँ सहर बसालेकाले नै  मञ्जुश्रीलाई देवीका रूपमा पुज्ने गरिएको हो । हिन्दु र बौद्ध धर्मावलम्वीहरुको परम्परागत एकरूपतालाई नै यो पर्वले प्रस्ट्याएको पाइन्छ । यो पर्व नेपालबाहेक चीन, भारत, बर्मा, बंगलादेश तथा मौरिससमा पनि भव्यरूपमा सरस्वतीको आराधना र वसन्तोत्सवका रूपमा मनाइन्छ ।

श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ । यस दिनदेखि वसन्त ऋतु शुभारम्भ भएको मानिन्छ । वसन्तको स्वागतमा सम्पूर्ण वृक्षमा नयाँ पालुवा पलाउन् ाथाल्छन् र फूल नाच्न थाल्छन् । सबैतिर हरियाली छाउँछ, उमङ्ग बढ्छ । शिशिरको जाडो हराउन थाल्छ र प्रकृतिमा नयाँ छटा देखा पर्न थाल्छ । अन्य ऋतुका तुलनामा यस ऋतुको विशेष महत्व भएकाले नै यस ऋतुको गरिमा बढ्न गएको हो । त्यसैले वसन्त ऋतुलाई ऋतुहरुको राजा पनि भनिन्छ । यस ऋतुको गाथा, महत्वलाई समेटेर महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल, राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत अन्य स्रष्टाले समेत काव्य सिर्जना गरेका छन् ।

विद्याकी देवी सरस्वतीको उत्पत्तिबारे शिवपुराणको खण्ड पाँचको अठ्तीसौँैँ श्लोकमा वर्णन गरिएअनुसार ब्रह्माद्वारा सम्पूर्ण जगतको सृष्टि भएपछि वाक् र विद्याका लागि शिवको शक्तिद्वारा ब्रह्माको शक्तिबाट उत्पत्ति भएकी देवीलाई नै सरस्वती भनिन्छ । श्री शब्दको अर्थ लक्ष्मी र सरस्वती पनि हुन्छ । लोकव्यवहारमा श्री शब्दले ऐश्वर्य, मान, सम्मान, मंगल आदि भावलाई पनि बुझाउँछ । त्यस्तै यस दिन बच्चाहरुलाई अक्षर लेख्न सिकाउने, ठूलाठूला काम सुरु गर्ने वा नाक÷कान पनि छेड्ने चलन छ । यस दिन कुनै पनि काम सुरु गर्न सकिने भएकाले खास कार्य शुभारम्भका लागि यो दिन उत्तम मानिन्छ । त्यसैले यस दिन कुनै पनि काम थालनी गर्न साइतको आवश्यकता पर्दैन भन्ने चलन छ ।

यस दिन काठमाडौँका स्वयम्भूस्थित मञ्जुश्री सरस्वती, लाजिम्पाटस्थित नील सरस्वती, क्षेत्रपाटी, चोभार, धर्मस्थली, जीतपुरफेदी एवम् काठमाडौँबाहिरका लेलेको सरस्वती मन्दिर, भक्तपुरको वागेश्वरी सरस्वती मन्दिरमा पनि भक्तजनको ठूलो मेला लाग्छ । यस दिन बोली नखुलेका बालबालिकालाई  लेलेस्थित नील सरस्वतीको दर्शन गराइ त्यहाँस्थित सरस्वतीकुण्डको जल खुवाउनाले बोली खुल्छ भन्ने र भकभके बोली भएका बालबालिकाको भकभकेपना हराउँछ भन्ने जनविश्वास पनि पाइन्छ । त्यसैले यस दिन  थुप्रै भक्तजन आफ्ना बालबालिकाको वाक्सिद्धिका लागि लेले सरस्वती कुण्ड पुग्छन् ।

यस दिन सबै शिक्षण संस्थामा सरस्वती पूजा आयोजना गरिन्छ । यस पर्वका अवसरमा तराई क्षेत्रमा सरस्वतीको मूर्तिलाई भव्यरूपमा सजाएर विशेष पूजाअर्चना गरिन्छ र सो अवसरमा नाचगान पनि गरिन्छ । जहाँ जसरी सरस्वती पूजा मनाइए पनि यस पर्वको मूल सन्देश विद्याआर्जन र वाक्सिद्धिसँग सम्बन्धित भएको पाइन्छ । यो पर्वको भव्यता, सभ्यता र गहनताले नै यस पर्वको विशिष्टता बोध गराउँछ । यस दिन राष्ट्रप्रमुख वसन्तपुर दरवार क्षेत्रमा उपस्थित भएर वसन्त श्रवण गर्ने प्राचीन परम्परा पनि छ । यसलाई नेपाली संस्कृतिको अभिन्न पाटोका रूपमा लिइन्छ ।

 

प्रकाशित: १९ माघ २०७३ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App