coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

मिटरको उल्टो घुमाइ

विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले हालैमात्र २५० कर्मचारी सरुवा गर्नुभएछ। त्यसो त यो सरुवाविरुद्ध आन्दोलन चलाउने धम्की पनि आइरहेको छ। त्यसैले यो सरुवा फिर्ता हुन पनि के बेर। यदि यो सरुवा फिर्ता भयो भने देशमा लोडसेडिङ पनि फिर्ता हुन बेर लाग्दैन।

जम्मै कुरा उल्टै घुमेको घुम्यै छ। यस्तो स्थितिमा जाबो एउटा बत्तीको मिटर उल्टो घुमायो भनेर किन कर्मचारी सरुवा गर्नु? 

कर्मचारी सरुवा गर्दा उनीहरूमाथि एउटा आरोप पनि लागेको छ। त्यो के हो भने ठूलाबडाका घरमा गएर मिटर उल्टो घुमाएको। बत्ती बालेपछि मिटर तर सुल्टो घुम्नुपर्ने हो। तर प्राधिकरणमा केही त्यस्ता जादूगर कर्मचारी पनि रहेछन् जो मिटरलाई सुल्टो होइन उल्टो घुमाउने कला जान्दछन्। हातमा जादूको छडी छन् क्या रे उनीहरूसँग। त्यसैले घर घरमा गएर विद्युत्को मिटरै उल्टो घुमाइदिन्छन्। मिटर उल्टो घुमेपछि विद्युत्को शुल्क पनि बढ्नुको साटो घट्दै जाने रहेछ। वास्तवमा ती कर्मचारीले यसो गरी जनताको त सेवा नै गरेका हुन्। यसो गर्दा देशमा विजुलीको मूल्य वृद्धि भएको आभास त जनतालाई हुने थिएन नि। तर कुलमानले ती सेवक कर्मचारी जम्मैलाई सरुवा गरिदिए। वास्तवमा त्यही भएर पनि कर्मचारी युनियन आन्दोलनमा उत्रन लागेको हुनुपर्छ। जनताको सेवा गर्ने भनेर प्राधिकरण खोल्ने। अनि जनताको सेवा गर्ने कर्मचारीलाई चाहिँ सरुवा गर्ने? सेवा गर्ने कर्मचारी नै सरुवामा परेपछि सेवा कसले गर्छ?

फेरि देशमा उल्टो घुमेको विद्युत्को मिटरमात्र होइन। उल्टो त धेरै कुरा घुमिरहेको छ। यसो एक पटक नजर घुमाएर हेर्नोस्। नजरचाहिँ सुल्टो घुमाउनूस् नि फेरि। धेरै कुरा उल्टो घुमिरहेको देख्नुहुनेछ। सबैभन्दा पहिले त हेर्नोस्, देशको राजनीति नै उल्टो घुमिरहेको छ। राजनीतिक घटनाक्रमहरू जम्मै उल्टो घुमिरहेका छन्। छ महिनाअघिसम्म देशमा खड्गप्रसाद ओली प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँपछि सुभाष नेम्वाङ प्रधानमन्त्री हुनुपर्ने थियो। नेम्वाङ नभए नारायणकाजी श्रेष्ठ हुनुपर्थ्यो अथवा प्रकाशमान सिंह हुनुपर्थ्यो। तर भइदियो पुष्पकमल दाहाल। पुरानै प्रधानमन्त्री। राजनीति उल्टो घुम्यो कि घुमेन? अब त्योभन्दा पनि अझै उल्टो घुमेर झनै पुरानो प्रधानमन्त्री शेरबहादुर देउवाको पालो आउँदैछ रे! यदि राजनीतिको यो उल्टो घुमाइलाई टाइममै रोक्न सकिएन भने त पशुपतिशमशेर अथवा कमल थापै प्रधानमन्त्री बन्न पनि के बेर?

संविधान हेर्नोस्, त्यो पनि उल्टै घुमिरहेको छ। संविधानसभाले बनाएको संविधान हो, तर पहिलो संविधानसभाले बनाएको संविधानलाई दोस्रो संविधानसभाले यति धेरै चलखेल गरिदियो कि त्यो पनि उल्टो घुमेर अन्तरिम संविधान जस्तो बन्न पुग्यो। अधिकारै पुग्दैन। ठीक यति नै बेला केही विद्वान्हरू 'अबचाहिँ २०४६ साल कै संविधान लागु गर्नुपर्छ' भन्न थालेका छन्। २०६३ सालबाट अघि बढेर २०८३ सालमा पुग्नुपर्ने ठाउँमा त्यो भन्दा नि उल्टो घुमेर २०४६ मा जाने कुरा आइरहेको छ। केही गरी संविधान  उल्टो घुमेर २०४६ सालमा पुग्यो भने त्यो त्यहाँभन्दा पनि अझ पछाडि दौडेर ०१७ सालमै पुग्न पनि के बेर! त्यसरी उल्टो गएको संविधानलाई रोक्ने कसले?

संविधानमात्र होइन, म त यतिबेला हाम्रो पूरा इतिहासै पनि उल्टो घुमिरहेको देख्दैछु। २०४६ भन्दा अघिको कुरा हो। राजदरवार जान होस् वा सिंहदरवार जान होस्, जिउलाई पूरा दौरा सुरुवालले नै छोपेर जानुपर्थ्यो। ०४६ पछि त्यो प्रथा टुट्यो। आफ्नो जिउ हो, जेले छोपेर गए पनि हुने हुन थाल्यो। नेताहरू आफ्नो जिउलाई जेले मन लाग्छ त्यसैले छोपेर सिंहदरवार जाने गर्थे। कोही बख्खुले, कोही धोतीले त कोही पाइन्टले छोप्थे। बर्मन बुढा नामका एक औतारी सांसद थिए। उनी त कछाडले छोपेर आउँथे। तर अहिले इतिहासको मिटर पनि विस्तारै उल्टो घुम्न थालेको छ। जिउ छोप्ने यी जम्मै वस्त्रहरू जम्मै फेरि त्यही दौरा सुरुवालतिरै गइरहेको देखिन्छ। अब त विदेश जाँदा दौरा सुरुवाल किन लगाएको भन्ने प्रश्न पनि सोध्ने गरेको पाइन्छ। वस्त्रको मामिलालाई धेरै उल्टो पनि घुमाउनु हुँदैन। ढुंगे युगतिरै पुगियो भने त फेरि बाटोमा हिँड्नै पनि मुस्किल पर्ला!  

अस्ति राजधानीमै एउटा कार्यक्रम चलिरहेको थियो। राष्ट्रकवि माधव घिमिरे तथा राष्ट्रनेता खड्ग ओलीको गरिमामयी उपस्थितिसहितको कार्यक्रम थियो। एकजना वक्ताले आफ्नो बोल्ने क्रममा भन्नुभयो– राष्ट्रवादी नेता खड्ग ओलीले राष्ट्रवादी अडान लिनुभएको साह्रै राम्रो छ। मलाई त उहाँ राष्ट्रवादी नेता श्री ओलीज्यूलाई चन्द्रशमशेरसँग तुलना गरेर हेर्न मन लाग्छ!

लौ हेर्नोस्, भयो अब? इतिहास त उल्टो उल्टो घुमेर अब चन्द्र शमशेरतिर पो पुग्न खोज्दैछ। कमसेकम तुलना गर्दा त त्यति टाढा नजानुपर्ने थियो। राष्ट्रवादी नेताकै तुलना गर्ने हो भने अलि नजिकैमात्र गए पनि हुन्थ्यो। जस्तो कि श्री मरीचमान श्रेष्ठ नै थिए, श्री कमल थापा नै छन्, अथवा केशरबहादुर बिष्ट नै छन्। किन चन्द्रशमशेरसम्मै पुग्नुपर्‍यो? यसबाट थाहा हुन्छ, हाम्रो इतिहासको मिटर अरुभन्दा अलि बेस्कनै उल्टो घुमिसकेको रहेछ।

स्थिति यस्तो छ। जम्मै कुरा उल्टै घुमेको घुम्यै छ। यस्तो स्थितिमा जाबो एउटा बत्तीको मिटर उल्टो घुमायो भनेर किन कर्मचारी सरुवा गर्नु? 

प्रकाशित: २८ माघ २०७३ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App