रिपोर्ताज

सुन्दर साहित्य समारोह

शनिबार, २९ माघ २०७३, ११ : ५० नागरिक

रामेश

निकै चहलपहल छ। महोत्सवको आकर्षणमा युवाको ठूलो उपस्थिति छ। मैले सादर दुई हात जोडेर अभिवादन गरेँ वात्स्यायनलाई– तीनतोला सुन र एक कट्ठा जमिनमात्र रहेछ प्रचण्डको सम्पत्ति। कुरा गर्दै हिँडेका दुई भाइमध्ये एकले भने– 'दुई कट्ठा भएकाले पो हामीले यति दुःख पाएका रहेछौँ। प्रधानमन्त्रीको जस्तै हाम्रो पनि एक कट्ठा जमिनमात्र हुँदो हो त सुखस्वादले बाँच्न प्रसस्तै हुनेरहेछ।' पछाडि बसेर तिनका कुरो निकै स्वादले सुन्दोछ एउटा कौडे काग। कार्टुनिस्ट, लेखक, कवि, कलाकारले हाम्रा मनका कुरा लेखिदिन्छन् कि, चित्तमा गढेका बोली बोल्दिन्छन् कि,  जनता यस्तो आशा गर्छन्। चिसो स्याँठको पर्वाह नगरी धेरै स्रोता आएका थिए समारोहस्थलमा। अझ नाम चलेका, जनतामा आफ्नो बलियो परिचय दिन सफल लेखक, कवि र अन्य विधाका विशिष्ट व्यक्तित्व आउने भनेपछि त झन् के चाहियो र ...!

राजनीतिलाई भाला हान्ने गजल पनि सुनियो अनि प्रेममा भलाद्मीपाराले अश्लील कुरा गरेको पनि सुनियो। कोठा र चौर दुवैतिर एकैपल्ट सेसन सन्चालन हुनेहुँदा मन लाग्दालाग्दै पनि दुवैतिर भ्याउन सकिएन। हरेक सेसनमा रहँदा कक्षाकोठाभित्र बसेर महत्वपूर्ण शिक्षा, ज्ञान बटुलिरहने विद्यार्थीजस्तो लाग्यो आफूलाई। विविध विषयमा जीवनको सारसंग्रह गरेजस्तो अनुभव हुन्थ्यो।

जम्मुकाश्मिरतिरबाट आएको पश्चिमी बादलले हिमाली चुचुरातिर  थुप्रै हिउँ झारेछ। फेवातालतिर पनि चिसो स्याँठसँगै सिमसिमे पानी बर्साएर मन्चै लपक्क भिजायो। प्रमुख अतिथिले सिमसिमे पानी सहँदै पानसमा बत्ती बाले। मन्चमा आसिन वक्ताहरूले पनि  बिनाछतरी पानीको हल्का वर्षा खपिरहे। हामी दर्शकस्रोताहरूचाहिँ पालबाट झोल्लिएर झर्ने पानी छल्दै, कवि शिरोमणि लेखनाथ पौड्यालका कविता एकचित्तले श्रवण गरिरह्यौँ। आफू पार्टीको उपकुलपति नभई स्वतन्त्ररूपमा त्रिभुवन विश्वविद्यालयको उत्थान गर्न गएको केदारभक्त माथेमाले बताउनुभयो। तर, राजनीतिक पार्टीहरूका भागबण्डाका कारण त्रिविमात्र होइन देशै  बर्बादीकरणतिर गएको घोषणा सुन्दा उहाँ हृदयदेखि नै साँचो बोल्ने, देशको भलो चाहने असल व्यक्ति लाग्यो। अन्तर्राष्ट्रिय हवाइमैदान बनेपछि पोखरा कुन अवस्थामा पुग्ला? खुलामन्चमा मजाले बिचार आदानप्रदान चल्यो। पोखरामा सुयोग्य अनुभवी व्यक्तित्वहरूको कमी रहेनछ। यस्तो लाग्थ्यो यी  भरलाग्दा मान्छेहरू मिलेर पोखरालाई झनै  चहकिलो पारेरै छाड्नेछन्, तर सरकार बैरी भएर निस्केन भने...! वार्तामा सहभागी रविन्द्र अधिकारीको परिचय पोखरामा आत्मीय थियो। समारोहमा दिएको साथ र सहयोग सम्झँदै युवा आयोजकहरूले उनको आत्मीय परिचय दिए।

सिके लालका लेखहरू पढेर चिढिएका धेरै पाठक उनीप्रतिको  आफ्नो अघिल्लो धारणा बदलिएको कुरा गर्छन्। तर, मलाई भलाद्मी विद्वान् लागे उनी। वजनदार स्वरमा राम्रो प्रस्तुति! कति गहन अध्ययन! तर्क पनि उपयुक्त दिने! उनीसँग आफू बेस्सरी प्रभावित भएको कुरा साथीहरूसँग गर्दा उनीहरूले भने– 'कौरवपट्टि लागेका गुरु द्रोणाचार्य पनि कम विद्वान् थिएनन्।' अर्का वक्ता चैतन्य मिश्रमा भएका भरपूर विद्वत्ता हामी सारा देशवासीका लागि हो। हामीमा भएको अज्ञानता उनीमा रहेको ज्ञानबाट पूर्ण भएको अनुभव हुन्थ्यो। सबैजना सबै विषयमा पारंगत त कहाँ हुन सकिन्छ  र!

बिहानै सारंगीको सुरमा गन्धर्वराग सुनियो। छेउमै सुस्त बगिरहेको हरियो फेवातालको हल्का लहर अनि सारंगीको त्यो मिहिन स्वर... कस्तोे सुखद अनुभूति...! बिहानीको त्यो सत्रमा कुसुमाकर न्यौपानेले भने– 'गन्धर्वहरूले धेरै राजा र काजीको वीरता कर्खामा गाउँथे, त्यो अब पातलियो।' ती सब वीरगाथा  इतिहासमा संरक्षित भए कि भएनन्? बूढा गन्धर्वहरूको मृत्युसँगै कति कर्खा मरेर गए? निकै समय मनमा कुरा खेलिरह्यो।  लोकसंगीतभित्रको सागरमा डुबुल्की मारेर मोती निकाल्न निकै मेहनत गर्ने कुसुमाकरसँग धेरै कुरा सोध्न र सिक्न मन लाग्यो। मन्चमा रहेका गन्धर्वहरूले कागबेनीको  डाँफे र बटौलीकी मैनाचरीको प्रेमगाथामा आधारित 'डाँफे र मुरलीचरी' गाउँदा झलकमान र जीतबहादुर गन्धर्वको याद आयो। सारंगीधुनमा स्वर मिसाएर अत्यन्त मीठो लोकलयमा उनीहरूले डाँफे र मुरलीचरी गाउँदा २०२४ सालको हिउँदतिर पारिजात दिदी र हामी राल्फागायक मन्त्रमुग्ध भएका थियौँ। आज बिहान त्यो प्रेमगाथाको सानो टुक्रा सुन्न पाउँदा उहिलेको यादमा धेरै बेर मन हराइरह्यो।

एक अमीर र एक फकिर यात्रीको विश्वयात्रा वर्णन सुन्न रोमान्चित मन लिएर ४ बजेको सेसनमा बसेँ। जीवा लामिछानेले व्यवस्थित यात्राबारे इमानदारीपूर्वक आफ्ना अनुभव राखे। आर्थिक सम्पन्नताको अवस्थामा असम्पन्न र अव्यवस्थित यात्रा गर्ने संसारमा को होला र? तर, आमाले दिनुभएको एक सय रुपियाँ लिएर पुष्कर शाह साइकलबाट विश्वयात्रामा निस्के। उनको साहसमा साथ दिने थुप्रै थिए। सहयोगका लागि पुष्कर भाइ आफै एकदिन स्वर्णिम स्कुल आइपुगेका थिए। उनलाई विश्वयात्राका लागि यथाशक्य खर्च जुटाइदिन दुःखजिलो गरेर काठमाडौँमा बाँचेका हामी थुप्रै साथीभाइ थियौँ। यलमाया केन्द्र पाटन र चित्रकला प्रदर्शनी हल बबरमहल गरी दुई ठाउँमा मैले 'एकल गीतिकार्यक्रम' प्रस्तुत गरेँ। भाइहरूले दर्शकसमक्ष टोपी थापेर  पुष्कर शाहका लागि रकम जुटाए। मैले पुष्कर भाइले रचना गरेको गीतमा संगीत भरेर गाएँँ

 'धेरै दिन भयो सगरमाथा आँखामा छेलिएको

  धेरै दिन भयो मेची र काली नाघेर टाढाटाढा हिँडेको...।' विश्वयात्रा गरिरहँदा पनि भाइ नेपाल आउने गर्थे। विद्यार्थीको बिदाइ जुलुससँगै मनभरी शुभकामना बोकेर एयरपोर्टसम्म दुई पटक पुर्‍याउन गएँ। एकपटक राष्ट्रकवि माधवप्रसाद घिमिरे र म बिदाइ दिन सँगै पर्‍यौँ । कविज्यूले मलाई भन्नुभयो– 'यी बाबु सफल भए भने हाम्रो राष्ट्रको गौरव बढ्छ।' यही विचार र सपना साकार पार्न हामी र अरु थुप्रै साथी पुष्करका दुःखका दिनमा सहयोगी बनेका थियौँ। विश्व साइकलयात्रा सफल भयो, तर  विजयसमारोहमा हामी थिएनौँ। केही समयपछि सगरमाथा चढ्ने अर्को अभियानमा  रकम संकलन गर्दैगरेको अवस्थामा पुष्कर भाइलाई वसन्तपुर चोकमा भेटेँ। मोबाइल हराएकाले नम्बर नपाएर समारोहमा बोलाउन नसकेको कुरा गरे। मैले फेरि मेरो मोबाइल नम्बर टिपाएँ। सगरमाथा चढाइ पनि सफल भयो, तर त्यो विजयसमारोहमा पनि हिजोका हामी दुःखका साथी कोही थिएनौँ।

लिम्बूवानमा किशोरावस्था र खम्बुवानमा जवानी अवस्था बिताएँ मैले। त्यसैले लिम्बू र राईजातिको मुन्धुमबारे बुझ्न र जान्न निकै तिखारिएर बसेँ। लिम्बूजातिको 'मुन्धुम' र राईजातिको 'मुध्धुम' करिब उस्तै भएको ज्ञान भयो। प्रकृतिपूजक यी जाति आकाश, जमिन, हावापानी, आगो र मानवजाति कुनै अदृश्य शक्तिले मेहनत र बुद्धि लगाएर बनाएको कुरा गर्छन्। सुम्निमा र पारुहाङलाई सम्मानित पुर्खा सम्झन्छन्। साथी विक्रम सुब्बाको 'सुम्निमा पारुहाङ' खण्डकाव्यको केही अंशमा मैले संगीतरचना पनि गरेको थिएँ, जसलाई सुनिता सुब्बा र पवित्र सुब्बाले गाए। तमरनदीको तिरैतिर लिम्बू र अरुणनदीको किनारैकिनार राईजाति आफ्नो सन्तान र सभ्यता फैलाउन कहीँ रोकिँदै, कतै अनेकखाले वाधाविरोधसँ जुध्दै यी दुवै वीरजाति अघि बढ्दै गए। भूपाल राई र बैरागी काइँला दाइले कति मजाले हामीलाई कुरा बुझाउँदै कथा अगाडि बढाउँदै हुनुहुन्थ्यो, समय सिद्धिगो। मीठो खानेकुरा चपाउन त चपाइयो, तर निल्न नपाएजस्तो। समय पुगेन, समय सबैको एउटै आवाज थियो, तर बोलेन।

बैरागी दाइसामु बस्दा मलाई आफ्नो अभिभावकछेऊ बसेझैँ लाग्छ। प्रज्ञा–प्रतिष्ठानमा सँगै काम गर्दा 'गाउँगाउँबाट उठ, वस्तीवस्तीबाट उठ' गीत दाइले लिम्बूभाषामा अुनवाद गर्नुभएको थियो। तलको दुई लहर छुटेको थियो दर्शकदीर्घामा बसेर त्यहीँ नै दाइले त्यो अनुवाद पनि गरिदिनुभयो।

'मिसेक् मिसाम् तिरेम्मे, मिधुङ मिजोत् पोगेम्मे

लाजे मिम् केजोक्पाहा, थिक्हुम् पोङडी पोगेम्मे                                           पाङभे पाङ्भे पोगेम्मे, युक्पुङ युक्पुङ पोगेम्मे                                              लाजे रेम् कुना, लेङमारो पोगेम्मे...।' 

एकजना लठेब्रो नेपालीले बेलायती गोरा पर्यटकलाई भने– 'तिम्रो देश बनाउने मान्छेहरू हाम्रो देशमा पठाऊ अनि हाम्रो देश बिगार्ने दुई सय जनाजति नेता तिम्रो देशमा लिएर जाऊ। तिमीहरूको कामै बनाउने, हाम्रो देश बनाउँदै जाऊ, बनाउँदै जाऊ। हाम्रो देशका मान्छेको कामै बिगार्ने, तिमेरको देश बिगार्दै जान्छन्, बिगार्दै जान्छन् अनि बराबरी भएन? तिमेरको देश बिग्य्राबिग्य्रै, हाम्रो देश बन्याबन्यै। यसरी मात्र बन्छजस्तो लाग्छ हाम्रो देश। यसो गरे कसो होला?' यस्तै थियो महले देखाएका प्रहसनको सार। नेपाली राजनीतिक इतिहासमा हालका हाम्रा नेताजस्ता बदनाम को भए होलान् र? अधिकांश कविता, गीत, नाटक, मुक्तक, गजल जे सुन्यो तिनमा नेताका बदनामी उजागर गरिएका हुन्छन्। एफएम रेडियो सुन्यो त्यस्तै, टीभीमा जनताले गाली गर्छन् त्यस्तै, फेसबुकमा त झन् हेरिसाध्यै हुँदैन! अखबारहरू पढ्दा पनि लाग्छ नेताहरूलाई गाली नगरे पत्रिका नै बिक्दैन! ओहो! म नेता भएको भए कि देशै छाडेर भाग्ने थिएँ, कि त आत्महत्या गर्ने विचारमा हुन्थे, कि पद र ओहोदा सारा त्यागेर गाउँको कुनै कुनामा बोकाबाख्रा पालेर बस्थेँ। ओहो कत्रो सहनशक्ति हाम्रा नेताहरूको, मान्नैपर्छ!

'वाहवाह'  गरेर त्यसै मानेका हैनन् मान्छेहरूले उनलाई। पोखराको साहित्यिक बागडोर त्यस्सै पाएका पनि होइनन् उनले। आजको मध्याह्नसत्रमा उनले चोटिलो कविता पढे। अनि स्रोताका प्रश्नका उत्तर पनि यति सटिक र गहिराइमा पुगेर दिए कि भावनाका कविमात्र थिएनन् उनी, व्यवहारका कुशलज्ञाता र सुयोग्य सन्चालक पनि थिए। काललाई हुत्याएर बाँचेका छन् तीर्थ श्रेष्ठ पोखरामा।

भूपीनका कविता उनका स्वरजस्तै गहकिला भएर स्रोताका मनभित्र पसे। त्यस्तो स्वरले गाए गीत कति जीवन्त हुन्थे होलान्! गहनस्वरका धनी जगजीत सिंहका गीतगजल सम्झाए उनका स्वरले।

'वाह! गजल' शीर्षकको गजलसत्र। गम्भीर भएर बसेको थिएँ। मुक्तक र गजल सुन्न निकै मन पराउँछन् स्रोता। छोटो अनि चोटिलो। 'वाह वाह' गर्न मजा लाग्नेे। 'मुक्तकको मजा नै चौथो लहरमा छ। थचक्कै बसाउँछ नि भाइ...' यसो भन्ने एक दाइ थिए उहिले। मलाई माया गर्थे। गीतसंगीतप्रेमी भएकाले उनको आकर्षणले त्यसैत्यसै तानिन्थेँ म पनि। 'मेरो संगत गर संगीत बुझ्दै जान्छौ' पनि भन्थे बेलाबेलामा। गजल सुन्न जाँदा हल्का लगाउँथे। 'सुरा र सुन्दरीको बयान नै त गजल हो अनि अलिकति नलगाइ म कसरी त्यहाँ जाउँ त भाइ?' मैले असजिलो मानेको भाँपेर सोध्दैनसोधी आफै बोल्थे। गजलगायनको मर्ममा पुग्दा सबैसँग 'वाह वाह, क्या बात है' भन्दै गजलगायकलाई सुर्‍याउनसम्म सुर्‍याउँथे। गणेशमानजीको भाषण भनेपछि हुरुक्कै! भण्डारखालको जंगलउता कता बस्थे कुन्नि! एकदिन उनको मुड खुलेको थियो, मलाई सम्झाउँदै भने– 'मलाई चिन्यौ तिमीले? म रोमान्स र रोमान्च दुवै मन पराउने मान्छे हुँ नि। मलाई प्रेमको रोमान्स र क्रान्तिको रोमान्च दुवै चाहिन्छ। भन्छौ भने गजलमा दुवेैथोक हुनुपर्छ भन्ने मेरो जोडदार आग्रह हुन्छ।' नभन्दै आज पोखराको यो गजलवाचनको सेसनमा दाइको दुवै इच्छा पूरा भएको मैले अनुभव गरेँ। राजनीतिलाई भाला हान्ने गजल पनि सुनियो अनि प्रेममा भलाद्मीपाराले अश्लील कुरा गरेको पनि सुनियो।

कोठा र चौर दुवैतिर एकैपल्ट सेसन सन्चालन हुनेहुँदा मन लाग्दालाग्दै पनि दुवैतिर भ्याउन सकिएन। हरेक सेसनमा रहँदा कक्षाकोठाभित्र बसेर महŒवपूर्ण शिक्षा, ज्ञान बटुलिरहने विद्यार्थीजस्तो लाग्यो आफूलाई। विविध विषयमा जीवनको सारसंग्रह गरेजस्तो अनुभव हुन्थ्यो।

हरिवंश र मदनकृष्ण दुवै सँगै रहेर काम गरेको ३६–३७ वर्ष भइसकेछ। मैले पनि उनीहरूलाई चिनेको त्यत्ति नै समय भयो। उनीहरूको मित्रताको इतिहास गौरविलो छ। यत्तिका वर्ष सँगै मिलेर बस्नु पनि एउटा तपस्या नै हो। हरिवंशले भनेजस्तै सुरुमा उनीहरूलाई 'सबैलाई हँसाउने जोकर' नै भन्थे। पछिमात्र 'कलाकार' भनेर इज्जत गर्न थाले। उनीहरूलाई कसैले हास्य कलाकारभन्दा मलाई असजिलो लाग्छ। म जान्दछु उनीहरू देशका गम्भीर कलाकार हुन्। आफ्ना कृति रचना गर्दा धेरै सोचविचार गर्छन्। औचित्यपूर्ण घटना संयोजन गर्दै जोखीजोखी तिनमा शब्द भर्छन्। यही भावनालाई राम्ररी बुझेर चलचित्र 'बलिदान' निर्माण गर्दा नायक छान्न मैले हरिवंशलाई प्रस्ताव गरेँ। निर्माता श्याम सापकोटाले 'हुन्न' भनेनन्। निर्देशक तुलसीजीले पनि सहममति जनाउँदा अचम्मको खुसी छाएको थियो हामीमा। तर, धरानमा सुटिङमा हिरोको नाउँ 'हरिवंश' भनेको सुन्दा सबै हाँसेका थिए। हाँस्दाहाँस्दा पछि नेपालै हाँस्न थाल्यो। सारा हाँसेको देख्दा रगतपच्छेजस्तैे हुन्थ्यो मेरो मन। तर, मेरो आत्मा  बोल्थ्यो– 'आज हाँस्नेहरू भोलि अवश्य रुनेछन्।' नभन्दै जनतामाझ आएपछि 'बलिदान'ले लाखौँ दर्शक रुवायो।

एफ.एम, फेसबुक, अखवार र टिभि च्यानलहरु हेरिरहन्छु म। आजका सचेत नेपाली जनता विश्वासिला मान्छे खोज्न थालेको पाउँछु। त्यही सिलसिलामा धेरैले लिन्छन् हरिवंश र मदनकृष्णको नाम। उनीहरू भन्छन्– 'बरु हरिवंश र मदनकृष्णलाई नै दिउँ देश चलाउने जिम्मा। उनीहरूले देशलाई धोका दिन्नन्। देश चाँडै प्रगतिमा जान्छ।' गुणराज लुइँटेलले सञ्चालन गरेको 'सफल साझेदारीका पाठ' एपिसोडमा मदनकृष्ण र हरिवंशका इतिहास र अनुभवबाट धेरै दर्शकले एकता र मेलमिलापबाटै राम्रो काम गर्न सकिन्छ भन्ने प्रेरणा लिए।

खचाखच भरिएको छ खुलाचौरको त्यो सेसन। गगन थापा र कुलमान घिसिङ छन् अतिथि वक्ता। स्वास्थ्यमन्त्री गगन भन्छन्– 'चारैतिर भत्केको, फुटेको, चर्केको, लथालिंगे, भताभुंगे  सरकारमा रहेर केही राम्रा काम गर्छु भनेर बचन दिनु कतै आफै सिद्धिनु त हैन? कहाँबाट राम्रा काम सुरु गर्नु? हरेक ठाउँमा आफैलाई निल्न खोज्ने ब्ल्याकहोल मात्र पाइन्छ...।' भत्केको घरमा हजार दुला, दुलैपिच्छे सर्पैसर्प छन्। गगनले जे बोले आत्माले बोलेका हुन् भने उनलाई नराम्रो मान्छे भन्न मिल्दैन। तर, उनी रहेका र नरहेका सबै सरकार थोत्रो, पुरानो हदैसम्मको निकम्मा–बेकम्मा गाडीजस्तो छ।  बनाएर साध्यै छैन। नयाँ पुस्ताका मान्छे भन्छन्– ' अब यसरी हुँदैन, नयाँ युगमा नयाँ गाडी नै ल्याउनुपर्छ। त्यसलाई चलाउने पनि  बेदागी नयाँ पुस्ता नै चाहिन्छ। काम नलाग्ने सारा थोत्रालाई मिल्काइदिनुपर्छ अब।'

'आज यो उज्यालो जो ननिभ्नेगरी देशभरी पुग्न सकेको छ, यसको पूरा श्रेय त तपार्इं नेपाली जनतालाई जान्छ। जसले हाम्रो अभियानलाई साथ दिएर सफल बनाउनुभयो।' सुरुको बोली नै कति राम्रो! यस्ता मान्छे धेरै भए हाम्रो नेपाल कति चाँडो बनिसक्थ्यो होला। कुलमान घिसिङले बोलिरहँदा धेरै स्रोताका मनमा यस्तै कुरा खेलिरहेका थिए। अकल्पनीय जादु नै भयो। अँध्यारोमा जीवनको दुर्दशा भोगिरहेका करोडौँ नेपालीले अकस्मात कहिल्यै ननिभ्ने उज्यालो पाए। 'अब नेपालीको घर, उद्योग–कलकारखानामा कहिल्यै बिजुली निभ्दैन' यस्तो वचन पनि दिए कुलमानले। आफूले चालेको अभियानमा वाधाविरोध नगर्न, बरु तिनलाई पनि सहयोगी बनाउन कूटनीतिक ढंगले, मन जित्ने पाराले कुलमानले बोले। त्यही थियो कुलमानको विशेषता। मेरो छेउमा रहेका बुज्रुगले भने– 'हेर्नोस्, देशलाई लोडसेडिङविहीन बनाएपछि यसको पहिलो श्रेय प्रधानमन्त्री प्रचण्डले लिन खोजे। दोस्रो श्रेय विद्युत्मन्त्री जनार्दन शर्मालाई। तेस्रो श्रेय सम्पूर्ण व्यवस्था मिलाउने कार्यालय प्रमुख कुलमानलाई। तर, नेपाली जनताले भने पहिलो श्रेय यिनै कुलमानलाई दिएका छन्। जनता अब धेरै चतुरो भइसके बुझ्नुभो?'

अन्तिम दिनको छैठौँ सत्रमा वसन्त थापा र मेरो पालो आयो। लगातार उनको प्रश्न अनि मेरो जवाफ। राल्फादेखिको इतिहास कोटयाए वसन्तले। २०२६ मा भूपि शेरचनको निम्तो मान्न पोखरा आएको। पारिजात दिदीको अगुवाइमा राल्फागायक समूहले पन्चायती सरकारको वाधाविरोधमाझ पनि पोखरामा गीति कार्यक्रम प्रस्तुत गरेको। सम्झेजति सबै वर्णनबयान गरेँ। कार्यक्रमपछि मैले वसन्तलाई सोधेँ–'राल्फाको कुरामात्र बढी भएन र वसन्तजी?' उनले तुरुन्त जवाफ दिए– 'अनि ५० वर्षअघि तपाईंहरूले चलाएको राल्फा अभियानबारे आजका युवापिँढीलाई तपाईंबाहेक अरु कसले भन्छ त यहाँ? समय पाए ३ घन्टा बोल्न लगाउथेँ म बुझ्नुभो?' सेसनको अन्त्यमा वसन्तको उद्घोषण भयो। सबै उठे र सामूहिक रूपमा परिवर्तनवाहक त्यही गीत गाउन थाले– आहा कस्तो दृश्य त्यो! दर्शकदीर्घामा रहेका सैयौँ उत्साहित स्रोता रोमान्चित हुँदै हात उठाइउठाइ गाइरहेछन्। वसन्त र म पनि स्टेजबाट जोश र आत्मविश्वासले मुट्ठी उठाइउठाइ गाइरहेछौँ।  हामीसँगै फेवातालका चन्चल लहर अनि तालपारी जंगलका अग्लाअग्ला रुख पनि हल्लीहल्ली गाइरहेछन्

'गाउँगाउँबाट उठ, वस्तीवस्तीबाट उठ

यो देशको मुहार फेर्नलाई उठ...!

राति निद्रा लागेन। अन्तिम सत्रमा वाचन गरिएका कविता– 'मनसरा', 'औँलाहरू', 'आमा'लगायत आत्मा झंकृत पार्ने अन्य कविताका मर्मस्पर्शी हरफ सम्झने प्रयत्न गरिरहेँ। सुन्दर, सफा समारोहस्थल। तालछेउ सानो धुलेबाटो। बाटोमुनि शान्त फेवाताल। तालको पानीमाथि नाचिरहने ससाना पानीचरीहरू। माथि आकाशबाट तीखो आँखाले तल जमिनको गतिविधि एकनासले नियालिरहने कैला चिलहरू। तालपारीको घना वन। लस्करै रुखहरू। अनि त्यहीँछेउ त्यो हार्दिक समारोह...।

धन्यवाद दिन मन लाग्यो कार्यक्रम व्यवस्थापनमा दत्तचित्त भएर लागेका पोखराका चुस्तदुरुस्त युवा समूहलाई। समयको मूल्य र महŒव बुझ्न उपयुक्त सचेतना बोकेका थिए तिनले। दायित्व निर्वाह गर्न त्यत्तिकै उच्च सतर्कता। बोलचाल र व्यवहारमा सामान्य, सरल र आत्मीय।

 










यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बुँख्याचा मनको रंगशिल्प

बुँख्याचा मनको रंगशिल्प

'बुँख्याचा मन'को निर्देशकीय परिकल्पनाका दृष्टिले रंगमञ्च संयोजनले उच्चता प्राप्त गरेको देखिन्छ। मितव्ययी रंगप्रविधिबाट पनि यति गहिरो कथालाई सहजै प्रस्तुत गर्न...

'निशा नभएको भए म डुबिसक्थेँ'

'निशा नभएको भए म डुबिसक्थेँ'

सँगै नाटक गर्दागर्दै सुनील र निशाले एकअर्कालाई मन पराए, प्रेमिल व्यवहार दर्शाउन थाले। उनीहरूको कलिलो प्रेमको पालुवाले रंगमञ्चको पर्दा छिचोल्यो,...

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

जनकपुरमा रहँदा रेडियो नाटक गर्दागर्दै मैथिली नाट्यकर्मी रविन्द्र झाको सहयोगमा सरिता साह शरंगमञ्चमा प्रवेश गरेकी हुन्। नाटककै लागि २०६९ मा...

हलमा अस्कर विजेता फिल्म

हलमा अस्कर विजेता फिल्म

हलिउड फिल्म नेपालमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनीत तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने...

Fixed Ad