coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

अदम्य साहसले सफल

कुनै पनि व्यक्तिका सय गुणमा ९९ राम्रा र बाँकी एक गुण अति नराम्रो हुँदा व्यक्ति असफल हुन सक्छ। तर, ९९ गुण नराम्रो भए पनि एक गुणमा उत्कृष्ट हुँदा सफल हुन सक्छ। डोनाल्ड ट्रम्प धेरै अवगुणका बीच केही गुणका कारण अमेरिकी राष्ट्रपति बन्न सफल भए। उनको गुण भनेको साहस हो। ट्रम्पका जीवनकथा र पुस्तकहरू केलाउँदा ट्रम्प आत्मसमर्पण नगर्ने व्यक्तिका रूपमा बु‰न सकिन्छ। जब्बरी व्यवहारले उनलाई विवादमा ल्याइरह्यो। विश्वभर ट्रम्पविरूद्ध आवाज उठे। तर, कहिल्यै आत्मसमर्पण नगर्ने साहसी स्वभावले सफल बनायो। उग्र राष्ट्रवाद र महिलाप्रति ट्रम्पको विवादास्पद व्यवहार तथा धारणाका कारण खतरा हुने देख्दादेख्दै अमेरिकाको ४५औँ राष्ट्रपतिका रूपमा निर्वाचित भई कार्यभार सम्हाल्न पुगे। ट्रम्पका विगत र वर्तमानबारे धेरै नकारात्मक विषय बाहिर आएका छन्। ट्रम्प स्पष्ट वक्ता हुन्, तर लाजै पचाएर बोल्छन्। अपशब्द बोल्न पछि पर्दैनन्। राष्ट्रपति निर्वाचनका समय बोलीले निकै विवादमा ल्यायो। यस्तो व्यक्ति अमेरिकाको राष्ट्रपतिका लागि योग्य छैनन्समेत भनियो। उनका कतिपय वाक्य त सुन्नेलाई समेत लाज हुन्थ्यो।

साहसका साथ अगाडि सर्ने र पूरा गर्न कम्मर कस्ने उनको स्वभाव देखिन्छ। सयौँ असफलताका बीच सफलतातर्फ पाइला सारे उनले। सोमत नभएको साहसी बनेर सफलताको शिखरमा पुगे।

ट्रम्प बोल्नमा बेपरवाह देखिन्छन् भने काम गर्न साहसी। ट्रम्पले साहसलाई उच्च प्राथमिकतामा राखेका छन्। 'ट्रम्प १०१ः दि वे टु सक्सेस' पुस्तकमा भनेका छन्– 'दृढ हुन साहस चाहिन्छ।' साहसको विभिन्न परिभाषा दिँदै आत्मसमर्पण गर्न अस्वीकार गर्नुलाई साहस भनेका छन्। कहिलेकाहीँ प्रतिभावान मानिस असफल हुने र कम प्रतिभावान सफल हुने गर्छन्। ट्रम्पले यसबारे तर्क गर्दै जब कोही आत्मसमर्पण गर्न चाहँदैन र निरन्तर लडिरहन्छ तब सफल हुन्छ भनेका छन्। आफूले जीवनमा साहस देखाएरै सफलता हासिल गरेको कथा सुनाएका छन्। साहसलाई उत्साहसँग जोड्दा सफलता हासिल गरेको ट्रम्पको भनाइ छ।

ट्रम्पले त्यो काम गरे जुन कामलाई उनी मन पराउँथे। उनले भनेका छन्– 'म रियल इस्टेट, डिल मिलाउन, ठूला योजनाहरूको निर्माण र दि एप्रेन्टिसको सञ्चालन गर्न मन पराउँछु।' आफूले जे मन परायो त्यो जोसका साथ गर्ने र असाध्यै राम्रो बनाउने गरेको सुनाउँथे। कामलाई रोचक बनाउन आफू गम्भीरताका साथ लाग्ने गरेको ट्रम्पले पुस्तकमा भनेका छन्। काममा उत्साह र जोस भर्ने गरेकाले सफल हुन सकेको राज सुनाएका छन्। आफूले जोस भर्ने गरेबाट आफूवरपरकालाई समेत जाँगरिलो बनाउने गरेको ट्रम्पले उल्लेख गरेका छन्। कुनै पनि काममा दिगो सफलता हासिल गर्न जोस अत्यावश्यक हुन्छ। ट्रम्पले अनुभवबाट यो बुझेको सुनाए। आफूलाई कामप्रति प्रतिवद्ध बनाउन आफूले गर्ने कामलाई प्रेम गर्नुपर्नेमा जोड दिएका छन्। ट्रम्प भन्छन्– 'जोसले प्रेरित गर्छ। जोसिलो मान्छे कहिल्यै आत्मसमर्पण गर्दैन, उनीहरूको तत्परताले भय मेट्छ।' आफू के गर्दैछु त्यसलाई मन पराउने मान्छे कहिल्यै रोकिँदैन। निरन्तर काम गरिरहन्छ। कुनै पनि अवरोध पन्छाएर अघि बढ्छ। आकर्षक जुक्ति–बुद्धि भएका मान्छेहरू पनि कमजोर तरिकाले अघि बढ्दा असफल भएको अनुभव सुनाएका छन् उनले। जुन काममा प्रेम हुँदैन, जोस र जाँगर हुँदैन त्यो कामले अन्ततोगत्वा असफलता हात पार्छ। उनी भन्छन्– 'जुक्तिलाई एक्सनमा ढाल्नुपर्छ।' जबसम्म तत्परता र जागरुकता रहँदैन तबसम्म महान् जुक्ति टेबुल र टाउकोमा मात्र थन्किएर रहन्छ। जुक्तिलाई सफलताको स्वरूप प्रदान गर्न काममा प्रेम भएपछि जाँगर र जोसले जन्म लिने तर्क ट्रम्पको छ।

'उत्साहले अवसरहरू सृजना गर्छ,' ट्रम्प व्यापारको क्षेत्रबारे अनुभव यसरी पोख्छन्, 'म गल्फ खेल्न मन पराउँछु त्यसैले ट्रम्प गल्फ कोर्स बनाएँ, विश्वस्तरका गल्फ कोर्सहरू निर्माण गरेँ।' त्यही गल्फ कोर्समा धेरै व्यापारिक डिल भएको सुनाए। गल्फ कोर्समा व्यावसायिक साथीहरू बनाउने र उनीहरूसँग भलाकुसारी गरेर डिल गर्ने अवसर बनाए। आफूले जे सोचिरहेको छ त्यसमा केन्द्रित हुन जोड दिएका छन्। उनले पुस्तकमार्फत् भनेका छन्– 'सोचिरहेको विषयबाट आनन्द लिइरहेका छौ भने तिमी सफलताका लागि सही मार्गमा छौ।' जेबाट आनन्द लिन सकिँदैन त्यो सोच्नु नै अनुपयुक्त हुने उल्लेख गर्छन्। जे गर्न मन पराइन्छ त्यही सोच्नुपर्नेमा जोड दिन्छन्। आफैलाई सोध्नुपर्छ– के गर्न मन पराइन्छ? तिमीलाई केकेले आकर्षित गर्छ? कुन कारणले तिमीलाई समयले उठाउँछ? के गर्दा तिमी खुसी हुन्छौ? यी विषयबारे पक्का भएपछि अगाडि बढ्न सहज र आनन्द हुन्छ। अरूले थोपरेको करिअरमा लाग्नु हुँदैन। ट्रम्पले आफूलाई खुसी बनाउने र माथि उठाउने करिअरमै जम्न सकिने सुझाव दिएका छन्। आफूलाई मन नपरीनपरी पैसा खर्च गर्नु र अरूलाई खुसी बनाउने उद्देश्यले कुनै पनि क्षेत्रमा लाग्न हुँदैन। त्यस्तो पैसाले खुसी दिँदैन। जोसबिनाको कामबाट आर्जन गरिएको पैसाले सुख र आनन्द दुवै नमिल्ने तर्क ट्रम्पको छ।

ट्रम्पका अनुसार उत्साह दुवैतर्फ धार भएको तरबार हो जसले व्यक्तिलाई उत्प्रेरित गर्न सक्छ। तर, यसले व्यक्तिलाई अन्धो बनाएर कलंकको धब्बाबाट बच्न नदिन पनि सक्छ। कुनै बेला उत्साह नकारात्मक पनि बन्न सक्ने अनुभव उल्लेख गरेका छन्। उत्साह आफ्नो नियन्त्रणमा हुनुपर्नेमा जोड दिएका छन्। ट्रम्पले आफ्नो उत्साहले बेलाबेलामा आर्थिक संकटमा पुर्‍याएको अनुभव लेखेका छन्। त्यसैले आफ्नोबारे चिन्ता लिने र हेरविचार गर्नेको वस्तुगत सल्लाह लिनुपर्ने ट्रम्पको भनाइ छ। उनी भन्छन्– 'जो व्यक्ति इमानदार, वस्तुगत र खुल्ला दिमागको छ त्यस्ताको सल्लाह लिऊ, तिमीलाई सुन्न मन नलाग्ने सल्लाह भए पनि गम्भीरताका साथ लिऊ।' त्यस्तो सल्लाहलाई अन्तिम निर्णय लिँदा कहीँ न कहीँ समावेश गरेर बढ्न प्रेरित गरेका छन्।

ट्रम्पले आफ्नो निर्णयसँग प्रेमलाई सँगै गाँस्थे। एउटा प्रसंग खुलाउँदै ट्रम्पले म्यानहटनमा रियल इस्टेटका योजनाहरू निर्माण गर्न सुनाउँदा बाबुले मन पराएका थिएनन्। बरू आफू सफल भएको ब्रकलिन र क्विन्स जस्ता स्थानमा काम गर्न सुझाव दिएका थिए। व्यवसाय, सांस्कृतिक र सामाजिक केन्द्र रहेको म्यानहटनमै ट्रम्पको ध्यान गयो। त्यो तत्कालको निर्णय थिएन, धेरै अगाडि देखेको सपनाको परिणाम बनेको निर्णय थियो। म्यानहटनमा आफ्नो नाम लेख्ने सपना देखेका थिए जुन पूरा गरिछाडे। म्यानहटनमा ट्रम्प टावर निर्माण गर्ने आकर्षक दृष्टिकोण सुनाए बाबु फ्रेडलाई। आकर्षक शिशाको घर बनाउने योजना बाबुलाई चित्त बुझेन। उनी इँट्टाकै प्रयोगमा जोड दिन्थे। ट्रम्पको उत्तर थियो– 'म अर्को गगनचुम्बी भवन बनाउन लागिरहेको छैन विश्वस्तरको आकर्षक निर्माण गर्न चाहन्छु।' न्युयोर्कमा कसैले नदेखेको पृथक भवन बनाउने मात्र सुनाएनन्, बनाइछाडेको उल्लेख गरेका छन्।

कुनै पनि कार्य गर्दा आफूले अपनाउने मापदण्डबारे ट्रम्पको फरक शैली बु‰न सकिन्छ। न्युयोर्क सिटीमा सात वर्षदेखि पूरा नभएको 'वल्मन रिन्क सेन्ट्रल पार्क' निर्माणमा तीन सूत्र अपनाए। जसमा उत्कृष्ट कामलाई सफल बनाउन कार्य गर्ने, जतिसक्दो छिटो बनाउने र स्तरीय बनाउन जतिसक्दो कम पैसा खर्च गर्ने। उनले भनेका छन्– 'सात वर्षदेखि पुनर्निर्माण हुन नसकेको पार्कको निर्माण तीन महिनामा पूरा गरेँ, त्यो पनि सहरले विनियोजन गरेको बजेटको १० प्रतिशतभन्दा कम रकम खर्च भयो।' काम सुरू गर्नुअगाडि कर्मचारी र अन्य कम्पनीका मान्छेले यसमा हात नहाल्न र आफ्नै व्यवसायमा ध्यान दिन सुझाएका थिए। यसलाई उनले प्रतिष्ठाको विषय मानेर काम गरेर देखाए। उनले भनेका छन्– 'यदि तिमीले सोच्यौ भने छ वषको काम छ महिनामा सक्नेछौ।' यसमा पनि उनको साहसले काम गर्‍यो। जोखिम मोलेर काम फत्ते गरेर सबैलाई आश्चर्यमा पारे।

ट्रम्पले जहाँ छोयो सुन हुने 'राजा मिडासको स्पर्श' जस्तो हैसियतमा जन्म नलिएको स्पष्ट पारेका छन्। तर, आफूले महान् शिक्षा पाएको र उत्कृष्ट बाबु–आमाको पुत्र हुन पाएको सुनाएका छन्। पुस्तकमा उनी भन्छन्– 'म कठिन, प्रतिवद्ध र दृढ मान्छे हुँ जसले मलाई सफलता दिलायो।' उनी कहिल्यै समर्पण नगर्ने र कुनै पनि काममा हात हालेपछि पछाडि फर्कन नचाहनेखालका व्यक्ति हुन्। हरेक लडाईंले आफूलाई बलियो बनाउँदै लगेको ट्रम्पको अनुभव छ। जुनसुकै कामलाई सफल ठानेर मात्र अघि बढ्ने गरेको उल्लेख गरेका छन्। कुनै काम हुँदैन कि भनेर हात हाल्दैनन् उनी। साहसका साथ अगाडि सर्ने र पूरा गर्न कम्मर कस्ने उनको स्वभाव देखिन्छ। सयौँ असफलताका बीच सफलतातर्फ पाइला सारे उनले। सोमत नभएको साहसी बनेर सफलताको शिखरमा पुगे।

प्रकाशित: २१ माघ २०७३ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App