प्रेमका पखेटा

शनिबार, २९ माघ २०७३, ११ : ५८ चाँदनी हमाल

नेपाली समाज अझै पनि 'बन्द संस्कृति' रूचाउँछ। यो संस्कृतिमा प्रेमलाई खुल्ला ढंगमा स्वीकार गर्न कठिन पर्छ। यही कठिनाइलाई चिर्ने क्रममा आयात भएको हो 'प्रेमदिवस' अर्थात् भ्यालेन्टाइन डे। बन्द संस्कृतिको सहजै विरोध गर्न नसकेका युवापुस्ताको ठूलो आकर्षण यो दिवसमा छ। प्रेम बाँड्ने दिन प्रेम दिवस, प्रेमको पखेटा हालेर उड्नुको आनन्द बेग्लै रहेको बताउँछन् प्रेमिल जोडी। यद्यपि, यसलाई चरम विकृति ठान्ने र आयातित संस्कृति भन्दै बहिष्कार गर्ने जमात पनि सानो छैन। उता, प्रेम शाश्वत भएकाले जहाँको संस्कृति भए पनि यसलाई सहर्ष स्वीकार्नुपर्छ भन्ने पनि कम छैनन्।

झ्याल–ढोका खोलेरै प्रेमदिवस मनाउनुपर्छ :  तुलसी दिवस

आयातित नै भए पनि प्रेमदिवसले नेपाली संस्कृति, सामाजिक मूल्यमान्यता र प्रचलनलाई अगाडि बढाउन सहयोग गर्ने बताउँछन् एकल जिन्दगी बिताइरहेका कवि तथा संस्कृतिविद् तुलसी दिवस। सबै आयातित वस्तु नराम्रा हुन्छन् भन्ने हुँदैन। प्रेम आयातित नभई मानिसभित्र रहने आत्मिक भाव भएको उनी उल्लेख गर्छन्। 'हामी सबै झ्याल–ढोका थुनेर, सुगाको जस्तो पिँजडामा बस्छौँ,’ दिवस भन्छन्, 'राम्रा कुरा आउँछन् भने ढोका खेालिदिनुपर्छ, हाम्रै संस्कृति पनि राम्रा छन् भने अन्यत्र पठाउनुपर्छ।’ सांस्कृतिक अस्मिता र अस्तित्वमै अतिक्रमण भएका खण्डमा संरक्षात्मक कदम अपाउनुपर्ने उनी बताउँछन्। उनका अनुसार संस्कृति स्थान, समय अथवा त्यहाँ बसेाबास गर्ने समुदायसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। पहिले जस्तो अब नेपाली समाजमा अदृश्य पर्खाल भत्कनै क्रममा रहेकाले अन्य मुलुकका संस्कृति स्वतः भित्रने उनको बुझाइ छ।

'म पनि कुनै समय त जवान थिएँ, प्रेम गरेकै थिएँ,’ उनी आफ्नो किशोरवय सम्झँदै भन्छन्, 'अन्य मुलुकमा प्रेम खुला भैसक्यो, हामी उस्तै बन्न खोज्छौँ, प्रेमको परिधि कहाँ हुन्छ र!’ आफूले जीवनमा प्रेमिकाका नाममा थुप्रै प्रेमपत्र लेखेको पनि उनी सम्झन्छन्। 'जीवनमा मलाई मन पराउनेहरूकै लागि सात–आठ हजार त प्रेमिल अटोग्राफ नै लेखे हँुला,’ उनी खुलस्त हुन्छन्, 'प्रेममा धेरै च्वाइस राख्न भने हुँदो रहेनछ।’ कसैसँग बोल्दा र व्यवहारमा पर्दा एक वा अर्को प्रकारले भिन्दै प्रकारको 'क्लिक' हृदयमा हुन्छ र त्यही प्रेम हो भन्ने उनको अनुभव छ। प्रेमलाई परिभाषित गर्ने प्रयास गर्न नहुने उनको धारणा छ। प्रेमरूपी फूल यथासमयमै फक्रने वातावरण बनाउन नसक्दा ओइलाउने उनको ठहर छ।

नेपाली संस्कृतिको गहिरो अध्ययन गरेका दिवसलाई संस्कृति गतिशील र त्यसमा परिवर्तन आइरहने लहरजस्तो हुने बताउँछन्। त्यो ठाउँ, जातिसँग कसरी तादात्म्य स्थापना गर्न सक्छ त्यो महŒवपूर्ण हुने उनको भनाइ छ। नेपाल आफै १२५ जात, १२३ भाषाभाषी भएको मुलुक हो। आफ्नै समुदायका संस्कृति र संस्कार साटासाट गरेजस्तै प्रेमदिवसका राम्रा पक्ष अपनाउँदा फरक नपर्ने उनी ठोकुवा गर्छन्। 'पढेगुने के काम, जोती खाए माम भनेर शिक्षाप्रति नकारात्मकता धारणा थियो हाम्रो समाजमा,' उनी भन्छन्, 'प्रेमदिवसप्रति विमति जनाउनु अस्वाभाविक लाग्दैन मलाई।' आधुनिक शिक्षा, लुगाफाटा, घुमफिरमा आएको परिवर्तन बिस्तारै पच्दै गयो। नयाँ कुरा आउँदा सुरुसुरुको समयमा अप्ठेरो लाग्नु स्वाभाविक लाग्छ उनलाई। स्वस्थ परम्परा अभिभावकमा निहित संस्कारबाट विकसित हुने उनी बताउँछन्।

भ्लोन्टाइन डेको महात्म्य नेपाली सभ्यतासँग जोडेर लैजान सकिने उनी प्रष्ट्याउँछन्। 'आपसमा अति प्रेम गर्ने रति र कामदेवजस्ता पात्र नेपाली संस्कृतिकै हुन्,’ उनी भन्छन्, 'महादेव–पार्वतीको प्रेमकथाका कुरालाई सन्त भ्यालेन्टाइनका स्थानमा जोड्न सक्छौँ।’ मानवीयता, युवायुवतीका हार्दिकता, प्रेम, संवेदना मान्छेका स्वतःस्फूर्त गुण हुन्। यिनलाई बाँधेर, भावना, आकांक्षालाई बन्दी बनाएर राख्ने प्रयास कसैका हितमा नहुने उनको तर्क छ।

प्रेम बाँड्नुपर्छ :  कुमारी लामा

'प्रेम' शब्दको उच्चारण गर्दैमा पनि हरेक मानिस प्रेमिल हुन पुग्छन्। दुःख बाँडे घट्छ, खुसी र प्रेम बाँडे त्यो फैलन्छ। त्यसैले प्रेम परिभाषित गर्न नसकिने र एकप्रकारको अनुत्तरित प्रश्न हो भन्ने ठान्छिन् निबन्धकार तथा समीक्षक कुमारी लामा। 'प्रेम बाँध्न सकिँदैन ,अनुभूतिको पनि उच्च अनुभूति हो यो,’ लामा भन्छिन्, 'प्रेम एकछत्र जहाँ पनि छ, प्रेमबिनाको मानव जिन्दगी कल्पना गर्न सकिन्न।’

उनका अनुसार उत्सवका रूपमा एउटा अवसरमा प्रेमदिवस मनाउनु फरक हो। तर, एकदिनले प्रेमको औचित्य निरर्थक हुन सक्छ। पे्रम बाँड्ने संस्कृति कतैबाट आएको भए पनि नकारात्मक भने मान्दिनन् उनी। 'प्रेम बाँड्ने पर्व एकदिन हैन यो त प्रत्येक दिन प्रेमदिवसका रूपमा मनाउनुपर्छ,’ उनी भन्छिन्, 'पहिलेजस्तो डराइडराइ गर्ने प्रेम अब रहेन।’ उनको बुझाइमा कुनै बेला केटीभन्दा केटा बढी प्रेमप्रस्तावको पहल गर्थे। 'मेरै पालामा मैले मन पराएको मान्छेलाई म भन्न सक्दैनथेँ,’ उनी भन्छिन्, 'कसैले ए तँलाई त फलानाले मन पराउँछ भनिदिनुपर्थ्यो।’ सीधै प्रेमका कुरा गर्न प्रेमदिवस अहिलेका युवापुस्ताका लागि एउटा अवसर पनि बनेको उनलाई लाग्छ।

नेपाली संस्कृति र संस्कारमा पनि प्रेमका अंश पर्याप्त छन्। दिदी–भाइबीचको प्रेम तिहारमा झल्किन्छ। आमा खुवाउने औँशीमा मातृप्रेम, दसैँमा सबै आफन्तबीचको प्रेम अनि तिजमा एउटी पत्नी र प्रेमिकाले आफ्ना पति र प्रेमीप्रति दर्शाउने प्रेम। यस्ता प्रेम संस्कृतिलाई हामीले नै प्रचार गर्न नसकेको उनको भनाइ छ। 'प्रेमदिवसको एकदिन कसैले कसैलाई डेटमा लानुपर्ने, प्रपोज गर्नैपर्ने मानसिकता नकारात्मक हो,’ उनी प्रष्ट्याउँछिन्, 'तर, यसो गर्दा पनि हाम्रो संस्कृतिमा ठूलै असर पर्छ जस्तो लाग्दैन।’

प्रेम दिवसका दिन उनी आफै पनि केही न केही प्रेमजन्य कार्य गरेरै मनाउँछिन्। 'गत वर्ष प्रेमकविता वाचनमा गएँ, प्रेमका कविता सुनाएँँ  र सुनेँ पनि,’ लामा भन्छिन्, 'साहित्यमा प्रेम एउटा अविच्छिन्न भाव र रस हो।’ प्रेमसंस्कृतिको विकासमा जोड दिनुपर्ने उनको भनाइ छ। नेपाली समाजमा परिवार, शिक्षक, समुदायबाट प्रेमको औचित्य पुष्टि गरेर नयाँ पुस्तालाई सकारात्मक सन्देश दिने प्रयास हुनुपर्ने उनी बताउँछिन्। प्रेमदिवस अहिले एउटा गुलाफ दिने, चकलेट दिने वा डिनर खाने प्रतिस्पर्धामा सीमित भएकोमा भने उनलाई चिन्ता लाग्छ।  प्रेमको परिणाम सोचेको भन्दा विपरीत हुँदा समाजशास्त्री इमाइल दुर्खिमले भनेजस्तो आत्महत्याको दर बढ्न सक्छ भन्नेमा पनि उनी उत्तिकै चिन्तित छिन्। 

प्रकृति साक्षी राख्ने प्रेम अचेल छैन : मनु मञ्जिल

वर्षको एकदिन मात्र हैन त्यसमा एकदिन थपेर ३६६ दिन नै प्रेमदिवस मनाउनुपर्ने धारणा राख्छन् कवि मनु मञ्जिल। गाउँघरको पानी पँधेरा, वनजंगल र कुनाकन्दरामा फक्रने प्रेम अचेल 'मिस' गर्छन् उनी। 'प्रकृति साक्षी राखेर, देउराली भाकेर, देवीदेउताका अघिल्तिर उभिएर गरिने त्यो प्रेम अब खै कता पाउनु,’ उनी नोस्टाल्जिक बन्छन्, 'होटल, रेस्टुरँ र डान्सबारमा मौलाएका हाइब्रिड प्रेमको रस मौलिक हुन्नन्।’ किशोरवयबाटै प्रेमिल कविता लेख्न थालेका उनी हरेक दिन  साथीभाइका गर्लफ्रेन्डलाई प्रेमपत्र लेख्थे। 'ती गर्लफ्रेन्ड कस्ता थिए मैले कहिल्यै देखिनँ, तर मभित्रको जुन प्रेम थियो त्यो अभिव्यक्त गर्न आफ्नै गर्लफ्रेन्ड सम्झेर प्रेमपत्र कोर्थें,’ उनी भन्छन्, 'मैले लेखिदिएका ती प्रेमपत्र पढेर प्रेमातुर युवतीले लेख्ने मान्छे थाहा पाएको भए मेरा साथीहरूका प्रेम तोडिन्थे।' त्यसैले पनि भेटाउन–देखाउनै डराउँथे उनका साथीहरू। प्रेमका कुरा त्यसै आउँदैनन् झ्यालमा बसेर घन्टौँ एकोहोरिन्थे उनी। कस्ती होलिन् चिठी लेख्न लागेकी सुन्दरी भनी उनी कल्पिन्थे।

आफ्नो लागि भने उनले बिहेपछि मात्रै प्रेमपत्र लेखे। एउटै कलेजमा पढेकी केटी थिइन्। कसैले कुरा ल्याएर देखाउन लग्दा मात्र दुई मिनेट देखादेख भएको त्यो प्रेम उनको जीवनकै अमूल्य पल थियो। त्योबाहेक पनि उनको हृदयमा प्रेम नपलाएको भने हैन। प्रेम गर्न फराकिलो हृदय चाहिन्छ। जसलाई प्रेम गरिन्छ जीवनमा पाउनैपर्छ भन्ने मान्यता राख्दैनन् उनी। त्यही अव्यक्त प्रेम उनका कवितामा पनि कतैकतै झुल्किन्छन्। 'प्रेमको फिलिङ्स नै मधुर लाग्छ,' उनी भन्छन्, 'प्रेम सम्बन्धका रचना गर्दा म आफैभित्र हराउँदै एक्लै मुस्कुराउँछु।' उनका अनुसार सुन्दर कविता, गजल र गीतका इतिहास हुन् वा कथा र उपन्यासका पुस्तक प्रेमकै बढी मन पराइन्छ। अँध्यारा गल्लीमा प्रेम हुनु झन् सुन्दर हुने उनलाई लाग्छ। 'मानिस सबै राजमार्ग छाडेर त्यो गल्लीमा रमाउन मन पराउँछन्,' मञ्जिल काव्यिक बन्दै भन्छन्।

प्रेमदिवस प्रेमिल भाव अभिव्यक्त गर्ने जायज मौसम भएकोले यसलाई मनाउनु गलत नहुने उनको धारणा छ। 'गणतन्त्र, प्रजातन्त्र, शिक्षा, स्वास्थ्य सबैको दिवस हुने प्रेमको दिवस किन नहुने,' उनी प्रश्न गर्छन्, 'मानिसले आफै गर्न सक्ने महान् कुरा नै प्रेम हो।’ विश्वले मनाएको दिवस आयातित संस्कृति भनेर पन्छनुपर्छ भन्ने उनलाई लाग्दैन। जसरी सूर्यलाई हत्केलाले छेकेर छेकिन्न उसैगरी आउने कुरा जति विरोध गरे पनि आउने उनको भनाइ छ। 'प्रेम एउटा स्थानको बिर्ता हैन,’ उनी भन्छन्, 'अरु प्राणीभन्दा मानिसमा भएको अलौकिक गुण हो प्रेम। लाखौँ मान्छेले माया गर्छ भने नेपालीले चाहिँ त्यो दिन माया गर्न किन डराउने!’

नेपालका आफ्ना चाडपर्वको समय त्यस्तै एकडेढ महिनाका भएकाले त्यो एकदिन थप हुँदा मौलिकता र संस्कृतिमा कुनै हस्तक्षेप नहुने उनको भनाइ छ। प्रेम दिवसका दिन उनी राति अबेरसम्म सडकमा डुल्छन्। सडक, बजार, चौतारी, पर्खालमा जोडी बनेर देखिने प्रेमको दृश्य प्यारो लाग्छ उनलाई। अरुले गरेका प्रेम हेरेरै ऊर्जा सँगाल्छन् उनी। तर, प्रेमदिवस सेक्समा पुग्नका लागि मात्र भने मनाउन नहुने उनको धारणा छ।

कवितामै प्रेम पोख्छु :  राजेन्द्र सलभ

कवि तथा चलचित्रकर्मी राजेन्द्र सलभलाई आफ्नो जमानाको प्रेम सम्झँदा खुब आनन्द आउँछ। आफूले प्रेम गरे पनि चिठी दिन नसकिएकोमा अहिले पनि पछुतो लाग्छ उनलाई। हुनेवाला श्रीमतीलाई भने उनी प्रेमपत्र लेख्न चुकेनन्। त्यो प्रेम कागजमा अभिव्यक्त गर्दाको क्षणले अहिले पनि उनलाई काउकुती लगाउँछ। 'अहिले पो इमेलको जमाना आयो, मैले चिठी लेख्दा कति शब्द मन नपरेर च्यातँे होला, कति केरमेट गरेँ होला मलाई नै हेक्का छैन,' सलभ प्रेमका ती पल स्मरण गर्छन्। उनले लेखेका ती प्रेमपत्रमा मनभित्रको अन्तरकुन्तरमा लुकेका भावना एकएक गरी अक्षर बन्दै कागजमा छरपस्टिए। लेख्दै गर्दाको उकुसमुकुस प्रियसीको जवाफी पत्र नआएसम्म उस्तै अटेसमटेस भएर सलभका मनभित्र खुम्चिरहन्थे। पत्र पाएपछि भने मनै फुरुंग हुन्थ्यो। 'उनीभित्र पनि मेरैजस्तै माया बगेको रहेछ भन्ने भावनासँगै चिठीलाई पनि प्रियसी सम्झेर छातीमै टाँस्थेँ,' उनी भन्छन्।

त्यो जमानाको प्रेमका कठिनाइ सम्झँदा उनलाई अहिले हाँसो लाग्छ। 'मन परायो, तर प्रकट गर्न नसक्दा मामा पो भई सकिन्थ्यो,’ उनी हाँसो गर्छन्। प्रेमदिवसलाई विश्व र प्रविधिसँगको साक्षात्कारका रूपमा लिन्छन् उनी। जेजस्तो चलन आइरहेको छ त्योसँगै चलिदिँदा सजिलो हुने उनको भनाइ छ। पुरानै ढर्रामा बाँधिइरहँदा निकै पछि परिने उनी बताउँछन्। 'नयाँ पुस्ताले जस्तै प्रेमदिवस मनाइदिँदा उनीहरूसँगै बग्न सकिन्छ,' सलभ भन्छन्, 'कविले बाँड्ने भनेको प्रेम नै हो।’ उनको विचारमा अरु दिन माटोको प्रेम, देश र दुनियाँको प्रेम कवितामा बढी पोखिन्छन्। प्रेमदिवसका दिन भने केवल प्रेम पोख्ने कवि र लेखकका लागि अवसर हुन्छ।

गत वर्षझैँ यस पटक चन्द्रागिरिमा कविहरू भेला गर्ने, प्रेमकविता वाचन गर्ने र त्यसलाई पाठकमाझ पुर्‍याउने योजना छ उनको। आधुनिक समाजमा हत्या, झगडा, हिंसा, मनमुटाव बढिरहेको छ। यसलाई न्यूनीकरण गर्ने औजार प्रेम मात्र भएको उनको भनाइ छ। साहित्यमा लेखिने प्रेमका कुराले प्रेम गर्ने प्रेरणाभन्दा आत्मिक आनन्द दिने उनको बुझाइ छ। प्रेम सिक्ने हैन, अनुभूत गर्ने मिठासपूर्ण अवस्था मान्छन् सलभ।

प्रेमलाई समाजशास्त्रीय आँखाले हेर्नुपर्छ :  सरिता तिवारी

सत्य भावनाले ओतप्रोेत हृदयको अनुभूतिलाई प्रेम मान्छिन् कवि सरिता तिवारी। विज्ञानको तथ्य परिवर्तन भैरहन्छ, तर सत्य उही हुन्छ। 'प्रेमलाई शाश्वत भन्छौँ, तर तथ्यलाई शाश्वत भनिँदैन,’ उनी भन्छिन्। उनका अनुसार खुला समाजमा प्रेम अभिव्यक्ति सहज छ। बन्द समाजमा असहज हुन्छ। प्रेम भन्ने शब्दलाई नै नकारात्मक हिसाबले हेर्ने चलन पहिला निकै थियो। त्यसका अवशेष अझै नेपाली समाजमा रहेको उनको भनाइ छ। 'प्रेम व्यक्त गरेकै कारण आत्महत्या गरेका थुपै उदाहरण छन्,’ उनी भन्छिन्, 'जाति, समुदायका विभेदको सिकार प्रेम भएको छ।’ उनले भनेझैँ धनी–गरिब, धार्मिक फरकपनको प्रेम, गैरदलित–दलित समुदायको प्रेम सम्बन्ध आदि सामाजिक मान्यताकै कारण असफल बनेका छन्। प्रेमलाई सतहमा भन्दा समाजशास्त्रीय आँखाले हेर्न बौद्धिक जमातले पनि नसकेकोमा उनी आलोचना गर्छिन्।

'प्रेम कसले गर्न मिल्ने र कसले नमिल्ने भनेर पुरातन समाजले नियम बनाएको छ,’ उनी भन्छिन्, 'प्रेमकै कारण झुण्डिएर मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ।’ यसका लागि प्रेमदिवस सही रहेको उनको बुझाइ छ। प्रेमदिवस मनाउनुलाई आयातित संस्कृति हाबी हुनुभन्दा पनि समाज विश्वव्यापी भएको अनुभव उनले गरेकी छन्। तर, प्रेमका नाममा बजारशास्त्रले खेल्न थालेको खेलप्रति भने उनी चिन्तित छन्।

प्रतिकात्मक रूपमा प्रेम गर्छु भन्नेले जोखिम मोल्नुपर्ने अवस्थाबाट प्रेमदिवस गुजि्ररहेको उनलाई लाग्छ। म तिमीलाई माया गर्छु भन्नु नै ठूलो कुरा हो। तर त्यो उद्गारभित्र बजार पसेकाले प्रेम वस्तुकरण हुँदै गएको देख्छिन्। प्रेम अभिव्यक्त गर्न महँगा रेस्टुराँ, महँगा उपहार वा डान्सपार्टी जानुपर्ने अवस्थाको अनुयायी बन्न नहुनेमा उनको जोड छ। यो चेतना प्रेमदिवससँगै फैलाउनुपर्ने उनी बताउँछिन्। 'खर्च गर्न नसक्ने मान्छेले त जतिसुकै आत्मिक माया गरे पनि त्यो असफल हुने भो,’ तिवारी भन्छिन्, 'यसले मायाको गहिराई छायाँमा पर्दैछ।’ फरक समयको आगमन स्वीकार्नु नै बुद्धिमानी हुने उनको भनाइ छ।

प्रविधिले प्रेम गर्ने तरिकामा परिवर्तन ल्याएको उनी स्वीकार्छिन्। '१८ वर्षअघि मोबाइल फोन थिएन, चिठीको आदानप्रदान अनि पोस्टकार्डमा प्रेमका कुरा लेखिन्थ्यो,’ उनी पुराना कुरा सम्झन्छिन्, 'मन परेको छ भने डराएर साथीभाइको सहयोगले लुकिलुकी अभिव्यक्त हुन्थे।’ कविता लेख्न थालेपछि कवितामा प्रेम कोर्न थालिन् उनी। अचेल प्रेमलाई मुखले व्यक्त गर्न पर्दैन, च्याट, भाइबरकल, स्काइप, फेसबुक र मोबाइल मेसेजबाट छिटो आफूले चाहेको मान्छेसम्म पुर्‍याउन सकिने अवस्थाले उनलाई आश्चर्यचकित पारिदिएको छ।

मन परेको मान्छेलाई जीवनभरि मन पराउनुपर्ने त्यो प्रेम छड्के आँखा हेर्दै कविता र गजल सुनाउनुपर्ने खालको रहेको उनी बताउँछिन्।  'अचेल कविता, गीत, सायरी गुगलबाटै पोस्ट हुन्छन्, कति चाँडै प्रेम शारीरिक पनि भैसक्छ। यो विकृतिचाहिँ प्रेमदिवसका दिनबाटै हटाउनुपर्छ,’ तिवारी भन्छिन्, 'प्लेटोनिक प्रेम हामीले गर्‍यौँ, नछोइकन गरिने त्यो प्रेम अझै मुटुभित्रै बिझेकै छन्।’

सन्त भ्यालेन्टाइन

इशापूर्व २६९ तिर रोमका पूजारी सन्त भ्यालेन्टाइन प्रेममा परे। जेलमै बस्दा जेलरकी छोरीसँग उनको प्रेम बस्यो। प्रेमविरोधी राजाद्वारा स्थापित जेलमै उनले प्रेम साटासाट गरे। मृत्युदण्डको सजायसँगै फाँसीको अघिल्लो दिन उनले आफ्नी प्रेमिकालाई भावविह्वल प्रेमपत्र लेखे। प्रेमपत्रको अन्तिममा लेखे– 'उही तिम्रो भ्यालेन्टाइन।’ भ्यालेन्टाइनले मृत्युदण्ड पाए। तर उनी हरेक प्रेमीका मनमा अमर रहे।

संसारमा खुला प्रेम गर्नेहरू हराएनन्, झन् बढ्दै गए। तिनै प्रेममा पर्ने र प्रेमलाई पूजा मान्नेहरूको जमातले भ्यालेन्टाइनको निधन भएको दिन १४ फेब्रुअरीलाई 'भ्यालेन्टाइन्स डे'का रूपमा मनाउन थाल्यो। यो दिन सन्त भ्यालेन्टाइनको स्मरणमात्र गरिँदैन, मुटुभित्रैदेखि मन पराएको व्यक्तिसामु प्रेम अभिव्यक्त गर्छन्।

प्रेम मानिसको अन्तरहृदयमा अंकित मीठो अनुभूति हो। जसलाई रोमका एक पूजारी सन्त भ्यालेन्टाइनले हृदयबाट प्रस्फुटित गर्न सिकाए। हरेक दिन मान्छे प्रेममै हुन्छ, तर कम्तीमा एकदिन त्यो हृृदयभित्र अन्तरनिहित प्रेमलाई बाहिर निकालेर संसारलाई प्रेमिल बनाउनु कुनै पनि दृष्टिमा अनुचित होइन। भ्यालेन्टाइनले आफूजस्तै प्रेम गर्नेहरूको विवाह गराए। रोममा राजा क्लाउडियस द्वितीयको शासनकालमा रोमन युवालाई प्रेममा पर्न र विवाह गरेर घरजम गर्न निषेध गरिएको थियो। युद्ध गरेर रोमन साम्राज्य विस्तार गर्ने आफ्नो अभीष्ट पूरा गर्न सैनिक र राज्यका युवालाई प्रेम तथा विवाहबाट टाढा राख्न चाहन्थे उनी। युद्धमा जानेलाई क्रूर बनाउने उनको योजना सन्त भ्यालेन्टाइनका कारण तुहियो। आफ्नी श्रीमती, सन्तान र प्रेमीको प्रेमका कारण युद्धमा जाँदैनन् भन्ने सोच राजाको थियो।

उनले रोमका चर्चहरूमा विवाह गराउनेलाई सजाय दिने उर्दी नै जारी गरे। सैनिक र युवालाई जस्तै चर्चका पूजारी भ्यालेन्टाइनलाई यस निर्णयले विचलित तुल्यायो। तर, केही समयका लागि मात्र। त्यो निर्णयको खुलेर विरोध गर्ने साहस कसैले देखाउन सकेन। भ्यालेन्टाइन मानिसको जीवनलाई स्वतन्त्र प्रेमको आधारका रूपमा लिन्थे। प्रेमलाई ईश्वरको पूजाको रूपमा स्वीकार्ने जमातले उनलाई साथ दियो। राजा क्लाउडियसले भने १८ वर्ष पुगेका सबै युवालाई सैनिकमा भर्ती हुन आदेश दिए। रोममा जबर्जर्स्ती सैन्यभर्ती चलेपछि धेरै युवा घरभित्रै लुकेर कैयौँ दिन विताए। भ्यालेन्टाइनले राजाको निषेधाज्ञा तोड्दै प्रेमी जोडीहरूको विवाह गराइदिए।

रातको समयमा प्रेमी जोडी जम्मा गरेर विवाह गराउने अभियान नै उनले चलाए। उनका शत्रुहरूले यो कुरा राजा क्लाउडियसको कानमा पुर्‍याए। भ्यालेन्टाइनलाई राजाले तत्काल बन्दी बनाए।










यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बुँख्याचा मनको रंगशिल्प

बुँख्याचा मनको रंगशिल्प

'बुँख्याचा मन'को निर्देशकीय परिकल्पनाका दृष्टिले रंगमञ्च संयोजनले उच्चता प्राप्त गरेको देखिन्छ। मितव्ययी रंगप्रविधिबाट पनि यति गहिरो कथालाई सहजै प्रस्तुत गर्न...

'निशा नभएको भए म डुबिसक्थेँ'

'निशा नभएको भए म डुबिसक्थेँ'

सँगै नाटक गर्दागर्दै सुनील र निशाले एकअर्कालाई मन पराए, प्रेमिल व्यवहार दर्शाउन थाले। उनीहरूको कलिलो प्रेमको पालुवाले रंगमञ्चको पर्दा छिचोल्यो,...

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

जनकपुरमा रहँदा रेडियो नाटक गर्दागर्दै मैथिली नाट्यकर्मी रविन्द्र झाको सहयोगमा सरिता साह शरंगमञ्चमा प्रवेश गरेकी हुन्। नाटककै लागि २०६९ मा...

हलमा अस्कर विजेता फिल्म

हलमा अस्कर विजेता फिल्म

हलिउड फिल्म नेपालमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनीत तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने...

Fixed Ad