७ वैशाख २०८१ शुक्रबार
विचार

श्रीमती संघहरूका लगाम

महिला सशक्तीकरण, लैंगिक समावेशीकरण जस्ता विषयमा विस्तृत तहको बहस चलिरहेकै अवस्थामा भर्खरै धनगढीमा पत्रकारका श्रीमतीहरू मिलेर …पत्रकार श्रीमती संघ' गठन गरेको समाचार आएको छ। समाचार सानै भए पनि यसको चर्चा भने ठूलै भइरहेको छ। गएको साताभरि  पत्रकारका फेसबुकको भित्तो यही रोचक समाचारले भरिरह्यो। धेरैका लागि यो समाचार एउटा हाँस्य र महिलालाई घोचेर व्यंग्य गर्ने अवसर बनेको पनि पाइयो।

महिला संगठित हुनु आफँैमा सकारात्मक कदम हो। तर प्रश्न आउँछ, त्यो संगठित हुनुको प्रयोजन के हो र केका लागि संगठित भइँदैछ? त्यसमाथि कसैको श्रीमती हुनुलाई नै आधार बनाएर संगठन बनाउनुले महिला आन्दोलन, महिला सशक्तीकरण जस्ता मुद्दालाई शक्तिशाली बनाउँछ कि कमजोर पार्छ, त्यो पनि अहिले सोचको विषय बनेको छ।

श्रीमती त उहीमात्र हुने हो जसको श्रीमान् छ। श्रीमान्बिना कोही पनि श्रीमती हुन सक्दैन। श्रीमान्कै कारणले मात्र निर्माण हुने श्रीमतीको पहिचानले महिलाको प्रतिष्ठा जोगाउँदैन।

हाल गठन भएको पत्रकार श्रीमती संघमा जति पनि श्रीमती आबद्ध भएका छन्, उनीहरूको पहिचान केवल कसैको श्रीमतीमात्रै होइन। कसैकी श्रीमती हुनुलाई नै आफ्नो एकमात्र पहिचान भनेर कसैले भन्छ भने त्यो पुरुषलाई नै सर्वोपरि ठानेको हुन जानेछ। महिलाको पहिचान उनको श्रीमान् होइन। हरेक महिलाको आफ्नै स्वतन्त्र र सार्वभौम पहिचान हुन्छ। पत्रकार श्रीमतीहरू पनि कोही शिक्षक होलान्, कोही कर्मचारी होलान्, कोही मानवाधिकारकर्मी होलान्, कोही कानुन व्यवसायी होलान्। कुनै व्यवसायमा लागेको छैन भने कमसेकम सम्पूर्ण घर व्यवहार चलाउने गृहिणी त पक्कै होलान्। के उनीहरूले आफ्नो यो स्वतन्त्र पहिचानका आधारमा संगठन निर्माण गर्न सक्दैनन्?

श्रीमती त उहीमात्र हुने हो जसको श्रीमान् छ। श्रीमान्बिना कोही पनि श्रीमती हुन सक्दैन। श्रीमान्कै कारणले मात्र निर्माण हुने श्रीमतीको पहिचानले महिलाको प्रतिष्ठा जोगाउँदैन। यही क्रममा श्रीमान्हरूका नाममा गठन भई अस्तित्वमा रहेका सेना, प्रहरी, सशस्त्र प्रहरीका श्रीमती संघहरू (सशस्त्र प्रहरीमा परिवार महिला संघ) बारे पनि चर्चा गर्नु सान्दर्भिक होला। सेनामा जो प्रमुख भई आउँछन् उनकै श्रीमतीको अध्यक्षतामा श्रीमती संघ सञ्चालन हुने गर्छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि प्रमुखकी श्रीमतीले संघ चलाउने गरेको पाइन्छ। नेपालमा खासगरी सैनिक श्रीमती संघ, प्रहरी परिवार महिला संघ, निजामती कर्मचारी श्रीमती संघ, चिकित्सक श्रीमती संघ आदि खोलिएको पाइन्छ। जसको अस्तित्व पदेन हुन्छ। श्रीमान्को जागिरको पदावधि सकिनासाथ श्रीमतीको पद पनि स्वतः खारेज हुने गर्छ।

सेना प्रहरी आदि पेशामा आबद्ध अधिकृतका श्रीमतीहरू केवल आफ्ना श्रीमान्को अर्धाङ्गिनी मात्र त पक्कै होइनन्। उनीहरूका पनि आआफ्नै पहिचान अवश्य होलान्। उनीहरू पनि डाक्टर, इन्जिनियर, कानुन व्यवसायी, बैंकर, कर्मचारी आदि विभिन्न पेशाहरूमा आबद्ध भई देश र समाजलाई टेवा दिइरहेकै होलान्। तर खुलारूपमा आफ्नो पहिचान दिने बेला श्रीमान्को श्रीमती मात्रै भनिदिँदा ती श्रीमतीको यस्तो गरिमामयी पहिचानको अवमूल्यन हुन जाने निश्चित छ।

सेना, प्रहरीमा श्रीमतीहरूको काम के हो थाहा छैन। जागिर त श्रीमान्ले खाने हो, श्रीमतीले होइन। यदि सेना प्रहरीभित्र महिलाले नै गर्नुपर्ने सामाजिक प्रकृतिका कुनै काम छन् भने त्यसको जिम्मेवारी अहिले सेना प्रहरीकै महिला जवान/अधिकृतलाई नै दिन सकिन्छ। यस्तो कार्यका लागि सेना प्रहरीले कुनै स्रोत व्यवस्था गरेको छ भने त्यसमा श्रीमतीहरूको चलखेल किन गराउने?

त्यसमाथि अहिले सेना प्रहरीको प्रमुख सधैँ पुरुष मात्रै भइरहन्छ भन्ने पनि छैन। मुुलुकले राष्ट्रपति महिला पाइसकेको छ, प्रधानन्यायाधीश, सभामुख जस्तो प्रमुख पदहरूमा महिला पुगिसेकेका छन्। संवैधानिक रूपमै समावेशीकरणलाई स्वीकारिसकेका कारण भोलि सेना, प्रहरी र सशस्त्र प्रहरीको प्रमुख पदमा पनि महिला नपुग्लान् भन्न सकिँदैन। यदि सेना, प्रहरीको प्रमुख पदमा महिलाको नियुक्ति भयो भने यो श्रीमती संघको अस्तित्व के होला? संघ त पूरै नेतृत्वबिहीन हुने भयो। यसरी अर्कै कुनै कारणले प्रभावित वा बन्द हुन सक्ने संस्था खोल्नुको के तुक होला?

कुनै पनि पेशामा आबद्ध पुरुषका श्रीमतीहरूले श्रीमती भएकै कारणले गठन गर्ने यस्तो संस्था स्वयंमै एउटा छायाँ संस्था हो। महिलाहरू अझै पनि पुरुषका छायाँ हुन् भन्ने पुरातन मान्यता नै यस्ता संस्थाका आधार हुन्। हाम्रा कतिपय धार्मिक ग्रन्थमा महिलाका सर्वश्व भनेकै पुरुष हुन्, उनका श्रीमान् हुन् भनी वर्णन गरिएका छन्। यही माघ महिनाभरि हरेक दिन वाचन गरिने स्वस्थानी व्रत कथामै पनि स्त्री जाति भएर आफ्ना पतिलाई रीस गरेर हेरे डेरी हुन्छे, पुरुषको वचन नमाने पापिनी हुन्छे, पुरुषसित मुख लागे, गाली गरे लाटी हुन्छे, पुरुषसित लुकेर खाए कुकुर्नी हुन्छे, पुरुषसित द्रोह गरे गोही हुन्छे भनी लेखिएको छ। यस्तै धार्मिक सांस्कृतिक मान्यताका कारण पनि हाम्रा महिला पुरुषभन्दा धेरै पछि परेका हुन्।

विभिन्न नाममा खोलिएका श्रीमती संघहरू वास्तवमा यही पुराना मान्यतालाई अहिलेको आधुनिक युगमा समेत बोकिहिँड्ने समय नसुहाउँदो निकाय हुन्। महिलालाई उठ्नै नदिने नियतले बुनिएका यस्ता सामाजिक जालोबाट बाहिर निस्कने प्रयासलाई यस्ता श्रीमती संघहरूले कठिन बनाइरहेका हुन्छन्। विश्वमा आएका विभिन्न राजनीतिक, सामाजिक परिवर्तनले यी पुराना मान्यतालाई विस्तारै विस्थापित गर्दै लगिरहेको यो बेलामा फेरि कुनै नयाँ श्रीमती संघ गठन हुनुले हाम्रो पछौटेपनलाई नराम्ररी उजागर गरेको छ। महिलालाई सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालित सबैखाले आन्दोलन र अभियानका लागि पनि यो एउटा चुनौती हो भन्दा फरक नपर्ला। भएका श्रीमती संघलाई समेत विस्थापित गर्दै लानुपर्ने यो अवस्थामा फेरि नयाँ नयाँ श्रीमती संघहरू खोलिनु विडम्बनाकै विषय हुन्।  

समय धेरै बदलिइसकेको छ। महिलाका पहिचान बदलिइसकेको छ। यस्तो अवस्थामा अरुको पहिचानलाई आधार बनाएर गठन हुने श्रीमती संघले महिला पहिचानको आन्दोलनलाई कहीँ पनि टेवा दिँदैन। श्रीमती संघमा आबद्ध भई उनीहरूले जे कार्य सञ्चालन गर्ने हो त्यो आफ्नै अलग पहिचान बनाएर पनि गर्न सकिन्छ। बरु त्यसका लागि पुरुषको सहयोग लिनु मनासिब हुन्छ, पुरुषकै छायाँ हुनु आवश्यक छैन।

प्रकाशित: २५ माघ २०७३ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App