काठमाडौं- ओछ्यानमा पल्टिरहेका उनका आँखा घरीघरी चल्छन्। आँखाका पुतलीले कसैलाई खोजिरहेझैँ लाग्छ। उनी हरपल जसलाई खोजिरहन्छन्, हरपल त्यतै वरपर भेटिन्छिन्, उनकै आँखाका भाका पढिरहेकी! कांग्र्रेस नेता, पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोला ओछ्यान परेको चार वर्ष लाग्यो। ललितपुर, सातदोबाटोस्थित निवासमा पत्नी कुसुम हरपल उनकै छेउ हुन्छिन्, उनकै सेवामा खटिइरहिन्छन्। यस्तो लाग्छ– अहिले झन् गहिरो प्रेममा छिन् उनी। अचानक अचेत भएका चक्रको हालत अहिले पनि सुधि्रएको छैन। उनी बोल्न सक्दैनन्, मुखले खान सक्दैनन् न सक्छन् हिँडडुल, उठबस गर्न।
पत्नीको सहाराभन्दा बढी प्रेमले भिजिरहन्छन्, लछप्पै। सायद यसैमा बाँच्नुको आनन्द महसुस गरिरहेका छन्।
'मुखले केही बोल्नुुहुन्न तर उहाँका आँखा बोलिरहन्छन्’, कुसुम भन्छिन्, 'म त्यही आँखाको भाकामा उहाँसँग कुरा गरिरहन्छु।’
कुसुमका आँखा कसैसँग कुरा गर्दागर्दै रसाइहाल्छन्। भित्र कता–कता उकुसमुकुस भएर पीडा। चलमलाइरहेका हातहरु एकअर्कासँग साटफेर गरेर लुकाउन खोज्छिन्। 'पहिलेभन्दा झन् बढी माया बसेको छ हाम्रो’, आँसु पुछ्दै बोल्छिन्, 'खै यो कस्तो माया हो, म पनि घरिघरि अचम्ममै पर्छु।’
प्रसिद्ध लेखक हेनरी डेभिड थोरोले भनेका छन्, 'प्रेमको कुनै उपचार छैन, अझ बढी प्रेम गर्नुबाहेक कुनै उपाय छैन।’ कुसुम बिरामी पतिको प्रेमिल उपचार गर्छिन्। 'उहाँलाई यी यसरी मैले माया गरेको (चुम्बन गर्दै) खुब मन पर्छ’, प्रेमको प्रतिक्रिया बु‰ने उपाय उनी सुनाउँछिन्, 'यस्तो बेला उहाँ खुसीले बोलौं–बोलौंझैं गर्नुहुन्छ।’
बिहानै बास्तोलाको थेरापी हुन्छ। त्यसपछि हल्का ब्रेकफास्ट। अनि सुरु हुन्छ, उनको सरसफाइ। घरमै आउने नर्स, सहयोगी र कुसुम मिलेर बास्तोलाको बिहानी नित्य कर्म सकाउँछन्।
दाँत माझिदिने, दिसापिसाब गराइदिने, मुख धुने र नुहाउने काम सबै ९ बजेभित्र सकिन्छ।
पत्नी कुसुमका अनुसार तीन वर्षअघि बास्तोला आफैं गर्थे यी सबै काम। आफ्ना सरसमान चिटिक्क पारेर राख्नु, पुस्तकालय दुरुस्त पार्नु, घरबगैंचा सिँगार्नु उनका अतिरिक्त सोख थिए। 'अहिले म नै उहाँ र उहाँ नै म भएकी छु’, कुसुम नयाँ दिनचर्या बताउँछिन्।’
'सपना र प्रेममा असम्भव भन्ने कुनै चिज हुँदैन’–लेखक अल्फ्रेड लर्ड टेनिसनले भनेका छन्। चक्र–कुसुम प्रेमले नयाँ मोड दिएर जीवन सम्भव बनाएको छ।
'पहिले–पहिले पार्टीको कामले राम्ररी गफ पनि हुन गाह्रो पर्थ्यो’, कुसुम सम्भि्कन्छिन्, 'अचेल हरहमेसा उहाँ मेरो सामुन्ने बस्नुहुन्छ, दिनभर मैसँग गफिनुहुन्छ।’
तीसवर्षे वैवाहिक जीवनमा कहिल्यै नदेखिएको समर्पणको प्रेम झाँगिएको अहिले। विवाहपछि थोरै घुमफिर, घरपरिवारको रेखदेखमै धेरै समय बित्यो कुसुमको। जब बास्तोला अचानक अचेत भए, त्यसपछि उनको वास्तविक प्रेमपरीक्षा सुरु भएको मान्छिन्।
कहिल्यै नदेखेको मान्छेलाई बिहेपछि पति भनेर प्रेमको अनुभूति साँचेकी कुसुम अहिले सारा संसार छाडेर उनकै वरिपरि फुल्छिन्, प्रेमफूलझैं।
'मेरो डार्लिङ, मेरो बाबा, ल–ल आँखा हेर्नु त घाम पर्दा’, अप्ठेरो मानिरहेका बास्तोलाका गाला थपथपाउँछिन्। उनको स्पर्शले बास्तोला बिस्तारै आँखा उर्घाछन्। मुस्काउन खोजेझैं ओठ चलमलाउँछन्। आँखाका पुतली यताउता नाच्छन् र कुसुमतिर हेरेर टक्क अडिन्छन्। 'के भनेकी, म ठिक छु प्रिय’, सायद आँखा यसै भनिरहेका छन्।
दिनरातभरि ओछ्यानमै सुतिरहन मानिसका लागि निकै अप्ठेरो हुन्छ। न बोल्न सक्छन् न मुखबाट खान। हातखुट्टा चल्दैनन्। चिकित्सक निगरानीमा खुवाइने झोल–भोजनले अडेको छ प्राण। मस्तिष्क आँखासँग मात्र जोडिएका छन्। अरु अंगले मस्तिष्कको साथ पाउन नसक्दा कुसुमकै भर छ उनलाई।
'एकतर्फी प्रेम कस्तो हुँदोरहेछ, त्यो बु‰न थालेकी छु’, कुसुम थप्छिन्, 'मेरो प्रेमले एकदिन उहाँलाई फेरि पहिलेकै अवस्थामा फर्काउने आशा साँचेकी छु।’
...
२०४५ सालको आन्दोलनताका नेताहरु प्रायः भारत प्रवासमै रहेका थिए। त्यो बेला बास्तोला लुकिछिपी उनलाई पत्र पठाउँथे। 'चिन्दै नचिनेको बंगाली मान्छे कयौं महिनामा चिठी लिएर आउँथे,’ ताजै छ स्मरण कुसुमलाई, 'उहाँको मप्रतिको त्यही मायाको जवाफ म अहिले हरेक दिन दिइरहेछु।’
सातदोबाटोस्थित निवास प्रायः सुनसान रहन्छ, कार्यकर्ता, शुभचिन्तकको भिड अचेल हुँदैन। सुनसान घरमा हुन्छ त केवल यी दुईको प्रेमालाप। बालखझैं स्याहार्दै, सम्हाल्दै कुसुम आफ्नो प्रेमको रक्षा गर्छिन्।
चक्र–कुसुमको जोडी वर्षमा एक दिन भ्यालेन्टाइन दिवस होइन, हरेक दिन प्रेमिल र प्रणयी अनुभूत हुन्छ। एउटा अनहद्, अनमोल प्रेम!
प्रकाशित: ३ फाल्गुन २०७३ ०२:३३ मंगलबार