७ वैशाख २०८१ शुक्रबार
कला

'नेपालकी तेरिया भनेर चिनिन चाहन्छु'

काठमाडौं- केही समयअघि मात्र भारतीय टेलिभिजन च्यानल कलर्सले आयोजना गरेको रियालिटी सो 'झलक दिखला जा'को शीर्ष उपाधि जितेकी तेरिया मगरले आफू नेपाली तेरिया भएर चिनिन चाहेको बताएकी छन्। शुक्रबार बेलुकी १० बजे काठमाडौं आएकी उनले शनिबार पत्रकारमाझ आफूसँगै देशको नाम पनि विश्वमाझ चिनाउन चाहेको जनाएकी हुन्।

उनले आफूलाई नेपालमा नबस्ने गरेको आरोप लागेको र त्यस्तो नसोच्न आग्रह गरिन्। 'नेपालमा बस्दा मलाई तेरिया भनेर मात्र चिन्थे, तर नेपालबाहिर बस्दा नेपालकी तेरिया भनेर चिन्छन्,' पत्रकार सम्मेलनमा उनले भनिन्, 'त्यसकारण पनि नेपाल र आफ्नो नाम चिनाउन म बाहिर बसेकी हुँ। म नेपालकी तेरिया भनेर चिनिन चाहन्छु।'

आफ्नो नाममा रहेको संस्था टेरिया मगर फाउन्डेसनमार्फत समाजसेवा गर्न चाहेको बताउँदै आफैँ संस्था चलाउन सक्ने भएपछि  सामाजिक काममा अझ सक्रिय हुने बताइन्। 'म नृत्यसँगै अभिनय गर्न चाहन्छु, त्यसकारण भविष्यमा अभिनयलाई पनि सँगै अगाडि लैजाने योजना छ,' उनले भनिन्, 'संस्थामार्फत मजस्तै प्रतिभा हुनेलाई सहयोग गर्दै प्रोत्साहन गर्नेछु। विशेषगरी अनाथ, अपांगता भएका बालबालिकालाई सहयोग गर्ने मेरो लक्ष्य छ।'

आमाबुवासँग मुम्बईमा बस्दै आएकी तेरियाले नेपालको पानीपुरी र चटपटेको धेरै सम्झना आउने गरेको बताएकी थिइन्।

तेरियालाई बधाई दिन आएका रक्षामन्त्री बालकृष्ण खाँडले युवापुस्तामा प्रतिभा र सिर्जनाको खानी हुन्छ भन्ने उदाहरण तेरियाले दिएको बताए। उनले तेरियालाई सरकारले दिने जिम्मेवारीबारे मन्त्रिपरिषद्मा कुरा राख्ने आश्वासन दिए।

तेरियाले सन् २०१४ मा भारतीय च्यानल जिटिभीबाट प्रसारण हुने 'डान्स इन्डिया डान्स'को उपाधि पनि चुमेकी थिइन्। रुपन्देहीको रुद्रपुरमा जन्मिएकी तेरिया आइतबार गृह जिल्ला जाँदै छन्।

प्रकाशित: २३ माघ २०७३ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App