७ वैशाख २०८१ शुक्रबार
कला

लोडसेडिङ मुक्त स्रष्टा ढुक्क

काठमाडौं- म्युजिक कम्पनी भाइब्स क्रिएसनका प्रबन्ध निर्देशक परशुराम रिजाल अचेल तनावमुक्त छन्। उनलाई न स्रष्टाले किचकिच गर्लान् भन्ने पिर, न टेलिभिजनमा भिडियो र प्रोमो आएन भन्ने चिन्ता। उनी चिन्तामुक्त हुनुको एउटै कारण हो– लोडसेडिङ मुक्त उपत्यका।

'अहिले सजिलो भएको छ। लोडसेडिङ हुँदा स्रष्टाको गीत प्रमोसन गर्न समस्या पर्थ्यो। कहाँ कुन गीतको भिडियो आइरहेको छ भन्ने थाहा पाउन समस्या थियो। स्रष्टाले भिडियो देखिएन भनेर कराइरहन्थे,' रिजालले नागरिकसँग भने, 'तर अहिले त्यो अवस्था छैन, लोडसेडिङ नभएपछि भिडियोका दर्शक पनि बढेका छन्।' सिडी बिक्री नहुने भएपछि अचेल स्रष्टाले अनलाइन, टेलिभिजन र युट्युब च्यानल रोज्छन्।

रिजाले मंसिरदेखि वैशाखसम्म म्युजिक कम्पनीका लागि शून्य समय भए पनि लोडसेडिङ हटेपछि कामको चाप बढेको बताए। 'बत्ती नजाने भएपछि गीत रेकर्डिङको चाप  ह्वात्तै बढेको छ,' रिजालले भने, 'गीतको प्रोमो, म्युजिक भिडियो हेरेपछि दर्शकको प्रतिक्रिया पनि तुरुन्तै पाउन थालेका छौं।'

लोडसेडिङ नहुँदा चिन्तामुक्त भएका रिजाल एक्ला पात्र होइनन्। राजधानीको चाबहिलस्थित गोपीकृष्ण मुभिजका मेनेजर तीर्थ पौडेललाई पनि लोडसेडिङ मुक्त उपत्यकाले राहत दिएको छ। 'चौबिसै घन्टा बत्ती आउँदा धेरै कुरामा फाइदा भएको छ। बत्ती नहुँदा हलमा जेनेरेटर बाल्नुपर्ने अवस्था थियो। दैनिक १५ देखि २० हजार रुपैयाँ डिजेलमै खर्च हुन्थ्यो,' पौडेलले भने, 'अहिले यो समस्या छैन, बत्ती निरन्तर आइरहेपछि दर्शक पनि शान्त भएर फिल्म हेर्न थालेका छन्। फिल्म हेर्दाहेर्दै बत्ति जाँदा दर्शकको हुटिङले तनाव हुन्थ्यो।'

नियमित बत्ती आउँदाको फाइदा अभिनेत्री करिस्मा मानन्धरले पनि राम्ररी लिएकी छन्। 'म एकदम खुसी छु, अझ यो खुसी सबै नेपालीले अनुभव गर्न पाउनुपर्छ,' अभिनयसँगै नयाँ शक्तिमार्फत राजनीतिक यात्रा अघि बढाइरहेकी करिस्माले भनिन्, 'फ्यान र पार्टीका साथीसँग सामाजिक सञ्जालमार्फत अन्तरक्रिया गर्न सजिलो भएको छ।'

लोडसेडिङ नभएपछि रेकर्डिङ स्टुडियोमा व्यस्तता बढेको छ। राजधानीका अधिकांश रेकर्डिङ स्टुडियो 'प्याक' छन्। म्युजिक नेपालमा रेकर्डिस्टको काम गरिरहेका प्रकाश खरेलले स्टुडियोमा कामको चाप बढेको बताए। 'बत्ती नगएपछि कामको चाप बढेको छ। सात दिनसम्म स्टुडियो बुक भइसकेको छ,' १५ वर्षदेखि सोही स्टुडियोमा कार्यरत उनले भने, 'लोडसेडिङको समयमा ब्याकअप अथवा जेनेरेटरबाट काम गर्नुपर्थ्यो, अहिले त्यो समस्या छैन।'

फिल्म सम्पादन तथा ट्रेलर मेकर साहिल खान ग्राहकलाई समयमै काम बुझाउन पाउँदा सन्तुष्ट छन्। 'बत्ती नगएपछि काम गर्न सजिलो भएको छ, कामको चाप पनि बढेको छ,' उनी भन्छन्।

क्युएफएक्सका लजिस्टिक म्यानेजर वसन्त मानन्धरका अनुसार लोडसेडिङ मुक्त हुँदा हललाई घन्टाको २० देखि २२ लिटरसम्म डिजेल प्रयोग गर्नुपर्ने समस्याबाट छुटकारा मिलेको छ।

लोडसेडिङ हुँदा जाँगर हराएको अनुभव गर्ने संगीतकर्मीदेखि फिल्मकर्मी अहिले काममा जागरूक देखिएका छन्।

प्रकाशित: २१ माघ २०७३ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App