कथा

राममान दाइको सुर्खेतयात्रा

शनिबार, २९ माघ २०७३, ११ : ५६ ध्रुव नेपाल


आँखामा हाले पनि बिझाउँदैनन् राममान दाइ। 

कसरी बिझाउनु, बिझाउने काँडाजस्ता कुरा केही छैनन् उनमा, बरु छन् खालि शीतलु कुरा। भनी बिराउन्नन्, सहयोगी छन्, आत्मीय छन् अरूको सुखदुःखको ख्याल गर्छन्। सहयोग गर्नुपर्ने अवस्थामा माग्नसमेत पर्दैन, बुझेर दिन्छन्।

 रामायणका अनुसार त्रेतायुगमा थिए रे राम, एक आदर्श पुरुष। उनलाई असल र आदर्श मानेर रामायण लेखियो। समाज फेरिएसँगै राम धेरै कमजोरी भएका पात्र देखिन थाले, उनलाई आदर्श पुरुष नमान्नेको संख्या बढ्दो छ। त्यसको सट्टा राममान दाइ भने आजको समयका आदर्श पुरुषजस्ता लाग्छन्, उनको संगतमा परेका मजस्ताका लागि।

मैले दाइलाई सम्झाउँदै भनेँ– 'बसभरि यति धेरै यात्रु छन्, दाइ एक्लै कहाँ हो र? अरू पनि छन् मजस्तै साथी। ढुक्क भएर जानोस्।' उनीसँगै सिट हुनेलाई उहाँलाई राम्रो साथ दिँदै लैजान आग्रह गरेँ अनि ढुक्क पारेँ। दाइ रसिला आँखासहित पाँच मिनेट हात हल्लाउँदै थिए बस ओझेल पर्दासम्म। मेरो मन पनि अमिलो भयो उनलाई एक्लै पठाउनुपर्दा।

ढुक्क थिएँ म उनको घरमा डेरावालको रूपमा बस्दा। ५–७ वर्षका भन्ट्याङभुन्टुङ छोराहरू स्याहार्ने जिम्मा दिएर काठमाडौँको जटिलता नबुझेकी सुधी, गाउँबाट भर्खर काठमाडौँ छिरेकी श्रीमती छाडेर सुर्खेतमा काम गर्थें म त्यसताक। स्थानीय अभिभावकजस्तै थिए राममान दाइ अनि उर्मिला भाउजू मेरा छोराहरू र श्रीमतीका लागि। मीठो पाक्दा, चाडबाड पर्दा घरमाइत बिर्साउने मात्र होइन, बिरामी परे डाक्टरकहाँ पुर्‍याउने गर्थेे। कुनै कुरा पुगअपुग के छ, ख्याल राख्थे। 

 राममान दाइ जागिरे थिए एक प्रतिष्ठित गैरसरकारी संस्थामा। काम कार्यालयमै बसेर गर्नेखालको हुँदो होे, फिल्ड जानैनपर्ने। फिल्ड जान रहर नगरेका होइनन् होला, तर कामले मागेन, हाकिमले पठाएनन् त्यसैले गएनन्।

 सुर्खेत तथा अरू ठाउँका कुरा मबाट अनि अरूबाट सुन्दासुन्दा उनमा काठमाडौँबाहिर घुम्न जाने रहर जागेको हुन सक्छ। त्यसैले उनको बैठकमा गफ गर्दैगर्दा दाइले रहर पोखे एक दिन– भाइ, तपाईं हुँदै सुर्खेत घुम्न जान पाए हुन्थ्यो।' भाउजूले पनि उत्साहपूर्वक थपिन्– 'बाबु! दाइले धेरै दिनदेखि सुर्खेत जाने रहर गर्नुभएको छ। मसँग भने भनिरहने, तपाईंसँग भन्न नसकेर बसिरहनुभएको छ। मनमा रहर गुम्स्याएर राखेर मात्र कसरी पूरा हुन्छ र! मैले भन्नुस् न भनेपछि मात्र भन्नु भएको! लौ बाबु, जसरी पनि घुमाएर ल्याइदिनोस् एकपटक।'

 दाइ–भाउजूको गुनले थिचिएको ममा यति गर्न पाए यो थिचाइ अलि कम हुने थियो जस्तो लाग्यो। उनको गुन के गरेर तिर्ने होला भनी उकुसमुकुस भैरहेको बेला उनको रहर जान्न पाउनु खुसीको कुरा थियो। मैले सहर्ष भनेँ– 'दाइमात्र किन, भाउजूसमेत नै जाउँ न। म पर्सि जाने हो। मिल्छ भने यसपटक नै जाउँ, नभए जहिले अनुकूल हुन्छ त्यही बेला जाउँला।'

 दाइ–भाउजू मुखामुख गरे। स्मित भंगिमामा भाउजूले भनिन्– 'अर्कोपटक आउँदा दाइलाई लिएर जानोस् बाबु। अर्को–अर्को पटक म पनि जाउँला सुर्खेत उहाँले हेरेर आएपछि।' यति भन्दै मीठो चिया र बिस्कुट ख्वाइन् भाउजूले।

 'अर्को पटक सुर्खेतबाट आउनुअघि फोन गर्छु, कार्यालयको र घरको चाँजोपाँजो मिलाएर बस्नु होला,' आश्वस्त पार्दै मैले भनेँ।

प्रण गरेअनुरूप नै खबर गरेँ राममान दाइलाई सुर्खेतबाट हिँड्नुअघि। म काठमाडौँ आउँदा राममान दाइ र उर्मिला भाउजू अत्यन्त उत्साहित थिए। सुर्खेतमा हेर्ने कुरा के छ, कस्तो छ भन्ने जिज्ञासाको उत्तर दिनु नै मेरो काम बन्यो भेट हुँदा। हेर्ने धेरै कुरा नै कति छन् र सुर्खेतमा, तापनि हेर्नुपर्ने धेरै ठाउँ बताइरहेँ उत्साह कायम राख्न। एक साताको छुट्टी लेखेका रहेछन् राममान दाइले। तीन रात बसेर आफू सुर्खेत फर्किहाल्ने हो भनेर मैले फेरि दोहोर्‍याएँ। मैले खासै केही तयारी नचाहिने, २–३ जोर लगाउने लुगा, ब्रस र मञ्जनमात्र हाले पुग्ने बताएँ। भाउजूले खाजा खाने कुराको पूरा व्यवस्था गरी पठाउन खोजेकी रहिछन्। 'होटलमा खाने हो, जे पनि पाइन्छ त्यसकारण केही नबनाउनोस्, दाइ भोकै पर्नु हुन्न,' मैले विश्वास दिलाएँ।

 नाइट बसको टिकट लिएँ दुईवटा। सुर्खेतको बस तीन–चार बजे नै छुट्थ्यो गोँगबु बसपार्कबाट। राम दाइ बडो फूर्तीसाथ हात हल्लाएर भाउजूसँग बिदा भए अनि भने– 'राम्रोसँग बस्नु, पीर नगर्नू, म पाँच–छ दिनमा फर्किहाल्छु।' भाउजूले हँसिलो अनुहार लगाएर बिदा गरिन्।

 त्यसताक कलंकीमा हुने ट्राफिकजाम अत्यासलाग्दो हुन्थ्यो। बसपार्कबाट छुटेको बस कलंकी  कटेर नागढुंगा पुग्नै दुई घन्टा लाग्यो। दाहिनेपट्टिको झ्यालमा बसेका राम दाइ बसको गति देखेर अलि बेखुसी देखिए। भने– 'निकै ढिला हुने भयो हगि!' उनको भनाइको मनोविज्ञान धेरै बुझिन, त्यसैले सामान्य उत्तर दिएँ– 'सधैँ यस्तै हो दाइ, कलंकीको जाम।'

 नौबिसे पुगेपछि राममान दाइले प्रश्न गरे– 'रात पर्न लागिसक्यो, सुर्खेत कुनबेला आउँछ?' यो प्रश्न ताज्जुबलाग्दो मात्र होइन, अत्याउनेखालको थियो मेरो लागि। काठमाडौँबाट सुर्खेत हिँडेको मानिसले नौबिसेमै गन्तव्य कतिबेरमा आउँछ भनी सोधेको प्रश्न ख्यालख्यालको हो कि साँच्चैको हो भनेर खुट्याउनु महŒवपूर्ण थियो मेरा लागि उत्तर दिनुभन्दा। एक ठाउँमा पढेको थिएँ– सञ्चारमा शब्दले मात्र आठ प्रतिशत भार बोक्छ, बाँकी ९२ प्रतिशत त उसको भावभंगिमा तथा बोलाइको उतारचढावमा हुन्छ। त्यसैले मेरो चासो उनले सुर्खेत यतैहुँदी छ भनेर ठानेका पो हुन् कि भन्नेमा गयो। त्यस्तो ठानेका रहेछन् भने के उत्तर दिने? मैले अनुमान गरेँ सजिलोखालको, राम दाइले त्यसै सोधेका होलान्– सुर्खेत यतै नजिकै हुनुपर्छ भन्ने उनको अनुमान त पक्कै होइन होला! यही अनुमान गरेँ र उनले ख्याल गरेर सोधेको प्रश्नको उत्तर त्यस्तै दिएँ पनि 'एकछिनमा आइहाल्छ नि दाइ' भनेर।

 झ्यालतिर बसेका उनको आँखा टाठो नै रह्यो र झ्यालबाट हेर्दै रहे, म भने झकाउन थालेछु। त्यसैले गफ हुन पाएन। त्रिशूली देखिन थालिसकेको रहेछ मेरो झकाइ बिथोलिँदा। अँध्यारो भइसकेछ। राम दाइले अलि अत्यासिएजस्तो गरेर सोधे– 'खै त भाइ अझै आएन त सुर्खेत, रात नै परिसक्यो!'

 यो छटपटी र अत्यासमिश्रित प्रश्न सुनेर भने म साँच्चै झस्किएँ– कतै राममान दाइलाई सुर्खेत कति टाढा छ भन्ने अनुमान नै छैन कि क्या हो! उनले एक–दुई घन्टाको दूरीमा नै सुर्खेत छ भन्ने ठानेका पो हुन् कि, त्यही ठानेर मसँग जाने रहर गरेका हुन् कि! रातभरको यात्रा गरेर, छ–सात सय किलोमिटर बाटो छिचोलेर मात्र सुर्खेत पुगिन्छ भन्ने ठानेको भए उनले यात्रा नै गर्दैन थिए कि! मलाई लाग्यो– मैले बताउनुपर्ने थियो कि सुर्खेत कति टाढा छ भनेर। कतै मैले गल्ती त गरिनँ!

 अर्को मनले सोचेँ– मेरो कसरी गल्ती हुन्छ, सुर्खेत जाने हो भनेकै छु। काठमाडौँबाट सुर्खेत कता पर्छ र कति टाढा छ भनेर उनीजत्तिको मानिसलाई बताइरहनुपर्ने हो र! उनी पढेलेखेका मानिस हुन्, पत्रपत्रिका पढ्छन्, टीभी हेर्छन्, रेडियो सुन्छन् अनि कसरी अनुमान गर्नु कि उनलाई सुर्खेत कति टाढा छ भनी थाहा छैन! मानिसले गर्ने व्यवहार र भनाइ पनि त कुनै अनुमान र मान्यतामा आधारित हुन्छ।

     मानिसले नजानेर गर्ने गल्ती प्रायः गलत अनुमान र मान्यताका कारणले हुन्नछ्। कसैकोे मीठो कुरामा लागेर भरपर्दो भएको अनुमान गरेर बिनाजमानी ऋण दिनेहरू यसकै कारण डुबेका छन्, तिमी नै मेरो एकमात्र बाँच्ने आधार भनेर मीठा बाचा गर्नेमाथि विश्वास गरेर बिहा गरेकी प्रेमिका भोलिपल्ट लोग्नेको पहिले नै स्वास्नी, छोराछोरी रहेको थाहा पाएर छाँगाबाट खसेझैँ हुने गरेका छन्।  

गल्ती हुन सक्छ भनेर अनुमान र मान्यता नराखेर पनि त साध्य हुँदैन। अर्थशास्त्र पढ्दा पाठैपिच्छे यो–यो मान्यता वा अनुमान गर्दा यसो हुन्छ भनिन्थ्यो, अहिले काम गर्दा त्यसै गर्नुपर्छ। योजना बनाउँदा सोचेजति साधन जुट्छ भन्ने अनुमान गर्नैपर्‍यो, अधिकार पाउनेले जिम्मेवारी पनि निर्वाह गर्ला भन्ने मान्यता राख्नैपर्‍यो।

अनुमान गर्ने आधार भनेको परिवेश र अनुभव नै त हो मानिसको। त्यसैले त हाम्रो परिवेशमा बच्चाकी आमालाई हामी सोध्दैनौँ तपाईंको बिहा भएको छ कि छैन भनेर। तर, हामीलाई थाहा छ– बच्चा जन्माउन बिहा गरेकै हुनुपर्दैन। पश्चिमेली परिवेशमा बच्चा हुने युवती विवाहित नै होलिन् भनेर अनुमान गरिहाल्दैनन् मान्छेले। नेपालमा पनि सर्वोच्च अदालतले नजीर जारी गरिसकेको छ। यति हुँदाहँुदै हामी अनुमान गछर्ौं बच्चाकी आमा विवाहिता नै हुन् भनी, सामाजिक अभ्यासका कारण। अनि कहिलेकहीँ गलत हुन सक्छौँ अनुमान नमिल्दा। परिवेशले गर्दा बच्चा भएकी महिलालाई 'तपाईं विवाहित कि अविवाहित' भनी सोध्नु पनि त उत्तिकै अभद्रता हुन सक्छ। त्यस्तै भएर त मैले राममान दाइलाई बताइनँ सुर्खेत टाढा छ, भोलि बिहान पनि ८–९ बजेतिर पुगिन्छ भनेर। जे अनुमान गर्‍यो त्यहीअनुसार नै त गरेँ मैले। मैलै ठानेअनुसार उनलाई त्यो थाहा छ, पहिले नै थाहा भएको कुरो कसैले बताउन थाल्यो भने आफूलाई त्यति पनि नजान्ने ठान्यो भनेर चित्त दुखाउने, रिसाउने सम्भावना पनि त हुन्छ। राममान दाइलाई थाहा छ भन्ने ठम्याइ शतप्रतिशत नै भएपछि बताउने कुरै आएन। जुन कुराको सम्भावना बढी हुन्छ, त्यही नै त गर्छ मानिसलेे। तब कसरी गल्ती गरेको हुन्छ? तर, गल्ती नगर्दा–नगर्दै गल्ती भएछ! उनलाई साँच्चै नै सुर्खेत कति टाढा छ भनी थाहा छैन जस्तो छ। सायद धेरैले थाहा नपाई जसरी गल्ती गर्छन् त्यही नै भएको थियो मबाट पनि। 

 मेरो मन भारी भएर आयो, अब कसरी सम्झाउँ नौबिसेकै जस्तै दूरीमा सुर्खेत होला भनी अपेक्षा गर्ने दाइलाई कि सुर्खेत कति टाढा छ भनेर? तर, नबताई धर पनि थिएन। मैले सुस्तरी सोधेँ– 'दाइ, साँच्चै तपाईंलाई सुर्खेत कति टाढा छ भन्ने अनुमान छैन?' बडो निर्दोष र सहज ढंगले उत्तर दिए उनले– 'म थानकोट कटेर टाढा गएकै छैन आजसम्म, अनि कसरी थाहा पाउनु भाइ!' साँच्चै दाइलाई अनुमानै रहेनछ।

 थानकोट कटेर नजानु नै अनुमान गर्न नसक्ने हुनु त होइन नि! म पनि त प्लेन चढेर अमेरिका गएको छैन, तर अनुमान गर्न सक्छु अमेरिका कता छ र कति टाढा होला भनेर! तर, यिनको त अनुमान गर्ने क्षमता पनि रहेनछ– काठमाडौँमै रहँदा–रहँदा। आखिर अनुमान गर्ने क्षमता बढ्न पनि त्यो काम गरेकै हुनुपर्छ नि! दस किलो कति गह्रौँ होला भनी थाहा हुन ५ किलोको गह्रुँगोपन थाहा हुनुपर्छ, अनि पो अनुमान गर्न सकिन्छ। कत्ति पनि भारी नउचालेको मानिसले के थाहा पाउनु– दस किलो कति र पन्ध्र किलो कति भनेर। मान्छे भन्छन्– मात्र अनुमान गर्नु, कल्पना गर्नु दिमागी खेल हो, यसको लागि चाहिन्न यथार्थसँग साक्षात्कार। तर, व्यर्थ रहेछ– यो भन्नु– कल्पना गर्न पनि सानो रूपमा त्यो कुरा बुझेको वा व्यहोरेको  हुनुपर्छ। कल्पना/अनुमान पनि आखिर ज्ञान वा अनुभव/अनुभूतिको विस्तार नै त हो। त्यसैले सानो रूपमै भए पनि केही घन्टाको बसयात्रा नगरेका राममान दाइले बसबाट सुर्खेतयात्राको समय अनुमान नै गर्न सकेनछन्!

 मैले बताउनैपर्ने भयो उनलाई सुर्खेत पुग्न लाग्ने समय। एकछिनपछि आउँछ भनेर सान्त्वना दिएरमात्र भ्रममा राखिरहनु त भएन। कहिले–कहिले सान्त्वना दिएर पनि हामी गल्ती गरिरहेका हुन सक्छौँ ठीक गर्‍यौं भन्दाभन्दै। सान्त्वना तीतो यथार्थबाट टाढा पुर्‍याउने कार्य हो, जुन कहिले–कहिले सुगरकोटेड बिष पनि हुन सक्छ। त्यसैले दाइलाई बताएँ हिम्मत गरेर– 'दाइ, सुर्खेत त धेरै टाढा छ, बस हिँडेकोहिँड्यै गर्दा पनि भोलि बिहान ८–९ बजेतिर मात्र पुगिन्छ।'

 अनपेक्षित अप्रिय कुरा सुन्दाझैँ भयो उनको प्रतिक्रिया। उनका आँखा विस्फारित भए, रसिला देखिए। गलाबाट रुन्चे स्वर निस्कियो– 'त्यति टाढा छ? मलाई किन नभनेको त?'

 'दाइ, मैले सोच्न सकिनँ सुर्खेत कति टाढा छ भनी तपाईंलाई अनुमान छैन भनेर,' मैले याचनापूर्वक उत्तर दिएँ, 'तपाईंलाई त्यति टाढा जान मन छैन भने काठमाडौँ फर्कने गाडी चढाइदिन्छु, फर्कनु होला।'

 मेरो उत्तर सुनेर अत्यासिएका भए पनि फर्किनैपर्ने केही थिएन उनलाई। उनी भाउजूलाई ५–६ दिनपछि फर्किन्छु भनेर आएका थिए। अत्यास लाग्ने कुरो उनका लागि समय होइन दूरी थियो। उनको उत्तर थियो– 'टाढा रहेछ। जान त पर्‍यो नै आइसकेपछि, फर्कन्न काठमाडौँ सुर्खेत नघुमी,' बोलीमा अत्यास भने थियो नै दाइको।

 केहीबेर नबोली बसेका दाइले झ्यालबाहिर देखिएको कालो, मोटो आकृति देखाउँदै सोधे– 'के हो त्यो?' अँध्यारो बाक्लिँदै थियो, जून लागेको थिएन, त्यसैले दृश्य अस्पष्ट थियो। मैले त्यति सजिलो कुरो पनि सोधिएपछि बताउनै पर्‍यो– 'त्रिशूली नदी हो दाइ।'

 'ए त्रिशूली! ओहो यतातिर भीर छ, मलाई डर लाग्छ हेर्दा! तपाईं झ्यालतिर बस्नुस् भाइ।' उनले सिट साट्न चाहे। झ्यालतिर बसेर उनको डर हटाउने प्रयास गरेँ। उनले त्रिशूलीमा बस खसेको सुनेका थिए। 

 म झकाउन थालेँ– ब्युँझिँदै, निदाउँदै। म ब्युँझँदा देख्थेँ– दाइका आँखा खुला हुन्थे– अगाडि र बायाँतिर मात्र हेरिरहेका!

 नारायणघाट पुल्चोक पुगेपछि बसले खाना खाने सूचना दियो र कन्डक्टर, खलासीले खालि सिट भर्न यात्रु खोज्न थाले।

 दाइल्ााई रन्को लाग्यो– भाउजूलाई फोन गर्ने। त्यसताक मोबाइल फोन आइसकेको थिएन, एसटीडी गर्नुपर्थ्यो र जताततै पाइन्नथ्यो। आत्तिएका राममान दाइलाई भाउजूसँग कुरा गराइदिनु खाना खानुभन्दा महŒवपूर्ण थियो। एसटीडी सुविधा जताततै हुन्नथे। कति पसल बन्द भैसकेका थिए, त्यसकारण १०–१५ मिनेट एसटीडी गर्ने ठाउँ खोज्दै लाग्यो। दाइले फोनमा भाउजूलाई भन्दै गरेको सुनेँ रुन्चे स्वरमा– 'बूढी, सुर्खेत कति टाढा रहेछ कति! ...कहाँ पुग्नु अहिले नै! आधा बाटो पनि भएको छैन रे, भोलि बिहान ८–९ बजेतिर मात्र पुगिन्छ रे! ... पीर नगर! फर्कन्न यहीँबाट पुगेर घुमेर नै आउँछु, हिँडिसकेपछि। ... टाढा भएर के भो त? म ५–६ दिन घुमेर आउँछु, भनेकै हो नि! ...भाइ सधैँ हिँडिरहेकै छन् भने म एकपटक गएर आउँदा के हुन्छ  त!...टाढा हुँदैमा डर हुने हो र, काठमाडौँमै पनि त बस पल्टिन्छ नि। डर मान्न हुन्न! ...ढुक्क भएर बस। म घुमेर, हेरेर आउँछु, अनि अर्कोपटक तिमीलाई पनि घुमाउँला। ...पीर नगर!'

 मैले दाइले बोलेको त सुनेँ, भाउजूको बोली सुनिएको थिएन। तर, सहज अनुमानयोग्य थियो– भाउजूले के भनिन् भन्ने कुरो। पक्कै पनि उनी छानाबाट खसेजस्तो भइन् होला, घुँक्कघुँक्क रोइन् होला, आफ्ना प्राणप्रिय ठूलो संकटमा/असजिलोमा परेछन् भनी ठूलो पीर दर्शाइन् होला– त्यसैले पहिले आफै पिरलिएको व्यक्त गरे, पछि भाउजूलाई फुल्याउने दायित्व आएको ठाने। त्यसैले त त्यसो भन्दै थिए।

 हामी प्रायः जे गर्छौं, त्यही गरे दाइले। पहिले आफै कुरो बिगारे, समस्या निकाले, अनि त्यही सुल्झाउने झ्याउलोमा फसे। म ठीक छु, आराम छु भनेको भए हुन्थ्यो– भनेनन्। भाउजूले के गर्न सक्थिन् र, आत्तिएको बेला पहिले कुरो बिगारे, यक्तिकैमा उनी रुन थालिन् होला, अनि उनी फुल्याउन थाले।

 उनीहरूको टेलिफोनमा रुने, फुल्याउने कामले भात खाने समय खाइदियो। खलासीले बस चढ्ने आदेश दियो। हामी भोकै हिँड्नुपर्ने भयो। अरू पर्खभन्दा मानेन– यति समय दिँदा पनि नखानेलाई अरू समय दिन सकिन्न– खलाँसीको ठाडो उत्तर थियो। हामीले बिस्कुट खाँदै जानुपर्ने भयो।

 राममान दाइ अलि शान्त भए भाउजूसँग कुरा गरेपछि। निदाउन सक्ने भएछन्। बिहान घाम लाग्न लाग्दा कोहलपुरमाथिका डाँडामा गाडी गुड्न थालेेको थियो। मैले उहाँलाई अब सुर्खेत आउन लागेको बताउँदै, ठाउँहरू चिनाउँदै, महŒवपूर्ण कुरा बताउँदै थिएँ। उनी अलि प्रसन्न देखिन थालेका थिए।

 पाँचौ दिनमा दाइले फर्कने इच्छा जाहेर गरे। रात्रिबसको टिकट काटेर दाइलाई बस चढाउन गएँ। बस चढ्दै गर्दा दाइ त रुन्चे देखिए र भन्न थाले– 'म एक्लै कसरी जाने काठमाडौँसम्म? सँगै जाउँ न भाइ!' गम्लङ अँगालो हाले र तान्न थाले। मलाई धर्मसंकट पर्‍यो– म कार्यालयको काम छाडेर जान सक्ने अवस्था थिएन भने भयातुर दाइलाई कसरी एक्लै जाउ भन्ने? मन बलियो पारेँ– छोरी रुँदारुदै अन्माएर पठाउनैपर्छ भने दाइलाई पनि पठाउनैपर्‍यो। कार्यालयको काम चापाचाप थियो। फेरि उनीजति उमेरदार मानिसलाई छाड्नकै लागि सुर्खेतबाट काठमाडौँ जानु त्यति व्यावहारिक कुरा पनि त होइन। दुई–तीन महिनापछि सँगै जाउँला भनेर उनी पर्खन पनि सक्दैनथे!

मैले दाइलाई सम्झाउँदै भनेँ– 'बसभरि यति धेरै यात्रु छन्, दाइ एक्लै कहाँ हो र? अरू पनि छन् मजस्तै साथी। ढुक्क भएर जानोस्।' उनीसँगै सिट हुनेलाई उहाँलाई राम्रो साथ दिँदै लैजान आग्रह गरेँ अनि ढुक्क पारेँ। दाइ रसिला आँखासहित पाँच मिनेट हात हल्लाउँदै थिए बस ओझेल पर्दासम्म। मेरो मन पनि अमिलो भयो उनलाई एक्लै पठाउनुपर्दा। यो मन अमिल्याएर भए पनि गर्नैपर्ने काम थियो, जसरी छोरी अन्माउँदा बाबु–आमाले मन अमिल्याउँछन्।

 भोलिपल्ट बिहान टेलिफोनमा मेरो स्वर सुनेर भाउजू खुसी थिइन्–'बाबु, दाइ त जस्ताको तस्तै आइपुग्नु भयो! खुब खुसी हुनुहुन्छ।'

 राममान दाइ भन्दै थिए– 'राम्रोसँग आएँ भाइ। अब त म भाउजूलाई पनि लिएर सुर्खेत आउँछु।'

 म पनि खुसी भएँ उनमा त्यति गर्ने आँट आएकोमा। सायद मसँगै फर्केको भए उनमा त्यो आँट आउने थिएन कि! एकपटककै भ्रमणले उनी अचम्मले फेरिएछन्!







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...

धनगढी तताए हेमन्तले

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन्। रुबस होटलमा दिउँसो भएको एकल रचना वाचन कार्यक्रममा उनले...

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...