८ वैशाख २०८१ शनिबार
समाज

पश्चिम सेती आयोजना क्षेत्रमा पहिलोपटक सरकार

तलारा (डोटी)- सेती नदी किनारको गाउँ बैतडीको ढुंगाडमा शनिबार ठूलो भिड थियो। जहाँ डोटी, बैतडी, डडेल्धुरा र बझाङ जिल्लाको प्रभावित क्षेत्रका बासिन्दा जम्मा भएका थिए। उनीहरु उर्जामन्त्री जनार्दन शर्माको प्रतिक्षामा थिए। पश्चिम सेती परियोजनाको चर्चा सुरु भएपछि पहिलोपल्ट बहालवाला सरकारका मन्त्री 'निरीक्षण भ्रमण'का क्रममा आयोजना क्षेत्रमा आउँदै थिए। यसैले पनि प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि यो बिशेष समय थियो। परियोजना क्षेत्रमै पुग्ने सरकारका मन्त्रीसँग परियोजनाका नाममा आफूले बर्षौदेखि भोग्दै आएका पीडा सुनाउने स्थानीयको इच्छा थियो।

यसैक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला सम्मेलन आयोजक समिति बैतडीले मौकामै आमसभाको तयारी गरेको थियो। मन्त्री शर्मा १२ बजे हेलिकप्टरमार्फत अबतरण हुने कार्यक्रम थियो। बिहानैदेखिको भिडले लामो प्रतीक्षा गर्नुपर्‍यो। मन्त्री शर्माको हेलिकप्टर १:४३ मा अवतरण भयो। उनीसँग माओबादी नेता तथा पूर्वमन्त्री लेखराज भट्ट, उर्जा सचिव अनुपराज उपाध्याय लगायतको टिम थियो।

अवतरण भएलगत्तै स्थानीयबासीले बाजागाजाका साथमा फूलमालाले भब्य स्वागत गरे। पहिलोपल्ट सरकार पुगेको अनुभूति गरेका स्थानीयले पश्चिम सेतीका नाममा आफूले तीन दशकदेखि भोग्दै आएको पीडा स्वागतमा बदले।

मन्त्रीले तत्कालै आमसभा अघि बढाउन कार्यकर्तालाई निर्देशन गरे। सोहीअनुसार पहिले उर्जासचिव उपाध्यायलाई बोल्न दिइयो। उनले पाँच मिनेट भित्रै मन्तब्य सकाए। त्यसपछि पूर्वमन्त्री भट्टले भाषण गरे। अन्तमा उर्जामन्त्री शर्माले भाषण गरेर कार्यक्रमको विधिवत समापन नै नगरी मन्त्री २:३५ मा हेलिकप्टर चढे।

मन्त्रीको यो हर्कत देखेर स्थानीयहरु चकित भए। मन्त्री नै 'स्थलगत निरीक्षणमा आएकाले 'झिनो आशा' देखेका स्थानीय तत्कालै निराश भए। 'हामी त तीन दशकदेखि आशा गर्दागर्दै थाकेका मान्छे,' ढुंगाड-३ का बासिन्दा तथा पूर्व जिल्ला विकास समिति बैतडीका सदस्य हरिसिंह धामीले भने, 'सरकारका बहालवाला मन्त्री आउँदा केही आशा अवश्य जागेको थियो। उहाले घरआँगनमा पुगेर सुखदुख सुन्नुहुन्छ र पीडालाई सम्बोधन गर्नुहुन्छ भन्ने आशा पनि थियो। तर, त्यसो भएन्। उहाँ भाषण गरेर फर्कनुभयो।'

मन्त्रीको हर्कत देखेर आफूलाई आश्चर्य जागेको कार्यक्रमस्थलमा उपस्थित नेकपा एमाले डोटी अध्यक्ष चक्र मल्लले बताए। उनले भने, 'हामी त मन्त्रीज्यूलाई आफ्ना पीडा सुनाउला र मन्त्रीज्यूका कुरा पनि बिस्तृतमा सुनौला भनेर आएका थियौं। तर, मन्त्रीज्यूको हर्कत देख्दा आश्चर्य लाग्यो।'

मन्त्रीको भाषणपछि पनि धेरै स्थानीयले पश्चिम सेती बन्नेमा आशंका देखाए। 'खै मन्त्रीको काम बोल्ने हो। यहाँ आएर बन्न सक्दैन भनेर कसरी भनून्?,' डोटी तलारका शिक्षक टेकबहादुर सिँहले भने, 'आए भाषण गरे गए। हाम्रा पीडा हामीसँगै छन्। यस्ता भाषणले आयोजना बन्ला भन्ने विश्वास छैन।'

'ढुक्क हुनुस आयोजना बन्छ'

सम्बोधनका क्रममा मन्त्री शर्माले पश्चिम सेती बन्नेमा ढुक्क रहन आग्रह गरे। 'ढुक्क हुनुस अब आयोजना बन्छ,' उनले भने, 'आयोजनाका बिषयमा हामी गम्भीर भएर लागेका छौं।' उनले आयोजनाको लागि छुट्टै कम्पनी बनाएर अघि बढ्न नेपाल बिद्युत प्राधिकरणले पनि स्वीकृती गरिसकेको बताए। लगानी, प्रशारण लाइन र उत्पादित विद्युत खपतको समस्याका बिषयमा पनि टुङ्गो लागिसकेको बताए। 'प्रसारण लाइन पनि अत्तरीया लम्कीसम्म सरकारले बनाउँछ भनिसकेका छौं। विद्युत सरकारले नै किन्ने भनिसकेको छौं,' उनले भने, 'अब कम्पनीको काममात्रै बाँकी रह्यो। सबै समस्या समाधान हामीले गरिसक्यौं।'

स्थानीय जनताले पनि सेयर लिन उनले आग्रह गरे। 'नेपालको पानी, जनताको लगानी' भन्ने सरकारले नयाँ नीति लिएको उनले बताए। 'यहाँको जलसम्पदाको ब्यबसायमा जनताको लगानी हुनुपर्छ। सेती नदीको पानीको पैसा तपाईँहरुका घर-घरमा पुग्नुपर्छ,' उनले भने, 'त्यसैले तपाईँहरु सेयर हाल्नुस्।' स्थानीयबासीलाई प्रतिपरिवार कम्तीमा एक लाख सेयर लिन आग्रह गरे। 'यसका लागि मजदुरी गरेर रुपैया जम्मा पार्नुस् र लगाउनुस्। त्यो एकलाख रुपैयाँ केही वर्षमै दश लाख हुनेछ,' उनले भने। 

विस्थापित जनतालाई उचित मुआब्जा पाइनेमा ढुक्क हुन उनले आग्रह गरे। उनले भने, 'उचित मुआश्जा सहित यतै माथि स्याटेलाईट सहितको सुबिधासम्पन्न शहर निर्माण गरिनेछ। जहाँ तपाईलाई सारिनेछ।' आयोजना निर्माणपछि पर्यटकिय क्षेत्र बन्ने पनि उनले बताए। 'यतै डुंगा चल्नेछ। रमणीय स्थान हेर्न पर्यटक आउनेछन। हामीले ती पर्यटकबाट पैसा कमाउने हो। अलिअलि ईग्लिस पनि सिक्दै गर्नुस,' उनले आग्रह गरे।

 

फोटो क्याप्सनः उर्जामन्त्री जनार्दन शर्मा पश्चिम सेती प्रभावित क्षेत्र पुग्दाका तस्वीरहरु। तस्वीरः अरूण बम/नागरिक

 

 

प्रकाशित: १ फाल्गुन २०७३ ०८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App