८ वैशाख २०८१ शनिबार
विचार

ओलीको 'भजन संग्रह'

अन्ततः कमरेड केपी ओलीको पुस्तक पनि पुस्तक बजारमा आयो। अस्ति भर्खरमात्रै उक्त पुस्तक विमोचन भयो। कमरेड ओलीको पुस्तक भनेपछि मैले त सोचेको थिएँ– उहाँ आफ्ना उखानटुक्का र चुट्किलाहरूको संग्रह निकाल्दै हुनुहुन्छ। नेपाली पाठकबीच उहाँका उखान र टुक्काहरू अत्यन्त लोकप्रिय छन्। यत्रतत्र छरिएका त्यही उखानटुक्काहरूलाई एकै ठाउँ संकलन गरी पुस्तकको रूप दिएको हुनुपर्छ भन्ने मेरो पहिलो अनुमान थियो। त्यो फेल भयो।

हास्य कलाकार हरिवंश आचार्यले आफ्नो पुस्तकको नाम 'चिना हराएको मान्छे' राख्नुभएको थियो। म सोच्दै थिएँ– अब ओलीले पुस्तकको नाम 'होस हराएको मान्छे' राख्नुहोला। यो मेरो मेरो दोश्रो अनुमान थियो। त्यो पनि फेल भयो।

ओलीले आफ्नो भजन संग्रह..., क्षमा गर्नुहोला, भाषण संग्रह त निकाली हाल्नुभयो। त्यही कार्यक्रममा गाइएका भजनहरू सँगालेर एउटा 'भजन संग्रह' पनि निकाले राम्रै होला! हल्का सुझाव!

मेरा सबै अनुमान फेल पार्दै उहाँले अर्कै पुस्तक निकाल्नुभयो, जसको नाम रह्यो– म प्रधानमन्त्री हुँदा। आफू प्रधानमन्त्री हुँदा के के बोलेँ भन्ने भाषणको संकलन रहेछ त्यो पुस्तक। प्रधानमन्त्री हुँदा उहाँले काम त केही पनि गर्नुभएको रहेनछ। जे गर्नुभयो भाषणै मात्र गर्नुभयो। त्यसैले संकलन पनि भाषणैको मात्र आएको छ!

वास्तवमा उहाँ प्रधानमन्त्री हुँदा कुनै काम नगरे पनि जनताले भने धेरै काम गर्नुपरेको थियो। त्यसैले उहाँको प्रधानमन्त्रीकाल उहाँले बिर्से पनि जनताले बिर्सने छैनन्। उहाँको प्रधानमन्त्रीकालभरि जनताले धेरै किसिमका काम गर्नुपर्‍यो। जस्तो, ग्यासको युगमा पनि चुल्होमा दाउरा बालेर भात पकाउनुपरेको थियो। लिटरको सय पर्ने पेट्रोल हजार तिरेर किन्नुपरेको थियो। पाँच लिटर डिजेल किन्न पाँच दिन लाइन बस्नुपरेको थियो। औषधि खान नपाएर विरामीले ज्यान गुमाउनुपरेको थियो। गाडी नचलेर विद्यार्थीले पढाइ त्याग गर्नुपरेको थियो। सामान नपाएर व्यापारीहरूले पसल बन्द गर्नुपरेको थियो! सूची लामै छ। 

यसरी उहाँ प्रधानमन्त्री हुँदा जनताले त धेरै गर्नुपरेको थियो। उहाँले चाहिँ केही पनि गर्नुपरेको थिएन। त्यसैले आफ्नो पुस्तकमा 'के गरेँ' भन्ने केही पनि उल्लेख छैन। खालि 'के बोलेँ' भन्ने मात्रै उल्लेख छ। उहाँले आफ्नो कार्यकालमा गरेको काम भनेकै बोल्ने नै रह्यो। अतः आफ्नो कार्यकालभरिको उपलब्धि स्वरूप उहाँले बोलेका मात्रै कुराको संकलन आएको छ।

गत साता एक कार्यक्रमबीच उहाँको पुस्तक विमोचन भयो। एउटा पूर्वप्रधानमन्त्रीको पुस्तक विमोचन। त्यो त पूरा राजनीतिक कार्यक्रम होला भन्ने अनुमान गरेको थिएँ। त्यो अनुमान पनि फेल भयो। उहाँले त एउटा विशेष भजन कार्यक्रमको बीचमा पो आफ्नो पुस्तक विमोचन गर्नुभएछ। भजन कार्यक्रममा पुस्तक विमोचन! सुन्दै अचम्मलाग्दो। तर, अचम्म लागेर के गर्नु। उहाँले त्यही भजन कार्यक्रमको बीचमा पुस्तक विमोचन गराइ छाड्नुभयो। राजनीतिक कार्यक्रम भनेपछि त कुरा राजनीतिकै हुनुपर्ने थियो। तर, त्यो पटक्कै राजनीतिक थिएन। त्यहाँ न माधव नेपाल हुनुहुन्थ्यो, न झलनाथ खनाल। न प्रधानमन्त्री हुनुहुन्थ्यो, न राष्ट्रपति! राजनीति गर्ने नेता–कार्यकर्ताको ठाउँमा पूरा भजन गायकहरूको सिंगो टोली नै ल्याएर कार्यक्रम चलाउनुभएको थियो।

सामान्यतया भजन कार्यक्रम भनेको मन्दिर, पाटी, पौवा, सत्तल, वृद्धाश्रमजस्ता स्थानमा हुने गर्छ। तर, कमरेड ओलीको भजन कार्यक्रम वानेश्वरको अल्फा हाउसमा सम्पन्न भयो। अल्फा हाउस मूलतः राजनीतिक–वैचारिक कार्यक्रम चलाउने स्थान हो। त्यस्तो ठाउँमा पनि भजन सञ्चालन गर्नु आफैमा नौलो कार्यक्रम थियो।

त्यसो त अल्फा हाउसमा भजन गाउनुमात्रै नौलो होइन। त्यहाँ भजन गाउने गायकहरू पनि नौला नै थिए। ती भजन गायकहरूलाई यसअघि हामी पत्रपत्रिकामा लेख–सेख लेख्ने, अन्तर्वार्ता–सन्तर्वार्ता लिने आदि जस्ता काम गर्दै आइरहेका देख्थ्यौँ। तर, उनीहरू भजन गायनमा पनि उत्तिकै पोख्त रहेछन् भन्ने कुरा सोही दिन थाहा भयो।

कमरेड ओलीले आफ्नो भजन संग्रह..., क्षमा गर्नुहोला, भाषण संग्रह त निकाली हाल्नुभयो। अब त्यही कार्यक्रममा गाइएका भजनहरू सँगालेर एउटा 'भजन संग्रह' पनि निकाले राम्रै होला कि? हाम्रो तर्फबाट हल्का सुझाव!

गएको केही समयदेखि सुन्दै पनि आइरहेको छु, बन्दै गरेको नयाँ फिल्म 'रातो सूर्य' को सुटिङ धमाधम चलिरहेको छ। फिल्मको हिरो हुनुहुन्छ कमरेड ओली स्वयं। केहीले यो पनि भने– फिल्म घोषणापछि जति पनि कार्यक्रममा कमरेड ओली देखा पर्नुभयो, ती जम्मै नयाँ बन्ने फिल्मको सुटिङ हुन्। सुटिङ  भनेपछि अलिकति रोमाञ्चकारी, अलिकति खुसियाली, अलिकति निराशा, अलिकति आशा  त हुनैपर्‍यो। अचेल ओलीले बोल्ने कुराहरू जम्मै यस्तै छन्। कतै अस्ति भजन कार्यक्रमका बीच पुस्तक विमोचन जो गरियो नि, त्यो पनि यही फिल्म सुटिङकै कुनै दृश्य त थिएन?

प्रकाशित: २१ माघ २०७३ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App