८ वैशाख २०८१ शनिबार
कला

‘फिल्म लागेकै दिन नउत्रियोस्’

‘युनिभर्सिटी अफ साउदन क्यालिफोर्नियामा’ एकवर्षे कोर्स गरिरहेका नरेश केसीले अमेरिकाकै ‘सनडान्स फिल्म फेस्टिभल’का लागि जम्मा तीन दिनमा ‘डाइङ क्यान्डल’ को स्क्रिप्ट लेखेका थिए । नरेशले सनडान्सका लागि लेखेको स्क्रिप्टले उता त केही पाएन तर यही स्क्रिप्ट अहिले नेपाली फिल्ममा अनुवाद भएर प्रदर्शनका लागि तयार भएको छ । फिल्म आउँदो शुक्रबारबाट देशभर प्रदर्शन हुँदै छ । मेडिकल साइन्सको पढाइ छाडेर फिल्मी दुनियाँमा लागेका नरेशले फिल्मबाट ‘ठिकै’को अपेक्षा राखेका छन् । तर, नरेशले ठिकैको अपेक्षा राखेको फिल्मले अमेरिकाकै ‘क्विन्स फिल्म फेस्टिभल’मा छायांकन तर्फको विधामा अवार्ड जितिसकेको छ भने थप पाँच फेस्टिभलमा छनोट भई प्रदर्शन सकिसकेको छ । चाँडै नै ‘रोमियो एन्ड मुना’ को निर्देशन गर्न लागेका नरेशले नागरिकसँग फिल्मसँग सम्बन्धित रहेर कुराकानी गरे। कुराकानीको  अंश :

निर्देशक बन्ने सोच कसरी आयो ?
    
मेरो जन्म नुवाकोटको गाउँमा भएको हो । पूरा गाउँभरिमा हाम्रो घरमा मात्र टिभी थियो । सारा गाउँ टिभी हेर्न हाम्रो घरमा आउँथ्यो । पछि भिसिआरको सिस्टम आयो । बुबाले काठमाडौंबाट फिल्म लगेर एक दुई रुपैंया लिएर फिल्म देखाउन थाल्नु भयो । यसरी सानो उमेरमा नै फिल्म मेरो दैनिकीको हिस्सा बन्यो । पछि घरमा भिसिआर रहेन त रहेन तर मेरो फिल्म हेर्ने आदत भने गएन । मेरो घरबाट नजिकै बट्टार बजार थियो । म स्कुलमा कम भिडियो हलमा ज्यादा हुन थालें ।

पछि तपाईंले मेडिकलको पढाइ गर्नुभयो ? डाक्टर बन्नु पर्ने मान्छे कसरी डाइरेक्टर बन्नु भयो?

फिल्मको लतका कारण कक्षामा नौमा म सात विषयमध्ये ६ वटामा फेल भएँ । सार्वजनिक बेइज्जतको विषय बन्यो । यसपछि चेत खुल्यो । एसएलसी दिँदासम्म रिकभर गरें । एसएलसीमा ७६ प्रतिशत आयो। फस्ट डिभिजन भए पछि साइन्स पढ्न गाह्रो भएन ।

विज्ञान पढ्न थालेपछि त फिल्मको लत छुट्यो होला नि ?

भाग्य भनुँ कि दुभाग्र्य । एसएलसीपछि आइएस्सी पढ्न सिद्धार्थ वनस्थली आएँ । क्लास पनि यस्तो ठाउँमा प¥यो जहाँको झ्यालबाट एनएफडिसीको सुटिङ स्टुडियो छर्लङ देखिन्थ्यो । आधा समय स्टुडियोमा को आए गए भनेर हेर्नमै जान्थ्यो । अझ गीतको सुटिङ छ भने त गीतको आवाजले डिस्टर्ब गरेर क्लास नै रद्द हुन्थ्यो । जहाँ गए पनि फिल्मले छोडेन ।

कहिले साँच्चिकै महसुस भयो कि म फिल्मका लागि रहेछु अरुका लागि हैन भनेर ?

सिद्धार्थबाट आइएस्सी सक्नेबित्तिकै मैले अरुण खन्नासँग ‘इन्स्टिच्युट अफ टेलिभिजन फिल्मस् एन्ड परफर्मिङ आर्टस्’मा चार महिनाको कोर्स गरें । यो कोर्स गरेपछि बल्ल मैले मेरो रुची ठम्याएँ । यसअघि मैले फिल्म भनेको मिथुनले खेलेको जस्तो हुनुपर्छ भन्ने बुझाइ थियो । तर, यही चार महिनाको दौरानमा मैले विश्वका क्लासिक फिल्म हेर्न पाएँ । फिल्मप्रतिको बुझाइमा व्यापक परिवर्तन भयो । यसपछि लाग्यो म अरु जे पढे पनि फिल्ममा मास्टर्स चैं गरी छाड्छु ।

मास्टर्स गर्न न्युयोर्क पुग्नुभयो ?

पुगें । तर, यो यात्रा मेरो जिन्दगीको सबैभन्दा कठिन यात्रा थियो । आमयुवालाई झैं मलाई पनि घरमा बजारमा बिक्ने विषय पढ्ने दबाब थियो । मेरो गन्तव्य फिल्म हो भन्ने थाहा हुँदाहुँदै पनि परिवारको मन राख्न मैले आयुर्वेदिक मेडिसिनमा ब्याचलर सकें । सँगसँगै केही फिल्ममा सहायक निर्देशकको रुपमा काम गरिरहेको थियो । त्यो मध्ये ‘सानो संसार’ एउटा थियो । सन् २००६ मा कलेज इन फिल्म स्टडिज खुल्यो । पढ्छुभन्दा भन्दै दुई वर्षपछि बन्द भयो । पछि फेरी अस्कर कलेज खुल्यो । ‘सानो संसार’मा काम गरे वापतको पैसा लगेर विद्यार्थी बनें । तर, फाइनल परिक्षा दिने बेलामा पैसा भएन । पहिलो सालको परिक्षा नै हाप्नु पर्ने अवस्था आयो । लगभग अन्तिम दिनमा पैसा सापटी लिएर फर्म भरें । परिक्षा दिएँ । रिजल्ट आउँदा फस्ट भएछु । फस्ट हुनेलाई दोस्रो वर्षमा पूरा छात्रवृत्तिको व्यवस्था रहेछ । दोस्रो वर्ष पैसा लागेन । दोस्रो वर्ष पनि टप गरेपछि ब्याचलर सकियो । अस्करबाट निस्कने बित्तिकै न्युयोर्क फिल्म एकेडेमीमा अप्लाई गरें । कलेजले पत्यायो । त्यहाँ एक वर्षको कोर्स गरें ।

न्युयोर्क एकेडेमीमा छनोट हुन के के कुरा चाहिने रहेछ ?

अहिले के छ थाहा छैन । तर, मैले उतिबेला निवेदन दिँदा आफूले काम गरेका तीन वटा फिल्मको रेकमन्डेसन चाहिन्थ्यो ।

यसपछि ‘डाइङ क्यान्डल’ बनाउनुभयो ?

हैन । न्युयोर्कमा पढिरहँदा थाहा भयो क्यालिफोर्नियाको युनिभर्सिटी न्युयोर्कको भन्दा राम्रो रहेछ । फेरि त्यहाँ पनि पढ्न थालें । यही बेला सनडान्समा स्क्रिृप्ट कम्पिटिसन भइरहेको थाहा पाएँ । कोसिस गरुँ न त भनेर तीन दिन लाइब्रेरीमा बसेर लेखें । पछि त्यहाँको कोर्स सकेपछि मसँग दुईटा विकल्प थिए । उहीँ बसेर १० हजार डलर कमाउने काम गर्ने वा नेपाल आएर ‘डाइङ क्यान्डल’ बनाउने । मैले दोस्रो विकल्प रोजें ।

‘डाइङ क्यान्डल’को कथाको स्रोत के थियो ?
 
मैले त्यतिबेला गोविन्द गोठालेको ‘च्यातिएको पर्दा’ भर्खरै पढेको थिएँ । केहीअघि पढेको ओ हेनरीको कथा ‘गिफ्ट अफ म्यागी’ पनि दिमागमै थियो । दुवै कथालाई मर्ज गरेर नेपाली परिवेशमा कथा लेख्न सुरु गरें । लेख्न सुरु गर्दा म अर्पण थापा र सिर्जना सुब्बाको प्रेम कथा लेख्न चाहान्थें । तर, सब प्लट चाहियो भनेर सिर्जनाको भाइको कथा निकालें । पछि लेख्दै जाँदा ३० पेजसम्म पनि कथामा अर्पणको प्रवेश भएन । त्यसपछि लाग्यो, यो प्रेमकथा अर्कै मोडमा गयो । यसरी फिल्म दिदी भाइको प्रेमकथा बन्यो ।

फिल्म हेर्नेहरुले पूरा फिल्म एउटा घरमा सुरु भएर घरमै सकिएको टिप्पणी गरेका छन् ? एउटै लोकेसनमा सक्ने तपाईंको बाध्यता थियो कि प्रयोग हो यो ?

प्रयोगभन्दा पनि यो मेरो बाध्यता थियो । अमेरिकामा फिल्म पढुन्जेल मैले निर्देशनभन्दा पनि प्रोड्युसिङ ज्यादा बुझेको थिएँ । नेपाल फर्केर फिल्म फिल्म गर्ने भनेपछि आफूसँग भएका ६÷७ स्क्रिृप्टमध्ये सुटिङका लागि सजिलो लागेर यो फिल्म गरेको हुँ । हामीसँग पैसा धेरै थिएन तर पनि फिल्म बनाउनु थियो । यस्तोमा ‘डाइङ क्यान्डल’ बाहेक अर्को विकल्प थिएन ।

नेपालमा आर्ट हाउस फिल्महरु व्यापारिक रुपमा लगभग असफल छन्, फिल्मबाट कस्तो अपेक्षा राख्नुभएको छ ?

ठिकैको अपेक्षा छ । मलाई भयंकर व्यापार गर्छ यसले भन्ने पनि लागेको छैन । यत्ति हो, लागेकै दिन नउत्रियोस् ।

 

प्रकाशित: २६ माघ २०७३ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App