coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘१२ दुवार्सा’ मा न्यायिक बहस

काठमाडौं – लामो समयपछि नेपाली थिएटरमा देखिएका अभिनेता सरोज खनाल निकै आक्रोशित छन्। उनको आक्रोशलाई शान्त पार्न जुटेकी कलाकार पशुपति राईमाथि उल्टो आक्रमण गर्न खोजेपछि स्टेजमा रहेका बाँकी रंगकर्मीहरुले सम्हाल्छन्।

गत माघ ११ देखि अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको ‘१२ दुर्वासा’ मा सुकुम्बासी बस्तीमा बस्ने १८ वर्षे युवकलाई आफ्ना बुबाको हत्या गरेको आरोप लागेपछि प्रत्यक्षदर्शीले शंकास्पद विचार प्रकट गरेपछि अदालतले नागरिक समाजमार्फत समस्याको समाधान खोजेपछि नाटकको पृष्ठभूमि तयार हुन्छ।

जह्याहा बुबाको हत्याको आरोपित १८ वर्षीय युवक निर्दोष हुन वा दोषी भन्ने अन्योलतालाई अन्य गर्दै समाजमा बस्ने विभिन्न १२ जना पात्रबीचको छलफल सुरु हुन्छ। ‘त्यो माहोलमा चोर, गुण्डा र अपराधी मात्रै हुर्कन्छन् । त्यसैले मलाई कुकुरहरूको पटक्कै दया माया लाग्दैन,’बहसमा सहभागि भएको आक्रोशित आधुनिक पात्र (सरिता गिरी)ले भन्दै हुन्छन्,‘ती त नालीका किरा हुन् । त्यो टोलका केटाकेटीहरू हाम्रो सभ्य समाजको लागि एउटा ठूला खतरा हुन् ।’

नाटकले समाजको प्रतिनिधित्व गर्ने उच्च वर्गाले निम्न वर्गलाई हेर्ने दृष्टिकोण फराकिलो पार्न आग्रह गरेको छ । सवृद्ध नेपालका परिकल्पनालाई साकार पार्दै नाटकमा महिला, जनजाति र मधेसीको प्रतिनिधित्व गरिएको छ।

अमेरिकन लेखक रेनाल्ड रोजको ‘टुबेल एग्री म्यान’ नामक नाटकलाई तत्कालको नेपाली समाजसँग तुलना गर्दै सुरेश सापकोटाले नेपालीमा अनुवाद गरेका छन्। राजनैतिक अस्थिरताले सबैतिर अन्यौलको स्थिति सृजना गरिरहेको अवस्थामा राउण्ड टेबल छलफलमार्फत समस्याको समाधान गर्ने प्रयास नाटकले गरेको छ।  निर्देशक राजन खतिवडाले निर्देशन गर्न लागेको नाटकमा राउण्ड टेबलको सेट तयार गरिएको छ। स्टेजको मध्य भागमा ठूलो टेबल राखिएको छ।

‘नाटकमा आधारित ‘टुबेल एग्री म्यान’ नामक फिल्म हेरेको थिए । राजनैतिक अस्थिरताले सबैतिर अन्योल सृजना गरिदिएको छ। व्यस्त जीवनशैलीको कारण मानिसहरुसँग बहस गर्ने समयको अभाव भएको महसुश गरेको छु। त्यसैले बहसमार्फत समस्याको समाधान खोजेर नयाँ आयाम निकाल्न नाटक तयार गरिएको हो,’निर्देशक राजन खतिवडाले भने,‘अन्यौलग्रस्त राजनैतिक परिस्थितिलाई बहसमार्फत समाधान गरौ भन्ने व्यंग्यात्मक सन्देश नाटकले दिन खोजेको छ।’ नाटकलाई मण्डला थिएटर नेपालले तयार गरेको हो।

देशको निर्णायक तहमा महिलाहरुको सक्रियता बढेर गएको अवस्थामा नाटकले समेत त्यसको कदर गरेको महिला सहभागितालाई प्रोत्साहन गरेको छ। नाटक देखिने पात्रहरुमध्ये कोही भलाद्मी स्वभावका छन्, त कोही आक्रोशित,कोही पाका छन् त कोही युवा छन्।

एउटा भलाद्मी पात्रको अभिव्यक्तिले नाटकको कथावस्तु परिवर्तन हुन्छ। नेपाली समाजमा बहसमार्फत सकारात्मक निस्कर्षमा अप्ठ्यारो भइरहेको अवस्थामा राउण्ड टेबलको सेटअपमा तयार हुन लागेको मञ्चमा देखिने समावेशी १२ पात्रहरुको पृष्ठभूमि फरक छ। 

झन्डै एक घन्टा ३० मिनेट लामो नाटकमा नागरिक समाजको प्रतिनिधित्व गर्ने १२ जना पात्रहरुले राउण्ड टेबलमा सहभागि भइरहेका छन्। नाटकमा सरोज खनाल, पशुपति राई, सरिता गिरी, सृजना सुब्बा, अनुपम शर्मा, सोमनाथ खनाल, अभय बराल, कुशल पाण्डे, पुष्कर कार्की, लक्ष्मी बर्देवा, आयान खड्का, बादल भट्ट, र विशारद बस्नेत लगायतले अभिनय गरेका छन्। नाटक आगामी फागुन १ सम्म मञ्चन हुनेछ।

प्रकाशित: १९ माघ २०७३ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App