coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोइरालाको स्वास्थ्य ‘गम्भीर र स्थिर'

बालकृष्ण अधिकारी/दीपक दाहाल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं बिपीपुत्र शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको छ। स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार राति ८ बजे ओम अस्पताल भर्ना भएका महामन्त्री कोइरालाको स्वास्थ्य बुधबार बिहानदेखि अचानक गम्भीर बन्न पुगेको हो।

उपचारक्रममा अस्पतालमै रहेका कोइरालाले बान्ता गरेका थिए। सोही बान्ता सर्केर फोक्सोमा छिरी श्वासप्रश्वास केही समय रोकिएपछि उनको अवस्था गम्भीर बनेको हो। श्वासप्रश्वास रोकिँदा कोइरालाको मुटु पनि केही क्षण बन्द हुन पुगेको जनाउँदै चिकित्सकले सिपिआर (कार्डियाक पल्मोनरी रिसाइटेस) मार्फत मुटु सञ्चालन गरेर भेन्टिलेटरको सहयोगले उपचार गरिरहेका छन्।

उपचारमा संलग्न चिकित्सक लवनरसिंह जोशीले कुनै कारणबश कोइरालालाई भोमिटिङ भएको जनाउँदै त्यो सर्केर निमोनिया भएको जानकारी दिए। हावा मात्र जानुपर्ने फोक्सोमा अन्य कुरा पनि गएको जनाउँदै उनले भने, 'त्यसले खाली ब्याक्टेरिया मात्र हुँदैन, केमिकल पनि हुन्छ, अहिले उहाँको मल्टी अर्गान डिस्फङ्सन छ।' 'तर निमोनिया पहिल्यै थियो वा बान्ता सर्किएकै कारण निमोनिया विकास भयो भन्ने अहिल्यै भन्न सकिन्न,' उनले भने।

कोइरालाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाउँदै उनले थपे, 'अहिले नै उहाँको आउट कमबारे बोल्न सक्दैनौं, २४ घन्टापहिला केही भन्न सकिन्न।'

कोइरालाको उपचार सुरु गर्दा प्रेसर ६० भन्दा तल रहे पनि औषधिको सहयोगमा प्रेसरमा सुधार आएको जनाउँदै जोशीले  सबै औषधि प्रयोग भइरहेको जानकारी दिए। शरीरमा अक्सिजनको मात्रामा सुधार आएको उनले बताए। भने, 'स्वाथ्यमा सुधार आएको भन्नसक्ने अवस्था छैन। सबै लाइफ सपोर्ट हामीले दिइरहेका छौं।'बुधबार साँझसम्म रक्तचाप र अक्सिजनको मात्रासँगै ब्रेनको रेस्पोन्स (बोलाउँदा आँखा खोल्ने, हात चलाउने प्रयास) मा पनि केही सुधार भएको उनले जनाए।

कोइरालाको स्वास्थ्य स्थिति जटिल र क्रिटिकल रहेको जनाउँदै जोशीले भने, 'हामीले गर्नुपर्ने सबै काम गरिरहेका छौं तर उहाँको स्वास्थ्य स्थिति स्थिर छ, प्रेसर बढाउने सबै चार औषधि प्रयोग गरिएको छ। मेक्सिमम डोज चलाइरहेका छौं।'

कोइरालाले १५ वर्षदेखि प्रेसरको औषधि नियमित सेवन गर्दै आएको र स्वास्थ्यमा यसअघि अन्य जटिल समस्या नदेखिएको उनका निजी सहयोगी भरत तिवारीले जानकारी दिए।

स्वास्थ्य अवस्था गम्भीर रहेकाले सबै अर्गानमा केही न केही खराबी देखिएको जोशीले बताए। 'किड्नी र लिभरको फङ्सन अलिकति खराब देखिएको छ,' उनले भने।

कोइरालाको निमोनिया नघटेको जनाउँदै चिकित्सक जोशीले कार्डियाक अरेस्टबाट सिपिआरमार्फत भेन्टिलेटरमा ल्याउँदा छातीमा हावा बसेकाले त्यसलाई हटाउन चेस्ट ट्युब राखेको जानकारी दिए। 'ट्युबले काम गरिरहेको छ,' उनले भने, 'हावा सबै निकालिसकेका छौं।'

चिकित्सकका अनुसार अवस्था थप नबिग्रियोस् भन्नका लागि ३४ देखि ३६ डिग्री तापक्रम सन्तुलन (हाइपोथर्मिया) मा राखिएको छ। साथै औषधि प्रयोग गरेर शरीरलाई स्थिर बनाइएको छ। बिरामीमा आफैं होश आए न्युरो सिस्टममा थप क्षति नहोस् भन्नका लागि यस्तो गरिएको हो। कम्तीमा २४ घन्टा यसरी राख्दा न्यून रक्तचाप सुधार हुने र औषधि घटाउँदा पनि यो सन्तुलित भयो भने अन्य सपोर्ट घटाएर 'मस्तिष्कको अवस्था जाँच' थालिन्छ। चिकित्सकका अनुसार खाना फोक्सोमा गएलगत्तै आधा घन्टा मुटुसमेत बन्द भएकाले मष्तिस्कका तन्तुमा कति क्षति पुगेको छ भन्ने यकिन गर्न सकिएको छैन।

'परेला, हातका औंला बेलाबेलामा चलमलाइरहेको छ, त्यसले पनि ब्रेनमा ठूलो ड्यामेज छैन कि भन्ने ठाउँ छ,' उपचारमा संलग्न एक चिकित्सकले भने, 'प्रेसर मेन्टेन हुन्छ कि हुन्न प्रमुख कुरा हो, २४ घन्टासम्म प्रेसर मेन्टेन भयो भने बल्ल होस के हुन्छ भन्न सकिन्छ।'

कोइरालाका सहयोगी तिवारीका अनुसार पेटमा असजिलो महसुस भएपछि मंगलबार बेलुका अस्पताल लगिएको थियो। 'पेट फुलेको जस्तो भएपछि परीक्षणका लागि अस्पताल लगेका हौं,' तिवारीले नागरिकसँग भने, 'चिकित्सकको सल्लाहमा अब्जर्भेसनमा बसेका हौं।'

पेट र स्वास/प्रस्वासमा समस्या देखिएपछि अस्पताल आएको जनाउँदै उनले भर्ना हुँदा कोइरालाको रक्तचाप ११० र ७० रहेको जनाए। बेलुका अस्पतालमै पिज्जा र जुस खाएर सुतेका कोइराला कृत्रिम अक्सिजनमा रहेको निकटले जनाएका छन्।

बिहान ३ बजेतिर बान्ता गरेपछि उनको स्वास्थ्य अवस्था जटिल बन्न पुगेको थियो। त्यसपछि उनी फेरि सुतेका थिए। तिवारीलेे भने, 'बिहान ५ बजेतिर नर्सहरू राउन्डमा जाँदा अर्धचेत अवस्थामा देखिएपछि आइसियुमा सारिएको हो।'

त्यसबेला कोइराला कृत्रिम अक्सिजन पाइपबाहिर रहेको निकट स्रोतको दाबी छ। बिहान साढे ५ बजे नर्सहरूले अर्धचेत अवस्थामा देखेपछि मात्र चिकित्सकले कोइरालाको थप उपचार सुरु गरेको स्रोतको दाबी छ। बान्ता सर्केपछि तत्कालै थप उपचार सुरु गर्न ढिलाइ हुँदा स्वास्थ्य गम्भीर बनेको निकट स्रोतको दाबी छ। 'बान्ता सर्केपछि उहाँको उपचारमा केही ढिलाइ भएको देखिन्छ,' निकट स्रोतले भन्यो।

मुलुकभित्रका सबै विज्ञ चिकित्सकसँग सम्पर्कमा रहेर कोइरालाको उपचार गरिरहेको जोशीले जानकारी दिए। ओमका मुटुरोग विशेषज्ञ जोशीसहित, छातीरोग विशेषज्ञ सुवोधसागर ढकाल, एनेस्थेसियोलोजिस्ट श्याम महर्जन, ग्यास्ट्रो इन्टेरोलोजिस्ट राहुल पाठक, फिजिसियन युएन पाठक संलग्न छन्। अस्पतालबाहिरबाट त्रिवि शिक्षण अस्पतालका आइसियु विशेषज्ञ सुवास आचार्य उपचारमा पूर्ण रूपमा खटिएका छन्। वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटा, वरिष्ठ फिजिसियन एवं श्वासप्रश्वास रोग विशेषज्ञ अर्जुन कार्की, मुटुरोग विशेषज्ञ भगवान कोइरालासमेत उपचारमा संलग्न छन्। परिवारका तर्फबाट कोइरालाकी श्रीमती डा. सुपात्रा कोइराला चौबिसै घन्टा उपस्थित छिन्।

एक साताभन्दा बढी समयदेखि राजनीतिक भेटघाट र सार्वजनिक कार्यक्रममा नदेखिएका कोइरालासँग पार्टीकै धेरै नेताले समेत सम्पर्क गर्ने प्रयास गरेका थिए। 'उहाँलाई भेट्न र सम्पर्क गर्न खोज्दा कहिले बिरामी र कहिले पारिवारिक भेटघाट भनेर सम्पर्क भएको थिएन,' कांग्रेसका एक नेताले भने, 'उहाँ पछिल्ला दिन राजनीतिक र पारिवारिक स्ट्रेसमा रहेजस्तो देखिन्थ्यो।' 

अस्पतालमा भीड

कोइरालाको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेता अस्पताल पुगेका थिए। कोइरालाको स्वास्थ्य गम्भीर भएको जानकारी पाएपछि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए। कोइरालाको थप उपचारका लागि आवश्यक परेर तत्काल एयर एम्बुलेन्स ल्याएर बाहिर लैजान पनि उनले सुझाएका थिए।

त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री कोइरालालाई थप उपचारका लागि विदेश लैजान प्रस्ताव गरेका थिए। उनले पनि एयर एम्बुलेन्समार्फत उपचारका लागि बाहिर लैजान आग्रह गरेका थिए।

कोइरालाको स्वास्थ्य बु‰न अस्पताल पुगेका नेपालका लागि भारतीय राजदूतले एयर एम्बुलेन्समार्फत थप उपचारका लागि भारत लैजान आग्रह गरेका थिए। त्यसका लागि भारत सरकारको तर्फबाट आवश्यक सहयोग रहने जनाएका थिए। नेपाली कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलासहितका नेता तथा कार्यकर्ताको बिहानैदेखि अस्पतालमा भिड लागेको थियो भने उपप्रधानमन्त्रीहरू कमल थापा, विजयकुमार गच्छदार, चित्रबहादुर केसीका साथै मन्त्रीहरू पनि अस्पताल पुगेका थिए। विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख र सदस्यले समेत अस्पताल पुगेर कोइरालाको स्वास्थ्य बुझेका थिए।

चिकित्सकहरूले कोइरालालाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लैजाने तयारी भए पनि शरीरको अवस्था स्थिर नरहेको जनाएका थिए। कोइरालाको स्वाथ्यमा सुधार आएपछि उनलाई नयाँदिल्लीस्थित एपोलो अस्पताल लैजान परिवारका सदस्य र पार्टी नेताले आवश्यक तयारी गरेका छन्। पहिल्यैदेखि कोइरालाको स्वास्थ्य परीक्षण गर्दै आएका एपोलोकै सन्दीप गुलरियालाई काठमाडौं बोलाउने प्रयास पनि भएको थियो। तर, गुलरिया अमेरिका रहेकाले उनलाई काठमाडौं बोलाउने प्रयास असफल भएको छ।

प्रकाशित: २३ असार २०७३ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App