'चिहान’ माथि उत्रिएको खुसी

सोमबार, ०२ फागुन २०७३, ०८ : २० कलेन्द्र सेजुवाल


नेपालगन्ज- कालिकोट, कोटबाडाका मानबहादुर बिष्टलाई 'चिहान’माथि जहाज उत्रिएला भन्ने कहिल्यै लागेको थिएन। सशस्त्र द्वन्द्वको बेला डेढ दशकअघि १७ कामदारसहित ३५ सर्वसाधारणको ज्यान गएको निर्माणाधीन सुनथराली विमानस्थल उनको मानसपटलमा विमानस्थल नभई सामूहिक चिहानको रुपमा बसेको थियो।

शनिबार बिहानको दृश्यले भने उनको मानसपटलमा गढेर बसेको छाप बदलिदियो। बिहान ९ः५५ बजे १४ यात्रुसहित तारा एयरको जहाज जब सुनथरालीको रनवेमाथि दौडियो, उनको आँखामा हर्षका आँसु टलपलाए। 'हामीले चिहानमाथि यसरी जहाज आउला भनेर आस मारिसकेका थियौं,’ मानबहादुरले भने, 'तर आज नसोचेको भयो, यो त साँच्चिकै एयरपोर्ट नै बन्यो।’

माओवादी विद्रोहीको मंगलसेन आक्रमणपछि विद्रोही खोज्दै हिँडेको सेनाले ३५ व्यक्तिको इहलीला समाप्त पारेको थियो यही कोटबाडामा जहाँ धादिङ, जोगिमाराबाट मजदुरी गर्न गएका १७ कामदारसमेत परेका थिए।

१२ फागुन २०५८। यो दिन कोटबाडावासीका लागि साँच्चिकै कालो दिन थियो। माओवादी विद्रोहीले साताअघि अछामको मंगलसेन आक्रमण गरेपछि विद्रोहीलाई खोज्दै हिँडेको नेपाली सेनाले ३५ व्यक्तिको इहलीला समाप्त पारेको थियो। घटनामा धादिङ, जोगिमाराबाट मजदुरी गर्न गएका १७ कामदार पनि परे। उक्त घटना देखेका र भोगेका थुप्रै स्थानीय शनिबार जहाज हेर्न सुनथरालीमा झुम्मिएका थिए। उनीहरुको मनभित्र दुइटा कुरा खेलिरहेका थिए– त्यो कालो दिन, यो सुनौलो दिन।

 २०४२ सालमा निर्माण सुरु भएको विमानस्थलको निर्माण कार्यमा २०५८ फागुनको त्यो घटना ठूलो धक्का थियो। त्यसअघि निर्माण सुस्त भए पनि एक दिन त पक्कै बन्ला नि भन्ने आसमा थिए स्थानीय। उक्त घटनापछि त्यो आस पनि लगभग मारिसकेका थिए। तर, शनिबार राज्यले तारा एयरको विमानमार्फत सुनथरालीमा साँच्चिकै खुसी ओसार्‍यो। कांग्रेसका स्थानीय नेतासमेत रहेका कालिकोट, राम्नाकोटका मोतिराज बमले तीन दसक लामोे प्रतीक्षापछि आएको खुसीलाई रोक्न सकेनन्। उनले आफ्नो फेसबुक पेजमा भने : 

  तारा एयर सरर

  सुनथराली थरर

  हर्षले आँसु बरर

३१ वर्षदेखि अधुरै रहेकाले राज्यसमेत सुनथराली विमानस्थल सम्पन्न हुनेमा विश्वस्त थिएन। नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षत्रीका अनुसार विमानस्थल निर्माणमा करिब १७ करोड रुपैयाँ खर्च भइसक्दासमेत सम्पन्न कहिले हुन्छ भन्ने निश्चित थिएन। हुम्लाका सांसद भदौ १० गते जीवनबहादुर शाहीले पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भने कालिकोटवासीको सपना फेरि ब्युँतियो। 'मन्त्र्रीज्यूले जिम्मेवारी सम्हालेलगत्तै सुनथराली विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो,’ क्षत्रीले भने, 'उहाँकै अठोटले कालिकोटमा जहाज ओराल्न सफल भइयो।’

 मन्त्री शाहीसमेत पदभारग्रहण गरिसकेपछि तीनपटक सुनथराली विमानस्थल निरीक्षण गर्न पुगेका थिए। उनले माघ मसान्तसम्म परीक्षण उडान गर्ने गरी काम गर्न निर्देशन दिएका थिए। ६ सय ५० मिटर लामो विमानस्थलमा परीक्षण उडान सफल भएपछि कालिकोट देशका ठूला सहरसँगको हवाई सम्बन्धमा जोडिएको छ। उपमहानिर्देशक शाहीले फागुन दोस्रो सातादेखि नियमित उडान गर्ने गरी कार्यालय तथा मानवस्रोत व्यवस्थापनका काम भइरहेको जानकारी दिए।

 सशस्त्र द्वन्द्वकालमा निर्माणाधीन सुनथराली विमानस्थल युद्धको रणमैदान नै बन्यो। सरकारी सुरक्षाकर्मी र माओवादी विद्रोहीले परेड खेल्ने  थलो बनेको कोटवाडामै माओवादी विद्रोहीले मजदुरलाई ढाल बनाएर आफ्नो अभ्यासस्थल बनाए। कतिपटक त सेनाले हेलिकोप्टरबाट विमानस्थलमा बम खसाल्ने गरेको मानबहादुरको स्मरणमा ताजै छ।

'सेनाले माओवादी भनेर आकाशबाट बम खसाल्थ्यो, त्यसको मारमा भने हामी पर्थ्यौं,’ २०५८ मंसिरमा विमानस्थलमै बमको छर्रा लागेर घाइते मानबहादुरले भने, 'युद्धकालभरि यो ठाउँ युद्धमैदान बन्यो, शान्ति आएपछि चिहानको झल्कोले सताइरह्यो।’

चुनौती उत्तिकै

सुनथरालीमा जहाज त उत्रियो, तर यसको नियमित सञ्चालन उत्तिकै चुनौती छ। कर्णाली राजमार्गको निर्माण र स्तरोन्नतिसँगै स्थानीयको यात्रा सहज हुन थालेको छ। दशकअघिसम्म हवाई यात्राको विकल्प थिएन। अहिले सुनथरालीको फेदबाटै कर्णाली करिडोर गुडेको छ। यस्तो अवस्थामा हवाई उडानलाई नियमित र भरपर्दो बनाउनुपर्ने स्थानीयको माग छ।

'ढिलै भए पनि एयरपोर्ट बनेको छ, अब यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ,’ रकुका भानु पाण्डेले भने, 'सडकसँग प्रतिस्पर्धा गर्नु कम चुनौती छैन।’ कोटबाडा–मान्म जोड्ने रोपवे र कर्णाली करिडोरबाट विमानस्थलसम्म पुग्ने सडक मार्ग बनाउनुपर्ने उनले बताए।

उपमहानिर्देशक क्षत्रीसमेत विमानस्थलको भविष्य स्थानीयको हातमा रहेको बताउँछन्। 'जहाज आउनु ठूलो कुरा होइन, अब यसलाई यहाँका जनताले माया गर्नुपर्छ,’ उनले भने, 'स्थानीय यात्रुले जतिसक्दो बढी यसको प्रयोग गर्नुपर्‍यो।’ विमानस्थल कम्पनीले पनि यात्रुलाई आकर्षित गर्ने गरी उडान सेवा दिनुपर्ने उनले बताए।

मृतकलाई सम्मान खै?

शनिबार सुनथरालीमा जहाज उत्रिँदा कालिकोटवासी जति खुसी छन्, उनीहरुलाई एउटै कुरा खड्किएको छ– मृतकको सम्मान। विमानस्थल निर्माण क्रममा ज्यान गुमाएकाको सम्मान र सम्झनामा राज्यले केही गर्नुपर्ने उनीहरुको माग छ। 'यो एयरपोर्ट मजदुरको रगत–पसिनाबाट बनेको हो, उनीहरुको श्रम र साहसको कदर गरिनुपर्छ,’ विमानस्थल निर्माण क्रममा घाइते भएका तथा ज्यान गुमाएकालाई उपचार गरेका स्थानीय स्वास्थ्यकर्मी गोविन्द गिरी भन्छन्, 'उनीहरुका आत्माको सम्मान नभएसम्म वास्तविक खुसी आउने छैन।’

 विमानस्थल निर्माण क्रममा हत्या गरिएका धादिङ, जोगिमाराका मजदुरबारे डकुमेन्ट्री बनाएका पत्रकार मोहन मैनाली राज्यले विमानस्थल निर्माणको लागि ज्यान गुमाएका व्यक्तिको सम्मान गर्नुपर्ने बताउँछन्। 'विमानस्थलमा टेक्नेलाई विमानस्थल बनाउनेहरु कसरी मारिए भन्ने जानकारी लिनु आवश्यक हुन्छ,' उनले भने, 'यसका लागि विमानस्थलको प्रवेशद्वार र बाहिर निस्कने ठाउँमा देखिने गरी स्मारक बनाउनुपर्छ।'









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बाढी पीडितको सहयोगार्थ ‘कफी र कविता’

बाढी पीडितको सहयोगार्थ ‘कफी र कविता’

ठमेलको अन्नपूर्ण मार्केटस्थित फ्रेस विन्च क्याफेमा सधै जसो विदेशी गीत संगीतको चर्चा हुन्छ । यहाँ आउने पाहुनाहरू अधिकांश विदेशी हुन्छन्...

थरिथरि भाका, थरिथरि सन्देश

थरिथरि भाका, थरिथरि सन्देश

तीज आउन अझै केही दिन बाँकी छ। तर, तीजका गीत भने महिनाअघि नै घन्किन थालिसकेका छन्। महिनाअघि घन्किन थालेका तीज...

बाढी पीडित सहयोगार्थ दीप श्रेष्ठले गाउने

बाढी पीडित सहयोगार्थ दीप श्रेष्ठले गाउने

अविरल वर्षाका कारण तराईमा भएको डुबानले पीडितको सहयोगार्थ गायक तथा संगीतकार दीप श्रेष्ठ शनिबार ललितपुरको झम्सिखेलस्थित मोक्षमा गुञ्जिने भएका छन्। 'विकेन्ड...

सपनाको सहर : 'पाइलैपिच्छे समस्या छन्'

सपनाको सहर : 'पाइलैपिच्छे समस्या छन्'

मिलेका भवन होऊन्, वरिपरि हरियाली देखियोस्। आफू बसेको ठाउँनजिकै सबै सुविधा पाइयोस्। सडक सफा होस्, ठाउँठाउँमा ट्राफिक चिह्न होऊन्। नत्र...