coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

कांग्रेसको विदेश नीति

इतिहासले बडो बेगका साथ पाइला चालिरहेछ । यस्तो स्थितिमा हाम्रो चिन्तनले पनि त्यस्तै बेगका साथ इतिहास सँगसँगै पाइला चाल्नुपर्छ । नत्र भने हामी आफ्नै पुरानो मनोविज्ञानको बन्दी भएर इतिहासले त्यागेको सानो तत्व बन्न पुग्छौं । अहिले प्रजातन्त्रवादीलाई बडो ठूलो अवसर प्राप्त भएको छ । (बिपी कोइराला, इतिहासको हाँक अन्तर्वार्ताको अंश, ‘बिपी कोइरालाको आलेख, भाषण र अन्तर्वार्ता’ पृष्ठ १२८ बिपी कोइराला समिति, सुन्दरीजल)

हिन्दुस्तानको सुरक्षाको हितमा पनि हामी स्वतन्त्र र बलियो हुनु आवश्यक छ, खाली हामीलाई कमजोर बनाएर थिचेर हिन्दुस्तानको सुरक्षा हुँदैन । पाकिस्तानलाई कमजोर बनाएर र पाकिस्तानमा अरूले नियन्त्रण गर्न सक्ने कमजोरी बढाएर हिन्दुस्तानको सुरक्षा हुन सक्दैन । त्यो कुरा उनीहरूले बुझिरहेका छैनन् । पाकिस्तानलाई गाली नगरिकन इन्दिरा गान्धीले मुख उघार्दिनन् । एकपट्टि वार्ता भइरहेको जस्तो लाग्छ, तर कुनै पनि बेला कुनै पनि ठाउँमा उनी बोलिन् भने पाकिस्तानलाई गाली गरिरहेकी हुन्छिन् । (भारत र छिमेकीहरू, १९ पुस २०३९)

बीपी कोइरालाले यी भनाइ ३५–४० वर्षअघि बोलेका र लेखेका कुरा हुन् । तर यति लामो कालखण्डपछि पनि हिन्दुस्तानी नेताहरू ३५–४० वर्षअघि जसरी छिमेकीविरुद्ध बोल्थे, नेपाल र पाकिस्तान विषयमा बोल्नुपर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले पनि आफ्नो कुनै पनि भाषणमा पाकिस्तानविरुद्ध आगो ओकलिरहेका हुन्छन् । भारत आकारमा नेपालभन्दा २२ गुणा र जनसंख्यामा ४४ गुणा ठूलो छ । नेपाललाई पारबहनको सुविधा दिन र व्यापार गर्ने जस्ता नेपालको अन्तर्राष्ट्रिय नैसर्गिक अधिकारका विषयमा समेत भारतले नेपाललाई खुम्च्याउन र थिचोमिचो गर्न पटक–पटक नाकाबन्दीको अस्त्र प्रयोग गर्ने गर्छ । वि.सं. २०२७, वि.सं. २०४५ र वि.सं. २०७२ मा पनि भारतले अमानवीय नाकाबन्दी लगाएर नेपालको कमजोर अर्थतन्त्रलाई अझ कमजोर बनाएर दण्ड दियो ।

कांग्रेसका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र एमालेका तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वका सरकारले पछिल्लो नाकाबन्दीलाई बहादुरीका साथ प्रतिकार गरे । अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको माओ–कांग्रेस सरकारले पाँच नम्बर प्रदेशका पहाडी र तराई जिल्लालाई फुटाउने प्रयास नेपाल र नेपालीको हितमा छैन । दुई नम्बर प्रदेशलाई तराई नै तराई पार्ने काम पनि ठीक थिएन । त्यहाँ पनि पहाडी जिल्ला राख्नु जरूरी छ । भारतीय नागरिकलाई ठूलो संख्यामा नेपाल पठाएर केही वर्षभित्रै नेपालमा नेपालीलाई अल्पसंख्यक बनाउने र नेपालको अस्तित्व खतरामा पार्ने चेष्टामा भारत रहेको आमनेपालीको बुझाइ छ । अहिले नेपाली जनताको चेतना स्तर उच्च छ । २०७२ सालको नाकाबन्दीमा नेपालका जनताले ठूलो अभाव र घाटा बेहोरे । भारतले लगाएको नाकाबन्दीलाई हामीले गराएको भनेर प्रोक्सीरूपमा जिम्मा लिने तराईका नेता तराईमा निकै अलोकप्रिय भएका छन् । अहिले उनीहरू तराईलाई पहाडबाट छुटाउने बार्गेनिङ गर्दैछन् ।

अहिलेको ५ नम्बर प्रदेश टुक्र्याउनु भनेको त्यसको हप्ता दिनपछि मेची–कोशी र अर्को हप्तामा कैलाली–कञ्चनपुरसमेत पहाडबाट टुक्र्याउने अभियान चलाउन विदेशीको इसारामा चल्ने विखण्डतावादीहरू योजनाबद्धरूपमा लागिपर्ने निश्चित छ । महन्थ ठाकुरले पटकपटक तराईलाई नेपालबाट फुटाउने धम्की दिइरहेका छन् । सन् १९७७ मा नै भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सिक्किममा भारतको विलयपछि नेपालको तराईलाई टुक्र्याएर भारतमा मिलाउन भारतको ‘रअ’ लाई दिएको निर्देशनकै निरन्तरताका रूपमा नेपालको तराईलाई पहिला ‘एक मधेस एक प्रदेश’ र त्यसपछि नेपालबाट पुरै टुक्र्याउने नीति भारतको देखिन्छ । महन्थ ठाकुरहरूको तराई नेपालबाट अलग हुने चेतावनीलाई गम्भीररूपमा लिनु जरूरी छ । कांग्रेसनेता चन्द्र भण्डारी र एमाओवादी नेता टोपबहादुर रायमाझीको बाटो अनुशरण गर्न ती पार्टीका नेता तथा कार्यकर्ताले साहस गर्नुपर्छ । देशभन्दा पार्टी ठूलो होइन ।

नेपाली काँग्रेसका संस्थापकहरूले सो पार्टीको उद्देश्य तयार गर्दा राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मुख्य अजेन्डाका रूपमा स्वीकार गरेका थिए । कांग्रेसको स्थापना भएको ७० वर्षमा कांग्रेसपार्टी यी मूल अजेन्डामा टसमस भएन । कांग्रेसका अन्य नेता तथा कार्यकर्ताले यसका नेताहरूले लिएको नीतिविरुद्ध ठूलै दबाब दिनु जरुरी छ । देश नै टुक्र्याउन खोज्ने नेतृत्वलाई आवश्यक परे नेतृत्वबाट फ्याँक्न पनि पछि पर्नुहुन्न ।

अहिले माओ–कांग्रेससरकारका प्रधानमन्त्री पुष्पकमल र कांग्रेसपार्टीका सभापति शेरबहादुर देउवाले राष्ट्रियरूपमा आमजनताले अपेक्षा नगरेको ५ नम्बर क्षेत्र फुटाउने प्रस्ताव जनसमक्ष ल्याएका छन् । पहिला संघीयताको र त्यसपछि एक मधेस एक प्रदेशको नारा लगाउने तत्वहरू नै पहाड र तराईलाई एकै ठाउँमा बस्न नदिने प्रपञ्चमा लागेको प्रष्ट छ । सबैभन्दा अचम्मको र खतरनाक कुरा के देखिएको छ भने २०७२ असोजमा ९२ प्रतिशत सांसदले बनाएको संविधानलाई भारतले मान्यता नदिने भनेको थियो । तिनै तत्व नै अहिले आएर पाँच नम्बर प्रदेश टुक्र्याउने कुरालाई डुक्रीडुक्री किन समर्थन गर्दैछन् । भारतको विदेश मन्त्रालय र भारतीय राजदूतावासले एकैसाथ ५ नम्बर प्रदेश टुक्र्याउने कुरालाई जोडदार स्वागत गर्नुले नेपालको पहाडी भागलाई तराईसँग छुट्याउने अजेन्डा भारतको भएको र त्यसलाई दाहाल र देउवाले कठपुतलीका रूपमा समर्थन गर्नुलाई उनीहरूको क्रियाकलापलाई संशयपूर्णरूपमा हेर्नु स्वाभाविक नै हो । सरकारको गलत क्रियाकलाप सच्याउन एमालेलगायतका नौ पार्टीले गरेको विरोध राष्ट्रिय अजेन्डाका रूपमा आएको छ । त्यसलाई सबै पार्टीका देशभक्तले समेत आफ्नो पनि अजेन्डा बनाउनुपर्छ । सर्वोच्च अदालतको निर्णयको आशयले पनि सिमाना नचलाउन निर्देश दिएको प्रष्ट छ ।

यसभन्दा पहिले नै प्रधानमन्त्री भइसकेका दाहाल र तीन–तीन पटक प्रधानमन्त्री भइसकेका देउवा नेपाल नै टुक्रिए पनि टुक्रियोस् तर सत्ता र शक्तिमा जसरी पनि पुग्नुपर्छ भन्ने शैलीमा उत्रनुले उनीहरूमा भएको सत्तालालसा उजागर भएको छ ।

नेल्सन मन्डेलाले आफ्नो बायोग्राफी ‘लङ वाक टु फ्रिडम’ मा लेखेका छन्– जब गोराहरू अफ्रिकामा आए त्यतिखेर उनीहरूसँग बाइबल थियो, हामीसँग जमिन थियो । बिस्तारै हाम्रो जमिन उनीहरूसँग भयो, हामीसँग बाइबलमात्र रह्यो ।

वि.सं. २०६३ सालपछि कांग्रेस, एमाले र माओवादीका नेताहरूको अदूरदर्शिता र असीमित लोभले भनौँ २०६४ साल जेठ ४ गतेपछि ‘बाइबल धर्म’ (धर्मनिरपेक्षता)लाई खुला गरेर सनातन हिन्दु धर्ममाथि धावा बोलिएको छ । इसाई धर्म प्रचार गर्न पश्चिमा चर्चहरूका पैसा, निःशुल्क औषधि र निःशुल्क शिक्षा अनि एक थान बाइबल र एउटा फटिकको सेतो माला अनि रोजगारीको लोभ देखाएर हजारौं संख्यामा तलबी बाइबल बोकेका भोलेन्टियरहरू गाउँ–गाउँ र घरघर पुग्ने गर्दैछन् । आगामी केही दिनभित्रै काठमाडौंका अधिकांश घर बाइबलवादीका भए भने पनि अचम्म नमाने हुन्छ ।

महात्मा गान्धीले आफ्नो आत्मकथामा के लेखेका छन् भने ‘बेलायतमा विद्यार्थी छँदा उनलाई क्रिश्चियनहरूले इसाई धर्म लिन धेरै उक्साए । उनी क्रिश्चियन हुन यस कारणले सकेनन् कि उनकी आमाले बेलायत जानुअघि उनलाई के भनेकी थिइन् भने आफ्नो धर्म छाडेर अर्को धर्ममा जानु भनेको आमा साट्नुजस्तै हो । अहिले नेपालमा इसाई धर्म र इस्लाम धर्म लिनेको संख्या बढ्दो छ । नेपालका पूर्वराजाहरू महेन्द्र र वीरेन्द्र तथा प्रधानमन्त्रीहरू टंकप्रसाद आचार्य, बिपी कोइराला र कीर्तिनिधि बिष्टसमेतले नेपालको कूटनीतिक क्षेत्रलाई निकै बृहत् बनाए । महेन्द्र र टंकप्रसादका समयमा चीनसँग दौत्य सम्बन्ध भयो भने महेन्द्र र बिपीको समयमा पाकिस्तान र इजरायल जस्तो देशसँग पनि दौत्य सम्बन्ध भयो । २०१२ सालदेखि अत्यन्तै प्रगाढ मित्र राष्ट्र रहेको चीन अहिले नेपालको एक चीन नीतिप्रति शंका गर्दैछ ।

गणेशमान सिंहले बिपी प्रधानमन्त्री भएको समयमा ‘नेपालको कुनै पनि सरकारले वा नेताले पाकिस्तानसँग दौत्य सम्बन्ध राखेछ भने म त्यसलाई उठेर झुकेर नमस्कार गर्नेछु भनेका रहेछन् । महेन्द्र र बिपीको समयमा पाकिस्तानसँग दौत्य सम्बन्ध कायम भयो । बोलीका पक्का गणेशमानले सो घटनापछि बिपीलाई मैले उठेर झुकेर नमस्कार गरेँं भनेर उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले नेपालले अबउप्रान्त भारतअनुकूल परराष्ट्र नीति लागु गर्ने भनी २५ बुँदे लिखित प्रतिबद्धता जाहेर गरेपछि भारतले देउवालाई पनि परीक्षण गर्न चाहेको देखियो । त्यसपछि देउवालाई दलाइ लामाका प्रतिनिधिसँग एउटै मञ्चमा राखेर उनको तस्बिरसमेतको समाचार प्रचारप्रसार गराएको थियो । यो दिल्लीको नेपाललाई उपयोग गर्ने नीतिको परीक्षण थियो । त्यसैगरी मंगोलियाका विदेशमन्त्री सेन्द मुन्चअर्जिकलाई चीनको कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य र पार्टीका प्रचारप्रसार विभागका प्रमुख ल्यु कुइवाओ काठमाडौँ ओर्लिएकै दिन एउटै समय पारेर झिकाइए । यसमा उनलाई एउटै समयमा काठमाडौँ ओराल्ने र भुटान भ्रमण गराउने चाँजोपाँजो दिल्लीले मिलायो । अहिले आएर मंगोलियाले दलाइ लामाको मंगोलिया भ्रमण रद्द ग¥यो । 

राजा महेन्द्र, टंकप्रसाद, बिपी, राजा वीरेन्द्र, कीर्तिनिधि बिष्टसमेतका राजनेताले लागु गरेको असंलग्न परराष्ट्र नीतिमा खेलबाड गर्न आफूलाई बिपीको पार्टी दाबी गर्ने कांग्रेसलाई मिल्छ ? कांग्रेसका कार्यकर्ताको भनाइ के छ ? कांग्रेसपार्टीले आफ्नो पराराष्ट्र नीति बिपी, किसुनजी, गिरिजा, सुशील आदिले लिँदै आएको असंलगन परराष्ट्र नीति हो कि भुटान जस्तै भारतको संरक्षित देश भएर बस्ने विदेश नीति हो प्रस्ट पारोस् ।

नेपाली कांग्रेसका सभापति देउवा झुक्यानमा परेर गोवामा दलाइ लामाको मञ्चमा पुगेका हुन् कि प्रायोजित हो ठूलो राष्ट्रिय बहसको विषय भएको छ । यी सबै कुराको परिणामस्वरूप चीनका राष्ट्रपति नेपाल आएनन् भन्ने नेपालमा चर्चा छ । परराष्ट्रमन्त्री महतले भारतपरस्त नीतिको पक्षमा बोलेका छन् भने गृहमन्त्री निधिले दिल्लीमा भारतकै विचारको पक्षपोषण गरेर बोलेको देखियो । कांग्रेसको केन्द्रीय समितिले भने यस विषयमा आफ्नो प्रतिक्रिया दिएको छैन । अहिलेको दाहाल सरकार कांग्रेसकै बलबुतामा टिकेको सरकार हो । प्रोटोकलमा दाहाल प्रधानमन्त्री भए पनि देउवाको मन्त्रणाबाहिर दाहालले बोले भन्न मिल्दैन । अतः दाहालको दिल्लीमा भएको २५ बुँदेको कांग्रेसले पूर्ण स्वामित्व लिनुपर्छ ।

माओले बिपी कोइरालासँग सेयर गरेको माओको रूससँगको अनुभवलाई मन छुने गरी बिपीले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन्– ‘उसले आफ्नो राष्ट्रिय अनुभवको कुरा उल्लेख गर्दा घटना र मिति उल्लेख गरी के भन्यो भने (रूसलाई) त्यसभन्दा पहिलेसम्म ठूलो दाजु सम्झेर उसका अनुभवहरू बेसी छन्, लेनिन् र क्रान्तिहरू भनेर जहिले पनि हामीहरू रूसको कुराबाट निर्देशित हुन्थ्यौँ । त्यस घटनापछि हामीले के निश्चय ग¥यौँ भने अब हामी उनीहरूको कुरा मान्दैनौंँ । त्यसको केही वर्षभित्रै हामी सत्तामा पुग्यौँ । अर्काको लहैलहैमा काम गर्दा अर्कालाई फाइदा हुने काम बेसी हुँदोरहेछ । हाम्रो त्यो अनुभव हो । तिमीहरूले पनि आफूलाई राम्रो हुने काम गर्नुपर्छ, अर्काको निर्देशनमा जान हुँदैन (आत्मवृत्तान्त, पेज २५२, विश्वेश्वरप्रसाद कोइराला) ।

बिपी कोइरालाका उच्चतम तीन गुण थिए । उनी समयको पदचाप सजिलै थाहा पाएर पनि त्यस्तो परिस्थितिलाई आफ्नो दृष्टिले व्याख्या गर्थे । उनले नेपाली जनताको समथ्र्य राम्रोसँग चिनेका थिए । नेपाली जनता अविचलित धैर्य भएका र देशभक्त छन् भन्ने कुरोमा बिपी सदैव विश्वस्त थिए । आफ्ना विरोधीको क्षमता र शक्तिलाई उनी उच्चतम कदर गर्थे । आफ्नो समयमा कि त राजा महेन्द्रले राजनीति गरे वा आफूले राजनीति गरें भनेर बिपीले राजा महेन्द्रको राजनीतिक क्षमताको पनि उच्च मूल्यांकन गरेका छन् ।

आफ्नो जीवनको अन्त्यतिर आफ्नो अन्तिम सन्देशमा उनले भनेका छन्– ‘हामीहरू बडो अप्ठ्यारो परिस्थितिमा छौँ, हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र बडो अप्ठ्यारो परिस्थितिमा छ, जोगाउनुपरेको छ । ...मलाई नेपाली जनताले यदि श्रेय दिन खोज्छ भने यसकारणले नदेओस् कि मैले आफ्नो बुताबाट एक भ्रम सिर्जना गरेँ भनेर । मलाई श्रेय दिनु छ भने एउटै कुरामा देओस् कि मैले देशभित्र देशको सामथ्र्यलाई बुझेको रहेछु । ...ती विदेशीहरूले हत्याकाण्डको लहर यहाँ ल्याउँछन्, ल्याउँछन्, ल्याउँछन् तर हाम्रो देश रहन्छ, रहन्छ, रहन्छ र त्यसको यस मुलुकमा एउटा आधार छ । एउटा आधार हामीहरूभित्र तराईवासी हुन् वा नेवार हुन् वा पर्वते हुन्, एउटा कता–कता लुकेको राष्ट्रिय भावना छ । त्यसले गर्दा हामीहरू बाँचेका छौँ । (राजा, राष्ट्रियता र राजनीति)

समग्र राष्ट्रिय परिस्थिति हेर्दा अहिलेको नेपाली कांग्रेसको नेतृत्वले लिएको विदेश नीतिले नेपाल देशलाई र नेपाली कांग्रेसलाई कता लाँदैछ ? अहिले कांग्रेसले लिएको भारत र चीन नीति सही छ ? सिंगो कांग्रेसपार्टी र युवा जमातले गम्भीरताका साथ लिनु जरूरी छ ।  

प्रकाशित: २६ माघ २०७३ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App