७ वैशाख २०८१ शुक्रबार
विचार

अविकासमा अनुत्पादक संस्कृति

नेकपा एमालेले भर्खरै एउटा कार्यक्रम स्वागतयोग्य ढंगमा सम्पन्न गरेको छ । ‘डायस’मा आमन्त्रित थुप्रैलाई फूलमाला लगाइदिने, खादा पहि¥याउने, ‘फ्लोर’मा भन्दा बढी मानिस डायसमा खाँदाखाँद हुने गरेर आसनग्रहण गर्न बोलाउनेजस्ता बेकामका औपचारिकता कार्यक्रमा देखिएन । धेरै र अनावश्यक मान्छेलाई बोल्न लगाउने, वक्ताले लामो भाषण गर्ने, हुँदाहुँदा उद्घोषक(एमसी) ले समेत बीचबीचमा ‘अजासु’ (अति जान्नेसुन्ने) पल्टने, कार्यक्रम निर्धारित समयभन्दा ढिलो सुरु र समापन हुनेजस्ता रोग त्यहाँ देखिएनन् । त्यस्ता सुधार निरन्तर जारी रहने हुन् कि ती क्षणिक प्रचारमात्र हुन्, त्यो भविष्यले बताउला । तर, राजनीतिक वर्गबाट यस्ता सुधारको पहल हुनु प्रशंसनीय कुरा हो । किनभने जानेर वा नजानेर यस्ता अनुत्पादक संस्कृतिलाई मलजल गर्ने पनि राजनीतिक वर्ग हुन् । त्यसै पनि हाम्रोजस्तो अति राजनीतिकृत र अविकसित समाजमा नेताहरूकै अग्रसरतामा भएका सुधारमात्र बढी सफल हुन्छन् । सामाजिक तहको अग्रसरतामा भएका सुधार दिगो, व्यापक र प्रभावकारी हुन कठिन हुन्छ । सामाजिक कार्यक्रममै पनि हामीकहाँ राजनीतिकर्मी, नेताहरूको उपस्थितिलाई ठूलो महŒव दिइन्छ । सामुदायिक सभा–समारोहमा स्थानीय जनप्रतिनिधिको सहभागिता रहनु त आवश्यक र स्वाभाविक पनि हो । राजनीतिक दल वा तिनका भ्रातृ संगठनका कार्यक्रम हुन् कि सामाजिक सभा–समारोह, सामुदायिक संस्थाका कार्यक्रम हुन् कि व्यावसायिक संस्थाका, सडक महोत्सव उद्घाटन समारोह हुन् कि वडा कार्यालय भवनको शिलान्यासका, शिक्षालयको वार्षिकोत्सव होस् कि सहकारीको साधारणसभा, पुस्तकविमोचन समारोह होस् कि पुरस्कार वितरण कार्यक्रम त्यो सिध्यााएर घर फर्केपछि धेरैलाई कडा ‘पेनकिलर’ खानुपर्छ– टाउको दुखेर । दुर्गममा सिटामोल नपाएर मान्छे मर्ने देशमा सहरबजारमा त्योभन्दा कडा औषधिको अनावश्यक खपत बढाउने मानव निर्मित यस्ता समस्या थप्ने काम नगरौँ । यो अनुत्पादक संस्कृतिलाई सके बन्दै, नसके पनि अब न्यून गरौँ !

यस्ता समारोहमा धेरै ढिलासम्म कार्यक्रम सुरु नभएपछि अधीर भएका मानिसलाई आयोजकहरू प्रायः प्रमुख अतिथि नआइपुगेको बताएर थामथुम पार्छन् । मान्छे धेरै नै छटपटिन थाले भने रेडियोले प्रत्यक्ष प्रसारण गरेको जस्तोगरी वहाँ हिँडिसक्नुभो, अहिले बाटोमा फलाना ठाममा आइपुग्नुभएको छ, अब चाँडै आइपुग्नु हुन्छ भनेर कार्यक्रम सञ्चालकले माइकमा फुकिदिन्छ । (एमसीलाई जुनसुकैै विषयमा पनि आफ्नो ज्ञान र गच्छेअनुसार भाषण गर्ने स्वतन्त्रता हुन्छ¬¬) शक्तिपूजक हाम्रो समाजमा प्र्रमुख अतिथि बहुधा कुनै राजनीतिक नेता हुन्छन् । त्यसो गर्नुको एउटा कारण टीभीलगायतका सञ्चारमाध्यमले आफ्नो कार्यक्रमको सचित्र समाचार देला कि भन्ने लोभ पनि हो । यस्तो प्रचारप्रसार राजनीतिक व्यक्तिबाहेक अरुले सितिमिति पाउँदैन । प्रमुख अतिथिले चाहिँ ढिलाइको ‘रेडिमेड’ कारण काठमाडौँको ट्राफिक जामलाई देखाइदिन्छन । भलै, त्यही जाममा नरोकिइकन सुइय पार हुनकै लागि ‘सुरक्षा थ्रेटै’ नभएका उनीहरूमध्ये धेरैले पछुवासहितको साइरनवाला गाडीको सुविधा लिएकै किन नहुन् !

आजको यस गरिमामय सभामा उपस्थित महिमामय विद्वत्जनमा मेरो हृदयदेखिकै स्वागत र न्यानो अभिवादन– धेरैजसो कार्यक्रममा एमसीले बारम्बार दोहो¥याउने शब्दहरू हुन् यी । त्यस्ता गुणका पारखी एमसीले ‘मञ्चमा आसन ग्रहण गरिदिनु हुन सादर’ अनुरोध गरेरमात्र के पुग्थ्यो ! मञ्चारोहण गर्न डाकिने प्रत्येकको महिमामा एक–दुई मिनेट भए पनि केही प्रशस्तिगान गाउनैप¥यो । मञ्च भरिभराउ भैसकेर ठाउँ नपुग्ने भएपछिचाहिँ ‘यथास्थानमा (अर्थात् आफू पहिलेदेखि नै बसिरहेको ठाउँमा) आसन ग्रहण’ गर्न अनुरोध गरिन्छ । त्यसरी बसिरहेको मानिसलाई बस्ने अनुरोध गर्नु भनेको आयोजकले उसलाई पनि नामै लिएर सम्मान गरेको देखाउनुसिबाय केही होइन । के गर्नु त्यति नगरे वा वक्तामा नाम नराखिदिए मान्छे यस्ता सभासमारोहमा जाँदैनन् र समारोहलाई चाहिने भीड जुट्दैन । गएछन् भने पनि वक्तामा आफ्नो नाम नदेखेपछि वा अझ आसन ग्रहण गर्न बोलाउनेमा नाम छुटाएपछि लुसुक्क कार्यक्रमबाट बाहिरिन्छन् । किनकि, त्यही प्रचारको अवसर र आफूले जिन्दगीमा पिरलै पाउने सम्मान र घटीमा यसो मान्छे भेटघाट हुन्छन् भन्ने आकर्षणबाहेक यस्ता सभासमारोहमा जाने अर्को आकर्षण मान्छेका लागि केही हुन्न । कार्यक्रममा ‘खतरा’ ज्ञान बाँडिने भएर मान्छे त्यहाँ गएका हुन्नन् । कोही यो पंक्तिकारजस्तो, आफ्नो सामाजिक र लेखकीय बाध्यताले गएका हुन्छन् ।

यसरी दर्जनौँ ‘महिमामय’ हरूको आसन ग्रहणकै क्रममा आधा, पौने घन्टा त त्यसै बित्छ । सभापति र प्रमुख अतिथिको प्रशस्ति त झन् अरुको भन्दा लामो हुनैप¥यो । प्रशस्तिवाचनका साथ उनीहरूलाई खादा वा फूलमालासमेत लगाई स्वागत गर्न घटीमा अर्को १०–१५ मिनेट । त्यसपछि मञ्चासीनहरूलाई ब्याच लगाइने कार्यक्रम हुन सक्छ । कसैको फोटोमा माल्यार्पण÷पुष्पगुच्छा अर्पण गर्ने कायक्रम पनि रहेछ भने त मञ्चमा बसेका जति सबले त्यसो गर्दा अर्को आधा घन्टा समय बित्छ । फोटोमा माल्यार्पण, पुष्पगुच्छा अर्पण गर्दा कार्यक्रमको प्रकृति र व्यक्तिको प्रवृत्तिअनुसार कोही भाव आएर रुने हुन्छन्, कोही मुड्की माथि उठाएर क्रान्तिकारिता देखाउने । यस्तो अभिनय र ‘एक्रोब्याटिक्स’ देखाउने धेरै भए भने माला÷पुष्पादि अर्पणमा अझ धेरै समय लाग्न सक्छ । त्यसपछि एकै मिनेट भए पनि ज्ञातअज्ञात सहिदहरूप्रति मौनधारण गर्ने कार्यक्रम चल्छ, भलै त्यो सामाजिक वा व्यावसायिक संघसंस्थाकै कार्यक्रम किन नहोस् । यसरी जे कार्यक्रममा पनि सहिदलाई तानेर सहिदको सम्मान हुँदैन भनेर कोही बोल्दैन, प्रतिगामीको लेबल लाग्ने डरले । त्यसपछि बल्ल प्रमुख अतिथिद्वारा पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन हुन्छ !

यहाँसम्म त औपचारिकता नै भयो, त्यसपछि बल्ल सुरु हुन्छ कार्यक्रमको मुख्य भाग– एमसीको भाषामा ‘सारगर्भित मन्तव्य’को क्रम । जुन कार्यक्रमको सबभन्दा पट्यारलाग्दो र बेकामे भाग हुन्छ अरु सबैका लागि । तर, आयोजक र वक्ताजतिका लागि सबभन्दा महŒवपूर्ण भाग यही हुन्छ । अरुका लागि त खाने कार्यक्रमबाहेक, जुन कार्यक्रमको अन्त्यतिर राखिएको हुन्छ, अरु कुनै कार्यक्रम महŒवका हुँदैनन् । कार्यक्रमको सुरु वा बीचमै खाजा–खानाको कार्यक्रम राखे वक्ताबाहेकका प्रायः सबै आमन्त्रित खाइवरी कार्यक्रम नसिद्दिँदै भाग्छन् भन्ने बुझेरै खानाको कार्यक्रमलाई सबभन्दा पछाडि राखिएको हुन्छ । हो, वक्तामा नाम राखेको मानिस रहेछ भनेचाहिँ एकजना मात्र ‘श्रोता’ बाँकी देखुञ्जेलसम्म पनि (जुन वास्तवमा श्रोता नभएर आफै बोल्न पालो कुरिरहेको अन्तिम वक्ता हुन सक्छ) ऊ कार्यक्रम छाडेर भाग्दैन, जतिसुकै बोर भए पनि बसिरहन्छ !

कार्यक्रम लामो हुनुको एउटा मुख्य कारण ‘सारगर्भित मन्तव्य’का लागि एमसीले तोकिदिएको समय सीमालाई अपवादबाहेक कसैले पनि पालना नगर्नु । पाँच–दस मिनेट समय पाएको वक्ताले पनि घन्टौँ बोल्छन् । बहुधा त्यसमा कुनै सार हुँदैन, तर बोलेर गैसकेपछि सारगर्भित मन्तव्यका लागि आदरणीय फलानालाई हृदयैदेखिको आभारका साथ एमसीले श्रोताका कान टट्याइसकेका उसको भनाइका केही अंश दोहो¥याउँछ, त्यसमा उसको आफ्नो सारगर्भित विश्लेषणसमेत थपथाप गरेर । प्रमुख अतिथिलाई त समयसीमा नै तोकिँदैन, त्यसैले उसले त झनै जति लामो बोले पनि भो । यी लामालामा भाषणका बीच धेरै पटक अब हामी कार्यक्रमको अन्त्यतिर आइपुग्यौँ भन्ने एमसीको उद्गार पनि दोहोरिइरहन्छ । तर, जब कार्यक्रम साँच्चै समाप्त हुने बेला हुन्छ, तब फेरि सुरु हुन्छ धन्यवाद ज्ञापनको लामो सिलसिला । अनि त्यो सकिएपछि ‘लास्ट’मा चाहिँ हुन्छ लास्टै लामो र सभापतिको पदले नै स्वतः सारगर्भित बनाएको कार्यक्रमका सभापतिको मन्तव्य ! 

वास्तवमा नेपाली जनताको दुःख–कष्टलाई धीरतापूर्वक झेल्ने शक्तिको प्रमाण गरिबी, भूकम्प, नाकाबन्दी, कुशासन, भ्रष्टाचार र राजनीतिकर्मीका झूटका बीच पनि हाँसीहाँसी बाँच्ने हाम्रो क्षमता मात्र होइन । यस्ता असंख्य सभासमारोहलाई सहजै पचाउन सक्ने खुबी पनि हो । अरु कतिपय मुलुकमा भए आक्रोशमा आएका जनताले यस्ता सभासमारोह गर्नेहरूलाई ढुंगामुढा गरेर भगाइसक्थे । बालबालिकाहरूको पुतलीको खेलजस्तो देखिए पनि यस्ता कार्यक्रममा त्यो खेलको जस्तो बालसुलभ निर्दोषपना र मनोरञ्जनचाहिँ पटक्कै हुँदैन । हो, कार्यक्रमका स्तर भने बालसुलभ हुन्छ जहाँ छिनछिनमा दोहो¥याइने हृदयैदेखिको स्वागत र न्यानो अभिवादनजस्ता शब्दका अर्थ हराएका हुन्छन् । जहाँ ज्ञातअज्ञात सहिदहरूप्रति सम्मान प्रकट गर्न गरिने मौनधारणजस्ता कार्यले सहिद र उनीहरूका त्यागलाई नै हलुंगो बनाएका हुन्छन् । आउनोस् हामी यी कुरामा सुधार गरौँ । सर्वप्रथम त नेपाली टाइम यस्तै हो भनेर ढिलाइलाई सामान्य रूपमा लिने संस्कृतिलाई अब सदाका लागि बिदा दिउँ । हामीले उन्नति र आर्थिक विकास गर्न नसकेको एउटा ठूलो कारण समयको कदर नगर्ने यो अपसंस्कृति पनि हो । आफूले भ्रमण गरेका, पढेका र काम गरेका विकसित मुलुकहरू कतै पनि मैले यहाँजस्तो समयको पाबन्दीको बेवास्ता देखेको छैन, न त त्यहाँ यस्ता अनुत्पादक कार्यक्रमको भरमार देखेको छु । यस्तो संस्कृति अविकसित मुलुक, त्यसमा पनि हाम्रोजस्तो अराजक लोकतन्त्र भएको मुलुककै मात्र राष्ट्रिय रोग बन्दै आएको छ ।

वास्तवमा हाम्रो अविकास÷पछौटेपन र यस्ता अनुत्पादक संस्कृतिबीच परस्परको सहसम्बन्ध(पोजिटिभ कोरिलेसनसिप) छ । अर्थात् एउटाले अर्कोलाई बढाइरहेको छ । र, यो दुइटैलाई घटाउने दायित्व आज हाम्रो काँधमा आएको छ । विकसित मुलुकहरूमा मानिस कलकारखानामा, बन्दव्यापारमा, आआफ्ना काममा र त्यसपछि आफ्ना परिवारका माझमा समय बिताउँछन्, त्यसैमा ती व्यस्त हुन्छन् । त्यसबाहेक सेयरबजारको सूचना संकलन र विश्लेषणमा उनीहरू समय दिन्छन् ताकि आफ्नो बचतको सही ठाउँमा लगानी गर्न सकियोस् । बिदाको दिन आफ्नो घरको गर्न बाँकी काम गरेर वा मनोरञ्जन गरेर बिताउँछन् । हाम्रो जस्तो साताको एक दिन आउने शनिबारलाई पनि पट्यारलाग्दो भाषण गर्ने, सुन्ने कार्यक्रममा बिताएर बर्बाद गर्दैनन् । यस्ता अनुत्पादक र अपव्ययपूर्ण कुरामा समय र साधन नष्ट गर्ने उनीहरूलाई न फुर्सत हुन्छ न चाहनै ! सार्वजनिक कार्यक्रमहरू हुन्छन् त्यहाँ पनि, तर ती आवश्यकतानुसारमात्र हुन्छन् र परिणाममुखी पनि हुन्छन् । ती समयबद्ध रूपमा, चुस्ततापूर्वक र छिटोछरितो गरी सम्पन्न गरिन्छन् । तब न देश विकास भएको छ । हाम्रो देश विकास नभएको साधनको कमीले मात्र होइन, भ्रष्टाचार र कुशासनले मात्र पनि होइन, बिग्रेको राजनीतिले मात्र पनि होइन । समाजसमेत यस्ता अपसंस्कृतिको पछि दौडेर हो । आउनोस् हामी सबै मिलेर यो अपसंस्कृतिलाई समाप्त पारौँ र देशलाई विकासपथमा अगाडि बढाऔँ । अबउप्रान्त उत्पादनशील, सार्थक, परिणाममुखी र लाभकारी सभासमारोहको मात्र आयोजन गर्ने सामाजिक अभियान थालौँ ।

प्रकाशित: २४ माघ २०७३ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App