७ वैशाख २०८१ शुक्रबार
अन्य

असफल स्कुलः एक 'रिमाइन्डर'

दुर्गा कार्की

दसैँमा घर जानुअघि नै 'असफल स्कुल' किताब तात्तातै हात परेको थियो। दसैँ नसकुञ्जेल फुर्सद पाइएन। जस्तो लगेको उस्तै लिएर राजधानी फर्कें। काठमाडौँ फिरेपछि पनि काममै व्यस्त भइयो। अब त भएन भनेर समय निकालेरै किताब थालेकी के थिएँ, कहिले भ्याइएलाको हुटहुटी हुन थाल्यो। मलाई यस्तो दुई कारणले हुन्छ। पहिलो, किताब मन नपरेर, किनकि कतै झुक्किएर वा जानीजानी लेखकले अन्त्यतिर रमाइलो केही राखेका छन् कि भन्ने आश लागिरहने मेरो अचम्मको बानी छ। र दोस्रो, किताब साह्रै राम्रो लागेर, कहिले पढिभ्याऊँ (अनि त्यसका बारेमा लेख्न बसूँ)भनेर।

एकै शब्दमा भन्नुपर्दा असफल स्कुल एक 'रिमाइन्डर' हो। अझ बुझ्ने भाषामा 'अलार्म' घन्टी हो। हरेक नयाँ दिनको सुरुवात गर्न यसले तपार्इंलाई जगाउनेछ, ब्यूँझाउनेछ। 'भो अब त' भनेर उठ्ने वा अलार्म बन्द गरेर गोडा खुम्च्याएर सिरकभित्र घुसि्रने तपार्इंको रोजाइ। बस्, धत्तेरी! झलमल्लै भइसकेछ भनेर पछि पछुताउन पाउनु हुन्न।

तर, असफल स्कुल पढी भ्याएपछि लेख्न बसिनँ। सोच्नचाहिँ बसेँ। अहिलेसम्म पनि सोचाइको सिलसिला सकिएको छैन। पढ्न बस्दा हातमा पेन्सिल लिएर बस्छु म, मन परेका लाइनमा धर्को तान्नलाई। असफल स्कुल पढ्दा लाइन तानेर भ्याइनँ, मझौला कोष्ठले अनुच्छेद बारेर राख्नुपर्‍यो। किताब पढिसकेपछि खर्रर पल्टाउँदा अधिकांश पानामा, त्यो पनि दुवैतिर पेन्सिलले कोतरेको देखेर आफै अचम्ममा परेँ। १० कक्षामा मोडर्न ग्रेडेड साइन्सपछि पढ्दा यति धेरै कोतरेको किताब अरु सम्झना छैन।

जोन हल्ट नामको कुनै शिक्षाविद्ले उतिबेलाको अमेरिकी शिक्षा प्रणालीदेखि चित खाएर आजभन्दा ५० वर्षअघि लेखेको किताब न कुनै बेजोड साहित्य हो न त कुनै सनसनीपूर्ण आत्मकथा। तर, किताब पढ्ने हरेकले आफूलाई जहीँतहीँ भेट्छ।आफूले ओकल्न नसकेका आफ्नै जीवनका घटनाहरू कसैले लेखिदिएजस्तो लाग्छ। असफल स्कुल पढ्दा म कुनैबेला आवाजै निकालेर हाँसेकी छु, कुनैबेला हातले मुख छोपेर लामो सास फेरेकी छु अनि कुनैबेला पढ्दापढ्दैको किताब छोडेर क्वारक्वारती भित्ता हेरेर टोलाएकी छु। र, अहिले यो लेख लेख्न बस्दा मलाई ठ्याक्कै के लेख्ने भनेर समेत आएको छैन, मेरो दिमागमा हजार कुरा खेलिरहेका छन्।

उफ्! मलाई आफैलाई बेस्सरी गाली गर्न मन छ।

भाइ छ मेरो। कक्षा ९ मा पढ्छ। ऊ ६ कक्षामा पढ्दादेखि म एक्लैले उसको अभिभावकको भूमिका सम्हालेकी हुँ। जिल्लामा मै पढेको नामी बोर्डिङमा पढ्थ्यो। उसलाई फोरलाइन कापीमा 'एबीसीडी' लेख्न म आफैले सिकाएकी हुँ। मिसहरूले 'तिम्रो भाइको अक्षर त कति राम्रो' भनिदिँदा नाक फुलेर हेर्नलायक हुन्थ्यो मेरो। अलि उपद्रो र एकसुरे थियो। केटाकेटी न पर्‍यो, म झन् केटाकेटी, आफूले भनेकै हुनुपर्ने। भनेको बेलामा भात खान नआएको, ममीसँग काममा जान पछ्याएको जस्ता निहुँमा पिँढीको थाममा बाँधेर सिस्नुपानी त कतिचोटि लगाएँ आफैलाई सम्झना छैन। बीचमा ग्याप भयो। वर्षको एकचोटि दसैँमा घर जाँदा ढोकाबाट लुसुक्क निस्केर मुसुक्क हाँस्दै नमस्ते गर्थ्यो। भोलिपल्टैदेखि उसको नमस्तेको साइनो सकिन्थ्यो। दुई–चार दिन बस्दा के लौरो लाउनु भनेर छोडिदिन्थेँ। अति भएपछि साथीसंगत गतिलो भएन भनेर बा–आमालाई उक्साएर आफूसितै राजधानी लिएर आएँ।

उतिबेलै म्याथमा बल्लबल्ल झुण्डेर पास हुन्थ्यो। यता आएपछि पनि झुण्डिरह्यो। उहिलेउहिले जाँचको अघिल्लो दिन नआएका दुई–चार कुरा सोध्थ्यो। प्लस–माइनसमै झुक्किदिएपछि आफ्नो पारो तातिहाल्थ्यो। 'यति पनि आउँदैन ६/७/८ कक्षामा पढेर?' भनेर हात सकसकाइहाल्थे। मैले 'प्रोफिट एन्ड लस'को 'कन्सेप्ट' बुझाएर भ्याउँदा उसको अनुहार आँसु, सिँगान र र्‍यालले सरोबरी पोतिएको हुन्थ्यो। ऊ हिक्कहिक्क गरिरहँदा दिक्दारीले मेरा आँखा पनि चुहिन थालिसकेका हुन्थे। विचरा! त्यसरी उसलाई कति प्रोफिट कति लस भयो होला?

पढ्नुपर्छ भन्ने कुरा आफ्नै मनबाट नआएसम्म मान्छेले पढ्दैन। म भने उसलाई किन पढ्नुपर्छ भन्नेभन्दा पनि पढ्नुपर्छ भन्ने बुझाउनतर्फ लागे। अहिले लाग्छ, सायद मैले किन पढ्नुपर्छ भन्ने बुझाउन खोजेको भए पनि उसले बु‰थ्यो होला र? ६/७ कक्षा पढ्दै गरेको एउटा बच्चोको दिमागमा भविष्यमा कमाइने नाम र दामले कति प्रतिशत ठाउँ ओगटेको हुँदो हो?

पहिलेपहिले आफूलाई राम्रा लागेका कारण उसले पढ्नुपर्छजस्तो लागेका पुस्तक गाली गरीगरीकन पढ्न लगाउँथेँ। नेपाली पुस्तकहरू पढ्न टाठिए पनि अंग्रेजी पुस्तकमा उति रूचि देखाएन उसले। भाषा राम्रो हुन्छ भन्दै अर्थ नजानेका अप्ठ्यारा शब्दहरू कापीमा टिप्न लगाइलगाइ उसलाई किताब पढ्न लगाइरहेँ। त्यतिले पुगेन भनेर हरेक किताब पढेपछि २/३ पेजको रिभ्यु पनि लेख्न लगाउँथेँ। एकपटक होइन, पटकपटक। आज सोच्दैछु, मेरा कर र डरले लेखेका रिभ्युबाट उसले 'क्रिटिकल अनालाइसिस्'को कन्सेप्ट कति बु‰यो होला?

मेरो स्कुलले मलाई एक्स्ट्राअर्डिनरी, होलफर्स्टको मेडल र ट्रफीको लागि पढ्न सिकायो। ती मेडलहरूले मलाई सम्मान दिए, स्कुलभित्र र बाहिर प्रख्याति दिए। आफूले नामसम्म नसुनेका भाइबहिनीको अझै पनि फ्रेन्ड रिक्वेस्ट आइरहन्छ फेसबुकमा। अहिले सोच्दा लाग्छ, मैले उतिबेला जेजति पढेँ, पढ्नुपर्छ भनेरै पढेँ तर जेका लागि पढ्नुपर्छ भनेर पढेँ, के ती सही थिए?

'धेरै पढ्नू। ठूलो मान्छे बन्नू। देश दुनिँयालाई टप्नू। फलानाकी छोरी यस्ती भई अरे भनेर भन्नसुन्न पाइयोस् बा!'

दसैँमा टीका लाइदिँदा गाउँका मान्नेगुन्नेले भन्थे। पढियो भने देश दुनिँया टपिन्छ, ठूलो मान्छे भइन्छ भन्ने छाप सायद उतिबेलादेखि नै पर्‍यो। ठूलो मान्छे भनेको के भनेर न किताबले सिकायो न स्कुलले। काठमाडौँ फिरेपछि जब देश दुनिँया अलिकति बुझेँ, टप्नुमात्र सबैथोक होइन रहेछ कि त भन्ने सोच त पलायो, तर आत्मसात गर्न अझै सकिनँ। अनि 'यो माइनस वान इक्वेल्स टुको खोला तरेर पारी जाँदा प्लस वान हुन्छ के गोरु!' भनेर भाइलाई कुटिरहेँ!

आफै पनि ९ सम्म शिक्षकहरूको स्याबासीका लागि पढियो। १० कक्षा बुवा, मामाहरू, स्कुलका हेडसरको इज्जतको लागि पढियो। ११/१२ चाहिँ १० को रिजल्टले कमाएको आफ्नै इज्जत धानिराख्न पढियो। ब्याचलर आइपुगेपछि एग्रिगेट पर्सेन्टेज र सीभीका लागि पढ्दैछु। राम्रो पेसा र पैसाको लागि पढ्दैछु। आफ्ना लागि पढ्ने कहिले? जोन हल्ट बरोबर सोधिरहेछन्।

स्कुल पढ्दा एकथरी साथीहरू थिए, जो सर–मिसले जति कराए पनि पढ्दैनथे, होमवर्क गदैनथे। (अहिले कलेजमै पनि त्यस्ता साथी टन्नै छन्।) बरु गिट्टिमाथि नांगा घुँडाले निस्पि्कक्री घस्रेर हिँड्थे, पाइपका सुम्ला सहन्थे। उनीहरूदेखि मायाभन्दा बढ्ता दया लाग्थ्यो। यति पढ्न नि कति गाह्रो भएको होलाजस्तो लाग्थ्यो। असफल स्कुल पढेपछि बल्ल उत्तर थाहा भो। स्तब्ध भएकी छु।

मेरो गाली र थप्पड खाने डरले भाइले अलि पछि त आक्कलझुक्कल सोध्न पनि छोडिदियो। परीक्षापछि सर–मिसले फिर्ता गरेका पेपरहरू कहिल्यै देखाएन, न त मैले नसोधुन्जेल नम्बर नै भन्यो। कोठा सफा गर्दा पो खाट वा दराजका अन्तरकुन्तरतिर कहिल्यै नभेटियोस् भनेजसरी कोचिएका उसका उत्तरपुस्तिका कुचुमुच्च अवस्थामा फेला पर्थे। मैले ती पनि छाडिनँ। उसको नम्बर, 'गिद्धले छेरेजस्ता अक्षर' र उत्तरको स्तर औँल्याएर उसको खिसीटिउरी गरिरहेँ। 'तैँले जिन्दगीमा केही गरेर खाने भइनस्' भनेर उसको अपमान गरिरहेँ। आज आफ्नै बुझाइको स्तरदेखि आफैलाई लाज लागिरहेछ, अपराधबोध भइरहेछ।

असफल स्कुल पढेपछि लाग्यो, म आजका स्कुल, शिक्षक र अभिभावकको प्रतिनिधि हुँ। मेरो भाइ आजको शिक्षा प्रणालीबाट पीडित व्यक्ति हो। हिजो म पनि मेरो भाइजस्तै पीडित थिएँ। समयसँगै सिस्टमले भिराइदिएका कुण्ठा, महŒवाकंाक्षा र अहम् पोको पारेर नजाने कोसँग बदला लिन म आज आफै सिस्टम बन्न पुगेकी रहिछु। हिजोको पीडित आज पीडक भएकी रहेछु। यही अवस्था रहिरहे भोलि मेरो भाइ पनि मजस्तै बन्नेछ। मैले हिर्काएको सम्झीसम्झी उसका नानीहरूलाई कुट्नेछ। कदाचित सफल भइहाले 'मलाई दिदीले कुटिकुटीकन पढाएर म यस्तो भएँ, तिमीहरूलाई पनि उसै गर्नुपर्छ' भन्नेछ, भएन भने 'म आफू नपढेर यस्तो भएँ, तिमीहरूले त पढ्नुपर्छ' भनीभनी कुट्नेछ। र, यो सिलसिला चलिरहनेछ।

कहिलेसम्म? थाहा छैन। मलाई पनि। कसैलाई पनि।

भाइलाई मान्छे बनाउँछु भनेर हिँडेकी मान्छे म। मेरा नजरमा मान्छे बन्नु भनेको धेरै पढ्नु, सफल बन्नु थियो। असफल स्कुलले नराम्ररी झस्काइदियो। पढ्नु, जान्नु, बु‰नु र सिक्नुका भेद खुट्याइदियो। वास्तविक सिकाइ के रहेछ भन्ने आँखा खुलेपछि भाइको स्कुलको मार्कसिटबाहेकको दुनियाँ मूल्यांकन गर्ने चेत आयो।

बाटो हिँड्दा हामीले सामान किन्ने गरेको पसलकी आन्टीले एकपटक भनेकी थिइन्, 'तपाईंको भाइ त कस्तो ज्ञानी! यो बाटो हिँड्दा जहिल्यै खाना खानुभो आन्टी भनेर बोलाउँछ।'

मैले नभ्याएर भाइले फोन उठाएका बेला ऊसित कुरा गरेका साथीहरू भन्थे, 'तेरो भाइ हो त्यो फोन उठाउने? कति मीठो हो बोली!'

मेरो परीक्षा वा कामको माच्चो परेको बेला ऊ भन्छ, 'ल दिदी, तपाईं राम्रोसित पढ्नू, म सब काम गर्दिन्छु।' अनि प्याज डढाएरै सही, बेसार हाल्न बिर्सेरै सही, उसैले खाना बनाउँछ। आफै भान्छे भए पनि बरु यो पुगेन र ऊ पुगेन भनेर खानेबेला मै गनगन गर्छु, तर उसले आजसम्म मीठो भएन भनेर कहिल्यै गुनासो गरेको छैन। आज मलाई थकाइ वा अल्छी लागेको छ बाबु भनेँ भने मैले दाहोर्‍याएर मा‰नै परे पनि नलजाई–नधकाई भाँडा मा‰छ। अचेल त पाहुना भएर गएको ठाउँमा समेत आफ्नो थाल आफै मा‰न थालेको छ। कोठा सफा गर्छ, लुगा धुन्छ, धोइदिन्छ। आफूले नम्बर अचेटेर चलाउनुपर्ने मोबाइल लिँदा पनि बाटोमा भेट्टाएको एन्ड्रोइड फोन मोबाइल मालिकलाई नै बुझाएर आउँछ। कहिलेकाहीँ दिदी–भाइ देशको भद्रगोल स्थितिबारे समाचार सुनिरहँदा यस्तो किन भएको होला है, भनेर चासो, दुखेसो पनि जनाउँछ। मन खुसी भएका बेला गफ गरिरहँदा भोलिपर्सि के बन्छस् बाबु भनेर सोधिहालेँ भने प्रधानमन्त्री बन्छुसम्म भन्छ। के यी उपलब्धि हैनन्? जसरी सानोमा उसका शिक्षकहरूले उसका अक्षरको बखान गर्दा म खुसीले गमक्क फुल्थेँ, यी कुराले मलाई त्यति खुसी दिन किन सक्दैनन्? आखिर शिक्षा हो त केका लागि? सहयोगी, इमानदार, दयालु, आत्मनिर्भर अनि समझदार मान्छे जन्माउन होइन? प्रोब्याबिलिटीको हिसाब मिलाउन सकेन भन्दैमा मैले उसलाई निकम्मा सम्झन मिल्छ?

हुन त ऊ अस्ति भर्खरै भएको दोस्रो त्रैमासिक परीक्षामा पनि ऐच्छिक गणितमा फेल भयो। ऐच्छिक गणित मैले पढ् भनेर पढेको पनि हैन। अचेल स्कुलले बिहान छ बजेदेखि ट्युसन पढाउँछ। मभन्दा पहिले उठेर ऊ पढ्न जान्छ। गाह्रो भयो, नपढ् न त भन्दा पनि बिहान छिटो उठिन्छ भनेर आफै मान्दैन। उसका दौँतरीहरू गाउँमा गाँजा खाएर र तरुनी जिस्काएर हिँडिरहँदा ऊ कमसेकम अग्रसरता देखाउँदैछ, प्रयास गर्दैछ। के त्यो चानचुन हो र?

असफल स्कुल शिक्षा क्षेत्रको तीतो यथार्थ बोकेको एउटा यस्तो अमर दस्तावेज हो जसमा परिवर्तनको चर्को आह्वान छ। आजको विश्व जति 'वन्डर' आविष्कार र सुविधाहरूले भरिएको छ, शंका छैन, उति नै समस्याहरूले पनि घेरिएको छ। हाम्रा गाउँघरमा व्याप्त बालविवाहदेखि ग्लोबल वार्मिङसम्म, लागुऔषध दुरूपयोगदेखि अवैध युरानियम संकलनसम्म, हामी हरेक समस्या समाधान गर्ने एकमात्र उपाय शिक्षालाई भन्छौँ, किनकि हाम्रो विश्वास छ– शिक्षाले चेतनाको दियो जलाउँछ। तर, आजका हाम्रा स्कुल–कलेजहरूले प्रतिस्पर्धाको राजनीति पछ्याउने क्रममा शिक्षा, पढाइ र 'स्टडी'को छुट्टाछुट्टै अर्थ निकालिदिएका छन्। अनुशासनको नाममा बालबालिकालाई जेलका कैदीजस्तो व्यवहार गरिनु, प्रतिशत, ग्रेड र पुरस्कारका आधारमा उनीहरूको वर्गीकरण गरिनु र प्रतिभा चिनाउने मौका पाएका अलिअलि बालबालिकालाई पनि स्कुल–कलेजको विज्ञापन बनाएर बिक्री गरिनुको एउटा मुख्य कारण(थुप्रै अरुमध्ये) शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरण हो, जुन हल्टले पहिल्याएको उतिबेलाको अमेरिकाको समस्याभन्दा फरक छ। निजी स्कुलहरूबीचको अस्वस्थ प्रतिस्पर्धा र सरकारी स्कुलले लत्तो छोडिदिँदा सबैभन्दा बढी मारमा हाम्रा बालबालिका परिरहेका छन्। अपराधशास्त्रमा समेत सजायँका सिद्धान्तमा सुधारात्मक र उपचारात्मक दृष्टिकोण आइसक्दा हामी भने मोटो बिटो तिरेर बालबालिकालाई खुलेआम जेल पठाइरहेका छौँ र त्योभन्दा भयंकर कुरा त हामी त्यसैमा आनन्द मानिरहेका छौँ! अफसोस्, उतिबेलाको अमेरिकासँग आफ्नो देशको आजको स्थिति मिल्दोजुल्दो देखेरभन्दा पनि बढी यसमा पो हुँदोरहेछ।

असफल स्कुललाई मूल्यांकन, विश्लेषण वा समीक्षा गर्न मसित शब्द छैनन्। सायद एक हिसाबले गर्न पनि चाहन्नँ। यो लेखको उद्देश्यभित्र पनि पर्दैन त्यो खासमा। हल्टले भनेका सबै कुरा आजको परिवेशमा पूर्णतः सही नहोलान् वा तीनलाई पूर्ण रूपमा कार्यान्वयन गराउन नसकिएला, तर जोकोहिले एकचोटि हल्ट पढ्न जरुरी छ। एकपटक हरेक नेपालीका मनमा मेरो मनमा जस्तै कोकोहोलो र अशान्ति मच्चिन आवश्यक छ। शिक्षा केका लागि भन्ने प्रश्नले घरिघरी घोच्न आवश्यक छ। अझ विशेष गरी ती मनले, जसलाई विश्वविद्यालयको दीक्षान्त समारोहमा उपस्थित लगभग १० हजार विद्यार्थीमध्ये शताब्दिपुरुष सत्यमोहन जोशीका कुरा मुस्किलले ५ सयले मात्र सुने भन्ने समाचारले पिरोल्छ। ती आत्माले, जसलाई सार्वजनिक बिदाको दिन चलाइएको सरकारी गाडी जलाउने युवा जमातको भविष्यको चिन्ताले पोल्छ। ती मनहरूले, जोसँग यो बदल्न सक्ने आँट, ताकत र ल्याकत छ।

एकै शब्दमा भन्नुपर्दा असफल स्कुल एक 'रिमाइन्डर' हो। अझ बु‰ने भाषामा 'अलार्म' घन्टी हो। हरेक नयाँ दिनको सुरुवात गर्न यसले तपार्इंलाई जगाउनेछ, ब्यूँझाउनेछ। 'भो अब त' भनेर उठ्ने वा अलार्म बन्द गरेर गोडा खुम्च्याएर सिरकभित्र घुसि्रने तपार्इंको रोजाइ। बस्, धत्तेरी! झलमल्लै भइसकेछ भनेर पछि पछुताउन पाउनु हुन्न।

प्रकाशित: २९ माघ २०७३ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App