coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

दुई वितरकबीच विवाद

काठमाडौं- फिल्म वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र संघले संघका सदस्य गोविन्द शाहीका फिल्म नेपालका कुनै पनि हलमा प्रदर्शन गर्न रोक लगाएको छ। संघको बिहीबार बसेको बैठकले शाहीले आफ्ना मान्छे प्रयोग गरी संघका अर्का सदस्य गोपालकाजी कायस्थमाथि आक्रमण प्रयास गरेको भन्दै फिल्म प्रदर्शनमा रोक लगाएको हो।

संघका महासचिव मधुसूदन प्रधानले विज्ञप्ति जारी गरी  अनुशासनहीन काम गरेको भन्दै शाहीका फिल्म प्रदर्शनमा रोक लगाएको जनाएका छन्। 'संघको औपचारिक बैठक सुरु हुनुभन्दा पहिला नै संघको कार्यालय हाताभित्र संघका सदस्य गोविन्द शाहीले हुल्याहा प्रवृत्तिका ८/१० जना व्यक्तिलाई अनधिकृत रूपमा प्रवेश गराई अर्का सदस्य गोपालकाजी कायस्थमाथि हातपात गरेको घटनामा संघको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा छ, 'छलफलमा बोलाइएका शाहीले अनुशासनहीनताको पराकाष्ठा प्रदर्शन गरेको हुनाले अर्को सूचना प्रकाशित नभएसम्म निजको विक्रीवितरणमा रहेका फिल्म नेपालभर प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ।'

गत पुस २८ गते रिलिज भएको फिल्म 'किङ' को आर्थिक विषयलाई लिएर शाही र कायस्थबीच मनमुटाव सुरु भएको थियो। त्यही विषयमा छलफल गन बिहीबार संघको कार्यालयमा बैठक राखिएको थियो।

'बैठक सुरु भएको थिएन, म कार्यालयबाहिर निस्किँदै गर्दा आँगनमा नयाँ अनुहार देखें। हाम्रो कार्यालयमा कार्यक्रम भइरहने भएकाले उनीहरू आएका होलान् भन्ने लाग्यो। उनीहरूले मलाई भित्र लगेर 'किङ' को विषयमा कुरा गरौं भन्दै अपशब्द बोले, अनि मेरो छातीमा समाते,' कायस्थले भने, 'मैले तुरुन्तै प्रहरीलाई फोन गरेपछि उनीहरु भागे।' उनले कमलपोखरी प्रहरी वृत्तमा ज्यानको सुरक्षाका लागि निवेदन दिएका छन्।

आफूलाई मान्छे खटाएर आक्रमण गर्ने प्रयास गरेको भन्दै उनले शाहीको काम 'गुन्डागर्दी' शैलीको रहेको बताए। 'हामी एउटै टेबुलमा बसेर सहमति गर्न सक्थ्यौं, तर उनले मान्छे प्रयोग गरे', कायस्थले भने।

प्रकाशित: २८ माघ २०७३ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App