विद्यार्थी हितकारी परिषद्

आइतबार, ०१ फागुन २०७३, १० : २० नागरिक

मिलन पाण्डे, पुकार बम

‘केटाहरू हो, यसपालिको स्ववियु निर्वाचनमा हामीले कुनै पनि हालतमा जित्नैपर्छ। विपक्षी एक–एकलाई छानीछानी क्याम्पसबाट लखेट्नुपर्छ! माथि सबै सेटिङ भइसक्या छ। पैसाको ‘नो प्रोब्लम’ है! जसले जे भन्छ त्यही दिनू तर कुनै पनि हालतमा स्ववियुचाहिँ हाम्रै हातमा है केटा हो!’

केही वर्षअघि एउटा विद्यार्थी संगठनका केन्द्रीय नेताले प्रशिक्षणको दौरान आफ्ना कार्यकर्तालाई भनेका यी शब्दहरू आज पनि मेरो मनमस्तिष्कमा ताजै छन्। यस्तो घटना क्याम्पस जीवनमा कसैका लागि पनि नौलो कुरा भने नहोला। यो कुसंस्कारले हाम्रा विद्यार्थीलाई के शिक्षा दिन्छ भन्ने प्रष्ट नै छ। यसले विद्यार्थी संगठनको उद्देश्यलाई छर्लंगै पार्छ। हालैमात्र प्रधानमन्त्री प्रचण्डले स्ववियु चुनाव हुन लागेको भन्दै वाइसिएललाई क्याम्पसमा उपस्थित हुन निर्देशन दिएको अभिव्यक्तिले मात्रै पनि विद्यार्थी राजनीतिको अवस्था दर्शाउँछ।

अब विद्यार्थी राजनीतिको हकमा पनि नयाँ युगको सुरुवात हुन जरुरी छ नत्र विद्यार्थीको प्रगतिका बाधक यिनै संगठन हुनेछन्।

विद्यार्थी युनियनको अवधारणा पञ्चायतकालमा राजनैतिक दललाई प्रतिबन्ध लगाइएको बेलामा विद्यार्थीमार्फत् आफ्ना विचार राख्नका निम्ति पार्टीहरुले अघि सारेका थिए। हरेक संगठनको एउटा समयसापेक्ष उद्देश्य हुन्छ। उद्देश्य प्राप्तिपछि संगठनले नयाँ उद्देश्य लिनैपर्छ वा संगठनको अस्तित्व सकिन्छ। विद्यार्थी संगठनहरु मूलतः उद्देश्यविहीन देखिन्छन् तसर्थ उनीहरूको अस्तित्वमै प्रश्न उब्जिएको छ। विद्यार्थी युनियन हालका दिनमा यति उद्देश्यविहीन हुन पुगे कि कार्यकर्ता भर्तीबाहेक अन्य कुनै कार्ययोजना यी संगठनमा देखिएको छैन।

केही दिनअघि जारी गरिएको आचारसंहितामा त्रिभुवन विश्वविद्यालयले प्रष्टसँग भन्यो– कुनै पनि विद्यार्थी संगठनले क्याम्पसको कम्पाउन्डवालको बाहिर–भित्र र क्याम्पस परिसरमा वाल पेन्टिङ गर्न पाउँदैनन्। निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै पनि प्रकारको पोस्टर टाँस्न मनाही गरिएको छ। त्रिवि वा क्याम्पसलाई हानी/नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार गर्न पाइने छैन तर कलेजका पर्खालहरु संगठनका राता मसीले रंगिइसकेका छन्। भित्ताहरु रंगीन पोस्टरै पोस्टरले निस्सासिन थालिसकेका छन्। विद्यार्थीहरूबीच कित्ताकाट सुरु भइसकेको छ। पार्टीभित्रै कसलाई स्ववियु सभापति उठाउने भनेर गुट–उपगुट बनेर बार्गेनिङ हुन थालिसकेको छ। देशका यी बौद्धिक युवा जमातले आफ्नै स्वीकृतिमा बनाइएको नियम लागू गर्दैनन् भने यो जमातले भविष्यमा विधिको शासनका लागि देशको कमान समातेर फरक नतिजा कसरी ल्याउन सक्छन्? सक्दैनन्, यो पद्धतिबाट हामीले सोचेको जस्तो विद्यार्थी हकहितका निम्ति लड्ने नेतृत्व अगाडि आउन सक्दैन। तसर्थ, यो परिपाटी अनि यो पद्धतिको विकल्प खोज्न अब ढिला गरिनुहुँदैन।

भर्ना सुरु हुँदा नयाँ आगन्तुक विद्यार्थीको भर्ना फारममा फोटो टाँस्न गम लिएर कहाँ बस्ने भन्ने सस्ता कार्यक्रमभन्दा माथि अहिलेका संगठनहरू उठ्न सकेका छैनन्। विद्यार्थीलाई योजनाले विश्वस्त बनाउनुभन्दा लाखौं खर्च गरेर नक्कली विद्यार्थी भर्ना गर्न अग्रसर हुने नीति र नेतृत्वले निकास दिन सक्दैन। विद्यार्थीका निम्ति आवाज उठाउनु अनि योजना बनाएर विद्यार्थीलाई विश्वस्त गर्नु भनेको त गाह्रो कुरा हो तसर्थ यस्तै सजिला बाटाहरुबाटै चुनाव जित्ने दाउपेचमा रहेका कारणले नै स्ववियु निर्वाचन बदनाम हुँदैछ। लाखौँ लगानी गरेर निर्वाचन लडिन्छ भने त्यो लगानी उठाउन पनि संगठनहरु चन्दा आतंक, टेन्डरमा कमिसन र आर्थिक हिनामिनामा संलग्न हुन्छन्।

क्याम्पसमा हरेक स्रोत, साधन र प्रत्येक पदमा भागबण्डा छ। शिक्षक, कर्मचारीदेखि विद्यार्थीसम्म क्याम्पसको स्रोत, साधन र पदमा आफ्नो पैत्रिक सम्पत्तिझैँ भागबण्डा गरिरहेका छन्। विश्वविद्यालयमा त योग्यता अनि क्षमता नै प्राथमिकतामा हुनुपर्ने थियो। यो भागबण्डा अनैतिक त छँदैछ, साथै यो गैरसंवैधानिक समेत छ। तसर्थ हालका विद्यार्थी संगठन र विद्यार्थी नीति नै विद्यार्थीका पक्षमा नरहेकाले यो प्रणाली मै १८० डिग्रीको परिवर्तन आवश्यक छ।

विकल्पः क्याम्पस हितकारी परिषद्

विश्वविद्यालय भनेको बौद्धिक छलफल गर्ने, वैचारिक बहस गर्ने अनि दक्ष जनशक्ति उत्पादन गर्ने थलो हो। क्याम्पसमा राजनीतिक बहस हुनुपर्छ। विद्यार्थीमा राजनैतिक चेतना विकास गरिनुपर्छ। क्याम्पसमै देशका समस्याबारे छलफल गरिनुपर्छ। समस्या समाधानका विषयमा गहन मन्थन हुनुपर्छ र, विद्यार्थीले राष्ट्रिय राजनीतिलाई निकासको बाटोमा दिशानिर्देश गर्न सक्नुपर्छ।

हामी खाली के मात्र भन्न खोज्दै छौँ भने क्याम्पस हाताभित्र दलगत राजनीति हुनु भएन। भागबण्डाको राजनीतिको अन्त्य हुनुपर्‍यो। क्याम्पसको हाताभित्र पार्टीका स्वार्थ र मुद्दामा मात्रै केन्द्रित हालको विद्यार्थी संगठन अब विद्यार्थी र शिक्षामै केन्›ित हुनुपर्‍यो। जसका लागि नयाँ संरचना नै आवश्यक छ। त्यस्तो संगठन जसले क्याम्पसभित्रका सम्पूर्ण पक्षलाई साझा दिशा र साझा उद्देश्य दिन सकोस्।

क्याम्पस हाताभित्र शैक्षिक माहोललाई उत्कृष्ट बनाउन विद्यार्थी मात्र होइन त्यस क्याम्पसका शिक्षक, प्रशासन, अभिभावक आदिका भूमिका पनि उत्तिकै महŒवपूर्ण रहन्छ। तसर्थ, क्याम्पस भित्रका यी सबै पक्षलाई एकै ठाउँमा ल्याउन जरुरी छ। क्याम्पसको समग्र विकासका निम्ति सम्पूर्ण पक्षलाई समेट्दै ‘क्याम्पस हितकारी परिषद्’ स्थापना गर्नु नै अहिलेको आवश्यकता हो।

यस्तो हितकारी परिषद्को समग्र उद्देश्य भनेकै यहाँबाट निस्किने हरेक विद्यार्थीलाई टोल–समाज र देशलाई सेवा गर्न सक्ने अब्बल नागरिक बनाउनु हो। क्याम्पसलाई शिक्षाअनुकूल बनाउन यसभित्रका सम्पूर्ण पक्ष एउटै दिशामा नलागेसम्म समग्र शैक्षिक प्रणालीमा परिवर्तन आउन सक्दैन। तसर्थ, हामीले क्याम्पसका सबै पक्षबीच सहकार्य गर्ने उचित वातावरण बनाउन सक्नुपर्छ। अहिलेको संरचनामा सबै पक्ष मिल्न नसक्नुको कारण क्याम्पसभित्र रहेको राजनैतिक झन्डा र निजी वा संगठनको स्वार्थ नै हो। यदि त्यसलाई हटाएर सबैको लक्ष्य ‘शैक्षिक उन्नति अनि विद्यार्थीको भविष्य’ हुन्छ भने सबै एकै ठाउँमा आउन गाह्रो हुने छैन। हो, त्यही वातावरण सिर्जनाको निम्ति नै यो हितकारी परिषद्ले नेतृत्वदायी भूमिका खेल्नेछ।

क्याम्पस हितकारी परिषद्ले सम्बन्धित विषयहरुमा गोष्ठी, सेमिनार अनि छलफल कार्यक्रम सञ्चालन गर्ने, सक्षम विद्यार्थीलाई छात्रवृत्ति र विद्यार्थीभित्र रहेका प्रतिभालाई समेत तिखार्ने कार्यक्रम ल्याउनेछ। विद्यार्थीलाई चाहिने सामग्री परिषद्कै अगुवाईमा क्याम्पस हाताभित्रै सहज रूपमा उपलब्ध गराउनेदेखि पुस्तकालयको सुधारसम्ममा अगुवाइ लिन विद्यार्थीलाई नै अग्रसर पार्न सके वास्तविक रूपमै विद्यार्थीमा नेतृत्व विकास हुने थियो। साथै, परिषद् एउटै क्याम्पसका पुराना विद्यार्थीहरूको अनुभव र नयाँ विद्यार्थीहरूको जोस बीचको पुलसमेत बन्न सके विद्यार्थी अनि क्याम्पसको हितका निम्ति पुराना र नयाँ विद्यार्थीहरू मिली धेरै कुरा गर्न सकिने थियो। विद्यार्थीलाई पढाइकै दौरान आफ्नै विषयसँग सम्बन्धित कुराहरूमा व्यावहारिक ज्ञान र सीप दिलाउनेदेखि विद्यार्थीलाई आफ्नै क्षेत्रमा पार्ट–टाइम सीपमूलक कामको समेत व्यवस्थाका लागि समेत हितकारी परिषद्ले अग्रसरता लिन सके यसरी उत्पादित नेतृत्वले भोलिका दिनमा व्यावसायिक वा राजनैतिक रूपमा नै देशको नेतृत्व सम्हाल्न सक्ने बन्ने थिए।

यसरी विद्यार्थीकै हकहितमा परिषद्ले काम गर्दा विद्यार्थीहरूमा नेतृत्व क्षमता विकाससँगै बौद्धिक ज्ञानसमेत बढ्दै जाने थियो। विश्वमा बदलिँदो आवश्यकताअनुरूप विद्यार्थीले आफ्नो क्यारियरलाई केन्द्रबिन्दुमा राख्दै सामाजिक र राष्ट्रप्रति उत्तरदायी बनाउन अबको विद्यार्थी राजनीति अग्रसर हुन आवश्यक छ। यी साधारण देखिने तर हुन नसकेका कुराहरूलाई नै कार्यान्वयन गर्न नयाँ उद्देश्यसहित ‘क्याम्पस हितकारी परिषद्’को आवश्यकता अपरिहार्य बन्दै गएको छ।

क्याम्पस हितकारी परिषद्को केन्द्रमा विद्यार्थी नै रहे पनि अरू सम्बन्धित पक्षहरुः शिक्षक, कर्मचारी र अभिभावकले समेत अब शैक्षिक सुधारका निम्ति क्याम्पस हितकारी परिषद्मा नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढ्न जरुरी छ। शिक्षकहरुले कसरी विषयलाई समयानुकूल बनाउने र विद्यार्थीअनुकूल बनाउने भन्नेमा सहकार्य गर्न जरुरी छ भने क्याम्पसका कर्मचारीहरुले प्रशासनिक र भौतिक पूर्वाधार जुटाई क्याम्पसमा शैक्षिक वातावरण कायम राख्न सहकार्य गर्न जरुरी छ। साथै, अभिभावकहरुले पनि निरीक्षकका रूपमा सम्पूर्ण कुरालाई अवलोकन र सल्लाहकारको रूपमा हितकारी परिषद्मा नेतृत्वदायी भूमिका निर्वाह गर्न जरुरी छ।

राष्ट्रिय राजनीतिमा एउटा युगको अन्त्य भएर लोकतन्त्र संस्थागत भइसकेको छ। यो उपलब्धिसँगै अब विद्यार्थी राजनीतिको हकमा पनि नयाँ युगको सुरुवात हुन जरुरी छ। अब विद्यार्थी राजनीतिसँग एकमात्र विकल्प छ, क्याम्पस हाताबाट दलगत राजनीतिको अन्त्य गर्दै विद्यार्थी लगायत क्याम्पसका सम्पूर्ण पक्षलाई साझा दिशा र साझा उद्देश्यसहित गैरदलीय हितकारी परिषद्को सुरुवात गर्नु। नत्र, विश्वविद्यालय, विद्यार्थी अनि हालका संगठनहरु नै नेपालको प्रगतिका निम्ति बाधक हुनेछन्।

(पाण्डे व्यवस्थापिका सदस्य, बम कार्यपालिका प्रमुख, विवेकशील नेपाली दल)









यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लम्फू अब सुटिङमा

लम्फू अब सुटिङमा

दुई वर्ष अघि निर्माण घोषणा गरिएको फिल्म ‘लम्फू’ सोमबारबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ। गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको...

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

भूकम्पपछिको पुनःनिर्माणका काममा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विवेकशील नेपाली दलले  पाँच लाख रुपैयाँ सहयोग गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा...

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते...

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

दक्षिण एसियाका साहित्यकार के लेखिरहेका छन्? सार्क मुलुकको साहित्य कता जाँदै छ? संसारमै सबैभन्दा बढी लेखक यही क्षेत्रमा छन्, तर...