उठ्नै सकेन गोबरगाढा

आइतबार, ०१ फागुन २०७३, ०८ : २३ जितेन्द्रकुमार झा


राजविराज- कोसी नदीको बीचमा 'टापु' को गाउँ भनेर चिनिने सप्तरीको अतिविकट गोबरगाढा गाविसका बासिन्दा जोखिमपूर्ण जीवन जिउन बाध्य छन्। हुनेखाने दशकौंअघि गाउँबाट पलायन भए। कुनै विकल्प नभएका ३ सयभन्दा बढी परिवार यहीं बसेर जेनतेन गुजारा चलाइरहेका छन्।

 चारैतिर कोसी नदीले घेरिएका कारण यहाँ आवतजावत गर्न त्यति सहज छैनन्। सदरमुकाम राजविराजबाट मात्र १२/१५ किलोमिटर टाढा भए पनि 'राज्यविहीनता' को अवस्थामा छ गोबरगाढा। भारतीय सिमानासँग जोडिएको गाविस भए पनि  सुरक्षा निकायको पनि उपस्थिीति छैनन् यहाँ।

'राजनीतिक प्रणाली बदलियो तर गोबरगाढावासीको अवस्थामा कुनै परिवर्तन आएन, हाम्रो अवस्था उस्तै छ, उठन सकेन'

'प्रहरीचौकीको पुरानो बोर्ड हेरेर सुरक्षाको प्रत्याभूति महसुस गर्नुपर्ने अवस्था छ', स्थानीय इनरदेव यादव भन्छन्, 'सीमा सुरक्षा त परै जाओस् स्थानीयको सुरक्षा पनि रामभरोसा छ, नेपाल र भारत दुवैतिरका आपराधिक व्यक्तिको अखडा बनेको छ गोबरगाढा।' भवन नहुँदा प्रहरीचौकी सञ्चालन गर्न नसकिएको हो।

 गाउँमा स्वास्थ्यचौकी छ तर आफ्नै भवन छैन। स्थानीय महिला स्वयंसेविका तेतरीदेवी यादवले उपलब्ध गराएको गाईगोठमा वर्षौदेखि स्वास्थ्यचौकी सञ्चालित छ।

'गाईगोठमा गाईभैंसीसँगै राखिएको स्वास्थ्यचौकीबाट स्थानीयले कस्तो स्वास्थ्य सेवा पाइरहेका होलान् भन्ने सहजे बु‰न सकिन्छ', हरिनारायण यादव भन्छन्, 'प्रहरीचौकी जस्तै स्वास्थ्यचौकी पनि सांकेतिक मात्रै हो, दुईटा दराज र त्यसभित्र राखिएका केही नयाँ पुराना औषधि हेरेर मात्रै चित्त बुझाउनुपर्ने अवस्था छ।' 

यस्तै अवस्था छ, स्थानीय निम्न माध्यमिक विद्यालयको पनि। वर्षौंसम्म झुपडीमा सञ्चालित विद्यालयका लागि जिल्ला शिक्षा कार्यालयले पछिल्लो वर्ष भवन त बनाइदियो, तर शिक्षक भने छैनन्। २ शिक्षकको भरमा सात कक्षासम्म पठनपाठन हुन्छ। 'पढाउनेभन्दा पनि बालबालिकालाई रुङ्ने काम बढी गरिरहेका छौं', शिक्षक विद्यानन्द यादवले भने।

आपत्विपत्का बेला गाउँबाट निस्कन नदी पार गर्न सक्ने आवश्यक डुंगा (नाउ) समेत छैनन् यहाँ। २ वर्षअघि गाविस बजेटबाट बनाइएका दुईवटा सानो डुंगा पनि काम नलाग्ने अवस्थामा पुगिसकेको स्थानीय कुशेश्वर यादव बताउँछन्। अभावैअभावमा गुजारा चलाउँदै आएका गोबरगाढावासीको पीडा बु‰ने काम न त राज्यका निकायले  गरेका छन् न त जनप्रतिनिधिले नै। 'भोट हालेर पठाएका सांसदज्यूहरू नै हामीप्रति जवाफदेही हुन सकेनन्, अरुलाई के दोष दिनु', ७० वर्षीय फागु सदा यसरी दुखेसो पोख्छन्, 'हाम्रा लागि त सरकार, राज्य जे भने पनि सांसदहरू नै हुन, तर उनीहरूको रवैयाले पीडामाथि पीडा थपेको छ।'

२०४६ सालको राजनीतिक परिवर्तनयता यस क्षेत्रबाट जितेर गएका कुनै पनि सांसदले गोबरगाढाका लागि केही पनि नगरेको फागुको अनुभव छ। उनी भन्छन्, 'जोसुकै जितेर गए पनि हाम्रो अवस्था भने उस्तै छ, उठ्न सकेन।'

२०४८ सालमा भएको संसदीय निर्वाचनमा गोबरगाढासमेत रहेको सप्तरी निर्वाचन क्षेत्र १ बाट एमाले नेता हिरालाल चौधरी निर्वाचित भएका थिए। चौधरीलाई सम्भि्कँदै फागुले भने, 'गरिबका नेता, मजदुरका नेता भनेर उनलाई चिनिन्थ्यो तर चुनाव जितेर गएपछि मुख देखाउन पनि आएनन्।'

२०५१ मा मध्यावधि चुनाव भयो। त्यतिबेला यो क्षेत्रबाट जयप्रकाशप्रसाद गुप्ता निर्वाचित भए। ०५६ को चुनावमा पनि गुप्ता नै चुनिए तर आश्वासनबाहेक गोबरगाढावासीले केही पनि पाउन सकेनन्।

पहिलो संविधानसभा चुनावमा गोबरगाढालाई निर्वाचन क्षेत्र २ अन्तर्गत राखियो। पुनः गुप्ता नै यस क्षेत्रबाट निर्वाचित भए। राजनीतिक प्रणाली र सांसद बदलिए पनि गोबरगाढाको अवस्थामा भने कुनै परिवर्तन हुन नसकेको स्थानीय लक्ष्मण यादव बताउँछन्। 

संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रबाट माओवादी केन्द्रका अशोककुमार मण्डल  निर्वाचित भए तर उनले पनि गोबरगाढाका लागि सांसद विकास कोषबाट एक रुपैयाँ पनि नदिएको यादवको गुनासो छ।

हाल गोबरगाढा रहेको क्षेत्र नम्बर २ बाट संसद्मा चार जनाको प्रतिनिधित्व छ। प्रत्यक्ष निर्वाचित मण्डल, समानुपातिकतर्फ गंगाप्रसाद यादव (राप्रपा/उपसभामुख), रमणीदेवी राम (फोरम लोकतान्त्रिक) र रञ्जित कर्ण (नेपाली कांग्रेस) सांसद छन्।

यस वर्ष मात्रै ४ सभासदको निर्वाचन क्षेत्र विकास कार्यक्रमको २ करोडका अतिरिक्त निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत ३ करोड रुपैयाँ विनियोजित गरिएको छ। सांसदहरूले विनियोजित गरेको ५ करोडमध्ये समस्यैसमस्या झेल्दै आएको गोबरगाढाका लागि भने डेढ लाख रुपैयाँ मात्र छुट्याइएको छ। डेढ लाख पनि सभासद कर्णले गोबरगाढाका लागि डुंगा निर्माणका लागि दिएको जिविसको तथ्यांकबाट देखिन्छ।

यसो भन्छन् सांसद

 यस क्षेत्रबाट निर्वाचित सांसद मण्डल थोरै बजेटमा गोबरगाढामा योजना सञ्चालन गर्न कठिन हुने गरेकाले बजेट विनियोजन गर्न कठिनाइ भएको बताउँछन्। जिल्ला विकास समितिले योजना बनाएर पेस नगर्नु र समानुपातिकतर्फका सांसदले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम बजेट बाँडफाँटमा 'झेल' गर्दा पनि गोबरगाढाको उत्थानमा समस्या  परेको उनको भनाइ छ।

 'गोबरगाढा पक्कै पनि समस्याग्रस्त छ, म आफैं उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्छु, गत निर्वाचनमा मैले त्यहाँबाट १०/१२ वटा जति भोट पनि पाएको थिएँ', मण्डलले भने, 'समस्या समाधानप्रति म गम्भीर छु।'

 अर्का सांसद यादवले गोबरगाढाका 'भोटर' हनुमाननगर, योगिनीया, सकरदहीसहितका स्थानमा बढी संख्यामा बसोबास गर्ने भएकाले धेरै मतदाता बस्ने क्षेत्रमा लगानी पनि बढी गरिएको बताए।

 '६ सय भोटरमध्ये डेढ सय भोटरमात्रै गोबरगाढामा बस्छन्', यादवले भने, 'बाँकी यता योगिनीयातिरै बस्छन्, उनीहरूका लागि बजरंगबलीको मन्दिर, मस्जिदलगायत पूर्वाधार बनाइदिएका छौं।' कोसीको बीचमै बस्ती भएका कारण त्यहाँ भौतिक संरचना निर्माण गर्न अप्ठेरो भएकाले पनि त्यतातिर बजेट विनियोजन नभएको यादवले स्वीकारे।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पद्मावती’ विवाद

‘पद्मावती’ विवाद

महंगो सेटमा फिल्म बनाउन माहिर बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’को फष्र्टलुक सार्वजनिक हुनासाथ फिल्मकर्मीदेखि दर्शकसम्मले फष्र्टलुकको तारिफ गरे...

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको...

दसैंका गीतमा पीडा

दसैंका गीतमा पीडा

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो...

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

आगामी कात्तिक २४ गते ‘सकस’, ‘रोमियो’ र ‘मेला’ रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा अर्को फिल्म ‘तान्द्रो’ पनि रिलिज हुने...