७ वैशाख २०८१ शुक्रबार
समाज

ठेकेदार आफैं जाँच्छन् गुणस्तर

नेपालगन्ज- सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा प्रयोग हुने सामाग्रीको गुणस्तर जाँच्ने प्रयोगशाला त छ तर यो आयोजना कार्यालयभन्दा ठेकेदार ‘कालिका सिटिसिई जेबी’ को एकाधिकारमा छ। ठेकेदार कम्पनीले आफ्नो काममा प्रयोग गर्ने निर्माण सामग्रीको गुणस्तर जाँच र नियमन आफैं गरिरहेको छ। सरकारी स्तरबाट त्यसको नियमन गरिँदैन।

यसबाट ठेकेदारले निर्माण सामाग्रीको प्रयोगमा लापरबाही गर्ने सम्भावना बढी हुने सम्बन्धित विज्ञ बताउँछन्। ‘आफ्नो निर्माण सामाग्रीको गुणस्तर ठेेकेदार आफैंले गर्दा काम कति गुणस्तर होला, यो त सामान्य नागरिकले बुझ्ने कुरा हो,’ एक सरकारी इन्जिनियरले भने, ‘यस हिसाबले त ठेकेदारले मनपरी रुपले काम गर्न पाउने नै भयो।’

ठेकेदारको जिम्मामा प्रयोगशाला सुम्पिनु जानी–जानी कमसल काम गर्न लगाउनु सरह भएको ती इन्जिनियरले बताए।

ठेकेदारले आफ्नो जिम्मामा चलाएको प्रयोगशालाबाट कामको गुणस्तर कत्तिको कायम भएको छ भन्ने प्रत्यक्ष साक्षी मूल नहर निर्माणस्थलका स्थानीय बासिन्दा छन्। ठेकेदारले आफ्नो प्रयोगशालाबाट जाँच्ने निर्माण सामग्रीको गुणस्तरका विषयमा चित्त नबुझेपछि स्थानीयले कयौंपटक आयोजना कार्यालयलाई यसअघि नै अवगत गराएका थिए।

आयोजनाका अधिकारीले भने स्थानीयको भन्दा ठेकेदारको बढी विश्वास गरे। ‘ठेकेदारले प्रयोग गरेको सिमेन्ट, गिट्टी, बालुवा र माटोको विषयमा हामीले पहिल्यै कम्प्लेन गरेका हौं तर ल्याब परीक्षण गरिएको भन्दै हाम्रो कुरालाई सुन्न चाहेनन् तर कतिपय काम त ल्याब परीक्षणबिना गरेको पनि देखियो,’ महादेवपुरी–५ ढकेरीका बालकृष्ण खड्काले भने। ठेकेदारको हातमा रहेको प्रयोगशाला देखावटी मात्रै भएको उनले बताए। ‘ल्याबअनुसारको काम हुन्थ्यो भने मूल नहर चर्किने र भत्किने नै थिएन,’ खड्काले थपे, ‘ठेकेदारको जिम्मामा ल्याब चलेपछि स्वाभाविक रुपले कमसल काम हुन्छ, फाइदा लिन आएको ठेकेदारले किन गुणस्तरीय काम गर्ला र?’ 

आयोजनाले २०६३ सालबाट मूल नहर निर्माणको काम सुरु गरेको हो। कालिका सिटिसिई जेबीले जब सिक्टा आयोजनाको मूल नहर निर्माणको ठेक्का पायो, त्यसयता महादेवपुरीको ढकेरीस्थित आफ्नो गोदाम परिसरमा प्रयोगशाला राखेको हो। ठेक्का सम्झौताकै क्रममा ठेकेदारलाई प्रयोगशाला सञ्चालनको अधिकार दिइएको आयोजना कार्यालयले जनाएको छ।

उक्त प्रयोगशालामा विशेषगरी कंक्रिट, सिमेन्ट, बालुवा र गिट्टीको गुणस्तर परीक्षण गरिन्छ। यसका साथै माटाको सामान्य जाँच पनि प्रयोगशालाबाट गरिने आयोजनाका डिभिजन इन्जिनियर प्रकाश कार्कीले बताए। ‘यो ल्याबबाट ७ दिन र २८ दिनको कंक्रिट चेकजाँच हुन्छ, सिमेन्ट, बालुवा र गिट्टीका साथै माटोको घनत्व, थिचिएको अवस्था, ग्रेडिङ जाँच पनि गरिन्छ,’ उनले भने।

माटोको केमिकल, घुलनशीलताको अवस्था जाँच्न नमिल्ने कार्कीले प्रस्ट्याए। प्रयोगशाला सञ्चालनको जिम्मा ठेकेदारलाई भए पनि आयोजनाका इन्जिनियर र परामर्शदाताले निगरानी गर्ने उनको जिकिर छ। यस विषयमा कालिका सिटिसिई जेबीका प्रबन्धक युवराज क्षत्रीले प्रयोगशालाको विषयमा सबै कुरा आयोजना कार्यालयलाई जानकारी भएको बताए।

आयोजनाले सम्पन्न गर्ने कुल ४५ किमी दायाँ मुल नहर मध्ये ३५ किमी खण्ड गतवर्ष सम्पन्न भएको थियो। उक्त खण्डको अधिकांस काम सिटिसिई कालिकाले गरेको हो।

निर्माणमा कमजोरी भएको विभागको निष्कर्ष

आयोजनाको महादेवपुरी–५ ढकेरीस्थित मूल नहर भत्किनुमा ठेकेदारको निर्माणमा कमजोरी भएको सिँचाइ विभागले प्रारम्भिक निस्कर्ष निकालेको छ। विभागका उप–महानिर्देशक अशोक सिंह नेतृत्वको टोलीले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा मूल नहरको ‘स्लोप’ बाट पानी  ‘लिकेज’ हुँदा संरचना भत्किएको उल्लेख छ। विभागका महानिदर्ेेशक रामानन्द यादवले पानी लिकेज हुनुमा ठेकेदारको निर्माणमा लापरबाही देखिएको नागरिकलाई बताए।

‘झिझरी खोला छेउको त्यो भाग पहिलेदेखि नै कमजोर थियो, नहरमा जम्मा भएको पानी पहिलेदेखि नै त्यो स्थानबाट चुहिँदोरहेछ,’ प्रतिवेदनमा भएका कुरा सुनाउँदै उनले भने ‘आयोजना कार्यालयले यस विषयमा ठेकेदारलाई तीन महिनाअघि नै पत्र काटेको रहेछ, तर त्यो कुरालाई ठेकेदारले ध्यान दिएन, मर्मतबिना पानी छाड्दा मूल नहर भत्केको पाइयो।’

मूल नहरबाट पानी लिकेज हुने अवस्था आउनुलाई ठेकेदारको ‘कमसल निर्माण’ भएको उनले संकेत गरे।

‘अहिले सम्मको अध्ययनबाट डिजाईनमा कुनै समस्या भएको देखिएन,’ ठेकेदारकै कमजोरी देखिन्छ,’ उनले भने, 'यो नै अन्तिम प्रतिवेदन होइन।'

प्रकाशित: २३ असार २०७३ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App