१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सेयर बजारको बाटो

२०७३ साउन १२ गते १८८१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज इन्डेक्स (नेप्से सूचकांक) त्यसपछिका दिनमा कहिले बढ्ने र कहिले घट्ने हँुदै २०७३ माघ १८ गते १३२७ विन्दुमा आइपुगेको छ। २०७२ असारको अन्त्यतिर यो सूचकांक ९६१ विन्दुमात्रै थियो। एक वर्षमा सेयर बजारमा आएको उल्लेख्य वृद्धिका पछाडि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकेको पुँजी वृद्धि योजना, नयाँ संविधानको घोषणासँगै अपेक्षा गरिएको लगानीमैत्री वातावरण तथा बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलतालगायतका कारण जिम्मेवार रहे।

सबैतिर जसरी भए पनि पैसामात्र कमाउनुपर्छ भन्ने मनोविज्ञान हावी भएको आजको नेपालमा सेयर बजारलाई सीमित स्वार्थको कैदी हुने अवस्थाबाट जोगाउनुपर्ने देखिन्छ।

पछिल्लो समय सेयर बजार घट्ने क्रममा छ। सेयर बजारको यो घटाइले सर्वसाधारण लगानीकर्तादेखि नीति निर्माण तहमा बसेकाहरु र विभिन्न स्रोतबाट प्राप्त धनलाई पुँजीकृत गरिरहेकाहरु सबैको ध्यानाकृष्ट गरेको देखिन्छ। यसैबीचमा नेप्से सूचकांकलाई घट्न नदिन सरकारी प्रयास हुनुपर्ने चर्चा पनि यदाकदा चल्ने गर्छन्। यसै सन्दर्भमा नेपाल जस्तो मुलुकका लागि पूँजी बजारको आवश्यकता किन र कसरी यसलाई आर्थिक विकास तथा आमसर्वसाधारणको हितमा उपयोग गर्न सकिन्छ भन्ने विषयमा बहस हुनु आवश्यक छ।

पुँजी बजार किन?

आर्थिक विकासका लागि कृषि, उद्योग, पूर्वाधार र सेवा क्षेत्रको विकास गर्नुपर्ने हुन्छ। अर्थतन्त्रका यी मुख्य आधारको विकास, विस्तार र आधुनिकीकरणका लागि वित्तीय साधन आवश्यक पर्छ। आर्थिक वृद्धिदर शिथिल रहेको, कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान न्यून रहेको, उच्च आर्थिक वृद्धिका लागि आवश्यक यातायात र विद्युत् जस्ता आधारभूत पूर्वाधारको विकास हुन अझै बाँकी रहेको तथा आन्तरिक बचतसमेत नगण्य रहेको नेपाल जस्तो मुलुकका लागि साधन परिचालन र साधनको दिगो आपूर्ति सुनिश्चितताको दृष्टिकोणले पुँजी बजारको विकास हुनु आवश्यक छ।

पुँजी बजारको विकासका लागि स्टक एक्सचेन्जलाई महत्वपूर्ण पूर्वाधार मानिन्छ। स्टक एक्सचेन्जले प्राथमिक बजार अर्थात पहिलो पटकको सेयर निष्काशनमा सेयर किनेकाको भविष्यको तरलताको आवश्यकता पूरा गर्न दोस्रो बजारबाट सेयर किन्न चाहनेलाई मिलाइदिने काम गर्छ। आधारभूतरूपमा स्टक एक्सचेन्जको स्थापना यसरी धितोपत्र बेच्ने र किन्ने दुवै पक्षलाई मिलाइदिनका लागि भएको हो। स्टक एक्सचेन्ज नहँुदा आफूलाई आवश्यक भएका बखत धितोपत्र बेचेर आफ्नो नगदको अभाव पूर्ति गर्न धितोपत्रधारकलाई समस्या हुन्छ। विनिमयको यो समस्याका कारण कम्पनीहरुले निष्काशन गर्ने सेयरमा लगानी नहुने अवस्था सिर्जना हुन्छ। यस्तो अवस्थामा देशको आर्थिक विकासका लागि उद्योग, पूर्वाधार, सेवालगायतका विभिन्न क्षेत्रको विकास गर्न आवश्यक पर्ने पुँजी परिचालन हुन पाउँदैन। धितोपत्रको स्वामित्व हस्तान्तरण गर्न सहज बनाउने र अर्थतन्त्रमा निर्वाध पुँजी परिचालन गर्न विद्यमान लगानीकर्ता र नयाँ लगानीकर्ताबीच पुलको काम गर्ने अवधारणामा नै संसारका अन्य देशमा पनि स्टक एक्सचेन्जको इतिहास प्रारम्भ भएको हो।

पछिल्लो प्रवृत्ति

समयको परिवर्तनसंँगै सेयर बजारप्रति लगानीकर्ताहरु आकर्षित हुने क्रममा स्टक एक्सचेन्जमा माग र आपूर्तिबीच असन्तुलन हुन थाल्यो। लगानीकर्ताले लाभ, लागत र जोखिम जस्ता विषयलाई मात्र नहेरी राजनीतिक स्थिति, अन्तर्राष्ट्रिय घटनाक्रम, अर्थतन्त्रको गति र अझ सामाजिक मनोविज्ञानसमेतका आधारमा सेयर बजारमा मोलमोलाई गर्न थाले। विशेषगरी सामाजिक मनोवैज्ञानिक कारणको प्रभावस्वरूप लगानीकर्ताले फ्रेन्जी अर्थात अनियन्त्रित व्यवहार देखाउने र सेयरको मूल्यमा ठूलो उतारचढाव आउने हुन थाल्यो। नेपालको सेयर बजारमा पनि समयसमयमा यो प्रवृत्ति देख्न पाइन्छ। पुँजी बजारमा देखापर्ने यो प्रवृत्तिसंँगै साना तथा सर्वसाधारण लगानीकर्ता ठूला फौबन्जारी समूहको सिकार बन्न पुग्छन्। यस्तो अवस्थाले अर्थतन्त्रको विकासका लागि आवश्यक पुँजी परिचालनमा समेत दिगोरूपमा प्रतिकूल प्रभाव पार्ने हुन्छ।

विशेषगरी गत आर्थिक वर्ष १३ वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धि दर हँुदाहँुदै पनि २०७२ साउनबाट २०७३ साउनमा आइपुग्दा नेप्से सूचकांक करिब १०० प्रतिशतले बढ्यो। यसमा बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिलगायतका कारण तर्कसंगत नै देखिए पनि बैंकिङ क्षेत्रमा रहेको अधिक तरलता र सेयरको पुँजीगत लाभमा लाग्ने न्यून कर प्रमुख कारण हुन पुगे। नाकाबन्दीका कारण कर्जा प्रवाहका अन्य क्षेत्र खुम्चिएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले आफूसँग रहेको निक्षेप घर जग्गा, सेयर मार्जिन, हायर पर्चेज र ओभरड्राफ्टतर्फ केन्द्रित गर्न पुगे। २०७२ असारदेखि २०७३ मंसिरसम्म बैकिङ क्षेत्रबाट यी क्षेत्रमा २३० अर्बभन्दा बढी रकम कर्जा प्रवाह हुन पुग्यो। अल्पकालमै भए पनि जसरी हुन्छ उच्च नाफा कमाएर आफ्नो जागिर सुनिश्चित गर्न व्यवस्थापकहरु ल्ाागिपरेका हुन्छन् र यसमा सेयरधनीको मात्र नभएर बृहत्तर समाजको दीर्घकालीन हित सुनिश्चित नहुन सक्छ भन्ने अवधारणा पछिल्लो समयको ओभरड्राफ्टलगायतका कर्जा विस्तारमा देखिन पुग्यो।

यस्तै अवस्थामा सेयरको मूल्य वृद्धिले कम्पनीको वासलातलाई कत्तिको प्रतिनिधित्व गर्छ र के/कस्ता कारणले वास्तवमै सेयर बजारमा बढोत्तरी भएको छ भन्ने तथ्यलाई नजरन्दाज गर्दाको परिणाम पछिल्लो समय साना तथा सर्वसाधारण लगानीकर्ताले सेयर बजारमा गुमाइरहेका समाचार सार्वजनिक हँुदैछन्। नेपाल जस्तो पुँजी बजारको विकास प्रारम्भिक चरणमा नै रहेको मुलुकमा सेयर बजारप्रति साना तथा सर्वसाधारण लगानीकर्ताले विश्वास गुमाउने अवस्था आउनु भनेको पुँजी बजार विकास र अर्थतन्त्रमा साधन परिचालनका दृष्टिकोणले सुखद् विषय होइन।

नेपालको फरक सन्दर्भ

नेपालमा कतिपय विषयमा नीति निर्माण गर्दा अन्य मुलुकमा नभएको कुरा हामीले गर्न मिल्छ र भन्ने विषयमै लामो समय खर्चिने परम्परा छ। सेयर बजारकै प्रसंगमा उदाहरण दिँदा नेपालको सेयर बजार उतारचढावलाई भारत र अमेरिकाको सेयर बजारमा हुने उतारचढावसँग तुलना गर्ने गरिन्छ। तर आर्थिक, सामरिक र प्राविधिक विकासका दृष्टिकोणबाट विश्वलाई चुनौती दिँदै महाशक्तिको स्थान हासिल गर्न प्रतिस्पर्धा गरिरहेको भारत र प्रतिव्यक्ति आम्दानी नै नेपालको भन्दा पचहत्तर गुणा बढी अर्थात ५६ हजार डलर भएको अमेरिकाको सेयर बजारको प्रवृत्तिसँग नेपालको सेयर बजारको तुलना गर्दा नेपालको समग्र आर्थिक विकास र साधन परिचालनमै कस्तो असर पर्छ भन्ने विषय सोचनीय हुन आउँछ। नेपाल जस्तो मुलुकमा सेयर बजार उतारचढावसंँगै पुँजी परिचालन, बैंक कर्जा प्रवाह, आयको वितरण तथा संस्थागत एवम् समग्र सुशासनका विषय सघनरूपमा जोडिएका हुन्छन्।

नेपालमा सेयर बजार होस् अथवा रियल स्टेट कारोबार, यी दुवैको नियमन विशिष्ट किसिमबाट गर्नुपर्ने देखिन्छ। नेपालमा स्टक एक्सचेन्जलाई यसको मूल प्रकृति अर्थात क्रेता र बिक्रेताबीचको पुलको काम गर्नेभन्दा टाढिन दिनुहँुदैन। सेयर बजारमा सट्टेबाजी प्रवृत्ति हावी हँुदा आय असमानता बढ्ने, वित्तीय साधन अनुत्पादक क्षेत्रतर्फ प्रवाहित हुने, गैरकानुनीरूपमा धन कमाएकाहरुका लागि सेयर बजार मुद्रा निर्मलीकरण गर्ने माध्यम बन्न सक्ने, संस्थागतमात्र नभएर समग्र सुशासन नै कमजोर भएको मुलुकमा सूचनामा पहुँच भएकाले चलखेल गर्ने, व्यक्तिगत र संस्थागत स्वार्थको द्वन्द्व मौलाउने र अधिकांश मानिस उत्पादनशील क्रियाक्रलाप छाडेर सट्टेबाजी क्रियाक्रलापमै रमाउने सम्भावना बढी हुन्छ। सबैतिर जसरी भए पनि पैसामात्र कमाउनुपर्छ भन्ने मनोविज्ञान हावी भएको आजको नेपालमा सेयर बजारलाई सीमित स्वार्थको कैदी हुने अवस्थाबाट जोगाउनुपर्ने देखिन्छ।

पछिल्ला घटनाक्रम हेर्दा सेयर बजारलाई मुलुकको समग्र आर्थिक विकासमा सहयोग पुग्नेगरी नियमन तथा प्रबर्द्धन गर्नुपर्ने देखिन्छ। सन् २००८ को वित्तीय संकटपछि संयुक्त राज्य अमेरिकामा समेत वाल स्ट्रिट होइन, मेन स्ट्रिट हेराँै भन्ने नाराका साथ अकुपाइ वाल स्ट्रिट आन्दोलन हुन पुग्यो। अल्पविकसित मुलुक नेपालको सेयर बजार गरिब र धनीबीचको दूरी बढाउने माध्यम बन्नुभन्दा आर्थिक सशक्तीकरण र वित्तीय विकासको मेरुदण्ड बन्नुपर्ने हुन्छ। अन्यथा देशभित्रै मानिस भरपेट खान नपाई कुपोषणको शिकार भएका तस्बिर सार्वजनिक भइरहेको समयमा सेयर बजार उकास्ने र सेयर बजारप्रति सर्वसाधारणको विश्वास जगाउने बहस अर्थहीन हुन पुग्छन्।

प्रकाशित: २० माघ २०७३ ०५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App