coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

अस्थिर सेयर बजार

चालू आर्थिक वर्षभित्र बैंक तथा वित्तीय संस्थाले तोकिएअनुसार पुँजी वृद्धि गर्नुपर्ने नियामक निकायको निर्देशनका कारण बोनस र हकप्रदका माध्यमले बजारमा बढ्दो सेयर आपूर्ति चाप तथा पछिल्लो समयमा निक्षेपमा उच्च ब्याजदरजस्ता कारणले सेयर बजारमा निरन्तर उतारचढाव देखिएको छ। बैंकहरुको नाफा बढेको अपरिष्कृत वित्तीय विवरण प्रकाशित भइरहे पनि उनीहरुको नाफाले बजारलाई थेग्न सकेको छैन। पुसभित्रै अधिकांश सूचीकृत संस्थाले लगानीकर्तालाई दिने लाभांश घोषणा गरिसकेका कारण पनि माघ महिना सेयर बजारका लागि ‘अफ सिजन’ मानिन्छ। गत वर्षको नाफाबाट कम्पनीहरूले लाभांश वितरण गरिसकेको र चालू आर्थिक वर्षको लाभांश पाउन अर्को वर्ष कुर्नुपर्ने भएकाले पनि लगानीकर्ताले सेयर बेच्न थालेका हुन्। फागुनसम्म सेयर घट्ने परम्परा यो वर्ष पनि कायम भएको हो। दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासको वित्तीय विवरणले लगानीकर्तामाझ प्रतिफल प्रक्षेपण गर्न सकिने अवस्था बन्ने हुनाले माघमा बजार घट्नु स्वाभाविक हो। तर, लगानीकर्ता, विशेषतः नयाँ लगानीकर्ता माघ महिनाभर निरन्तर ओरालो लागेको सेयर बजार फागुन लागेपछि पनि ओरालै झर्दा आत्तिनु स्वाभाविक हो।

नेप्से सूचक आइतबार ४३.७३ विन्दुले ओर्लेर १२५२.५ अंकमा आउँदा लगानीकर्ताले एकै दिन ४८ अर्ब रुपैयाँ गुमाए। गत बिहीबार बजार पँुजीकरण १४ खर्ब ५८ अर्ब रुपैयाँ रहेकोमा आइतबार १४ खर्ब १० अर्बमा झर्‍यो। यसको अर्थ– लगानीकर्ताले सेयर बजारमा एकै दिन ४८ अर्ब रुपैयाँ गुमाए। घटेको बजारमा सेयर किन्ने लगानीकर्तालाई फाइदा हुन्छ तर कति घटेपछि किन्ने भन्नेमा लगानीकर्ता आफैं चनाखो हुनु आवश्यक छ। सेयर किन्दा कम्पनीले दिने प्रतिफल र लगानी अवधि विचार गर्नुपर्छ।  तर, बैंकले सेयर धितोमा ऋण दिन छाड्नु, 'अफ सिजन' हुनु, सेयर किन्दा भन्दा बैंकमा रकम जम्मा गर्दा बढी प्रतिफल पाउने अवस्था आएबाट सेयर बजार अझै ओरालो लाग्न सक्ने सम्भावना छ। लगानीकर्तामा भने एकदिन बढे उत्साहित हुने र एकदिन घटे आत्तिने प्रवृत्ति देखिएको छ। यस्तो प्रवृत्ति त्यति उपयुक्त होइन। सेयर लगानीकर्ता संयमित तथा विचारशील हुनु आवश्यक छ। चालू आर्थिक वर्षको दोस्रो सातादेखि नेप्से निरन्तर ओर्लिरहेको छ। साउन १२ गते कीर्तिमानी १८८१.४५ अंकमा पुगेको नेप्से ओरालो लाग्दै करिब साढे १२ सयमा आइपुगेको छ। करिब साढे ६ महिनाको अवधिमा ६ सय २८ विन्दुभन्दा बढीले सेयर बजारमा गिरावट आएको छ।

लगातार बजार ओरालो लागेपछि लगानीकर्ता थप आत्तिएका छन्। बजार बढेका बेला जोस्सिएर लगानी गर्नेहरू घटेका बेला आत्तिएर बेच्न हतार गर्छन् जसको कारण, सेयर बजार परिसूचक उच्च विन्दुले घट्न जान्छ। साधारणतया लगानीकर्ताको मनोविज्ञानले बजारमा धेरै उतारचढाव आउने हुन्छ। नकारात्मक सन्देशका समाचारले लगानीकर्ताको मनोविज्ञानमा असर पार्छ। मूलतः सेयर बजार निरन्तर घट्नुको हालको कारण बैंकको ब्याजदर बढेकाले नै हो। ठूला लगानीकर्ताले सेयर बेचेर बैंकमा पैसा राख्न थाल्दा बजार घट्न मद्दत पुगेको छ। सेयरमा लगानी गर्नुभन्दा बैंकको ब्याजबाट बढी फाइदा हुने देखेर लगानीकर्ता त्यता आकर्षित भएका हुन्। सेयर बजार र बैंक ब्याजदरबीच जहिले पनि उल्टो सम्बन्ध हुन्छ। बैंकको ब्याजदर घट्दा सेयर बजार बढ्ने र ब्याज बढ्दा सेयर बजार घट्ने गर्छ। त्यसैले अस्थिर सेयर बजारबाट प्रतिफल आशा गर्न नसकेपछि लगानीकर्ताले सेयर बेचेर उच्च ब्याजदरमा बैंकमा पैसा राख्न र अन्य क्षेत्रमा लगानी गर्न थालेका कारण पनि बजारमा उतारचढाव देखिएको हो।

 

 

 

प्रकाशित: ३ फाल्गुन २०७३ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App